नारायणी थापा केसी
सन् २०२० को सुरुवातसँगै विश्वले पाएको कोरोना भाइरस (कोभिड-१९) ले आज सम्पूर्ण विश्व नै त्रसित छ। चीनबाट विश्व माहामारीको यात्रामा निस्केको कोरोना युरोपेली राष्ट्र हुँदै अमेरिकाको चक्कर लगाउँदासम्म हामी नेपाली भने सानका साथ भविष्यवाणी गर्थ्यौं- कोरोना-सोरोना हाम्रो नेपालमा आउँदैन। सानासाना चिया पसलदेखि ठूलाठूला तारे होटलमा कोरोना नेपालमा आउन नसक्ने अडानमा नै बहस चल्थे।
स्वास्थ्यकर्मीले अनेक तवरबाट जनमानसमा रोकथामका उपायहरु सिकाइरहँदा हामी वीर नेपाली नै पूर्ण विश्वास भनौं या अन्धविश्वासका साथ पशुपतिनाथलाई देखाउँदै कोरोनालाई बेवास्ता गरिरहेका थियौं। एक स्वास्थ्यकर्मीको हिसाबले सजग बनाउन खोज्दा हामीमध्ये कतिपयले समाजमा त्रास फैलाएको आरोप समेत खेप्नुपर्यो।
कोरोनाले विश्वको फन्को मार्दैगर्दा यो भाइरस केवल प्लेन चढेर फ्रान्स, दुबई, कतारबाट मात्र नेपालमा भित्रिन्छ झैं गरेर विमानस्थल बन्द गरेपछि सब ठिक हुन्छ भन्ने हाम्रो सोच थियो। लडाउनसँगै देशका विभिन्न खुला सीमानाकामा कडिकडाउ गर्न सकेको भए, देश छिरिसकेकालाले पनि क्वारेन्टाइन आफू र आफ्नाको सुरक्षाकै लागि हो भन्ने मानेर रोगसगँको सजगता अपनाएको भए आज यो दिन देख्नु र भोग्नु पर्ने थिएन। सरकारको मात्र होइन, त्योभन्दा धेरै हामी नेपाली जनता व्यक्ति स्वयंको लापरबाही र कमजोरीले गर्दा आज हामी कोरोनाको सिकार हुन पुगेका छौं।
देशमा छिर्दै छर्दैन भन्दाभन्दै यो दुई महिनाको अवधिमा पहाड-तराई, बाँके-नेपालगञ्ज, कपिलवस्तु मात्र होइन, काठमाडौं, भक्तपुरसम्म भाइरस फैलिइसकेको छ। विदेशबाट आएका, स्वदेशमा रहेका, मस्जिद, जवान युवा-युवती, वृद्ध, बालक, आर्मी, पुलिस, पत्रकार, नर्स, हस्पिटलका अन्य कर्मचारी कसैलाई पनि कोरोना भाइरसले छोडेको छैन।
कोरोनाले सबै वर्ग, धर्म, पेसा, जातजाति आदिमा डेरा जमाइसक्यो। अब ढुक्क भए हुन्छ, यो रोग हाम्रो मुख हेरेर हामीभित्र पस्ने पक्कै होइन रहेछ।
पेसागत हिसाबले म एक स्वास्थ्यकर्मी अर्थात् नर्स हुँ। अस्पतालको एउटा वार्ड चलाउने त्यो पनि विना कुनै ढिलासुस्ती वार्डमा भर्ना भएका बिमारीलाई समयमा नै औषधि उपचार गरी सेवा दिनु मेरो पहिलो प्राथमिकतामा पर्छ
तर, समयमा नै बिरामीलाई सेवा दिन त म लगायत मजस्ता नर्स वा स्वास्थ्यकर्मीलाई काम गर्ने सौहार्द्रपूर्ण वातावरण पनि हुन पर्यो। एक त हामी स्वास्थ्यकर्मी पनि मानिस हौं, हाम्रो पनि बुबा-आमा हुनुहुन्छ, श्रीमान, श्रीमती, छोराछोरी हुन्छन्।
यो विषम परिस्थितिमा हाम्रो घरपरिवारमा एक किसिमको डर हामी र हाम्रो पेसालाई लिएर पक्कै पनि छ। हाम्रो जस्तो देश जहाँ कोरोनासँग लड्ने प्रर्याप्त स्वास्थ्यकर्मी, साधन-स्रोत, पिपिई नहुँदानहुँदै पनि हामी यो अनिश्चित लडाईं लड्न अग्रपंतिमा उभिएका छौं। हामी हरेक दिन ड्युटी जानुअघि घरपरिवारबाट जागिर छोड्ने दबाब आउने गर्छ।
हामी सबै भाग्यमानी हुँदैनौ, घरपरिवारसँग बसेर घर नजिकैको अस्पतालमा काम गर्न पाउने। हामीमध्येका धेरै नर्स दिदीबहिनीहरु घरपरिवारबाट धेरै टाढा कोठा भाडामा लिएर बस्न बाध्य छौं। नर्सलाई पनि अरुले झैं लकडाउनको बिदा मनाएर परिवारसँग बस्न मन हुँदो हो।
तर, अप्ठ्यारो परिस्थितिमा परिवारबाट टाढा रहेर पेसाप्रति बफादार हुनु स्वास्थ्यकर्मीको कर्तव्य पनि हो। देशलाई हामी जस्ता अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको पक्कै पनि खाँचो छ। यो युद्धभूमिमा डरले भन्दा धेरै हिम्मत र आँटले सम्हालिँदै काम गर्नुपर्छ भनेर सिकाउँछ हाम्रो पेसाले। तर यहाँ लकडाउन भएसँगै कोठा लिएर बसेका बहिनीहरु हरेक दिन वार्ड इन्चार्जको नाताले आतिँदै मलाई फोन गर्छन्, 'दिदी घरभेटीले कि त अस्पतालको ड्युटी नजाऊ नभए मेरो घर छोड' भन्नुहुन्छ अब के गर्ने होला?
अनि म हरेक पटक 'आत्तिनु हुँदैन, यसो गर, उसो भन' भन्दै सिकाउँछु र निर्धक्क भएर ड्युटीमा आउन सुझाव दिन्छु। हुन त मैले सल्लाह दिए जस्तो सजिलो कहाँ हुँदो हो र? त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ। यस्तो अवस्थामा खाने त ठेगान हुँदैन भने कोठा कहाँ खोज्नु? हाम्रो कामको हिसाबले घरवालाहरु डराउनु पनि आफ्नो ठाउँमा स्वभाविक नै होला।
हिजोसम्म तिनै घरभेटीले उनलाई मात्र होइन, उनको नातेदारका पनि नातेदारहरूलाई केवल डाक्टरको समय मिलाएकोमा धन्यवाद दिन्थे। 'नानी भएर कति सजिलो भएको छ स्वास्थ्य सम्बन्धी जानकारी लिन' भन्थे। आज तिनैले जागिर र कोठामध्ये एक छोड्ने धम्की दिन्छन्। लकडाउनको समय छ, विचरा पैसाको अभाव छ। न समयमा तलब आउँछ न घरदेखि मगाउन सकिन्छ।
आफ्नो ज्यानको जोखिम मोलेर काम गर्नु परेको छ। ए बाबा! हामीलाई पनि त हाम्रो स्वास्थ्यको त्यति नै चिन्ता छ जति घरवालालाई आफ्नो छ। हामी पनि त आफ्नो लागि सबै सावधानी अपनाएर बिमारीको सेवामा लागेका हुन्छौं। हामी झन् पटकपटक साबुनपानीले हात धोइरहन्छौं। मास्कको प्रयोग सकेसम्म गरिरहेकै हुन्छौं। कोरोनाको र कोरोनाको शंका लागेका बिरामीलाई हामी अलग्गै वार्डमा राखेर हेर्छौं। उनीहरुको हेरचाह गर्दा हामीले पिपिई लगाएकै हुन्छौं। त्यस्ता वार्डमा खटिएका हामीहरुलाई अरु बाहिरी दुनियाँको संसर्गमा नआउन र उनीहरुबाट अरुमा कोरोना नसरोस् भनेर अस्पतालले छुट्टै खाने र बस्ने व्यवस्था गरिरहेकै हुन्छ, रोग सर्नसक्ने अवधिसम्म।
दुई/चार जना डाक्टर, नर्स, अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिँदैमा घरवालाहरुले जागिर नछोडे कोठा छोड भन्ने? हामीले पनि उसै गरी हाम्रो जमातमा अल्पसंख्यक संक्रमित भेटिँदैमा अस्पताल नै बन्द गरौं भन्ने हो भने सब अस्पतालहरू बन्द हुने अवस्थामा पुग्नेछन्। त्यसपछिको समय कति भयावह बन्ने छ कल्पना गर्न पनि सकिँदैन। आखिरमा अहिलेको समयमा कुन उमेर, वर्ग, सम्प्रदाय आदि कोरोनाको जोखिममा पर्दैन र?
तसर्थ घरपरिवारबाट टाढा भएर, अभाव नै अभावमा गुज्रिरहेका, ज्यानको जोखिम उठाएर दिन रात नभनी बिरामीकै हेरचाहमा तल्लिन हामी स्वास्थ्यकर्मी, हामी जस्तै देश र जनताको हितमा साँझ-बिहान, घामपानी नभनी अग्रपंक्तिमा उभिएका सुरक्षाकर्मीहरूको मनोबल डगमगाउने काम नगर्नुहोस्। हाम्रा लागि पाँच/दस मिनेटको ताली र गाली होइन, हौसला बढाउने र काम गर्न सहज वातावरण सिर्जना गरिदिनुहोस। अनि मात्र हामी आफू स्वयं पनि कोरोनासँग बाच्ने छौं र अरुलाई पनि बचाउन सफल हुनेछौं।