माधव भुसाल
सन् २०१९ को अन्त्य तिर विश्वका केही राष्ट्रमा कोभिड १९ देखाप¥यो। पहिलो पटक सार्स जस्तै नयाँ रोग फैलिदा एक प्रकारको अन्यौल थियो। हालसम्म आईपुग्दा यस रोग बारे विभिन्न जानकारी बाहिर समेत आईसकेको छ।
कोभिड १९ को खोप हालसम्म पनि पत्ता लागेको छैन। छोटो अवधिमा खोप उपलब्ध हुने सम्भावना निकै कम भएकाले हामी जोगिएर रहनुपर्ने हुन्छ। त्यसैले त्रसित हुनुभन्दा पनि सावधानी अपनाउनु उत्तम हुन्छ।
कोभिड १९ भाइरस हाम्रो शरीरमा प्रवेश गरेपछि तातो पानी पिउने, जडिबुटीको झोल जस्ता उपायले नष्ट गर्न सकिंदैन। भाइरसको कण संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, कुराकानी गर्दा वा सामान्य श्वास फेर्दा नजिकको हावामा फैलिन्छ र जमीनमा झर्छ वा कुनै वस्तुमा टाँसिन्छ।
वस्तु भन्नाले हात, कपडा, टेवल, बेड, ढोकाको हत्था, रेलिङ्ग आदिमा हुन्। प्रत्यके व्यक्ति बीचको दूरी कम्तीमा दुई मिटर (यो भन्दा बढी भए राम्रो) कायम गर्नु नै यसबाट जोगिने प्रभावकारी उपाय हो। व्यक्ति बीच दूरी कायम हुँदा हावावाट भाइरसका कण सर्न पाउँदैन।
शंकास्पद वस्तु छोएपछि सावुन पानीले हात धुनु पर्दछ। हाम्रो हात सफा भए आँखा, नाक र मुखको माध्यमबाट भाइरस शरीर भित्र प्रवेश गर्न पाउँदैन। धेरै पटक छोईने वस्तुहरु जस्तै टेवल, रेलिङ्ग, विजुलीको स्विच आदिलाई डिटर्जेन्टको घोलले सफा गर्न सकिन्छ। पार्सल गरेको सामान, पसलको सामानहरु, एटिएम चलाउँदा वा छुँदा भाइरस सर्दैन तर छोएपछि साबुन पानीले अनिवार्य रुपमा हात धुनुपर्छ।
पकाएको खानाबाट यो भाइरस सर्दैन। हरियो सागसब्जी, फलफुल, कागती, मह जस्ता वस्तुको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्छ। तर यी वस्तुको प्रयोगले शरीरमा भाइरस प्रवेश गर्नबाट रोक्न भने सकिदैन। स्वास्थ्यकर्मी र सफाईकर्मीले बाहेक अन्य ब्यक्तिले ग्लोभ्स लगाउन आवश्यक छैन।
नेपालमा देखिएका अधिकांश संक्रमित लक्षण विहीन अवस्थाका छन्। फिलिपिन्सका १० हजार संक्रमितमा गरिएको अध्ययन अनुसार लक्षण देखिएका व्यक्तिले लगभग ८५ प्रतिशत र प्रिसिम्प्टोम्याटिक अवस्थाको व्यक्तिले १२ दशमलव ५ प्रतिशत संक्रमण पारेको पाईएको छ। तर एसिम्प्टोम्याटिकबाट संक्रमण सरेको पुष्टि भएको छैन।
कोरोना भाइरसबाट संक्रमित भई लक्षण देखिएकालाई कोभिड १९ बिरामी भनिन्छ। तर लक्षण नदेखिएकालाई संक्रमित भनिन्छ। ज्वरो, सुख्खा खोकी, शरिर दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने आदि लक्षणहरु देखिन्छ।
संक्रमित भए/नभएको थाहा पाउन परीक्षण गर्नुपर्छ। लक्षण देखिएका र नदेखिएका संक्रमित र शंकास्पद व्यक्तिको परीक्षणको दायरा बढाउनु राज्यको दायित्व हो। कोरोनाबाट बच्ने उपाय अवलम्बन गरे मात्र आम नागरिक यसबाट बच्न सक्छन्।