डा पुनेश्वर केशरी
नेपालमा हाल प्रचलित चिकित्सा पद्धतिहरुमा एलोप्याथिक चिकित्सा प्रणाली, आयुर्वेद चिकित्सा प्रणाली, होमियोप्याथिक चिकित्सा प्रणाली, यूनानी चिकित्सा प्रणाली र प्राकृतिक चिकित्सा प्रणालीहरु मुख्य हुन्।
यी चिकित्सा पद्धतिहरु सरकारद्वारा मान्यता प्राप्त चिकित्सा पद्धतिहरु हुन्। यस बाहेक स्वः रिग्पा वा आम्ची पद्धति हिमाली क्षेत्रमा परम्परागत रुपमा भोटे समुदायमा चलन चल्तीमा रहेको पाईन्छ।
एलोप्याथिक चिकित्सा प्रणाली बाहेक अन्य सबै चिकित्सा पद्धतिहरुमा प्राय औषधजन्य वनस्पतिहरु वा जडिबुटिहरु, प्राकृतिक खनिज पदार्थहरु, जीवजन्तुहरुबाट प्राप्त हुने उत्पादनहरु विभिन्न रुपमा प्रयोग भएको पाईन्छ।
प्राकृतिक उत्पादनहरुको प्रयोग भएकोले यी पद्धतिहरुका औषधिहरु अपेक्षाकृत सुरक्षित मानिन्छन्। तर उचित मात्रा, उचित शोधन, उचित प्रयोग विधि बिना आफुखुशी जथाभावी यस्ता औषधिहरुको प्रयोग पनि कहिलेकाही घातक हुन सक्छ। साथै औषधि उत्पादनको क्रममा हुने त्रुटि, विभिन्न औषधिहरुको एकसाथ प्रयोग, क्रसपैथी अर्थात एकै साथ आयुर्वेद र एलोप्याथिक वा दुई छुटा छुट्टै पद्धतिका औषधिहरु प्रयोग गर्दा नकारात्मक असरहरु देखिन सक्छ।
विभिन्न औषधिहरुको प्रयोग गर्दा हुने दुष्प्रभावहरुको पहिचान, त्यसको अभिलेखिकरण, आँकलन र त्यसको रोकथाम सम्बन्धी क्रियाकलापहरुको लागि फर्माकोभिजिलेन्सको आवश्यकता हुन्छ। यहाँ आयुर्वेद औषधिहरु र त्यस सम्बनधी फर्माकोभिजिलेन्सको आवश्यकता बारे वर्णन गर्न खोजिएको छ।
आयुर्वेद औषधिहरु मुख्य गरी तीन स्रोत औषधजन्य वनस्पत्ति वा जडिबुटि, प्राकृतिक खनिजपदार्थ जस्तै : फलाम, सुन, चाँदी, पारद, गन्धक आदि, तथा जन्तुजन्य पदार्थ जस्तै: शंंख, कौडी, मृगको सिंग, कस्तूरी, आदि बाट प्राप्त हुने कच्चा पदार्थबाट बनाईन्छन्।
बजारमा पाइने आयुर्वेद औषधिहरु हर्बल वा हब्र्स वा जडिबुटि मात्र प्रयोग गरी बनाइएको, हर्बोमिनरल अर्थात् हर्ब र मिनरल वा खनिज दुबै मिसाई बनाइएको तथा भस्म जुन खनिज तथा जन्तुजन्य पदार्थबाट बनाइएको हुन्छ।
आयुर्वेद औषधिहरु चूर्ण वा पाउडर, क्वाथ वा डिकोक्सन, सिरप, वटी, टैब्लेट, क्यप्सूल, आसव अरिष्ट, तेल, लिन्टस्, ओइन्टमेन्ट, आई ड्प, ईयर ड्रप, क्रिम, सुगन्धित तेल आदि विभिन्न रुपमा पाईन्छन्।
औषधिमा प्रयोग गरिने कतिपय वनस्पत्तिहरु स्वभाविक रुपमा नै विषाक्त हुन्छन्, जसको उचित शोधन पश्चात मात्र औषधिको घटकको रुपमा प्रयोग गरिन्छ। जस्तै वत्सनाभ जसलाई नेपाली भाषामा विष भनिन्छ। यसमा एकोनिटिन भन्ने विषाक्त घटक हुन्छ, जसलाई गो मूत्र र गो दुग्धमा शोधन पश्चात यसको विषाक्तता हटेर जान्छ र प्रयोग गर्न मिल्दछ।
धत्तुरो, कनेर, रत्तीगेडी, सिउँडी, आदि उपविष वर्गका वनस्पत्ति द्रव्यहरु पनि शोधन गरेर मात्र प्रयोग गर्न मिल्छ। पारद, गन्धक जस्ता खनिज द्रव्यहरुलाई पनि विभिन्न किसिमका औषधजन्य वनस्पत्तिहरुको स्वरस वा क्वाथमा टाइट्रेट गरी विशिष्ट शास्त्रीय विधिहरुबाट फरनेन्सहरुमा अति उच्च तापक्रममा भस्म बनाएर मात्र प्रयोग गरिन्छ। यसो गर्दा विषाक्तता निर्मूल हुन्छ।
आयुर्वेद औषधिहरु अपेक्षाकृत सुरक्षित भएपनि आयुर्वेद चिकित्सकको रुपमा मेरो १७ वर्षे सेवाकालमा मैले आयुर्वेद औषधि प्रिस्क्राइब गर्दा केहि औषधिहरुको दुष्प्रभाव बिरामीहरुले उल्लेख गरेको छ। त्यस्ता औषधिहरु रोक्दा बिरामीले सो दुष्प्रभाव महशुस गर्न छोडेको पाएको छु। सेवाको कुनै कालखण्डमा मैले भोगेको अनुभव यहाँ उल्लेख गर्न चाहन्छु।
रोहितक्यादि चूर्ण भन्ने औषधि जुन आयुर्वेद स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरणको लागि सरकारले उपलब्ध गराउँछ। सामान्य अवस्थामा यस औषधिको कुनै दुष्प्रभाव हँुदैन तर एक पटक कुनै अमूक कम्पनीबाट खरीद भई सप्लाई भएको सो औषधि यकृत विकारको बिरामीले प्रयोग गर्दा तत्काल हातखुट्टा झमझमाउने र लुलो हुने लक्षण महशुस गरेको पनि पाएको छु। तर त्यस वर्षपछि आपूर्ति भएको सो औषधिमा त्यस्ता दुष्प्रभाव देखिएन।
हिंगुलेश्वर रस आफुखुशी प्रयोग गर्दा एक जना बिरामी सिकिस्त भई अस्पताल भर्ना हुनु परेको घटना पनि नभएको होइन। कतिपय कलेजो रोगको विशेषज्ञहरुले आयुर्वेद औषधिको प्रयोगले कलेजो बिगारेको दाबी गर्छन्। जसको कुनै वैज्ञानिक पुष्टि छैन।
यी घटनाहरुबाट के प्रष्ट हुन्छ भने आयुर्वेद औषधिहरुको यस्ता दुष्प्रभावहरुको पहिचान, रिर्पोटिङ्ग, अभिलेखिकरण, वास्तविक आँकलन गर्नु आवश्यक छ। यसबाट हुन सक्ने असरलाई रोकथाम गर्न फर्माकोभिजिलेन्सको आवश्यकता आयुर्वेद तथा वैकल्पिक चिकित्सामा तडकारो छ।
फर्माकोभिजिलेन्स के हो ?
फर्माकोभिजिलेन्स भन्नाले औषधि सम्बन्धी सतर्कतालाई जनाउँछ। विश्व स्वास्थ्य संगठन अनुसार फर्माकोभिजिलेन्स भन्नाले त्यस्तो विज्ञान र क्रियाकलाप हो, जसबाट औषधिहरुको दुष्प्रभाव वा एडभर्ज इफ्ेक्ट, औषधिबाट हुने कुनै पनि किसिमको समस्याहरुको खोज, आँकलन, त्यसबारे जानकारी लिने र असरहरुको रोकथामको बारेमा वर्णन गरिएको हुन्छ।
फर्माकोभिजिलेन्सको क्षेत्रमा प्रोडक्ट क्वालिटि अर्थात् औषधिको गुणस्तरीयता, एडभर्ज ड्रग रिएक्सन वा दुष्प्रभाव र औषधि प्रयोग गर्दा हुने त्रटिहरु पर्दछन्।
फर्माकोभिजिलेन्सको उदेश्य के हो ?
बिरामीको हेरचाह र सुरक्षाको उपायहरु सुधार गर्नु।
जनस्वास्थ्यको स्थिति र सुरक्षाको उपायहरु अभिवृद्ध गर्नु।
औषधिको फाइदा, बेफाइदा र प्रभावकारिता आँकलनमा सहयोग पु¥याउनु।
औषधि प्रयोग सम्बन्धी स्वास्थ्य शिक्षा र तालिम प्रदान गर्नु।
औषधिको तार्किक र सुरक्षित प्रयोगमा बढावा दिनु।
नेपालमा फर्माकोभिजिलेन्सको इतिहास
विश्व इतिहासमा ई.सं १९६१ मा थैलिडोमाइड प्रयोग पश्चात जन्मिने शिशुहरुमा देखिएको विकृति पश्चात विश्वको ध्यान औषधिको प्रयोगबाट हुने दुष्प्रभाव प्रति गएको हो।
बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड, जर्मनी जस्ता देशहरुले नेशनल ए.डि.आर. रिर्पोटिङ्ग सेन्टरको अवधारणा ल्याए। त्यसपछि सन् १९६८ मा विश्व स्वास्थ्य संगठनले प्रोग्राम फर इन्टरनेशनल ड्रग मोनिटरिङ्ग सेन्टर स्थापना गरे। जसलाई सन् १९७८ मा स्वीडेनको उपशालामा सारियो। यस उपशाला मोनिटरिङ्ग सेन्टरको नामले चिनिन थालियो।
नेपालमा सन् २००२ मा औषधि व्यवस्था विभागले फर्माकोभिजिलेन्सको लागि पहल गरेको थियो। सन् २००४ को अक्टोबरमा सरकारले औषधि व्यवस्था विभागलाई उपशाला मोनिटरिङ्ग सेन्टरको सम्पर्क अफिसको रुपमा कार्य गर्ने गरी तोके पश्चात नेपालमा फर्माकोभिजिलेन्सको आधिकारिक शुरुवात भएको हो।
सन् २००६ को जुलाईमा नेपालले विश्व स्वास्थ्य संगठको उपशाला मोनिटरिङ्ग सेन्टरको पूर्णकालीन सदस्यता प्राप्त गरेको हो। हाल नेपालमा विभाग फर्माकोभिजिलेन्सको मुख्य सेन्टर र यस बाहेक ६ वटा रिजनल सेन्टरहरु मणिपाल शिक्षण अस्पताल, पोखरा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडांै, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडांै, किष्ट मेडिकल कलेज ललितपुर, वी.पी. कोराइला इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज धरान, र सिभिल अस्पताल काठमाडांै फर्माकोभिजिलेन्स सेन्टरको रुपमा छन्। तर यी संस्थाहरु एलोप्याथिक औषधिहरुको फर्माकोभिजिलेन्सको मात्र अध्ययन र रिर्पोटिङ्ग गर्दछन्। मई १४ २०१३ सम्म यी सेन्टरहरुबाट जम्मा ४ सय ८२ केसहरु रिपोर्टिङ्ग भएका छन्।
आयुर्वेद तथा बैकल्पिक चिकित्साका औषधिहरुको लागि फर्माकोभिजिलेन्सको आवश्यकता किन ?
आयुर्वेदको प्रसिद्ध ग्रन्थ चरक संहितामा वर्णन भए अनुसार तीक्ष्ण विष आदिलाई पनि युक्तिपूर्वक योग, मात्रादिको विचार गरी प्रयोग गरियो भने त्यो उत्तम भेषज वा औषधि हुन सक्छ। तर भेषजको प्रयोग गर्दा युक्तिपूर्वक गरिएन भने त्यो विष समान हुन सक्छ।
सोही संहितामा विरुद्ध आहार वा फुड कम्प्याबिलिटीको उल्लेख गरिएको छ। आयुर्वेद आफैमा होलिस्टिक चिकित्सा पद्धति हो। यसले दोष, धातु, प्रकृति आदको विचार गरी औषधि प्रयोग, पथ्य आहार विहार, अपथ्य आहार विहार, योग व्यायाम , सत्तवाजय आदि सबै कुरालाई विचार गरी चिकित्साको विधान गर्दछ।
तसर्थ औषधि प्रयोग गर्दा औषधिको योग, मात्रा, अनुपान, सहपान, आहार, व्यायाम आदिको पनि विचार गर्नुपर्दछ। अन्यथा औषधिको अहित प्रभाव हुन सक्दछ।
कतिपय आहारहरु एक साथ प्रयोग गर्दा त्यसले शरीरमा असर गर्छ। जस्तै ः माछा र दूध, मह र घ्यू समान मात्रामा एक साथ प्रयोगले विषाक्त प्रभाव पार्दछ। होमियोप्याथिक औषधि, यूनानी औषधिहरु आदिमा पनि औषध सेवन गर्दा उपयुक्त आहार विहार तथा अनुपानको सेवन गरिएन भने अनेपक्षित प्रभाव उत्पन्न हुनसक्दछ।
आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्साका औषधिहरु सुरक्षित र दुष्प्रभावरहित हुने आम जनधारणा रहेको र सो अनुसार आम जनसमुदायले आफुखुशी यस्ता औषधिहरु प्रयोग गर्ने हुनाले पनि यस्ता औषधिहरुको दुष्प्रभाव उत्पन्न हुनसक्छ। यस्ता असरहरुको पहिचान, आँकलन, त्यस सम्बन्धी ज्ञान र त्यसको उचित रोकथामको लागि फर्माकोभिजिलेन्सको आवश्यकता हुन्छ।
आयुर्वेद औषधिहरु शास्त्रीय र पेटेण्ट गरी दुई किसिमले बजारमा उपलब्ध छन्। शास्त्रीय औषधिहरुको घटक द्रव्यहरु तथा निर्माण प्रक्रिया, मात्रा आदि आयुर्वेदको विभिन्न संहिताहरुमा उल्लेख गरिए अनुसार औषधि उत्पादकहरुले उत्पादन गर्दछन् भने पेटेण्ट औषधिहरु उत्पादक स्वयंले आफ्नो अध्ययन अनुसन्धानबाट बनाएका हुन्छन्। यी दुवै किसिमका औषधिहरुमा विविध कारणले अनपेक्षित प्रभावहरु देखिन सक्दछ।
आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्सा विद्याका औषधिहरुको प्रयोग गर्दा एलोप्याथिक औषधिहरु प्रयोग गरिरहेको अवस्थामा विशेष ध्यान पु¥याउन आवश्यक हुन्छ। किनभने कतिपय आयुर्वेद औषधिहरुको एलोप्याथिक औषधिहरुसँग अन्तरक्रिया भई दुष्प्रभाव उत्पन्न हुन सक्दछ।
जस्तै : लसुनयुक्त औषधिको एण्टिकगुलेन्ट औषधिसँग प्रयोग गर्दा रक्तश्रावको सम्भावना हुनसक्दछ। लसुनले प्राटिएज इन्हिबिटर जस्तै राइटोनाभिरको रगतमा मात्रा घटाउने र विषाक्तता बढाउने हुन सक्छ।
यसरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विद्याका औषधिहरुको लागि फर्माकोभिजिलेन्सको आवश्यकतालाई निम्न अनुसार बँुदागत रुपमा प्रस्तुत गर्न सकिन्छ।
आयुर्वेद औषधिहरुमा प्रयोग हुने विषाक्त गुण भएका जडिबुटिहरुको उचित शोधन नगरी प्रयोग भएको अवस्था।
खनिज आदि बाट निर्मित रस औषधिहरुमा प्रयुक्त रसहरुको उचित शोधन, मारण नहुनु।
कतिपय औषध वनस्पत्तिहरुको अनुपलब्धतामा त्यसको अनधिकृत प्रतिनिधि द्रव्य वा अपद्रव्यहरुको प्रयोग गरिनु।
विभिन आयुर्वेद औषधिहरुको अन्य पद्धतिको औषधिहरुसंग अन्तरक्रियाबाट दुष्प्रभाव उत्पन्न हुनु।
आम जनसमुदायले आफुखुशी यस्ता औषधिहरु प्रयोग गर्नु।
नेपालमा विद्यमान फर्माकोभिजिलेन्स सिस्टमले आयुर्वेद तथा वैकल्पिक चिकित्साका विद्यालाई नसमेट्नु।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका विद्याको औषधिहरुको औषधीय प्रभाव, त्यसको फर्माकोकाइनेटिक्स र फर्माकोडाइनामिक्स एलोपैथिक औषधिहरु भन्दा फरक हुनु।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका औषधिहरु उत्पादन गर्ने सबै कम्पनीहरुले असल उत्पादन अभ्यास अनुसार औषधि उत्पादन नगर्नु।
अन्य मुलुकहरुमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिका औषधिहरु सम्बन्धी फर्माकोभिजिलेन्सको अवस्था
आयुर्वेद तथा वैकल्पिक चिकित्सा नेपाल बाहेक छिमेकी मुलुक भारत, चीन, श्रीलंका, पाकिस्तान, भूटान, बंगलादेश लगायतमा प्रचलित छन्।
भारतले आयुर्वेद, सिद्ध र यूनानी औषधिहरुको लागि नेशनल फर्माकोभिजिलेन्स प्रोग्राम फर ए.एस.यू ड्रग सन् २००८ सेप्टेम्बर २९ देखि लागु गरेको छ। चीनले परम्परागत चिनियाँ औषधिहरुको लागि छुट्टै फर्माकोभिजिलेन्स सिस्टम लागु नगरेपनि उसको मूल ए.डी. आर. रिपोर्टिङ्ग सेन्टर नेशनल एडभर्ज ड्रग रिएक्शन मोनिटरिङ्ग सेन्टरले नै परम्परागत चिनियाँ औषधिहरुको दुष्प्रभाव आदिलाई रिपोर्टिङ्ग गर्दछ।
त्यसैगरी पाकिस्तान मा पाकिस्तान नेशनल फर्माकोभिजिलेन्स सेन्टरले नै एलोप्याथिक लगायत आयुर्वेद तथा वैकल्पिक चिकित्साका औषधिहरुको ए.डी.आर. हेर्ने गर्छ।
निष्कर्श
“डाईङ्ग फ्रम अ डिजिज इज समटाइम्स अनएभ्वाइडेबल बट डाईङ्ग फ्रम अ मेडिसिन इज अनएस्सेप्टेबल” अर्थात रोगव्याधीले हुने मृत्यु कहिले काही हामीले रोक्न सक्दैनौ। तर औषधि प्रयोगले हुने मृत्यु स्वीकार्य हुँदैन।
तसर्थः कुनै पनि चिकित्सा पद्धतिमा प्रयोग हुने औषधिले हुने दुष्प्रभावहरुको पहिचान, अध्ययन, आँकलन, रिपोर्टिङ्ग तथा रोकथाम सम्बन्धी कार्यको लागि र त्यस सम्बन्धी स्वास्थ्य शिक्षा तथा स्वास्थ्यकर्मीहरुलाई तालिम आदिको व्यवस्थापनको लागि फर्माकोभिजिलेन्स आवश्यक छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका औषधिहरु अपेक्षाकृत सुरक्षित भएपनि विविध कारणले यस्ता औषधिहरुबाट हुने दुष्प्रभाव नियन्त्रणको नेपालमा पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको लागि फर्माकोभिजिलेन्स आवश्यक छ।
(डा केशरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुका आयुर्वेद चिकित्सक (द्रव्यगुणविज्ञ) हुन्।)