डा अभिनय लुइँटेल
मुखमा घाउ हुनु सबैका लागि कठिन हुन्छ। घाउ भएपछि मुखले गर्ने विभिन्न कार्यमा अप्ठ्यारो पार्ने मात्र नभई मुखमा क्यान्सर जस्तो जटिल रोग लाग्ने भयले मानसिक असर समेत पार्छ।
मुखमा हुने घाउले ठूला मानिसमा त असर पारिरहेको हुन्छ भने बालबालिकाको मुखमा घाउ भएमा झनै ठूलो असर पुर्याउँछ। तर सबै मुखको घाउसँग डराउनु भने पर्दैन। किनभने धेरैजसो मुखका घाउहरू या त आफैं निको हुन्छन् या घाउ हुने कारण हटाएपछि वा उचित उपचार गरेपछि निको हुन्छ। हामी त्यसबेला सावधान हुनपर्छ, जब उपचार सुरु गरेको १५ दिनपछि पनि घाउले निको हुने रूप लिँदैन। तर आत्तिनु भने पर्दैन किनभने हरेक घाउलाई उपचार गर्ने छुट्टाछुट्टै तरिका हुन्छन्।
आउनुस् आज हामी बच्चाको मुखमा तीव्र गतिमा, छोटो समयको लागि, धेरै संख्यामा आउने घाउबारे चर्चा गरौँ। प्रायजसो यस्ता घाउ भाइरलको कारणले उत्पत्ति हुन्छन्।
मुखमा घाउ हुँदा कस्ता लक्षण देखिन्छन् त?
१. घाउ प्रायजसो स-साना बच्चा र किशोरावस्थामा बढी आउने गर्छन्।
२. घाउ आउनुभन्दा २-३ दिनअघि ज्वरो आउने, मांसपेसी दुख्ने, थकाइ लाग्ने, बिसन्चोपन हुने र खाना खान मन नलाग्ने जस्ता पूर्व लक्षण देखिन्छन्।
३. गिजा, जिब्रोको माथिको भाग र मुख भित्रको तालुको भागमा प्रायजसो रातोपना देखिन्छ र स-साना पानीका फोकाहरू आँउछन्। जिब्रो र दाँत प्रायजसो चलायमान हुने भएकोले यी पानीका फोकाहरू फुटेर स- साना, मसिना तर थुप्रै घाउहरू देखा पर्छन्। यस्ता पानी फोकाहरू ओठको कुनामा पनि आउन सक्छन् र पछि फुटेर घाउ बनेर पाप्रो बनेर रहन सक्छन्।
४. स-साना बच्चाको गिजा डरलाग्दो रातो देखिन्छ र खस्रो खानेकुराले गर्दा कहिलेकाहीँ रगत पनि आउन सक्छ।
५. साथै घाँटी दुख्ने र घाँटीको भित्री भाग रातो हुने वा त्यहाँ पनि घाउ आउने हुनसक्छ।
६. यो असाध्यै दुख्ने र खाना खान, निल्न र बोल्न समेत गाह्रो हुने हुनसक्छ।
७. कहिलेकाहीँ यस्ता लक्षणसँगै हत्केला र पैतालामा डाबर र खटिरा आउने पनि हुन सक्छ।
८. यस्ता समस्या वा लक्षणहरू केही समय बिराएर फेरि दोहोरिने हुनसक्छ।
के गर्ने त?
१. आत्तिनु पर्दैन, पहिले आफूलाई शान्त र संयम राख्ने।
२. प्रायजसो यस्ता घाउहरू आत्म-सीमित हुन्छन् र १०-१४ दिनमा आफैं निको भएर जान्छन्।
३. यस्ता घाउ डाक्टरहरूको सल्लाह अनुसार लक्षण बमोजिमको उपचारपछि निको हुन्छन्। जस्तैः
क) ज्वरोको लागि सही मात्रामा सिटामोल खुवाउने (तर ब्रुफेन र त्यस परिवार अन्तर्गत पर्ने औषधि नखुवाउने)।
ख) दुखाइ कम गर्नको लागि लिग्नोकेन २ प्रतिशत वा बेन्जोकेन २० प्रतिशत जस्ता सजिलै पाइने मल्हम लगाइदिने (तर स्टेरोइड भएको वा अम्ल पदार्थ जस्तै: स्यालिसाइलिक एसिड भएको मल्हम नलाउने)।
४. नरम तथा सादा खानेकुराहरू खाने; साह्रो, तातो, अमिलो र पिरो खानेकुरा नखुवाउने।
५. पानी तथा रसिलो खानेकुराहरू टन्न खुवाउने।
६. हातले घाउ भएको ठाउँमा घरीघरी नछुने/ छुन नदिने र बच्चालाई सकेसम्म अरु व्यक्तिहरुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढै राख्ने। यस्ता घाउहरू संक्रामक (एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने) हुन्छन्।
एन्टिभाइरल औषधि कहिले सुरु गर्ने?
क) प्रायजसो खाने वा लाउने एन्टिभाइरल औषधि यस्ता घाउलाई चाहिँदैन।
ख) यदि अत्यन्त गम्भीर अवस्था (मुखैभरि असाध्यै धेरै घाउ, सहनै नसक्ने दुखाइको साथै खान, निल्न, बोल्न वा सास फेर्न गाह्रो) भएमा, लक्षण देखिएको ७२ घन्टाभित्र एन्टिभाइरल औषधि सुरु गर्न सकिन्छ। यस्तो अवस्थामा, ७२ घन्टापछि सुरु गरिएको एन्टिभाइरल औषधिले भने काम गर्दैन।
ग) यदि घरिघरि केही समयको अन्तरालमा घाउहरू आइरहने भएमा, पूर्ववत लक्षणहरू देखिने बित्तिकै रोग निरोधात्मक एन्टिभाइरल औषधि सुरु गर्ने चलन पनि आजकाल प्रयोगमा छ।
मुखको घाउसँग धेरै भ्रमहरू जोडिएका हुन्छन्, त्यसकारण पनि आफ्नो बच्चाको मुखमा घाउ आँउदा अभिभावकहरू आत्तिनु स्वभाविक हो। बेलैमा थाहा भए र माथि उल्लेखित कुराहरू याद पुर्याएमा बच्चाको मुखमा आउने धेरैजसो घाउहरूको उपचार घरैमा सम्भव हुन्छ।
यदि घरैमा उपचार सम्भव नभएमा मुख रोग विशेषज्ञद्वारा साधारण उपचारपछि घाउहरू निको हुन्छन्। औषधि पसलबाट लिइएको जथाभावी औषधि वा एन्टिबायोटिक लाएर वा खुवाएर घाउ निको हुँदैन, बरु उल्टै एन्टिबायोटिक प्रतिरोध बढ्ने खतरा हुन्छ। सीमित ज्ञान कहिलेकाहीँ खतरा हुन्छ भनेझैँ सतर्क रहनु नै राम्रो हुन्छ। तर धेरै सचेत हुन खोज्दा कहिलेकाहीँ राम्रोभन्दा नराम्रो बढी हुन सक्छ।
आफ्नो तथा आफ्नो बच्चाको मुख स्वास्थ्यको लागि सतर्क रहौँ, एनएमसी दर्ता भएको दन्त चिकित्सक तथा विशेषज्ञ चिकित्सकबाट मात्र उपचार गराऔँ।