प्रविन कुमार बम
कोभिड-१९ बाट संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दो क्रममा छ। सायद यस्तो विकराल रुप अहिलेसम्म कुनै महामारीले लिएको थिएन। मेडिकल डाक्टर र वैज्ञानिकहरु भ्याक्सिन र औषधि पत्ता लगाउन अहोरात्र खटिएका छन्। चीन लगाएत केही देशले यही वर्षभित्र भ्याक्सिन आउनसक्ने सम्भावना देखाएका छन्।
नेपालमा लकडाउन भएको झन्डै-झन्डै ३ महिना पुग्न लाग्यो। संक्रमि हरु अस्पतालको शय्यामा छन्। संक्रमणको शंका भएकाहरू क्वारेन्टाइनमा छन् अनि बाँकी स्वस्थ मानिसहरु घरभित्र बस्न बाध्य छन्। कोहि पनि निर्धक्क भएर घरबाहिर निस्कन पाएको छैनन्। अहिले दुनियाँका मानिस पिँजडाको पक्षीझैं भएका छन्। अहिलेको डिजिटल दुनियामा सबैको दिनचर्या मोबाइल, टिभी र ल्यापटपमा सिमित छ।
लकडाउनले केही हदसम्म संक्रमणको रोकथाम त पक्कै गरेको छ। तर के मानिसहरु मानसिक, सामाजिक र भावोनात्मक रूपमा तन्दुरुस्त रहन सकेका छन् त? कतै हामी स्वास्थको एउटा पाटो लाई मात्र ध्यान त दिइरहेका छैनौं? विश्व स्वास्थ्य सङ्गठनका अनुसार "रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरूस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ।"
कोभिड -१९ र लकडाउन दुवैले हाम्रो मानसिक स्वस्थ्यमा असर पारेको तथ्य डब्लुएचओले बताएको छ। यस्तो अवस्थामा जोकोहीलाई केही हदसम्म उराठ लाग्नु, मनमा डर र चिन्ता हुनु स्वभाविक हो। तर विश्व स्वास्थ्य संगठनका अनुसार र विगतमा भएका सार्स र मर्स जस्ता महामारीको तथ्यांक हेर्दा यस्तो अवस्थामा मानिसको मानसिक र भावोनात्मक स्वास्थ्यमा असर पर्ने गरेको पाइएको छ। चाहे त्यो छोटो समयका लागि होस् या दीगो। मुख्य त तनाव र चिन्ताले सताउने गरेको पाइएको छ।
एकातिर कोरोना लागेर पो मरिन्छ कि भन्ने डर छ त अर्कोतिर दैनिक एउटै दिनचर्याले सबैलाई उराठ बनाएको छ। मनमा धेरै डर, चिन्ता भइरहनु, मनोबल कम्जोर हुनु, एउटै कुरा मनमा खेलिरहनु मानसिक अस्वस्थताका लक्षण हुन्। यदि दीगो समयसम्म यस्ता समस्याले सताएमा मानिस डिप्रेसन, बाइपोलार डिसअर्डर र पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर जस्ता मानसिक रोगको सिकार बन्न सक्छ। कसै- कसैले आत्महत्या को पनि प्रयास गर्न सक्छन् ।
विशेषगरि निम्न उल्लेखित वर्गका मानिसलाई मानसिक समस्याले सताउनसक्ने डर हुन्छ:
• मानसिक रोगका बिरामीहरु जो पहिले देखि नै डिप्रेसन र बिचार दोहोरिने मानसिक रोगको सामना गरिरहेका छन् ,
• जेष्ठ नागरिकहरु खासगरी वृद्धाश्रम र केयर होम्समा आश्रीत छन् र जो एक्लै बस्छन्,
• शारीरिक रुपमा अशक्त व्यक्तिहरू,
• सुगर, प्रेसर, हृदयघात र अन्य मुटु रोगका बिरामी,
• बिरामीको सेवामा अहोरात्र खटेका स्वास्थकर्मी र उनिहरुको परिवार,
• क्वारेन्टाइनमा रहेका,
• अरू रोगका कारण अस्पताल भर्ना भइ बसेका बिरामी,
• बालबालिका
र हामी जो कोहिलाई पनि मानसिक समस्याले सताउनसक्छ।
मानसिक स्वास्थलाई मध्यनजर गर्दै डब्लुएचओले १८ मार्छ २०२० मा "मेन्टल हेल्थ एन्ड साइकोलोजिकल कन्सिडेरेसन ड्युरिङ कोभिड १९ आउट्ब्रेक" शीर्षकमा विज्ञप्ति जारी गरेको थियो। जसमा यस्तो अव्स्थामा हुने मानसिक समस्याका बारेमा चर्चा गरिएको थियो।
जेष्ठ नागरिक , एचआइभी, क्यान्सर , मधुमेह, प्रेसर र अन्य मुटु रोगका बिरामीसँग भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम हुने हुँदा उनिहरुमा अझ बढी डर, चिन्ता र तनाव हुने हुनसक्छ।
अहिलेको समयमा सबैको ध्यानाकर्षण गर्न र सस्तो लोकप्रियता कमाउन विभिन्न सामाजिक संजाल र फेक वेबसाईटहरुले मानिसमा भ्रम, डर र त्रास पैदा गर्ने खालका असत्य समाचारहरू फैलाउने गरेको पाइएको छ। यसले मानिसमा अनावश्यक डर, त्रास, चिन्ता र शंका पैदा गरेको छ जसले मानसिक स्वास्थमा नकारात्मक असर पर्न सक्छ।
कोभिड-१९ र लकडाउनले गर्दा विध्यालय जान नपाएका, अलि बुझ्ने उमेर भएका बालबालिकाको मनोविज्ञानमा समेत असर परेको छ। नयाँ कुरा सिक्न नपाउँदा, साथीहरूसँग खेल्न नपाउदा, मन परेको कुरा खान नपाउदा, दैनिक एउटै दिनचर्या हुँदा बालबालिकाको सामाजिक एवम् मानसिक वृद्धिमा क्षती पुगेको छ। सानो कुरामा झनक्क रिसाउने, धेरै रूने, जिद्दी गर्ने अनि अलि जान्ने- बुझ्ने उमेरका बच्चाहरूले वयस्क झैँ डर, चिन्ता र तनाव लिने गरेका छन्। लकडाउनको समयमा बालबालिकामाथी हुने घरेलु हिंसा बढ्ने गरेको तथ्यांकले बताएको छ। यि सबै कारणले गर्दा बालबालिकाको मानसिक स्वास्थका साथै सर्वाङ्गीण उन्नतिमा बाधा पुगेको छ।
कोभिड १९ र अन्य बिरामीको सेवामा अनवरत लागिरहेका स्वास्थकर्मीलाई एकातिर कोरोना लाग्छ कि भन्ने डर छ भने अर्का तिर मानसिक तनावले सताएको छ। भोक, तिर्खा , थकाइ, निन्द्रा केही नभनी दिनरात बिरामीको सेवामा लागेका छन्। उनिहरूको शारीरिक र मानसिक स्वास्थ दुबै जोखिममा छन। उनिहरुप्रती घरपरिवारलाई त्यतिकै चिन्ता छ, डर छ। समाजले यिनिहरुले भाइरस सार्छन् भन्ने नकारात्मक दृस्टिकोणले हेर्न थालेको छ। "यिनिहरूले कोरोना सार्छन है" भन्ने मनसाय बोकेका घरबेटीहरुले कतिपय स्वास्थकर्मीहरूलाई घर बाट नै निकालेको समाचार पनि हामीले सुनेकै छौं। येस्तो अवस्थामा मन कति खिन्न हुन्छ होला! मन- मस्तिष्कमा कति नकारात्मक असर पर्छ होला!
कतिपय मानिसहरुले मानसिक तनाव, चिन्ता र डरको सामना गर्न मादक पदार्थ, धूम्रपान र लागू औसध प्रयोग गर्ने गरेका छन्, जो शारीरिक तथा मानसिक स्वास्थका लागि अत्यन्त हानिकारक छ।
मानसिक रूपमा तन्दुरुस्त हुन र स्वस्थ जीवन बिताउन हामी सबैले निम्न उल्लेखित कदमहरू चाल्न सक्छौं:
• घर-परिवार, नाता- गोता र आफन्तहरुसित घरमै समय विताउने, मनमा लागेका कुराहरू आदानप्रदान गर्ने,
• घरबाट टाढा रहेका परिवारका सदस्य र साथीहरूसँग फोन, भिडियो कल तथा मेसेजका माध्याम बाट सम्पर्कमा रहने
• शारीरिक र मानसिक रूपमा स्वस्थ रहन व्यायाम र योगको ठुलो भुमिका भएकाले दैनिक शारीरिक व्यायाम र योग गर्ने,
• रोग विरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्न स्व्च्छ पौस्टिक आहार सेवन गर्ने,
• मस्तिष्कलाई सन्तुलनमा राख्न मस्त निन्द्राको पनि आवश्यक पर्ने भएकाले समयमै सुत्ने बानी बसाल्ने,
• व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान दिने,
• रुचि अनुरुप किताब र पत्रपत्रिका पढ्ने, चित्रकला बनाउने, लेखहरु लेख्ने र बालबालिकाहरुलाई पनि रचनात्मक कार्यहरू सिकाउने,
• बालबालिकाहरुलाई घरमै बसेर खेल्न मिल्ने "इनडोर गेम"हरु खेलाउने
• बालबालिका तथा जेष्ठ नागरिकका कुराहरु सुनिदिने, उनिहरुले राखेका जिज्ञासाको बुझ्ने ढङ्गमा जवाफ दिने, उनिहरूलाई स्नेह र माया गर्ने,
• फेसबूक र इन्टरनेट बढी नचलाउने, बढी भन्दा बढी समय परिवारसँग बिताउने,
• कोभिड १९ सँग सम्बन्धित भ्रमात्मक झुटा खबर नफैलाउने,
• मानसिक तनावबाट छुटकारा पाउने बाहानामा मादक पदार्थ, धूम्रपान र लागू औषध प्रयोग नगरौं,
• आफ्नो पर्वाह नगरी दिनरात बिरामीको सेवामा खटेका स्वास्थकर्मीलाई माया र सम्मान गरौं,
यदि यी असल बानी अनुसरण गर्योी भने पक्कै पनि हामी सबै मानसिक र शारीरिक रूपले स्वस्थ रहनेछौं।
स्वस्थ मस्तिष्क र रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमताका बीच नङ र मासुको जस्तो अकाट्य सम्बन्ध छ। मस्तिष्क जति सन्तुलित हुन्छ प्रतिरोधात्मक क्षमता त्यति बलियो बन्दै जान्छ। झन अहिलेको जस्तो भ्याक्सिन र औसधि पत्ता नलागेको अवस्थामा त स्वच्छ मस्तिष्क, सकारात्मक सोच र दृढ प्रतिरोधात्मक शक्ति नै भाइरस विरुद्ध लढ्ने मुख्य हतियार हुन्। त्यसैले आजै बाट सकारात्मक सोच राखौं, सफा र स्वच्छ खाऔँ, व्यक्तिगत सरसफाइमा ध्यान दिऔँ, व्यायाम र योग गरौँ अनि शारीरिक र मानसिक रूपमा तन्दुरुस्त रहौँ।
(बम चितवन मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत छन्)