इन्द्रप्रसाद अर्याल
विश्वव्यापि महामारीको रुपमा फैलिइ रहेको कोभिड-१९ रोगले धेरै जसो विकसित देशहरु आर्थिक, सामाजिक, तथा भौतिक रुपमा बिचलित भएको अवस्था छ। करिब ५ महिनादेखी विश्व अर्थतन्त्र ठप्प भइ संसार नै भोकमारीको अवस्थामा आउने संकेत देखिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभर ७० लाखभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा परेका छन। त्यसैगरि ४ लाख भन्दा बढीको यो रोगबाट मृत्यु भइसकेको छ। संसार नै लकडाउनको अवस्थामा रहेको छ। सम्पुर्ण शैक्षिक संस्था बन्द छन्। विद्यार्थीको भविष्य अन्योलमा छ। यो अवस्था कहिले सम्म रहने हो थाहा छैन।
नेपालमा लकडाउन भएको ७० दिन बितिसक्यो। लकडाउन सामाजिक दुरी कायम राख्ने एउटा माध्यम मात्र हो। लकडाउन अवधिमा राज्यले यस महामारीको विरुद्धमा पूर्वतयारी राम्रोसंग गर्न सक्नुपर्ने थियो। तर पर्याप्त समय हुँदाहुँदै पनि राज्य चुकिसकेको छ।
संघीय सरकार र प्रदेश सरकारले निर्देशिका तयार गर्ने र स्थानीय सरकारलाई आदेश दिने मात्र कार्य बढि भएको जस्तो देखिन्छ भने स्थानीय सरकारले आफ्नो साधन र स्रोतले भ्याएसम्म दिन रात खटिरहेको देखिन्छ।
पहिलो कुरा त राज्यले यस महामारीलाई सामान्य रुपमा लियो। समयको सदुपयोग गर्न सकेन। विश्व स्वास्थ्य संगठनले कोविड-१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा गरि सकेपछि सम्पुर्ण अन्तर्रास्ट्रिय हवाइ उडान र सीमा नाका बन्द गर्नुपर्ने थियो। विदेशबाट आएका सबै नागरिकलाइ १४ दिनसम्म क्वारेन्टिनमा राखेर पिसिआर परिक्षण गरेर मात्र घर पठाउनु पर्थ्यो।
करिब २ महिनाको अवधिमा मापदण्ड अनुसारको उपयुक्त क्वारेन्टिनको व्यवस्थापन, बिरामी राख्ने सम्पुर्ण पुर्वाधारयुक्त अस्पताल जस्तैः पर्याप्त बेड, भेन्टिलेटर, आइसियु, अक्सिजन आदिको व्यवस्थापन, एकै दिन कम्तिमा एक हजार जना सम्म जाँच गर्न सक्ने पिसिआर परीक्षणको बिस्तार, चिकित्सक तथा स्वास्थ्यकर्मिलाइ आवश्यक पर्ने पर्याप्त पिपिइ, पर्याप्त औषधी र अन्य आवश्यक सामाग्री तथा पर्याप्त जनशक्तीको व्यवस्थापन आदि समयमै गरि सक्नुपर्ने थियो|
नेपालमा हाल तिब्र रुपमा संक्रमण फैलदै गइरहेको छ। आज सम्म ३ हजार ७ सयभन्दा बढीमा कोरोना पोजेटिभ देखिएको छ। हुनतः दैनिक १०० बाट बढाएर ४००० सम्म टेस्ट हुन थालेको छ।
यो सुःखद कुरा नै हो तर अझै यो पर्याप्त भने होइन। केश इन्भेस्टिगेशन तथा कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन सकिएको देखिदैन।
संक्रमित देखापरिसकेपछि उनीहरुको सम्पर्कमा आएका सबैको खोजि गरि परीक्षण गर्नु सबैभन्दा महत्वपुर्ण कार्य हो। यो कार्य प्रभावकारी रुपमा हुन सकेको छैन। हुनतः यस कार्यका लागि सरकारले सिआइसिटि टिम प्रत्येक पालिकामा गठन गर्न आदेश दिइसकेको छ। तर कहि गठन भएका छन भने कतै गठन हुन सकेका छैनन्।
गठन भएका ठाउँमा पनि पालिकाले भुमिका विहिन र कुनै आवश्यक तालिम तथा जिम्वेवारी नदिइ राखिएको छ।
धेरै जसो पालिकाहरुमा स्वास्थ्य संयोजकहरु आफ्नो प्रभुत्व देखाउन वा कोभिड १९ मा आफुले मात्र धेरै कार्य गरेको देखाएर जनप्रतिनिधिबाट प्रशंसा बटुल्ने काममा लागेका छन्।
जसका कारण सिआइसिटि टिमको महत्व पालिकाका जनप्रतिनिधिहरुले बुझ्न सकिरहेका छैनन्। शैक्षिक योग्यताको कदर गर्दै सरकारले जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक सम्मको अध्यन गरेका व्यक्तिलाइ सिआएसिटि टिमको फोकल पर्सन बनाइ टिम गठन गर्न निर्देशन भएपनि सोको प्रभावकारी कार्यान्वायन हुन सकेको छैन। नेपालका प्रायजसो सबै क्षेत्रमा कोरोना माहामारी फैलिइसकेको अवस्था छ। यस अवस्थामा कन्ट्याक्ट ट्रेसिंग सबैभन्दा महत्वपुर्ण विषय हो।
के हो त कन्ट्याक्ट ट्रेसिङ?
कोभिड१९ संक्रमितसंगको सम्पर्कमा आएका व्यक्तिहरु पहिचान गरि उनीहरुको मूल्यांकन तथा उचित व्यवस्थापन गरि रोगलाइ थप फैलनबाट रोक्नु नै कन्ट्याक्ट ट्रेसिङ हो। जुन प्रक्रियाले संक्रमणको स्रोत पनि पत्ता लगाउन मदत गर्छ। संक्रमित व्यक्तिको कन्ट्याक्ट हुनलाई यी कुरा हुनुपर्छ:
- संक्रमित व्यक्तिसंग १ मिटर भन्दा कमको दुरीमा कम्तिमा पनि १५ मिनेटको समय बिताएको हुनु पर्दछ।
- संक्रमित व्यक्तिसँग प्रत्यक्ष भौतिक सम्पर्क भएको हुनु पर्दछ।
- कुनै पनि व्यक्तिगत सुरक्षाको सामाग्रीको प्रयोग नगरी संक्रमित बिरामीको स्याहार गरेको हुनु पर्दछ।
- कुनै स्वास्थ्य संस्था वा सार्वजनिक सवारी साधन भित्र रहेको वा कुनै बन्द परिवेश जस्तै जेल , विद्यालय भित्र रहेको हुनु पर्दछ।
कोरोना महामारीको रोकथाम र संक्रमणबाट बच्ने विषयमा प्रायः सबै नागरिकले बुझिसकेको अवस्था छ। तर पनि यो महामारीलाइ सामान्य रुपमा लिइएको देखिन्छ।
आफु नमरी स्वर्ग देखिदैन भनेझैँ आफ्नै समुदाय वा घरमै रोग नफैलिउन्जेल मानिसहरुले यस महामारीलाइ हल्का रुपमा लिएको पाइएको छ। तर यसो गर्नु महाभुल हुने छ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड१९ रोग संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यौ गर्दा निस्केको छिटा अर्को निरोगी व्यक्तिको शरीर भित्र प्रवेश गरेमा मात्र यो रोग सर्दछ।
त्यसैले यो रोगबाट बच्न सामाजिक दुरी कायम राख्नु नै सबै भन्दा उत्तम उपाय हो। एक व्यक्तिबाट अर्को व्यक्ति बिचको दुरी कम्तिमा २ मिटर कायम राख्ने र कुनै वस्तुको सम्पर्कमा आइसके पछि २० सेकण्ड साबुन पानीले मिचिमिचि हात धुनु नै यो रोगबाट बच्ने उत्तम उपाय हो।
(अयार्ल कमल गाउँपालिका झापाका जनस्वास्थ्यकर्मी हुन्)