गगन थापा
नेपालभन्दा बाहिर कोभिड १९ बाट १२७ जना नेपालीको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालय भन्छ- नेपालभित्र १४ जनाको मृत्यु भएको छ। ३ हजार ७ सय ६२ जना संक्रमित भएका छन्। के मृत्यु हुनेको संख्या १४ मात्रै हो?
भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, औषधि खान नपाएर मरेकी गंगादेवी बोहरा, सुत्केरी हुन नपाएर मरेकी लालकुमारी रोकायाको मृत्युको जिम्मा कसले लिन्छ? क्वारेन्टाइनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ? र, झुण्डियर मर्न बाध्य भएका लिलाबल्लौ भण्डारी वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ? यी प्रतिनिधि घटना मात्रै हुन्। यस्तो धेरै देख्न बाँकी छ।
माघ २१ गतेदेखि कांग्रेसले उठाएको आवाजहरु सम्झन्छौं। फागुन २३ गते सदनमा सार्वजनिक महत्त्वको प्रस्तावमाथि सम्झन्छौं। उच्च स्तरीय समितिलाई बुझाएको प्रस्ताव सम्झन्छौं। कांग्रेसले मात्रै होइन, धेरैले सरकारलाई सुझाब दिए। सरकारलाई यो गर, यो गर भन्यौं। तर, सरकारले सुनेन। न कांग्रेसको सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो ,न नागरिकको सुझाब सुन्यो। नियन्त्रणमा रहँदारहँदै पनि आज हाम्रो यो अवस्था बनेको छ।
यो अवस्था त्यसै भएको होइन। यसको दोष कसको? कानुनले गर्दा रोकेको हो? ढुकुटीमा पैसा नभएर रोकिएको हो? के कांग्रेसले रोकेको हो? अदालतले रोकेको हो? कसले रोकेको हो? यो रोकेको हो, सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको हो। सरकारको अकर्मण्यताले रोकेको हो।
सरकारको अक्षमताका कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नुपरेको छ।
कांग्रेस केन्द्रीय समितिले सोमबार बैठक गरेर निष्कर्ष निकालेको छ। यो सरकारले कोरोनालाई पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौ/सहयोग गछौं भनेर मात्रै बस्दैनौं। अब हामी प्रश्न गर्छौं। उत्तर चाहन्छौं। सरकारलाई जवाफदेही बनाएरै छाड्छौं।
१० अर्ब रुपैयाँ खर्च कहाँ भयो? अब हामीलाई उत्तर चाहिन्छ। पाँचवटा पिसीआर मेसिन र २५ हजार वटा किट किनेर १० अर्बको हिसाबकिताब देखाउन पर्दैन? हामीलाई एकएक कुराको हिसाबकिताब चाहिन्छ। यस्तो राष्ट्रिय विपतिको बेलामा भ्रष्टचारमा लिप्त हुने? निर्लज्जताको पराकाष्ठ हो।
क्वारेन्टाइनमा एक लाख ६६ हजार मानिसहरु बस्छन् भनेर प्रधानमन्त्रीले संसदमा भन्नुहुन्छ। यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो? हामीलाई यसको जवाफ चाहिन्छ। भारतबाट आएका नागरिकलाई गर्ने व्यवहार यही हो? अदालतले भन्यो, संसदले भन्यो, विज्ञले भने, ‘पिसिआर टेस्टको दायरा बढाऊ।’
आज सुदूपश्चिममा कैयन दिनदेखि स्वाब परीक्षण रोकिएको छ। प्रदेश २ मा दशौं हजारको रिपोर्ट नआएर क्वारेन्टाइनमा छटपटाएर बसेका छन्। तर सरकार के गर्दैछ? परीक्षणको दायरा सानो बनाउँदैछ। अब सरकार क्वारेन्टाइनमा बस्नेको पिसीआरको परीक्षण नगर्ने भन्दैछ। अब मृतकको स्वाब परीक्षण नगर्ने भन्दैछ। संक्रमितलाई १४ दिन आइसोलेसनमा राखिसकेपछि घर पठाउने बेलामा परीक्षण नगर्ने भनिएको छ। बरु सरकारले टेस्ट गर्नै बन्द गरिदिए हुन्छ। अनि नेपाललाई ‘कोरोना फ्रि देश’ भनिदिने। परीक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिन्न।
अब कांग्रेसलाई जवाफ चाहिन्छ। यसो गर्नलाई प्रधानमन्त्रीले भन्नुभएको हो? स्वास्थ्यमन्त्रीले भन्नुभएको हो? भोलि एक/दुई जना निर्धो कर्मचारीलाई सरुवा गरेर दोषबाट, अपराधबाट भाग्न पाइँदैन।
विज्ञहरुले भनिरहेका छन्- आरडिटी परीक्षण काम लाग्दैन। न यो विश्वसनीय छ, न यो संक्रमणको बेलामा औचित्य छ। तर जबर्जस्ती परीक्षण गर्ने, यो अपराधको जिम्मेवारी कसले लिने हो?
अस्पतालको तयारी खोई? यतिका दिनसम्म लकडाउन गरिसकेपछि संक्रमितको संख्या बढ्दै गएपछि कुन अस्पतालमा उपचारका लागि कुन सामग्री थपियो? कति जनशक्तिको व्यवस्थापन गरियो? यसको जवाफ चाहिन्छ।
विदेशमा बस्ने नेपालीलाई ल्याउने निर्णय गरियो। अहिले कुन एयरलाइन्सले बोक्ने भन्ने झगडा गरेर आउन ठिक्क परेकामाथि बज्रपात गर्ने? जवाफ चाहिन्छ।
गर्भवती महिलादेखि खोप पाउने बालिकासम्म, दीर्घरोगीले औषधि किन पाएनन्? जवाफ चाहिन्छ। कृषक, मजदुर, साना उद्योगी, ठूला उद्योगी, व्यवसायीसम्मले प्रधानमन्त्रीको गीत र कविताले राहत पाउँदैनन्। तिनको लागि कार्यक्रम के छ? जवाफ चाहिन्छ।
प्रश्न केवल प्रश्नका लागि होइन। उच्च स्तरीय समितिलाई हामी चिन्दैनौं। हामीलाई सदनमा आएर चिनाउनुपर्छ। उच्चस्तरीय समितिका प्रमुखले हामीले राखेका प्रश्नको एक/एक जवाफ दिनुपर्छ। जवाफमा चित्त बुझेन भने प्रधानमन्त्री सदनमा आउनुपर्छ। आज जवाफका लागि अनुरोध मात्रै कांग्रेसले गरेको छ। हाम्रो कुराको सुनवाई भएन र जवाफमा चित्त बुझेन भने हामी जवाफ मागेर मात्रै अब बस्दैनौं। थपक्क बोलेर थपक्क बस्ने दिन अब गए। सरकारले कांग्रेसले उठाएका विषयमा जवाफ दिएपछि मात्रै सबै कुरा सुचारु हुने ठाउँसम्म पुगिन्छ। सरकारले सोचोस्। तयारी गरोस्। कांग्रेसले सरकारलाई सुतेर बस्न दिदैन भन्ने सरकारले बुझोस्।
(प्रतिनिधि सभामा कांग्रेस नेता थापाले राखेको धारणाको सम्पादित अंश)