डा अर्जुनहरि रिजाल
नेपालमा दन्त उपचार सम्बन्धी ज्ञानको धेरै कमी छ। दाँतसम्बन्धी रोग लागेमा समयमै उपचार गर्नुपर्छ, नगरिएमा विभिन्न समस्या उत्पन्न हुनसक्छ भन्ने जनचेतना अझै पनि विकास भएको छैन। त्यसैले अहिलेको समयमा पनि यससम्बन्धी धेरै भ्रम रहिआएको पाइन्छ। दन्त चिकित्सा उपचार सम्बन्धी जनमानसमा रहेका भ्रम तथा त्यसको सत्यताबारे केही जानकारी प्रस्तुत गरिएको छ।
१. भ्रमः दाँत सम्बन्धी रोगहरुको उपचार गर्दा तथा दाँत उखेल्दा आँखा/टाउको सम्बन्धी रोग लाग्छ।
सत्यः दाँतसम्म पुग्ने तथा दाँतलाई रगत पुर्याउने रक्तनली तथा नसाहरु र आँखा/टाउकोका नसा/रक्तनलीहरु फरकफरक हुन्छन्। त्यसैले दक्ष चिकित्सकद्वारा उपचार गराउँदा आँखा तथा टाउको सम्बन्धी कुनै पनि समस्या देखिँदैन।
२. भ्रमः दाँत सफा गर्दा दाँतको इनामेल खिइन्छ।
सत्यः सामान्यतया दाँतको बाहिरी तहमा बस्ने दन्तेलेउ तथा क्याल्कुलसको सफाइ अल्ट्रासोनिक मेसिनको मद्दतले गरिन्छ। यो मेसिनको कम्पनको सहयोगले फोहोरको सफा गरिन्छ। उक्त कम्पनले इनामेल खियाउने गर्दैन। दक्ष चिकित्सक तथा हाइजेनिस्टको साथमा उपचार गराउँदा यस्ता समस्या देखिँदैन।
३. भ्रमः मेसिनले सफा गर्दा दाँत कमजोर हुन्छ।
सत्यः दाँत वरिपरि जम्मा भएको फोहोरले गिजामा रगत आउने, पाक्ने, गिजा तल सर्ने जस्ता समस्या आउने गर्छ। यदि दाँत हल्लिएको छैन, गिजा तल सरेको छैन भने मेसिनले सफा गर्दा दाँत कमजोर हुने समस्या कहिल्यै उत्पन्न हुँदैन। बरु दाँत वरिपरिको गिजा तथा हड्डीको स्वास्थ्य झनै राम्रो हुँदै जान्छ।
४. भ्रमः दाँत सफा गर्दा सिरिङ-सिरङ तथा झनझनाहट बढ्छ।
सत्यः दाँत वरिपरि फोहोर जम्मा भएको छ, सामान्य किसिमको गिजाको इन्फेक्सन भएको छ, हरेक ६/६ महिनामा सफा गरिरहेको छ, गिजा तलतिर सरेको छैन भने दाँत सफा गर्दा एकदमै धेरै सिरिङ-सिरिङ/झनझनाहट महसुस हुँदैन। तर दाँतको इन्फेक्सन एकदमै धेरै छ, गिजा तलतिर सरेको छ भने सिरिङ-सिरिङ हुने सम्भावना हुन्छ।
५. भ्रमः दाँत एक पटक सफा गरिसकेपछि समस्या नआउन्जेलसम्म सफा गर्नु हुँदैन।
सत्यः दाँत सम्बन्धी समस्या देखिए पनि नदेखिए पनि कम्तीमा पनि वर्षको दुई पटक (६/६ महिनाको फरकमा) दन्त चिकित्सकसँग परामर्श लिनुपर्छ साथसाथै दाँतको सफाइ दक्ष चिकित्सक तथा हाइजेनिस्टसँग गराउनुपर्छ।
६. भ्रमः दाँत सम्बन्धी रोग गराउने लाटो अनि बाठो किरा हुन्छ।
सत्यः दाँत तिन तहले बनेको हुन्छ। सबैभन्दा बाहिरी तहः इनामेल, बीचको तह; डेन्टिन अनि भित्री नसाको तह पल्प। दाँतको इन्फेक्सन गराउने जिवाणु इनामेलको तहमा मात्र सीमित छ भने कुनै किसिमको झनझनाहट महसुस हुँदैन। डेन्टनको तहमा छ भने झनझनाहट महसुस हुन्छ। त्यस्तै सबै भन्दा भित्री तह पल्पमा पुगेको छ भने दुखाइको महसुस हुन्छ। त्यसैले किरा लाटो वा बाठो भन्ने हुँदैन। दाँतको तहको इन्फेक्सन मात्रै फरक हुन्छ।
७. भ्रमः दाँतको उपचार गर्दा क्यान्सर हुन्छ।
सत्यः दाँतसँग सम्बन्धी दाँत भर्ने, रुटक्यानल गर्ने, कृत्रिम दाँत लगाउने, दाँतमा तार बाँध्ने लगायतका उपचार गर्दा दाँतको क्यान्सर हुँदैन तर यदि बिरामीको मुखमा पहिल्यैदेखि सुर्तीजन्य पदार्थहरुको कारणले निको नभएको घाउ छ, लामो समयदेखि निको नभएको घाउ छ, शरीरमा क्यान्सरका लक्षणहरु पहिल्यैदेखि देखिएका छन् भने क्यान्सरको प्रक्रियालाई छिटो भने बनाउन सक्छ। त्यसैले दाँत सम्बन्धी उपचार गर्नुभन्दा अगाडि चिकित्सकलाई आफ्नो जिउमा भएका स्वास्थ्य सम्बन्धी समस्याहरुको पूर्वजानकारी गराउनुपर्छ।
८. भ्रमः सेतो कोट लगाउने सबै दन्त चिकित्सक हुन्।
सत्यः सेतो कोट लगाउने सबै जना दन्त चिकित्सक हुँदैनन्। दन्त चिकित्सा सम्बन्धी कुनै ज्ञान नभएका व्यक्तिहरु पनि क्लिनिकमा बसिरहेका हुन सक्छन्। त्यसैले आफ्नो उपचार गर्ने व्यक्ति दक्षता अनि दर्ताको बारेमा सोध्ने बानी गरौं।
९. भ्रमः दाँत नै त हो, जहाँ जे लगाए पनि हुन्छ!
सत्यः दाँत नभएको ठाउँमा दुई किसिमको दाँत राख्न सकिन्छ। एक अस्थायी र अर्को स्थायी। दाँत राख्नु अगाडि कस्तो अवस्थामा कुन दाँत कसरी राख्ने भनेर निरीक्षण गर्नुपर्ने हुन्छ। सो नगरी दाँत लगाएमा त्यो काम त लाग्दैन नै त्यसले छेउका दाँत र गिजा तथा मुखमा प्रतिकूल असर पार्छ। त्यसैले नयाँ दाँत सधैं दन्त चिकित्सकसँग मात्र लगाऔँ। साथै कस्तो किसिमको दाँत लगाउने भन्ने कुरा उमेरमा पनि भर पर्छ।
१०. भ्रमः धेरै पटक ब्रस गर्दा दाँत सफा हुन्छ।
सत्यः धेरै पटक ब्रस गर्दाभन्दा पनि गुणस्तरीय ब्रस तथा उपयुक्त तरिकाको प्रयोग गरेर बिहान र बेलुकी खाना खाइसकेपछि ब्रस गर्दा दाँत तथा मुखको स्वास्थ्य राम्रो हुन्छ। तरिका नमिलाई कडा खालको ब्रस प्रयोग गर्दा सफा हुनुको साटो दाँतको बाहिरी तह खिइनुको साथसाथै गिजा तलतिर सर्ने समस्या आउन सक्छ।
११. भ्रमः बच्चाको दाँत त हो, फेरि आइहाल्छ, किन उपचार गराउनु?
सत्यः बच्चाको दूधे दाँत र स्थायी दाँत आउने समय फरकफरक हुन्छ। जबसम्म स्थायी दाँत आँउदैन वा दूधे दाँत आफैँ हल्लिएर झर्दैन, तबसम्म मुखमा दूधे दाँत स्वस्थ हुनुपर्छ। यदि दूधे दाँतमा समस्या देखा पर्यो, इन्फेक्सन भयो तर उपचार गरिएन भने पिप जम्मा भएर ठूलै रुप लिनसक्छ। साथै उपचार नगरी समय नपुग्दै दाँत निकालिएमा पछि आउने स्थायी दाँतको लागि ठाउँ नपुगेर बाङ्गोटिङ्गो भएर आउने सम्भावना धेरै हुन्छ। त्यसैले आफ्ना बालबच्चाको दाँतमा समस्या देखिएमा दक्ष चिकित्सकसँग उपचार गराइहाल्नुपर्छ।
१२. भ्रमः उमेर नपुगी बाङ्गोटिङ्गो भएको दाँतमा तार बाँध्नु हुँदैन।
सत्यः आफ्ना बालबच्चाको दाँत बाङ्गोटिङ्गो भएर आएको छ भने उमेर पुगेपछि मात्रै उपचार गर्छु भनेर कुरेर बस्नु हुँदैन। जतिसक्दो छिटो दन्त चिकित्सकसँग परामर्श गरिहाल्नुपर्छ। यस्तो अवस्थामा विशेषज्ञ चिकित्सकको परामर्श पनि आवश्यक पर्छ।
१३, भ्रमः दाँतमा तार बाँधे पनि फेरि बाङ्गो भइहाल्छ।
सत्यः दाँतको तार बाँध्ने उपचार सकिसकेपछि केही मात्रामा दाँत पहिलेको अवस्थामा जान सक्छ तर पहिलेकै अवस्थामा भने जाँदैन। यदि उपचार सकिइसकेपछि चिकित्सकको सल्लाह बमोजिम रिटेनरको प्रयोग गरियो भने दाँत पहिलेकै अवस्था वा फेरि बाङ्गो हुँदैन।
१४, भ्रमः आफ्नो शरीरमा भएका अन्य रोगको बारेमा भन्यो भने चिकित्सकले दाँत निकाल्ने उपचार गर्दैनन्।
सत्यः बिरामीले जहिले पनि आफ्नो शरीरमा भएका अन्य रोगको बारेमा चिकित्सकलाई जानकारी गराउनुपर्छ। यदि जानकारी नगराएको खण्डमा उपचारको क्रममा जटिलता उत्पन्न भएर मानिसको ज्यान पनि जान सक्छ। त्यसैले चिकित्सकसँग कुनै पनि रोग लुकाउनु हुँदैन।
१५, भ्रमः डेन्टल कलेजहरुमा सिकारुले उपचार गर्छन्।
सत्यः डेन्टल कलेजहरुमा अध्ययनका साथसाथै बिरामीको उपचार हुने गर्छ। किताबी ज्ञानको साथसाथै विभिन्न रोग तथा त्यसको उपचारको बारेमा बिरामीमा पनि अध्ययन हुने गर्छ। यस्तो किसिमको अध्ययन तथा उपचार सधैँ विशेषज्ञ चिकित्सकको निगरानीमा हुने गर्छ। आफ्नै मनसायले कुनै पनि उपचार हुँदैन। यो पनि भविष्यको लागि दक्ष चिकित्सक तयारी गर्ने सामान्य प्रक्रिया हो।
१६, भ्रमः दाँत त हो, जोसँग उपचार गराए पनि हुन्छ।
सत्यः दाँत सम्बन्धी समस्याको बारेमा जानकारी तथा उपचारको निम्ति सधैँ एनएमसी रजिस्टर्ड चिकित्सकहरुसँग सम्पर्क गर्नुपर्छ।