डा मिलन अधिकारी
पछिल्ला दिनहरुमा स्वास्थ्यकर्मी एवं चिकित्सकप्रति आम जनमानसको धारणा नकारात्मक बन्दै गएको छ। समाजमा यो धारणा मौलाउँदै जाँदा स्वास्थ्यकर्मीको मनोबलमा ह्रास आएको देखिन्छ। चिकित्सा विज्ञानमा घोत्लिएर आफ्नो जवानी र तालुसम्म खुइल्याएका स्वास्थ्यकर्मी आफू र आफ्नो पेसाप्रति नै वितृष्णा उत्पन्न हुने अवस्थामा पुगेका छन्।
सक्दो प्रयास गर्दा पनि बिरामी बचाउन नसक्दा पीडा चिकित्सकलाई पनि हुन्छ। त्यस्तो अवस्थामा हुने भौतिक आक्रमण र त्यसपछिको मानसिक विचलनले गर्दा अर्को सिकिस्त बिरामी हेर्दा यी स्वस्थाकर्मीको हात काँम्दैन होला? कालान्तरमा यसबाट समाजलाई नै हानि हुने हैन र?
हुन त समाजलाई दोष थोपरेर मात्रै उम्कन खोजेर हुन्न। स्वास्थ्यकर्मीहरुले पनि कतिपय अवस्थामा आफ्नो पेसागत धर्म र मान्यतालाई आत्मसात नगरेका उदाहरण नभएका होइनन्। तर एकाधले त्यसो गरे भन्दैमा सबै स्वस्थ्यकर्मीमाथि धावा बोल्न खोज्ने प्रवृत्ति आजको समाजमा कालो धब्बाको रुपमा रहेको छ। मृत्युको मोलतोल हुनु र लेनदेनमा सहमति भएर घटना सेलाउनु सभ्य समाजमा लाजमर्दो कुरा हो।
यस्तो मनस्थिति हुँदाहुँदै पनि समस्त विश्वलाई नै हायलकायल परिरहेको कोरोना महामारी विरुद्धको लडाईंमा अग्रपंक्तिमा यिनै स्वस्थ्यकर्मी छन्। यसो भन्दैगर्दा अरुको भूमिकाको नजरअन्दाज गर्न खोजेको हैन। तर सबैले स्वीकार्नै पर्ने यथार्थ के हो भने यो महायुद्धका प्रमुख सिपाही यिनै स्वस्थाकर्मी नै हुन्।
दसौं दिनसम्म एउटै मास्क र रेनकोट जस्तो नाम मात्रको पिपिईको भरमा काम गर्नुपरेको कटु यथार्थ सरोकारवाला सबैलाई थाहा भएकै विषय हो। भरुवा बन्दुकको भरमा युद्ध लड्न कस्सिएका सिपाही जस्तो, कस्तो कस्तो नमिलेको छ यी स्वास्थ्यकर्मीको खटनपटन, यो भाइरस विरूद्धको लडाईंमाl तैपनि लडिरहेका छन्, भिडिरहेका छन्, त्यो पनि अग्रपंक्तिमा दत्तचित्त भएर।
यस्तो अवस्थामा रहेका स्वस्थाकर्मीलाई थर्काउने, क्वारेन्टाइनमा यिनैलाई हेर्न बसेकामाथि लात बजाउने, टाउको फुटाल्दिने, डेरामा बस्न नदिएर निस्किएर जा भन्ने, बाटो ढुकेर कुट्ने? के यही समाजको परिकल्पना गरेको हो हामीले? आगामी पिँढीलाई कस्तो सन्देश दिन खोजेको हो हामीले?
समाज त प्रतिपक्षमा भयो, राज्यले त कमसेकम यिनीहरुलाई काममा उत्साही र उच्च मनोबल सहित काम गर्ने वातावरण निर्माण गर्न सक्नुपर्छ नि। कोशिस नभएको हैन, तर पर्याप्त भएको छैन। यो विशेष परिस्थितिमा प्रायजसो राष्ट्रसेवक कर्मचारीहरु घरमै बसेको बेलामा, आफ्नो घरपरिवार, बालबच्चा नभनी फिल्डमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा सम्पूर्ण रुपमा आफू सकुशल घर फर्किन सक्छु भन्ने विश्वास दिलाउन सक्नुपर्छ, जिम्मेवार सरकारले। यथेष्ट मात्रामा गुणस्तरीय व्यक्तिगत सुरक्षा सामग्रीको सुनिश्चित गरी भयरहित अवस्थामा काम गर्न सक्ने वातावरण बनाउने जिम्मा सरकारकै हो।
केही दिन पहिले सामाजिक सन्जाल र मूलधारका सञ्चारमध्यमहरुमा एउटा खबरले राम्रै प्राथमिकता पायो। प्रदेशसभा संसदमा पनि कुरा उठ्यो रे। फलानो अस्पतालमा यति जना कोरोनाको बिरामीको उपचार गर्दा भत्तामा मात्र करोड बढी रकम माग गर्यो भनेर। यो विषयको यथार्थ नबुझी आम जनमानससँगै समाजका बुद्धिजीवी कहलिएका वर्गले पनि आफ्नो कटु बचनहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पोखे। कतिले त त्यहाँ कार्यरत चिकित्सक लगायत अरु कर्मचारीको नाम सहितको फेहरिस्त नै पेस गरे।
कसले सम्झाउने यिनीहरुलाई, भत्ता चाहियो भनेर कोही स्वस्थ्यकर्मीले भनेको छैन र भन्दैनन् पनि। राज्यले नै दिन्छौँ भनेकोले एकरुपता हुनुपर्छ है भनेको चाहिँ हो। तर यो भत्ताको कुरालाई यसरी बढाइचडाइ गरेर सामाजिक सञ्जालम पोखियो कि कोरोना कहरमा दत्तचित्त भएर लागेको स्वस्थ्यकर्मीलाई खलनायकको पगरी गुथाइयो। सबैले बुझ्न जरुरी छ, राज्यको यो विपतको बेला कोही स्वास्थ्यकर्मीलाई पनि भत्ताको लोभ छैन। कोरोना परास्त गर्ने यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न सबै आफ्नो ठाउँबाट सक्दो योगदान दिन कटिबद्ध छन्।
भत्ता त केवल सरकारले तिमीहरु एक्लै छैनौ, राज्य साथमै छ है भनेर उपस्थिति देखाउने सानो मध्यम मात्र हो। राज्यले समतामूलक ढंगबाट कसैलाई पनि भेदभाव नहुने गरी यस महामारीसँग सिंगौरी खेलिरहेका सम्पूर्ण स्वस्थाकर्मीलाई समेट्ने गरी भत्ताको व्यवस्था गरोस्।
तर, जनमानसले बुझ्न एकदमै जरुरी कुरा के हो भने भत्ताको लोभले कोही स्वास्थ्यकर्मी आफ्नो ज्यानको बाजी लगाउन आएको हुँदै होइन। राज्यप्रतिको दायित्वबोध भएर आफ्नो सिप, ज्ञानले यो लडाईंमा सहयोग गर्न सकिन्छ कि भनेर हो ज्यानको बाजी लगाएको।
विस्तरामा उपरखुट्टी लगाएर आलोचनाका शब्द पोख्न त सजिलो होला। तर तराईको उखरमाउलो गर्मीमा, पिसाब पनि नफेरी पिपिई लगाएर ८ घण्टा काम गर्न कस्तो होला, कसैले सोचेको छ?
सक्छौं, यो मोर्चाका यस्ता फ्रन्टलाइनरको मनोबल बढाउने कोशिस गरौं, सक्दैनौं यो या त्यो बहानामा स्वास्थ्यकर्मीलाई हतोत्साही पार्ने काम नगरौं।