राघवेन्द्र मिश्र
कोरोनाले विश्वको अधिकतम उत्पादनशील जनसंख्यालाई घरको मुल ढोकाभित्र बस्न बाध्य बनाएको अवस्थामा ज्यानको बाजी थापेर परोपकारमा लागेको भनेर दुनियाँले वाहवाही गरेको एउटा समूह हो स्वास्थ्यकर्मी। विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई आभार व्यक्त गर्न विभिन्न रोचक क्रियाकलापहरु गरिए। नेपालमा दीप प्रज्वलन गरियो। छिमेकी देशमा त हेलिकोप्टरबाट फूलको वर्षा नै गरियो। यो सब देखेर आफूले स्वास्थ्य जस्तो परोपकारी क्षेत्र अँगालेकोमा निकै गोरवान्वित महसुस गरें। तर यो आभारको हकदार म कदापि होइन भनेर बुझ्न मलाई धेरै दिन लागेन।
"कसैको रगतमा हेमोग्लोबिन ६ प्वाइन्ट छ भने त्यसको उपचार कसरी गर्ने?" काठमाडौंबाट घर पुगेको पहिलो दिनमै ममीले प्रश्न गर्नुभयो। उहाँले हेमोग्लोबिनको मात्रा ६ ग्राम प्रतिडेसिलिटर हुँदा कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रश्न गर्नुभएको मैले सजिलै बुझें। "अस्पतालमा भर्ना गरेर रगत दिनुपर्छ" मेरो जवाफ थियो। यो जवाफ दिँदैगर्दा कसको सम्बन्धमा कुरा गरिएको बुझ्न सकेको थिइनँ।
कुरा बुझ्दै जाँदा छिमेकको १२ महिनाको बच्चा कडा रक्तअल्पता र कडा कुपोषण (पिइएम)ले ग्रसित रहेछ। आफ्नो छिमेकमा नै रहेको बच्चा गम्भीर अवस्थामा रहेकोले तुरुन्तै भेट्न पुगें। बच्चाको आमा जम्मा १६ वर्षको हुनुहुन्थ्यो। बच्चाको अवस्था निकै कमजोर थियो।तौल जम्मा ५ केजी रहेको सो बच्चा टाउकोमा थोरै कपाल, वृद्धको जस्तो अनुहार, केही बोल्न नसक्ने, बसेको ठाउँबाट घिस्रिन समेत नसक्ने अवस्थामा थियो। उसको विकासक्रम सो उमेरको बच्चाभन्दा धेरै पछाडि थियो। पटकपटक बिरामी परिरहने सो बच्चालाई यस पटक रगत जाँच्दा कडा रक्तअल्पता भनी निदान गरिएको थियो।
मैले आमाको सुरुदेखिको "मेडिकल हिस्ट्री" लिने कोसिस गरें। गाउँको निजी विद्यालयमा ३ कक्षासम्म पढेकी उनको विहे १५ वर्षको उमेरमा भएको रहेछ। विहेको केही दिनपछि गर्भवती भएकी उनले चार पटक समयमै गर्भजाँच गराइन्। स्वास्थ्यचौकीबाट आइरन चक्की पनि पाइन्। गर्भावस्थामा रुघाखोकी हुँदा नजिकैको बजारमा रहेको डाक्टरको क्लिनिकमा जँचाउन जाँदा डाक्टरसापले स्वास्थ्यचौकीको आइरन नखाई आफूले लेखिदिएको औषधि खान सुझाव दिनुभयो। केही दिनपछि पैसाको अभावमा औषधि किनेर खान छोडिन्। तर स्वास्थ्य चौकीबाट जाँचको बेला आइरन ल्याउँथिइन् र सिरानीमुनि राख्थिन्। डाक्टरसापले बजारको किन्न नसके स्वास्थ्य चौकीबाट दिइएको खानु भन्न बिर्सिनुभएछ सायद।
बच्चाको जन्म सिजेरियन सेक्सनद्वारा भयो। बच्चालाई दिनभरिमा ४-५ पटक मात्र दूध चुसाउने आमा र परिवारका अन्य सदस्यहरुले बच्चा छिनछिनमा रोएको देखेर आमाको दूधले मात्र बच्चालाई नपुगेको आशंका गरेर प्याकेटको दूध खुवाउन सुरु गर्नुभयो। यी कारणहरुमध्ये कैयौं कारण १२ महिनाको बच्चा कुपोषित हुनु पछाडिको सबैले जानेको, बुझेको र अनेकौं शोधहरुले प्रमाणित गरेको जगजाहेर कारण हुन्।
मैले बच्चाको स्वास्थ्य सेवा कार्ड मागेर हेरें, समयानुरुप सबै खोप लगाइएको रहेन छ। खोप कार्डमा खोप बाहेक अन्य सेवाको महल पूरै खाली थियो। सो स्थानमा "बाल भिटा कार्यक्रम" लागू भएको रहेछ। बाँडिएको बालभिटाको प्याकेट जस्ताको त्यस्तै घरमा फेला पर्यो। बच्चाको अवस्था अत्यन्तै नाजुक देखेर मैले बच्चाको अभिभावकलाई बच्चाको अवस्थाको बारेमा बुझाई तुरुन्तै गाउँको स्वास्थ्य चौकीमा सम्पर्क गर्न अनुरोध गरें। हाम्रो गाउँको स्वास्थ्य चौकीलाई पोषणका लागि ओपिटी सेन्टर तोकिएको छ। यी सबै प्रक्रियामा मौजुदा महामारी विरुद्धको सुझावहरुलाई ध्यानमा राखिएको थियो।
काठमाडौंबाट घर फर्केको १४ दिनपश्चात् आफू हाल औपचारिक जिम्मेवारीविहीन स्वास्थ्यकर्मी रहेकोले गाउँमा कोभिड-१९ विरुद्धका क्रियाकलापमा स्वयंसेवकका रुपमा खट्न तयार रहेको जानकारीका साथ स्वास्थ्य चौकी पुगे। कास बाहेक ९ जना स्वास्थ्यकर्मी रहेको सो स्वास्थ्य चौकी पुरानो भवन छोडेर मन्त्रालयको नक्सा अनुरुप बनेको दुईतले भवनमा सरिसकेको दुई-तीन वर्ष भइसकेको रहेछ। एक जना औषधि बाँड्न र केही परिवार नियोजन कक्षमा बाहेक बाँकी स्वास्थ्यकर्मीहरु एकै ठाउँमा बसिरहनु भएको रहेछ। कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न बिरामीलाई स्वास्थ्यचौकी भवनको ढोकाभित्र छिर्न नदिई झ्यालबाटै समस्या सोधेर औषधि बाँडिरहेका थिएँ। त्यही समयमा मैले आफ्नो छिमेकमा कुपोषित बच्चा रहेको कुरा निकल्दा सो बच्चाको कुपोषण व्यवस्थापनका लागि कुपोषण व्यवस्थापनका लागि दिइने उपचारात्मक खाना (आरयुटिएफ) को प्याकेट दिइसकिएको जानकारी पाएँ।
स्वास्थ्यचौकीबाट घर फर्किने क्रममा घर पुग्नुअघि म छिमेकमा बच्चाको अभिभावकलाई भेट्न गएँ। अचम्म लाग्यो, जब अभिभावकले स्वास्थ्यचौकीबाट प्रतिदिन एक प्याकेट आरयुटिएफ खुवाउन भनिएको कुरा सुनाउनु भयो। मैले सामान्य हिसाब गर्दा सो बच्चालाई प्रतिदिन २-४ प्याकेट खुवाउनुपर्ने देखिन्थ्यो। स्वास्थ्यकर्मीले यस्तो गल्ती गरेको विश्वास लागेन मलाई। म त्यहीँबाट मलाई आरयुटिएफ दिएको जानकारी गराउने स्वास्थ्यकर्मीको घरमा पुगें र यो विषय उठाएँ। उहाँले बडो सरलताका साथ मलाई भन्नुभयो, "जसलाई दिँदा पनि त्यसको डोज नै प्रतिदिन एक प्याकेट हो।"
सो बच्चालाई यो कोभिड-१९ को महामारी नसकुन्जेल थप आरयुटिएफ लिन स्वास्थ्य चौकी नआउन त्यहाँका स्वास्थ्यकर्मीहरुले हार्दिक अनुरोध गर्नुभएको रहेछ।
गाउँमा अन्य केही घटनाहरु पनि सुन्न पाएँ, जसमध्ये एक हो- परिवार नियोजनको तीन महिने सुई लिन जाँदा स्वास्थ्यकर्मीले स्वास्थ्य चौकीमा सुई नरहेको र भए पनि अहिले यस्तो महामारीमा सुई नलगाइदिने भनी फर्काएको। हालसम्म जम्मा एकजना मात्र कोभिड-१९ को बिरामी रहेको यस नगरपालिकामा मेयरको आदेशमा हालसम्म खोप कार्यक्रम सञ्चालन भएको छैन। र यो अवस्था तथा यो घटना कुपोषण, गरिबी र अशिक्षाको मामलामा नेपाललाई नै जितेको जिल्लाको एक स्थानिय तहको हो।
म कस्तो स्वास्थ्यकर्मी?
प्रस्तुत घटनामा संलग्न स्वास्थ्यकर्मीहरुले पनि म जस्तै स्वास्थ्यकर्मी भएकोमा आफूलाई गौरवान्वित महसुस गरिरहनुभएको होला। साबिकको समयमा अन्य व्यक्तिको स्वास्थ्य अवस्था उकास्न र हाल कोभिड-१९ को महामारीमा व्यस्तताका कारण सायद उहाँहरुले एक बालकको शारीरिक तथा मानसिक स्थितिमा जन्मेको पहिलो वर्षमै हुने कुपोषणले पार्ने प्रभावको बारेमा सोच्ने फुर्सद पाउनु भएको छैन। यस घटनासँग प्रत्यक्ष सम्बन्ध राख्ने कुनै पनि स्वास्थ्यकर्मी भन्दा म फरक छैन। यी सबै स्वास्थ्यकर्मीमा मैले आफ्नो अनुहार देख्छु। लकडाउनले दिएको पर्याप्त समयमा आजकाल मजस्तो स्वास्थ्यकर्मीले सजिलै गर्न सक्ने केही क्रियाकलापको सापेक्षमा मैले आफ्नो आत्मालोचना गरिरहेको छु।
समयमै गर्भ जाँच गर्न आउँदा पनि आइरन चक्कीको महत्व बुझाउन नसक्ने म कस्तो स्वास्थ्यकर्मी? दोहोर्याएर आउँदा आइरन चक्की खाएको/नखाएको सुनिश्चित गर्न महत्वपूर्ण नठान्ने म कस्तो स्वास्थ्यकर्मी? स्वास्थ्य चौकीले दिएको आइरन चक्की छोडेर आफूले बेच्ने खान सुझाव दिने म कस्तो स्वास्थ्यकर्मी? आफ्नो फाइदाका लागि बिरामीमाथि जबर्जस्ती व्ययभार थप्ने म व्यापारी कि स्वास्थ्यकर्मी? शल्यक्रियापछिको कम्तीमा ३ दिनको बसाइमा स्तनपानको बारेमा परामर्श गर्न नसक्ने म कस्तो स्वास्थ्यकर्मी? त्यति धेरै स्वास्थ्यकर्मी हुँदाहुँदै वृद्धि अनुगमन कार्यक्रम सञ्चालन गर्न नसकिनुमा त्यो बच्चाको के दोष छ र?
उपलब्ध भएपनि उपयुक्त मात्रामा आरयुटिएफ नदिइँदा सो बच्चाको पोषण स्थितिमा त सुधार आउँदैन साथै यसले अन्य कुपोषितले पनि उपयुक्त मात्रामा पाउन सक्दैनन्। अझै स्वास्थ्यकर्मीको व्यहोरा यस्तै रहेमा आरयुटिएफ खपत भए पनि परिणाम आउँदैन। यसरी बालबालिकाको स्वास्थ्यसँग खेलवाड गर्ने म कस्तो स्वास्थ्यकर्मी? सन्चारका अनेकौ सुविधा र सरोकारवालाहरुले कार्यक्रमका निर्देशिका खुला उपलब्ध गराउँदा पनि आफ्नो ज्ञान र सिपको स्तरोन्नति गर्न नसक्ने म कस्तो स्वास्थ्यकर्मी?
प्रजनन् उमेरका विदेशिएका लाखौं युवा घर फर्किएका छन्। अहिलेको अवस्था परिवार नियोजनको साधनको कमीले निम्त्याउने जनसंख्या वृद्धिको चित्रण गर्न गाह्रो नहोला। हालको अवस्थामा हुने जनसंख्या वृद्धिले देशको डगमगाएको अर्थव्यवस्थामाथि मातृ तथा बाल स्वास्थ्यको ठूलो भार तुरुन्तै थप्नेछ। अन्य दीर्घकालीन असरहरु पनि धेरै छन्। यति थाहा हुँदाहुँदै पनि परिवार नियोजन सेवाका सेवाग्राहीलाई अन्य गर्भनिरोधक साधनहरुका बारेमा परामर्श गर्न नसक्ने म कस्तो स्वास्थ्यकर्मी?
अन्त्यमा, छिमेकमै एक वर्षदेखि एउटा बच्चाको पोषणस्थिति बिग्रिरहेको थाहा नपाउने म कस्तो स्वास्थ्यकर्मी?