डा उमेशप्रसाद भट्टराई
कोरोना भाइरस संक्रमण सुरुवात मित्रराष्ट्र चीनबाट २०१९ को अन्त्य वा भनौं २०२० को आगमनसँगै भएको थियो। संक्रमण फैलिन नदिन चीनले निकै कठिन तर उत्तम तरिका अपनाइरहँदा धेरै विकसित देशहरुले यो भाइरसले चीनका मान्छेलाई मात्र आक्रमण गर्छ भनेर हेरेर मात्रै बसे, खासै प्रभावकारी कदम चालेनन्। जसको परिणाम पछिका महिनाले देखाउँदै गयो। छिमेकी देशमा महामारी फैलिँदै गर्दा नेपालले चनाखो भएर सुरुमै कदम चाल्नुपर्थ्यो। तर ढिलै भए पनि नेपाल सरकारले लिएको लकडाउनको निर्णयलाई भने स्वागत नै गर्नुपर्छ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट सर्ने कोभिड-१९ रोगलाई प्यान्डेमिक (महामारी) घोषणा गरेलगतै नेपाल सरकारले गरेको देशव्यापी लकडाउनले धेरै हतसम्म संक्रमण फैलिन रोकथाम गरेको हुनुपर्छ। चीनबाट आफ्ना नागरिकलाई उद्धार गर्नु अनि भारतसँगको सिमानामा रोकथाम गर्नु उचित निर्णय थियो। यसका साथै चीनबाट भित्रिएका नेपालीलाई अलग्गै क्वारेन्टाइनमा उचित प्रबन्ध अनि सुविधाका साथ स्वास्थ्य जाँच गरेको धेरैले प्रशंसा गरेकै हुन्।
जुन ढंगले सरकार अघि बढेको थियो त्यो हेर्दा दुई तिहाइको सरकारले काम गरेकै अनुभव जनताले गरेका थिए। तर उपचार र व्यवस्थापनमा सरकारले सोचेअनुरुप काम गर्न सकेन। गुणस्तरहीन स्वास्थ्य सामग्री खरिद गर्नु अनि अस्पतालमा उपचार व्यवस्थापन गर्न नसक्नु सरकारको गल्ती नै मान्नुपर्छ।
सरकारी स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिनु राम्रो हो तर देशको ७५ प्रतिशत बढीमा कार्यरत निजी स्वास्थ्यकर्मीलाई प्याकेजमा नसमेट्नु उनीहरुमाथि अन्याय नै हो। सरकारले गरेका कामहरु गफ गर्नलाई चाहिँ भए तर स्वास्थ्य सेवामा त्यसको प्रभाव विल्कुलै सामान्य रह्यो। न उसले प्रभावकारी परिक्षण गर्न सक्यो, न त स्वास्थ्यकर्मीलाई काम गर्ने उचित वातावरण मिलाउन सक्यो।
भारतबाट फर्केका नेपाली दाजुभाइलाई जुन ढंगले व्यवस्थापन गरेको देखियो त्यो देख्दा उनीहरु पनि नेपाली नै हुन् भन्ने भावना सरकारले बिर्सेको हो कि जस्तो लाग्थ्यो।
दैनिक गुजारा गर्ने मजदूरमाथि पनि खासै सम्बोधन भएन। सहयोगका कार्यक्रमहरु नभएका होइनन् तर ती कार्यक्रमलाई गरिब जनताले अनुभूत गर्नै पाएनन्।
स्वास्थ्य क्षेत्रमा कहाँ चुक्यो सरकार?
१. स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापन गर्न नसक्नु
२. स्वास्थ्यकर्मीलाई काम गर्ने उचित वातावरण नहुनु
३. आगन्तुक नेपालीको उचित क्वारेन्टाइन र चेकजाँच नहुनु
४. तीन महिनामा महामारीसँग लड्न कुनै विशेष तयारी तथा योजना नहुनु
५. कोभिड-१९ ले गर्दा अरु रोगका बिरामीलाई उपचारमा देखिएको कठिनाइमा मूकदर्शक भएर बस्नु
६. आफ्ना कमजोरीलाई आत्मसात नगरी सत्य ढाकछोप गर्न अर्को झुट बोल्नु
के नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो नै हो त?
अहिले नेपाली स्वास्थ्य क्षेत्रमा यो बारेमा बहस नगर्ने सायद नै कोही होलान्। नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर सुन्न पाउँदा सबै नेपाली आनन्दित होलान्। तर यसलाई प्रमाणित गर्ने तथ्याङ्क र आधार चाहिँ जो भन्छन्, तिनलाई पनि थाहा छैन। त्यसो भए किन कोरोनाबाट नेपालीको कम मृत्यु भयो त? यो प्रश्न धेरैको मनमा होला।
कोरोनाबाट प्रभावित देशहरु अमेरिका, इटाली, स्पेन, क्यानडा सबैको औसत जीवन आयु नेपालभन्दा १०-१५ वर्षले बढी छ। नेपालीको औसत आयु ७० को हाराहारीमा हुँदा यी देशबासीहरुको औसत आयु ८०-८५ को हाराहारीमा छ। उक्त देशका नागरिक नेपालीभन्दा बढी बाँच्न् र उनीहरुको स्वास्थ्य प्रणाली हाम्रोभन्दा निकै मजबुत छ। तापनि, कोरोनाबाट उनीहरु संक्रमित किन धेरै छन्?
वैज्ञानिक हिसाबले मूल्यांकन गर्दा यी सबै देशमा ६० वर्ष नाघेका मानिसले देशको जनसंख्याको २०-२५ प्रतिशत प्रतिनिधित्व गर्छन्। उक्त उमेरका मानिसको रोगसँग लड्ने क्षमता युवा वर्गभन्दा अवश्य नै कम हुन्छ। ६० उमेर नाघेका मानिस नेपालमा भने १० प्रतिशतको हाराहारीमा छन्। यो उमेरका नेपाली खासै प्रभावित छैनन्। कोरोना संक्रमण देखिएका ९५ प्रतिशत युवा वर्ग छन्, जसको रोगसँग लड्ने क्षमता बलियो नै हुन्छ। त्यसैले हाम्रो अवस्था अरु विकसित देशको तुलनामा अहिलेसम्म राम्रो भएको हुनुपर्छ।
तसर्थ, हामी बलिया छौं भनेर बस्नुभन्दा वास्तविकता बुझेर अब कसरी महामारीसँग लड्ने? कसरी स्वास्थ्य प्रणाली बलियो बनाउने? कसरी हाम्रो औसत आयु बढाउने? भनेर योजना बनाउँदा सायद दुई तिहाइको सरकार बनाउन भोट गर्ने मतदाता पनि खुसी हुन्थे होलान्!
समग्रमा भन्नु पर्दा केही राम्रा काम भए पनि धेरै कार्य अझ अधुरै छन्। भविष्य कस्तो हुने हो त्यो त हेर्न बाँकी नै छ। आशा छ, यो सरकारले फर्स्ट डिभिजन नभई डिस्टिङ्ग्सन नै ल्याउनेछ। आफ्ना कमजोरीलाई आत्मसाथ गर्दै सुधार र परिवर्तन देख्न पाइनेछ।
त्यसैले दुइतिहाइको सरकारलाई पास कि फेल भनेर अहिले नै मूल्यांकन गर्नुभन्दा सरकार आफैंले एकपल्ट सोच्ने हो कि पास कि फेल भनेर?
(डा भट्टराई क्यानडामा स्वास्थ्य प्रणाली व्यवस्थापन अध्ययनरत छन्।)