डा शेरबहादुर पुन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा डेंगु देखिन सुरु भइसकेको छ। केही दिनयता काठमाडौँमा डेंगु फैलाउने एडिस जातको लामखुट्टे देखा पर्न थालेकोछ। गत वर्ष काठमाडौँमा हजारौं मानिस डेंगु संक्रमित भएका थिए।
अघिल्लो वर्ष बालाजुमा एक दर्जन जति डेंगु संक्रमित देखिएकोमा गत वर्ष सेप्टेम्बर महिनाको पहिलो हप्तामा अप्रत्यासित रुपमा यो भाइरसले ठूलो महामारीको रुप नै लिएको थियो। डेंगुले महामारीको रुप लिनु भन्दा झन्डै साढे दुई महिना अगाडि लामखुट्टेको लार्भा देखा परिसकेको थियो।
गत वर्ष शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल डेंगु संक्रमितको उपचारमा प्रत्यक्ष्य खटेको थियो। गत वर्षको लार्भा देखिने र डेंगु फैलिएको समय अवधिलाई आधार मान्ने हो भने अबको केही हप्तामा डेंगु देखिन सक्ने सम्भावना प्रबल छ। हाल कुनै पनि रोगको लक्षण देखिए पनि कोरोना भनी शंका गर्ने अवस्था सिर्जना भइरहेको अवस्थामा डेंगु देखिन सुरु भए समुदायमा थप भयको स्थिति सिर्जना हुने निश्चित छ। अझ अर्को शब्दमा भन्दा डर कोरोनाको, संक्रमण डेंगुको हुनेछ।
धेरै सरुवा रोगका लक्षण एक आपसमा धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ। कोरोना केही हप्तादेखि उत्कर्षको बिन्दुतिर लम्किरहेको छ भने डेंगु हरेक वर्षमाझैँ देखा पर्ने समय आइपुगेको छ, अर्थात् यी दुवै संक्रमण अबको केही हप्तामा सँगसँगै देखिन सक्नेछ।
कोरोनाको रिपोर्ट आउन ढिला हुने र डेंगुको विशेष प्रयोगशाला जाँच नहुने हुँदा दुवै संक्रमित बिरामीको पहिचान कन्ट्याक्ट (कोरोना) तथा ट्राभल (डेंगु) हिस्ट्रीको आधारमा गर्नुपर्ने बाध्यता हुनेछ, जसले गर्दा डेंगु संक्रमित बिरामीको निश्चित प्रयोगशाला निदानमा ढिलाइ हुँदा उपचारमा पनि ढिलाइ हुन सक्नेछ।
गत वर्ष इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु आरडिटी किटको विश्वसनीयतामाथि शंका/प्रश्न गरी प्रयोग नगर्न समेत स्वस्थाकर्मीलाई अनुरोध गरेको थियो। डेंगुको प्रयोगशाला परिक्षण गर्दा बिरामीको प्लेटेलेट तथा अरु रक्त कोषिकका संख्याको आधारमा पहिचान गर्न भनिएको थियो।
यो वर्षको डेंगु फैलने समय नजिकिँदै गर्दा फेरि बिरामीको रक्त कोषिकाको संख्याको आधारमा नै डेंगु पहिचान गर्ने हो वा आरडिटी टेस्ट किटको विकल्पमा कुनै परीक्षण प्रविधिको आजको मितिसम्म सार्वजनिक भइसकेको छैन। अझ यसबारेमा नसोचेको नै हुन पनि सक्छ। रगतमा देखिने रक्त कोषिकाको संख्या कोरोना र डेंगुमा उस्तैउस्तै हुने देखिएको छ।
केही हप्ता अगाडि द ल्यानसेट इन्फेकसियस डिजिजेज जर्नलमा प्रकाशित लेखको विश्लेषण गर्दा कोरोना र डेंगु संक्रमणमा रक्त कोषिकाको संख्याको आधारमा छुट्याउन सहज नहुने देखिन्छ। सो आर्टिकलमा अनुसन्धानकर्ताहरुले बिरामीको रगतको जाँचमा प्लेटेलेटको संख्यामा कमी देखिएको र अर्को एक बिरामीमा प्लेटेलेट संख्यामा कमी देखिनुका साथै लिभर फंक्सन टेस्ट बढेको पाएका थिए। यी दुवै जाँचको नतिजा डेंगुसँग मिल्दोजुल्दो भए तापनि अन्त्यमा उनीहरुको पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमित भएको पुष्टि भएको थियो। अर्थात्, बिरामीको रक्त कोषिकाको संख्यामा देखिने नतिजाको आधारमा मात्र कोरोना वा डेंगु भनेर छुट्याउन सकिने छैन। यसले स्वस्थाकर्मीमा पनि अन्योल थपिदिने छ, जसले गर्दा डेंगु बिरामीको उपचारमा ढिलाइ हुन गई स्वास्थ्यमा जटिलता देखिन सक्नेछ।
त्यति मात्र होइन, ज्वरो, श्वास फेर्न अफ्ठेरो, खोकी देखिएमा हालको कोरोना टेष्ट गाइडलाइन्स अनुसार कोरोनाको पिसीआर परीक्षण गर्दै जानुपर्ने हुन्छ अर्थात् आगामी दिनहरुमा डेंगुको संख्या बढ्दै जाँदा कोरोना पहिचानको लागि पिसीआरको टेष्ट बढाउदै जानुपर्ने/बढ्दै जाने निश्चितप्राय छ। किनभने डेंगुमा पनि यी लक्षणहरु देखिन सक्ने छन्।
कोरोना महामारी चल्दै गर्दा डेंगु पनि देखिन थालेमा डेंगु संक्रमितलाई सुरुमा सबैले कोरोनाको नै शंका गर्ने, त्रास सिर्जना हुने र हेयको दृष्टिले हेर्ने छन्। गत वर्ष डेंगु पत्ता लगाउने आरडिटी किटको विश्वनीयता नभएको भन्दै इडिसिडीले प्रयोग नगर्न भनेको अवस्थामा यसको लागि वैकल्पिक र भरपर्दो डेंगु टेष्ट किटको पहिचान तथा सिफारिस गरी छिटोभन्दा छिटो सर्वसुलभ गराउन जरुरी हुन्छ। होइन भने कोरोना र डेंगु सँगसँगै देखिन थाले डबल ट्रबलको अवस्था सिर्जना नहोला भन्न सकिँदैन।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)