प्रणय उदास
शहरी जनसंख्या बृद्दि
विश्वको प्राय जसो राष्ट्रहरूमा ग्रामिण क्षेत्रबाट शहरी क्षेत्रमा बसाइसर्ने क्रम तीब्र रुपमा बढिरहेको देखिन्छ। विश्वमा औसत रूपमा ५४ प्रतिशत मानिसहरू शहरी क्षेत्रमा वसोवास गर्दछन्। एशियाली महादेशको ४८ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बस्ने गर्दछन्। नेपालमा पनि १९.७४ प्रतिशत मानिस शहरमा बसोवास गर्ने विश्व बैंकको तथ्याङकले देखाउछ। यो तथ्यांकले शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या अत्याधिक रूपमा बढिरहेको प्रस्ट्याउछ साथै २०२० देखि २०५० सम्म यो तथ्यांक पछिल्लो ७० बर्षको तुलनामा दोब्बर बढ्ने आकलन गरिएको छ। बढ्दो शहरी जनसंख्यालाई सुरक्षित, शुलभ र उच्च् गुणस्तरको पोषिलो खाना पुर्याउनु अहिले नेपालजस्तै विकासशिल राष्ट्रहरूको लागि ठूलो चुनौतिको रुपमा रहेको छ।
उच्च गुण्स्तरको खाना भनेको के हो ?
विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार उच्च गुण्स्तरको खाना भन्नाले
जन्मेको १ घण्टा भित्र बच्चालाई आमाले स्तनपान गराउनु र ६ महिनासम्म पूर्ण स्तनपानको साथसाथै कम्तिमा २ बर्षसम्म पुरक खाना सहित स्तनपान गराउनु।
ऊर्जाको संतुलित खपत र खर्च गर्नु।
खानामा नियमित रूपमा अन्न,सागसब्जी, फलफूल, माछामासु, तथा कन्दमुल पर्नेगरि खाना खानु।
दैनिक रूपमा कम्तिमा ४०० ग्राम फलफूल वा सागसब्जीको उपलब्धता हुनु ।
दैनिक आवश्यकिय उर्जामा चिल्लोबाट पाउने उर्जा ३० प्रतिशतमा सिमित गर्ने, असंमतृप्त चिल्लो बढि सेवन गर्ने र संमतृप्त चिल्लो र ट्रान्स फ्याट (औद्योगिक चिल्लो ) प्रयोग निशेध गर्ने ।
दैनिक रूपमा गुलीयो पदार्थ वा मिठाई आदिबाट पाउने उर्जा ५ प्रतिशतमा सिमित गर्ने।
उच्च रक्तचाप, हदयघात आदि रोगबाट बच्न दैनिक नुनको प्रयोगलाई ५ ग्राममा सिमित गर्ने ।
शहरी कुपोषण
गरिबि न्युनिकरण र सामाजिक वातावरण जस्ता कारणहरुले मानिसको खाने शैलिमा अत्याधिक परिवर्तन हुँदै गएको बिभिन्न अध्यन अनुसन्धानले देखाएको छ। अति कम र मध्यम आय भएका रास्ट्रहरूमा सबै प्रकारका कुपोषण अत्याधिक रूपमा बढिरहेको छ। सन् २०१३को ग्लोवल वर्डन अफ डिजिज प्रतिवेदनका अनुसार बिश्वव्यापि स्वास्थ्यको लागि शिर्ष ११ जोखिम कारक मध्य ६ कारक आहार संग सम्बंधित छन्। नीति निर्माताहरूलाई यस संकटले शहरी वातावरणलाई कसरी असर गर्छ भन्ने जानकारी तलका बुँदाहरूले प्रस्ट्याउदछ।
न्युनपोषण
सन् १९८६ देखि २००३ सम्म गरिएको ४७ विकासशिल राष्ट्रहरुको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अध्ययन गर्दा २३ प्रतिशत देखि ३१ प्रतिशत पुड्कोपना शहरी बालबालिकामा देखिएको थियो। सन् १९८५ देखि २०११ सम्म एसिया र अफ्रिकाको थुप्रै शहरमा गरिएको अध्यन अनूसार त्यँहा तीब्र रूपमा जनसंख्या बृद्दिका साथै न्युनपोषण पनि लगभग दोब्बर देखिएको थियो। यी अध्यनहरुले देखाएका छन् कि बढ्दो शहरीकरणसंगै न्युनपोषण पनि बढिरहेको छ। सन् २०१६ को एनडिएचएस सर्भे अनुसार नेपालमा अझै पनि ५ बर्ष मुनिका बालबालिकामा ३६ प्रतिशत पुड्कोपना, १० प्रतिशत ख्याउटेपना र २७ प्रतिशत कम तौल छ। त्यस्तै ३२ प्रतिशत शहरी बालबालिकामा पुड्कोपना छ।
शुक्ष्म पोषक तत्वको कमी
शुक्ष्म पोषक तत्वको कमीलाई हिडन हंगर पनि भनिन्छ। यस्तो कुपोषण बाहिर सजिलै देखिदैन तर अहिले यसको प्रकोप विशेष गरी शहरी क्षेत्रमा बढ्दो छ। सन् २०१५को ग्लोबल माइक्रोन्युट्रिन्ट सर्भेको आधारमा विश्वका ५ बर्षमुनिका लगभग आधा बालबालिका आइरन, जिंक, आयोडिन, भिटामिन एआदि शुक्ष्मपोषक तत्वको कमी देखिएको छ र २ बिलियन वयस्क मानिसहरूमा यस्ता पोषक तत्वको कमी देखिएको छ। शहरी क्षेत्रका निम्न बर्गका मानिसहरूमा खाद्य सुरक्षा र पोषण चुनौति साथै शुक्ष्म पोषक तत्वको कमी पनि बढिरहेको छ। अहिले हाम्रो राष्ट्रको धेरै पोषण कार्यक्रम ग्रामिण भेगमा लक्षित भएका कारण शहरी भेगका निम्न बर्गका मानिसहरू यो सेवाबाट बन्चित भएका छन्।
अधिक तौल मोटोपना र आहारसँग सम्बन्धित नसर्ने रोग
सन् २०१६ को एनडिएचएस सर्भे अनुसार १७ प्रतिशत पुरूष र २२ प्रतिशत महिला अधिक तौल र मोटोपनाबाट ग्रसित छन्। ईन्टरलेशनल जर्नल अफ अवेसिटिका अनुसार सन् २०३० सम्म विश्वको एक तिहाइ जनसङ्ख्या अधिक तौल र मोटोपनाबाट ग्रसित हुनेछन्। विश्व स्वास्थ्य संगठनका अनुसार यदि कोहि वालवालिकामा मोटोपना छ भने उसको वयस्क अवस्थामा पनि मोटोपना र अकाल मृत्यु हुने सम्भावना बढि हुन्छ। केहि पहिलेसम्म मोटोपनालाई विकसित राष्ट्र र सम्भ्रान्त परिवारको समस्याको रूपमा बुझने गरिन्थ्यो तर अहिले नेपालजस्तो विकाशशिल राष्ट्रहरुमा पनि यो बढने क्रममा छ। सन् २००९ मा ६ वटा अफ्रिकन राष्ट्रमा गरिएको अध्यन अनुसार शहरी महिलाहरू पूरूष भन्दा ३ गुणा बढि अधिक तौल र मोटोपनाबाट ग्रसित थिए। अहिलेको अवस्थामा अधिक तौल र मोटोपनाबाट विकासशिल र कम विकसित राष्ट्रहरूको शहरी क्षेत्र बढि प्रभावित छ जसमा कम गुणस्तरको प्रसोधित खानाको प्रयोग बढि हुदै आएको देखिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसारसन् २०३० सम्ममा मधुमेह विश्व मृत्युदरको सातौ कारण बन्ने छ ८५ प्रतिशत देखि ९५ प्रतिशत मधुमेह रोग नराम्रो खानपान र विलासि जिबन संग सम्बन्धित छ। ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययन अनुसार २०११ देखि २०३० सम्म विश्वमा मधुमेह रोगि दोब्बरले बृद्दि हुनेछन। विश्वको अग्रणि मृत्युको कारक मध्ये एक मुटुरोग पनि हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ मा मुटुरोगको कारण मृत्यु भएका ७५ प्रतिशत कम र निम्न आय भएका राष्ट्रबाट थिए।उच्च रक्तचापको पनि ९० प्रतिशत देखि ९५ प्रतिशत कारक तत्व नराम्रो खानपान र विलासि जिबन संग सम्बन्धित छ। विभिन्न अध्यन अनुसन्धान अनुसार यस्ता रोगहरू बढ्दो शहरीकरण र उच्च प्रशोधित खानाको प्रयोग साथै विलासि जिवनशैलिको कारण विकासशिल र कम विकसित रास्ट्रहरूमा बढ्ने क्रममा छन्।
नीति निर्माताहरूलाई सुझाब
- नीति निर्माताहरूले तत्कालै उच्च गुणस्तरको खाना जनताको पहुचमा पुर्याउन जरूरी छ साथै सुखी नेपाली सम्बृद्द नेपाल लक्ष प्राप्त गर्ने एउटा आधार यो पनि हो।
- स्थानिय सरकारले खाद्य अनुगमन गर्न र पोषण सम्बन्धि जनचेतना फैलाउन आवश्यक छ।
- शहरी खाद्यान प्रणालीले दिने अवसरहरूको फाइदा उठाएर शहरी कुपोषणको चुनौतिहरूको सामना गर्न आवश्यक देखिन्छ।
- नीतिगत रूपमा फराकिलो क्षेत्रहरूसॅग ( जस्तै: बिद्यालय, सरकारि तथा निजि कार्यालयहरू, होटल व्यवसाय आदि ) सम्पर्क राख्न आवश्यक छ किनकी यस्ता क्षेत्रहरू सामान्यता शहरी डाईट र पोषण सम्बादबाट बन्चित रहन्छ्न्।
- शहरी नीति निर्माताहरूले अधिक तौल र मोटोपनाको बढ्दो प्रकोप सम्बन्धित बिशिष्ट चुनौतिहरूलाई बढी ध्यान दिन आवश्यक देखिन्छ।
- शहरी स्वास्थ्य र पोषण चुनौतिहरूको सामना गर्न प्रभावकारी कार्य होशियारिका साथ ध्यानपूर्बक मापन गर्न आवश्यक छ।
- आफ्नै राष्ट्रमा उत्पादित न्युट्रिसनिष्ट र डाइटिसियन जनशक्ति उपयोग गरि कुपोषणको तेहेरो बोझ विरूद्द लड्नु पर्छ।
लेखक पोषणविद हुन।