शम्भु खनाल
जीवनमा घटनाहरु सधैं सूचना दिएर आउँदैनन्। कहिलेकाहीँ बज्रपात पर्ने गरी आउँछन्। स्वर्णिम आशा गरेको जीवन अचानक मध्यकाल नपुग्दै उत्तरार्धमा परिणत हुनु दु:खद हुन्छ।
समिनाको शरीरमा एकाएक समस्या देखिन लाग्छ। स्नातक तह उत्तीर्ण गरेको धेरै दिन नबित्दै जीवनभर बुनेका सपनाहरु एकाएक टुटेर जान्छन्। जीवन शून्यसरी हुन्छ। जीवन भनेको कस्तो तत्व रहेछ! सधैं जिउन मन लाग्ने। अब धेरै समय छैन भनेर थाहा पाउँदा अझै बाँच्न मन लाग्ने। अझै संसार देख्न मन लाग्ने।
आफ्नो मन तयार नभएसम्म माटोमा बिलिन हुन कसैलाई मन लाग्दैन। किनभने यो मनमा इच्छाका पोकाहरु फुक्नु अगाडि नै समयले घण्टी बजाउँदा झर्को मात्रै लाग्छ। दर्शनका कुरा जति गरे पनि दर्शनले मनलाई शान्त पार्न सक्दैन। भावनाले दर्शनको 'लजिक' मान्दैन। हो, समिनाको मनले पनि कसरी मान्छ त? ३० नपुग्दै उनलाई एक्कासि रोगले कायल बनाएको छ। आघात तुल्याएको छ।
खाना रुचि कम हुनेबाट सुरु भएको रोग पेट फुल्लिने र आँखा पहेँलो हुँदै शरीर पनि पहेँलो हुँदै गएको छ। न त उनले कहिल्यै मदिराजन्य पदार्थ सेवन गरिन् न कुनै अनावश्यक औषधिको प्रयोग नै। आफ्नो पढाइ र लक्ष्य प्राप्तिमा तल्लीन उनलाई केही महिना भित्रमै जन्डिस र पेटमा पानी जमेर अस्पतालको शय्यामा बस्नुपरेको छ। उनी जति पीडित देखिन्छिन् त्योभन्दा बढी पीडित उनका बुबा देखिन्छन्।
रसिला आँखा ६० को दशकमा कत्ति नसुहाउने रहेछ। डाक्टरका गतिला कुरा नसुनेर उनका बुबा सधैं एउटा कुनामा गएर रुन्छन्। सधैं केही राम्रो खबर भनिदिए हुने भन्ने आश गरिरहन्छन्। रोग पत्ता लगाउन ढिलो भएकोमा आक्रोश र चिन्ताको मिश्रित मनोभाव व्याप्त छ। जति प्रयास गरेर खोजे पनि रोगले लुक्न खोजिरहेको उनलाई फिटिक्कै मन पर्दैन। डाक्टरको दक्षतामा बेलाबखतमा प्रश्न उठ्ने गर्छ उनको मनमा।
पेटको भिडियो एक्स-रे, सिटी स्क्यान, एमआरआई आदिले शरीरको अन्य अङ्गको क्यान्सरले कलेजोसम्म फैलिएको शंका हुन्छ। तर कहाँबाट फैलिएको भन्ने अन्योल हुन्छ। डाक्टरले सोध्ने क्रममा समिनाले शरीरमा कतै गाँठागुँठी नभएको भनेर भन्छिन्। आफैं पनि स्वास्थ्य क्षेत्रकै विषयमा अध्ययन गरेकोले उनको कुरा ठिक हो भन्ने लाग्छ। जाँच्ने क्रममा घाँटी, काखी आदिमा लिम्फ नोडहरु भेटिन्नन्। पुनः सम्पूर्ण रिपोर्ट एकै ठाउँ राखेर अध्ययन गर्दा कुनै ठाउँ छुटेको होला भनेर आकलन गर्दा स्तनको जाँच छुटेको थाहा हुन्छ।
स्तनमा हुने गाँठाहरु आफैं थाहा पाउनुपर्ने भए पनि स्तन जाँच्न अनुमति मागिन्छ। आशा गरेअनुसार त्यहाँ कडा खालका डल्लाहरु भेटिन्छन्। त्यो स्वभाविक किसिमको सजिलै आफैं थाहा पाउन सकिने गाँठा हुन्छन्। समिनाले सामान्य स्तनकै भाग भनेर बेवास्ता गरेकोमा भने आश्चर्य लाग्छ सबैलाई। पढेलेखेकी समिनाले शंकास्पद डल्लाहरुलाई सामान्य मान्छिन् भने स्वास्थ्य चेतना नभएका महिलाहरु माझमा स्तनको समस्या कति लुकेर बसेको होला भनेर यकिन गर्न सकिँदैन।
स्तनको शंकास्पद गाँठो जाँच अर्थात् बायोप्सी गरिन्छ र केही दिनमा रिपोर्ट आउँछ। शंका यथार्थमा परिणत हुन्छ। उनको स्तनमा क्यान्सर भएको रहेछ। जुन फैलिएर कलेजोसम्म पुगेको अनुमान लगाउन कत्ति द्विविधा हुँदैन। त्यो अवस्था छिप्पिसकेको अवस्था हो। जहाँ उपचार निकै असहज हुन जान्छ। छोरीलाई क्यान्सर भएको खबर सुनाउँदा उनका बुबा छाँगाबाट खसे जस्तो हुन्छन्। स्तब्ध हुन्छन्। हुन त प्रारम्भदेखि नै क्यान्सरको शंका गरिए पनि कुन ठाउँको क्यान्सर भनेर यकिनसाथ भन्न डाक्टरले सकेका थिएनन्।
प्राय: स्तनको क्यान्सर ४० वर्ष उमेर कटेपछि देखिने गरे पनि केही अपवाद त कुनै पनि रोगमा भेटिने गर्छन्। कम उमेर तथा स्वभाविक लक्षणविना स्तनमा क्यान्सर भेटिनु अस्वभाविक लाग्न सक्छ। तर आफ्नो शरीरमा हुने परिवर्तनहरुलाई विचार गर्नुपर्ने हुन्छ।
कुनै पनि गाँठागुँठीलाई सामान्य मान्नु हुँदैन। एक पटक समयमा सल्लाह लिनु जरुरी हुन्छ। आफ्नो स्तनको आफैं समयसमयमा जाँच गर्नु उत्तम हुन्छ। यसो गर्दा रोगको सुरुको अवस्थामा पत्ता लाग्न सक्ने सम्भावना हुन्छ। आफ्नो स्तन आफैं जाँच कसरी गर्ने भनेर इन्टरनेटमा चित्रात्मक सामग्रीहरु प्रशस्त भेटिन सक्छ। केही समय फेसबुकबाट त्यो विषयमा ज्ञान लिनु सर्वहितकारी हुन्छ। नभए त सुमिनाजस्तै स्तनको गाँठोले सुमिना र सुमिनाको बुबाको मनमा बाँचुन्जेल गाँठो बनाइरहने भयो।