सम्झना अधिकारी
सन् २०१९ को नोभेम्बर महिनामा चीनको वुहानबाट नयाँ प्रकारको रोग आयो भन्दा यो रोगले विश्वमा नै खैलाबैला मच्चाउला भनेर कसैले सोचेका थिएनन्।
म पनि नेपालमा माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर अध्ययन–अध्यापन गरेको र क्यानडामा नर्सिङ पढी त्यहीँको ब्रयाम्पटन सिभिक अस्पताल, रेस्पिरेटोरी (श्वासप्रश्वास) युनिटमा कार्यरत भएको हुनाले कोरोना भाइरसको बारेमा चासो नहुने कुरै भएन। तर पनि किनकिन मनमा यो भाइरसले यति ठूलो रुप लिन्छ भनेर कत्ति पनि पूर्वतयारीमा थिइनँ।
दिनहरु बित्दै जाँदा कोरोना भाइरसको संक्रमण महामारीको रुपमा सबै देशमा फैलिँदै जाँदा नेपाल र क्यानडालाई मात्र किन अछुतो छोड्थ्यो र? सुरुमा त इमर्जेन्सी वार्डमा कोभिड–१९ को बिरामी आयो र हामी पनि तयारीमा रहनुपर्यो भन्दा साह्रै डर र त्रास भयो। म माइक्रोबायोलोजी पढेको मान्छे मर्नको लागि नर्सिङ पढेको रहेछु कि त भन्ने पनि मनमा आयो। मरे पनि एक्लै हुने भइयो। आमा, बुबा लगायत घरपरिवारका कुनै पनि सदस्यलाई भेट्न नपाइने भयो जस्तो पनि मनमा आउन थाल्यो।
अझ घरमा रहेका सानासाना छोराछोरी र श्रीमान्, मलाई केही भइहाल्यो भने त सबैलाई सर्छ अनि सबै मर्यौं भने त झन् के होला। आफूलाई संक्रमण भयो भने पनि परिवारका सदस्यहरुलाई त नसरे हुन्थ्यो। यी र यस्तै कुराहरु मनमा खेलाउँदाखेलाउँदै मानसिक तनावका कारण सुरुका केही रात सामान्य रुपमा सुत्न पनि सकिनँ।
नेपालमा कोरोना भाइरसका बिरामी भएको युनिटमा गएर काम गरिरहेको छु भनेर सुनाउँदा नेपालबाट सासु, ससुरा, आमा, बुबा सबैले छोरी सर्तक भएर काम गर्नु, केही हुँदैन भनेर धेरै हौसला र प्रेरणा दिनुभयो। परिवारको साथ र हौसलाले मेरो मनोबल उच्च भएर आयो।
मार्च महिनाको पहिलो हप्ताबाट कोभिड–१९ का बिरामीहरु छ्याप्छ्याप्ती अस्पतालमा आउन थाले। अस्पताल व्यवस्थापनले पिपिई लगाउने अनि खोल्ने प्रक्रियाको बारेमा राम्रोसँग तालिम दियो। सुरुसुरुमा त एन–९५ मास्क नै चाहिन्छ भनेर व्यवस्थापनलाई चिठी पनि लेखियो। व्यक्तिगत सुरक्षाका सामाग्री (पिपिई) मा हामीले प्रयोग गर्ने भनेको सर्जिकल मास्क, पञ्जा, गाउन र फेस सिल्ड नै हो। यी सामग्री संक्रमित बिरामीको कोठामा जाँदा लगाउने र सबै काम सकेपछि ढोकामा आएर सबै पिपिई खोलेर साबुनपानीले हात राम्रोसँग धुने र नयाँ मास्क लगाएर बाहिर आउने कार्य गर्छौं। यसरी पिपिई प्रयोग गरी राम्रोसँग कार्य गर्दा एन–९५ मास्क नचाहिने रहेछ तर बिरामी सिकिस्त भएर आइसियुमा राख्न परेको वा कृत्रिम श्वासप्रश्वास कार्य गर्नुपरेको वा धेरै खोक्ने गरेको अवस्थामा भने मात्र एन–९५ मास्क प्रयोग गर्नुपर्छ।
घरमा गएपछि परिवारका सदस्य र बच्चाहरुको नजिक नगई छुट्टै कोठामा आइसोलेसनमा बस्न अस्पतालका सबै साथीहरुले सल्लाह दिनुभएको थियो। तर घरमा ९ वर्षकी छोरी र सात वर्षको छोरा साथै श्रीमान् चार्टर्ड एकाउन्टेन्ट जस्तो अति नै व्यस्त हुनुपर्ने पेसामा हुनुभएकोले मेरा लागि आइसोलेसनमा बस्न सम्भव थिएन। साथै उक्त समयमा म आफैं पनि छुट्टै बस्न सकिनँ।
नेपालमा नर्स र डाक्टरहरुलाई घरबेटीले घर वा कोठामा आउन तथा भाडामा नदिइएका जस्ता समाचारहरु सुन्दा मेरो मन बिछिप्त भयो। मैले कोभिड–१९ बिरामीको निरन्तर उपचार र हेरचाह गर्न लागेको करिब ३ महिना पुग्यो। कुनै दिन पनि म सेल्फ आइसोलेसनमा बसेको छैन। बिरामीको उपचारमा दिनरात खटिनुपर्ने नर्स र डाक्टरले पिपिई राम्रो, सुरक्षित र सही तरिकाले प्रयोग गरियो भने कोरोना भाइरसको संक्रमण घरमा ल्याउँदैनन्। सबैलाई आफ्नो परिवारको माया हुन्छ।
यो बेलामा फ्रन्टलाइनमा खटिने कर्मचारीहरुका लागि उच्च मनोबल हुनु जरुरी छ र मात्र कोभिड–१९ सँग लड्न मद्दत पुग्छ। यसमा समाजको पनि भूमिका हुन्छ। तसर्थ घरबेटीहरुले पनि प्रोत्साहन र हौसला दिनुको सट्टा घरमा प्रवेश गर्न नदिने वा घरबाट निकाल्ने जस्ता अमानवीय कार्य गरे भने विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ लाई परास्त गर्नका लागि फ्रन्टलाइनमा कार्य गरिरहेका सबैलाई ठूलो असर पर्छ।
हालसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमित हुँदैमा मरिँदैन र संक्रमितको संख्या बढ्दै गएपछि सबैलाई सिकिस्त र कोभिड–१९ को लक्षणहरु नदेखिने पाइएकोले सबै सामान्य स्वास्थ्य अवस्था भएका संक्रमितहरुलाई अस्पतालमा भर्ना गर्नुपर्दैन र सम्भव पनि हुँदैन।
हाल नेपालमा पनि कोभिड–१९ को संक्रमण बढिनै रहेको छ। अन्य देशको तुलनामा नेपालको स्वास्थ्य संरचना अनुसार सबै संक्रमितहरुलार्ई अस्पतालमा भर्ना गर्न सकिने अवस्था पनि छैन। कतिपय बिरामी साधारण सिटामोलको प्रयोग मात्रले पनि सन्चो भएका छन्। सिटामोल ६ देखि ८ घण्टामा नियमित खाँदा पनि ज्वरो नहट्ने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखियो छिटोभन्दा छिटो अस्पतालमा जानुपर्छ वा लैजानुपर्छ।
सबैले के बुझ्न जरुरी छ भने खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने लगायतका कुनै पनि संकेत शरीरले दियो भने आफैं सेल्फ आइसोलेसनमा बस्नुहोस। यसो गर्दा कोभिड–१९ को संक्रमण भएको रहेछ भने पनि परिवारका अन्य सदस्यलाई संक्रमण हुनबाट रोकिन्छ र सकेसम्म यो अवस्थामा कोरोनाको जाँच भने गर्नुहोस।
सेल्फ आइसोलेसन कसरी गर्न सकिन्छ?
– सम्भव भएसम्म घरको एउटा छुट्टै कोठामा बस्नुहोस्। चर्पी पनि बेग्लै प्रयोग गर्नुहोस्। सम्भव नभएमा संक्रमित व्यक्तिले प्रयोग गरिसकेपछि किटाणुनाशक झोल वा सरफ पानीले सरसफाइ गर्नुहोस।
– संक्रमित व्यक्तिले मास्कको प्रयोग गर्नुहोस्। परिवारका अन्य सदस्यलाई संक्रमित व्यक्तिको अगाडि वा नजिक आउँदा अनिवार्य मास्कको प्रयोग गर्न भन्नुहोस।
– परिवारका अन्य सदस्यहरुलाई मास्क र पञ्जा लगाएर संक्रमित व्यक्तिले छोएका ढोका, ह्यान्डल, शौचालय र धारा सबै साबुनपानी, सरफपानी वा किटाणुनाशक झोलको प्रयोग गरी सफा गरिहाल्न भन्नुहोस।
– यदि छुट्टै कोठाको व्यवस्था हुन नसक्ने अवस्था भएमा २ मिटरको दूरीसम्ममा अर्को बेड राखेर एउटै कोठामा पनि बस्न मिल्छ। तर एउटै कोठामा बस्दा सबै जनाले अनिवार्य मास्कको प्रयोग गर्न जरुरी हुन्छ।
– संक्रमित व्यक्तिले खोक्दा, हाच्छियुँ गर्दा कुहिनो वा रुमालले मुख छोप्न नबिर्सनुहोस्। प्रयोगपछि रुमाललाई साबुनपानीले राम्रोसँग धोएर घाममा सुकाउनुहोस।
– संक्रमित व्यक्ति अनावश्यक रुपमा घर बाहिर नजानुहोस। अत्यावश्यक कार्यको लागि जानैपर्ने भएमा अनिवार्य मास्क लगाएर मात्र बाहिर जानुहोस।
– संक्रमित व्यक्तिले पटकपटक साबुनपानीले कम्तीमा हात धुनुहोस्। साबुनपानी नभए अल्कोहल भएको स्यानिटाइजर हातमा मज्जाले रगट्नु पर्छ र साबुनपानी उपलब्ध हुने बित्तिकै हात धुनुपर्छ।
– संक्रमित व्यक्ति अस्पताल जानु परेमा अनिवार्य मास्क लगाएर मात्र जानुहोस अनि साथी वा गाडीको प्रयोग गर्नु परेमा चालकलाई पनि अनिवार्य मास्क लगाउन भन्नुहोस।
– संक्रमित व्यक्तिले घरमा प्रयोग भएका व्यक्तिगत सामग्रीहरु जस्तैः टावेल, तन्ना, सिरानीको खोल, बिस्तरा आफूले मात्र प्रयोग गर्नुहोस र निको भएपछि मात्र साबुनपानीले राम्रोसँग धोएर घाममा सुकाउनुहोस।
– संक्रमित व्यक्तिले प्रयोग गरेका कुनै पनि सामाग्रीहरु निको नहुँदासम्म अन्य कसैले पनि प्रयोग नगर्नुहोस।
– संक्रमित व्यक्तिलाई यदि कुनै पनि रोगका लक्षणहरु बढ्दै गयो वा श्वासप्रश्वासमा समस्या हुने, ज्वरो आउन नघट्ने, छाती दुख्न थाल्ने वा अन्य कुनै कारणले गाह्रो भयो भने तुरुन्त अस्पताल जानुहोस्।
– क्वारेन्टिन वा सेल्फ आइसोलेसनमा बस्दा घरभित्रै निरन्तर व्यायाम, योग गर्नुहोस। घरमा बाहिरका आफन्तलाई आउन नदिनुहोस। सामाजिक दूरी कायम गरी घरपरिवारसँग निरन्तर गफ गरिरहनुहोस। बोल्दा माक्स लगाउनुहोस। परिवारले खाना दिँदा पनि २ मिटरको दूरी कायम नै गर्नुहोस।
– सधै सकारात्मक सोच्नुहोस, सावधानी अपनाउनुहोस, ध्यान गर्नुहोस र भगवानलाई सम्झनुहोस।
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु पनि आफ्नो ज्यानको माया नगरी निरन्तर बिरामीको सेवामा खटिरहेका हुन्छन्। उनीहरु पैसाको लागि मात्र काम गरेका होइनन्। नागरिकको स्वास्थ्य सुधारको लागि अनवरत रुपमा लागिपरेका हुन्छन्। फ्रन्टलाइनमा काम गर्ने सबै कर्मचारीहरुलाई सम्मान गरेर उनीहरुको हौसला बढाउनु अति आवश्यक हुन्छ र यो सम्पूर्ण नागरिकको कर्तव्य पनि हो।
आफ्नो र परिवारको मात्र होइन, सिङ्गो नेपाल राष्ट्र र राष्ट्रबासीको बारेमा हामी सबैले सोचौं। कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौं र सबैलाई बचाऔं। सकेसम्म संक्रमण हुन नदिऔं यदि संक्रमण भइहाल्यो भने नआत्तिऔं र सावधानी अपनाएर अन्य व्यक्तिलाई सर्नबाट रोकौं।
(अधिकारी क्यानडास्थित ब्रयाम्पटन सिभिक अस्पतालको रेस्पिरेटोरी (श्वासप्रश्वास) युनिटमा कार्यरत छिन्।)