प्राडा पशुपति चौधरी
विगत केही दशकयता शल्यक्रिया विधामा उल्लेखनीय प्रगति भएको छ। शल्यक्रिया विधाको विभिन्न चरणको विकाससँगै धेरै सब–विधाहरुमा विभाजित भएका छन्।
अर्थोपेडिक सर्जरी विगतमा जेनेरल सर्जरीको एक अंगको रुपमा रहेको र अर्थोपेडिक विधामा समय चक्रसँगै विकास हुँदा यो एउटा विशिष्ट विधाको रुपमा अस्तित्वमा आएको हो।
अर्थोपेडिक विधामा पनि समयसँगै धेरै सब–विधाहरु (जस्तै ह्यान्ड विधा, दूरविन पद्धति विधा स्पाइनल, कृत्रिम जोर्नी प्रत्यारोपण) को विकास भएको छ। जसमध्ये कृत्रिम जोर्नी प्रत्यारोपण एउटा प्रमुख एवं विशिष्ट सब–विधा हो।
जोर्नी बिग्रिनुका धेरै कारणमध्ये अस्टियोआरथ्राटिस प्रमुख कारण हो। अस्टियोआरथ्राटिस वृद्धवृद्धामा सामान्य जोर्नी समस्या भए तापनि यो अरु रोगहरुको कारणले पनि हुन सक्छ। अस्टियोआरथ्राटिसले मानव शरीरको जोर्नीलाई बिगार्ने र असन्तुलित बनाउने काम गर्छ। मानव शरीरको जोर्नी बिग्रिनुका अरु कारणहरुमा जोर्नीका दीर्घकालीन रोगहरु जस्तैः बाथ रोग, गाउटी बाथ, पाकेर बिग्रेका जोर्नीहरु हाडसहित जोर्नी भित्र समेत भाँचिनु पर्दछन्।
मानव शरीरको बिग्रिएको, खिइएको वा असन्तुलित जोर्नीलाई निम्नलिखित तरिकाले उपचार गर्न सकिन्छः
१. औषधिको प्रयोग (दुखाइ कम गर्न, मल्हम, सुई)
२. घुँडाको व्यायाम, कसरत
३. शल्यक्रिया द्वारा
जोर्नी प्रत्यारोपण
मावन शरीरको कुनै पनि बिग्रिएको, खिइएको वा असन्तुलित जोर्नीलाई शल्यक्रियाद्वारा कृत्रिम जोर्नी राख्ने प्रक्रिया नै जोर्नी प्रत्यारोपण हो।
जोर्नी प्रत्यारोपणका उद्देश्य
१. बिग्रिएका जोर्नीहरुमा हुने दुखाइ कम गर्न।
२. जोर्नीको सन्तुलन पुनः प्राप्त गर्न।
३. बाङ्गो र अस्वभाविक देखिने जोर्नीलाई सही बनोटमा ल्याउन।
४. स्वस्थ जोर्नीसरह पूर्ण रुपमा काम लाग्ने र दैनिक÷नियमित कार्य बिना दुखाइ गर्नसक्ने हुन।
जोर्नी प्रत्यारोपणले सहयोग गर्छ
– दुखाइ कम गर्न।
– जोर्नीलाई चलायमान बनाउन
– हिँड्ने गति बढाउन।
–
जोर्नी बिग्रिनुका कारण
– प्रायः गरेर पाको उमेरमा जोर्नी उमेरसँगै खिइँदै जानु
– जोर्नीको दीर्घकालीन रोगहरु जस्तैः बाथ रोग, गाउटी बाथ
– पाकेर बिग्रेका जोर्नीहरु
– हाडसहित जोर्नीभित्र समेत भाँचिनु।
जोर्नी बिग्रिएको वा बिग्रन लागेको थाहा पाउन निम्नलिखित परीक्षण गर्न सकिन्छः
– एक्स–रे
– सिटी स्क्यान
– एमआरआई स्क्यान
– ल्याब
जोर्नीको अवस्थाबारे किन चिन्तित हुने?
– स्वास्थ जीवनयापन र आधुनिक चिकित्स पद्धतिसँगै मानिसको औसत आयु लम्बिँदै जाने निश्चित छ। यस प्रकार बढीभन्दा बढी मानिसका लागि जोर्नी प्रत्यारोपणको आवश्यकता पर्दै जानेछ।
– कुनै पनि दुखाइबिना आफ्ना नियमित कामहरु आफैं गर्नसक्ने हुन सन्तुलित र स्वस्थ जोर्नीहरुको आवश्यकता पर्छ।
– यस अर्थमा सबैले आफ्नो जोर्नीको राम्रो ख्याल गरी समयमै सचेत हुनुपर्ने देखिन्छ। विशेषगरी घँुडा र कम्मरका जोर्नीहरुमा नै बढी मात्रामा समस्या आउने गर्छ।
जोर्नी बिग्रिएको वा बिग्रन लागेको कसरी थाहा पाउने?
१. लामो समयसम्म दुखिरहने।
२. शरीरको भार थाम्न नसक्ने।
३. हिँडडुल गर्दा सन्तुलित नहुने।
४. बाह्य रुपमै बाङ्गो/असामान्य देखिने जोर्नी।
माथिका सबै वा कुनै पनि लक्षण भएमा जोर्नी बिग्रिएको हुनसक्छ। तसर्थ नजिकको हाडजोर्नी विशेषज्ञको परामर्श लिनु र उक्त जोर्नीको एक्स–रे गरेर हेर्न जरुरी छ। साथै आवश्यक परेमा जोर्नी प्रत्यारोपण गर्नुपर्ने पनि हुनसक्छ।
घुँडा खिइएका बिरामीले ध्यान दिनुपर्ने
१. वजन बढी भएमा आफ्नो तौल घटाउन जरुरी छ।
२. सिकाएको कसरत नियमित रुपमा गर्न जरुरी छ।
३. लठ्ठी लिएर हिँडेमा घँुडा दुखाइ कम हुन्छ।
४. नरम सोल भएको जुत्ता लगाउनुपर्छ।
५. नी क्याप दिनमा लगाउने राति फुकाउने गर्नुपर्छ।
६. धेरै दुखेको बेला डाक्टरले लेखेको दबाई खानुपर्छ। कुनै कुनै दबाई लामो समय खानुपर्ने हुनसक्छ।
७. दुखेको बेला घुँडामा दिनमा ३ पटक २०–२० मिनेट मन तातो पानीले सेक्नुपर्छ।
८. सिँढी वा उकालो ओरालोमा सक्दो कम हिँड्ने।
९. भुईंमा बस्न हुँदैन। कुर्सी, सोफा वा खाट आदि अग्लो ठाउँमा मात्रै बस्ने।
१०. बाथरुममा कमोडको व्यवस्था गर्ने, नभए बसेर दिसा–पिसाब गर्ने।
११. घुँडा बढी नै खिइएमा घुँडा फेर्न अप्रेसन गर्नुपर्ने हुनसक्छ।
कृत्रिम जोर्नी प्रत्यारोपणका प्रभाव
– शारीरिक आत्मनिर्भता संरक्षण
– वृद्धामा राम्रो स्वास्थ्यको अवस्था
– युवामा जीवनशैलीमा राम्रो सुधार
कृत्रिम जोर्नी प्रत्यारोपण विभिन्न कारणको विशेषतः अस्टियोआरथ्राटिसले बिग्रेका जोर्नीहरुको उपचार गर्नेमध्ये सबैभन्दा राम्रो तरिका हो। हिप, घुँडा कृत्रिम जोर्नी प्रत्यारोपण गरिने जोर्नीहरुमध्ये बढी गरिने प्रत्यारोपण हो।
जोर्नी प्रत्यारोपणका जटिलता
– (इन्फेक्सन) संक्रमण हुनु
– जोर्नी खुस्किनु
– प्रोस्थेसिस भाँचिनु
– जोर्नी काम नलाग्ने हुनु
(डा चौधरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागमा कार्यरत छन्।)