खिम लामिछाने काजी
आत्महत्या दुई भिन्न शब्द 'आत्म' र 'हत्या' मिलेर बनेको शब्द हो। जसको शाब्दिक अर्थ केलाउँदा 'आत्म' को अर्थ आफैं स्वयं र 'हत्या' को अर्थ खत्तम, समाप्त गर्नु हुन्छ। आफैंले आफू स्वयंलाई समाप्त पार्ने वा मार्ने कार्यलाई आत्महत्या भनिन्छ।
आत्महत्या र आत्महत्या दुरुत्साहनलाई कानुनी रुपमा एक जघन्य अपराध मानिन्छ। धार्मिक दृष्टिमा आत्महत्या गर्ने मानिस सिधै नर्कमा पुग्छन् भन्ने विश्वाश गरिन्छ। तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति अर्थात् मनोरोग रोग हो।
एक तथ्यांकअनुसार विश्वमा प्रत्येक ४० सकेन्डमा मान्छेले आत्महत्या गर्छन्। नेपालमा आत्महत्याका प्रमुख कारणहरुमध्ये विभिन्न उपचार गर्दा पनि निको हुन नसकेका जीर्ण रोगले सताएका बिरामी, आफन्तको मृत्यु, बढ्दो एकल जीवन, वैदेशिक रोजगारका सामाजिक असर, प्रेममा धोका, लागुऔषध, परीक्षामा असफलता, जीवनमा निराशा, क्षणिक आवेग, दाइजो प्रथा तथा महिला हिंसा रहेका छन्। समाजमा आत्महत्यालाई कायरताको रुपमा लिने गरेको पाइन्छ। आत्महत्या भनेको एउटा मनोरोग हो, यसलाई नियन्त्रण गर्न सकिन्छ भनेर जनचेतना फैलाउनु जरुरी छ।
आत्महत्या गर्ने देशहरूको सूचीमा नेपाल विश्वको दसौं स्थानमा पर्दै आएको छ। प्रहरीको रिपोर्टका अनुसार २०७४/०७५ मा ५ हजार ३ सय ४६ नेपालीले आत्महत्या गरेका छन्। विगत ५ वर्षदेखि नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ। प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्यामा कम्तीमा पनि १३ प्रतिशत वृद्धि भएको तथ्यांकमा देखिएको छ।
आत्महत्या मान्छेले विभिन्न तरिकाले गर्ने गरेका छन्। नेपालको सन्दर्भमा मुख्यगरी डोरीमा झुन्डिएर, विष सेवन गरेर, ताल तथा गहिरो रहमा डुबेर, घरको छतबाट फरालेर, खोलामा हेलिएर, अग्लो भीरबाट हामफालेर, आगो लगाएर, करेन्ट लगाएर, आफैंले आफ्नो हातको रक्तनली काटेर आत्महत्या गरेको पाइन्छ। त्यसैगरी यौन हिंसाका सिकार भएका किशोरकिशोरीले आफूमाथि परेको समस्या अरुलाई भन्न र सुनाउन नसक्दा आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ। अनुसन्धानकर्ता डा सिमोन स्ट्याकले गरेको एक अनुसन्धान अनुसार चर्चित व्यक्तित्वको आत्महत्यापछि १४ प्रतिशतसम्म आत्महत्या बढेको पाइएको छ।
फ्रेन्च समाजशास्त्री इमाइल दुर्खिम जसलाई सोसिओलोजीका पिता पनि भनिन्छ। उनका अनुसार आत्महत्याका चार वटा आधार छन्। जसमा आवेगमा आएर गरिने आत्महत्या, डिप्रेसनका कारण गरिने आत्महत्या, देश र जनताका लागि गरिने आत्महत्या, लामो समयसम्म विभिन्न कारणले गरिने आत्महत्या। उनले आत्महत्यालाई सामाजिक परिघटना भनेका छन् । उनले कुनै पनि आत्महत्याका पछाडि सामाजिक कारण रहने कुरा उल्लेख गरेका छन् । दुर्खिमका अनुसार आत्महत्या सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीतिक कारणले हुन्छ।
समाजिक परिवेशका कारण पनि आत्महत्या गर्ने गरेका थुप्रै उदाहरण भेटिन्छन्। जस्तै: अन्तरजातीय विवाह, रितीरिवाज, उचनिँच तथा दुर्व्यवहार तथा सामाजिक कुरीतिहरुले गर्दा पनि आत्महत्या गर्ने गरेको पाहिन्छ। प्रेममा धोका, झुठा आरोप खेप्न नसकी, बेइज्जत भएको सहन नसक्दा र कुनै जगन्य अपराध गरेपश्चात् आत्मग्लानीले पनि आत्महत्याको बाटो रोजेको भेटिन्छ। स्कुल-कलेजमा फेल हुनु, काममा सफलता हात नपर्नु, रोजगारी प्राप्त नहुनु पनि आत्महत्या कारण रहेको पाइन्छ।
आत्महत्याका प्रकृतिहरु थुप्रै छन्। तर दीर्घरोगी र डिप्रेसन नै आत्महत्याको प्रमुख कारण मानिएको छ। डिप्रेसनका साथै विभिन्न प्रकारको चिन्ता, मायाप्रेममा धोका, आर्थिक लेनदेन, मानसिक आघात, समाजमा कसैको चरित्र नाङ्गिनु जस्ता कारणले पनि आत्महत्या गर्ने गरेको गरेको पाइन्छ। क्षणिक आवेगमा आएर आत्महत्या गर्नेको संख्या पनि उत्तिकै छ। लागुऔषध सेवनकर्ता र नियमित रुपमा रक्सी सेवन गर्ने व्यक्तिले पनि आत्महत्या गर्ने गरेको पाइन्छ। आत्महत्या सम्बन्धी विभिन्न समयमा विभिन्न शोधकर्ताद्वारा गरिएको अध्ययन अनुसार ९५ प्रतिशत व्यक्ति कुनै न कुनै किसिमको मानसिक रोगको सिकार हुने गरेको तथ्य पुष्टि गरेका छन्।
आत्महत्याका प्रमुख कारणमध्ये शारीरिक, मानसिक, आर्थिक साथै सामाजिक परिवेशसँग जोडिएका परिघटना हुन सक्छन्। सामाजिक कारण अन्तर्गत मानिसका दैनिक व्यावहारिक कुरा पर्छन्। जस्तो: ऋण, धन, गालीगलोज, चरित्र हत्या जस्ता समस्याले ग्रस्त मान्छेले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ। शारीरिक कारण अन्तर्गत कुनै ठूलो रोग, टिबी, क्यान्सर लगायत दीर्घरोग वा उपचार हुन नसक्ने प्रकार रोगको कारणले बाँच्ने आशा हराउँदै जाँदा मानसिक विचलन आएर आत्महत्याको बाटो रोज्नु।
त्यस्तैगरी जन्मजात वा पछि कुनै कारणले गर्दा शरीरमा दुर्बलता, अपाङ्ग वा शरीरको कुनै भागले काम गर्न छोडिदिँदा जीवनदेखि वाक्कदिक्क मानेर पनि देहत्याग गर्ने गरेको पाइन्छ। मानसिक कारण अन्तर्गत पिर, चिन्ता, तनाव, असफलता, सोचे जस्तो जीवनमा नपुगेर मानसिक अवस्था बिग्रिएपछि आत्महत्या गर्ने गर्छन्। जन्मजात वा कुनै कारणले पागलपनको सिकार भएका व्यक्तिहरुले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आत्महत्याको दर पनि वृद्धि भएको पाइन्छ।
मनोवैज्ञानिक श्वेता तिर्कीका अनुसार कुनै न कुनै कारणले मानिसमा निराशा भइरहन्छ। तर त्यही निराशा लामो समयसम्म बढ्दै गएर पछि डिप्रेसन हुने सम्भावना हुन्छ। हल्का, मध्यम र जटिल गरी तीन प्रकारका डिप्रेसन हुने गर्छन्। डिप्रेसनको उपचार हुन्छ तर पूर्ण रुपमा निको हुन भने लामो समय लाग्छ। कसैको जीवनमा एक पटक मात्र डिप्रेसन हुन्छ भने कसैकोमा पटकपटक भइरहन्छ। डिप्रेसन वंशानुगत, जैविक मनोवैज्ञानिक र सामाजिक कारणले गर्दा हुने गर्छ।
नशा तथा मनोरोग विशेषज्ञ डा कमल गौतमका अनुसार सामान्यतया कुनै पनि मानसिक रोगका कारणहरूलाई तीन भागमा विभाजन गर्ने गरिन्छ। एउटा जैविक, मनोवैज्ञानिक र सामाजिक कारण। मानसिक रोग विस्तारै सुरु हुने र बढ्दै जाने भएकाले व्यक्तिलाई सुरुमा आत्महानिको सोच आउँछ। आत्महानिको सोच आइसकेपछि उक्त व्यक्तिमा भावनात्मक परिवर्तनहरू आउन थाल्छन्। यो भावानात्मक अवस्थाबाट गुज्रिसकेपछि उसले अब योजना बनाउन थाल्छ। यसरी, मानसिक रोगबाट एक्कासि आत्महत्या भइहाल्दैन बरु यो क्रमिक रूपमा विकसित हुने गर्छ।
मनोवैज्ञानिक तिर्कीका भन्छिन्, 'रुघाखोकी, पेट दुख्ने, पातलो दिसा आउँदैमा मान्छेहरु अस्पताल गइहाल्छन तर चिन्ता, तनाव, मानसिक समस्या भएको महसुस हुँदा समेत पनि अस्पताल जाने गर्दैनन्। चिन्ता र तनाव बढ्दै जाँदा डिप्रेसनको सिकार हुन्छन्। उनीहरुलाई जिन्दगी जिउनै मन लाग्दैन र चाँडो मर्न मन लागिरहन्छ। यदि कुनै घरमा शौचालयको पानीको पाइप फुटेको छ तर त्यसको मर्मत पछि गरौंला भनेर बस्दा केही दिनपछि घर पूरै दुर्गन्धित हुन्छ। सफा गर्न पनि गाह्रो हुन्छ। त्यस्तै चिन्ता तनाव र मानसिक समस्या पनि समयमै उपचार गरिएन भने पछि ठूलै समस्याको रुपमा देखिन्छ।'
डिप्रेसन भएको व्यक्तिमा निद्रा नलाग्नु, निराश हुनु, नकारात्मक सोच आउनु, खाना खान मन नलाग्नु, झर्को लाग्नु, गर्दै आएको काम छोड्नु, पहिला सजिलो लागेको काम पछि गाह्रो लाग्न थाल्नु, यो जिन्दगीमा केही पनि गर्न सकिएन भन्ने नकारात्मक कुरा सोच्दै जानु। यस्ता लक्षणहरु भएको अवस्थामा परिवारले साथ दिएन भने आत्महत्या गर्ने सम्भावना बढी हुन्छ। डिप्रेसनका बिरामीमध्ये १५ देखि २० प्रतिशतले मात्रै आत्महत्या गर्ने गरेको अनुसन्धानले देखाएको छ। नेपालमा सन्तान जन्माएपछि १० प्रतिशत महिलामा डिप्रेसन देखिने गरेको छ।
कोरोना कहरले आत्महत्याको संख्या बढाएको छ। कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएकोले आत्महत्या, क्वारेन्टिनमा बस्दा आत्महत्या, क्वारेन्टिनमा राख्न खोज्दा भीडबाट हाम्फालेर आत्महत्याको प्रयास जस्ता समाचारहरु प्रकाशित भइरहेको पाइन्छ। कोरोनासँगको डर, त्रास र चिन्ताको कारणले गर्दा आत्महत्या गरेको देखिन्छ।
वरिष्ठ मनोरोग विशेषज्ञ डा जयबहादुर खत्रीका अनुसार आत्महत्या गर्नेमा महिलाको भन्दा पुरुषको सङ्ख्या बढी छ। तर आत्महत्या गर्न हिंड्ने र आत्महत्या गर्न तम्सिनेहरुमा भने महिला बढी हुने गर्दछन्। जब मानिसलाई उसले गरेका कामको उचित मूल्याङ्कन हुँदैन। सबैले हेला गर्छन्। घर परिवारका सदस्यले वास्ता गर्दैनन्। माया गर्नुको सट्टा घृणा गर्छन्। त्यसपछि परिवार र समाजको बोझ भएको महसुस गर्न थाल्छ। यस्तो अवस्थामा पनि मानिसले आत्महत्यालाई अँगाल्न पुग्छ।
आत्महत्या रोकथामका लागि विभिन्न अभियान भए पनि यो रोकिएको छैन। बालबालिकादेखि वृद्धवृद्धासम्मले आत्महत्या गरेको खबर बेलाबेला सार्वजनिक भइरहन्छ। आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु, भावी जीवनको लागि असमर्थ हुनु लगायतका कारणले आत्महत्या हुने गरेको छ। आत्महत्या गर्नेमा युवायुवतीको संख्या अझै धेरै छ।
वरिष्ठ मनोचिकित्सक डा कपिलदेव उपाध्यायका अनुसार आत्महत्याको प्रमुख कारण भनेको मानसिक समस्या हो। त्यसमा पनि एन्जाइटी, डिप्रेसन, पेनिक याट्रयाक्ट जस्ता समस्या भएका र त्यसलाई सही ढंगले उपचार नगरिएको कारणले आत्महत्या गरेको पाइन्छ। पढाइको धेरै ‘प्रेसर’ भयो भने, पढाइमा आमाबाबुको आशा धेरै भयो भने त्योसँग जुध्न नसकेर तनाव हुने हुन्छ। अहिले स्मार्ट फोन तथा इन्टरनेटको अत्यधिक प्रयोग, युट्युबमा भिडियो हेरेर धेरै समय बिताउनु, त्यस्तै गेम खेलेर समय बिताउनु पनि समस्या बनेको छ। अपरिपक्व उमेरमा माया प्रेममा फसेर धोका पाएर पनि धेरै आत्महत्याको समस्या बढेको छ।
हालसम्म भएका अध्ययनको निचोड अनुसार यो एउटा मानव मनोविज्ञान भित्रको जटिल अन्तर्द्वन्दको उपज हो। मानसिक समस्या नै आत्महत्याको प्रमुख कारण हो, जसमा अन्य सामाजिक, आर्थिक, पारिवारिक समस्याले उत्प्रेरकको भूमिका निर्वाह गरिरहेका हुन्छन्। आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या पनि बढ्दै गइरहेको छ। गत वर्ष मात्रै २ सय ५० जना बालबालिकाले आत्महत्या गरेको कुरा तथ्याङ्कले देखाएको छ।
आत्महत्या न्यूनीकरणका लागि सबैभन्दा पहिले व्यक्तिले देखाएको अस्वभाविक व्यवहार वा चिह्नहरुलाई पहिचान गर्न आवश्यक छ। सबैभन्दा महत्वपूर्ण कुरा मनोविमर्शकर्ता र मनोचिकित्सकसँग परामर्श लिने गर्नुपर्छ। औषधि खानुपर्ने भएमा औषधि र मनोविमर्शलाई सँगसँगै अगाडि बढाउन सकिन्छ।