तीर्थराज अधिकारी
जीवित मानिसको शरीरमा कोषहरु निरन्तर विभाजित भई नयाँ कोष निर्माण भइरहन्छन्। यो नियमित प्रक्रिया हो। नयाँ कोष बन्दा मानव शरीरको कुनै अंगमा कोषहरुको अनियन्त्रित बढोत्तरी हुनुलाई क्यान्सर भनिन्छ। क्यान्सर के कारणले लाग्छ भन्ने ठोस कारण पत्ता अहिलेसम्म नलागेको भए पनि जोखिमका कारक भने छन्। जस्तै: धूमपान तथा मध्यपान गर्ने मानिसलाई घाँटी, इसोफेगास, फोक्सो, मुटु, कलेजो, आन्द्रा आदिको क्यान्सर हुनसक्छ। त्यस्तै वंशाणुगत अर्को जोखिमको कारक हो।
ग्लोबल क्यान्सर ओब्जर्भेटरीका अनुसार विश्वमा अहिले १८ मिलियन बढी क्यान्सरका रोगी छन्। जसमा ९.५ मिलियन पुरुष र ८.५ महिला रहेका छन्। नेपालमा सन् २०१८ मा २६१८४ (१०२७२ पुरुष र १५९१२ महिला) नयाँ क्यान्सर रोगीहरु थापिएका थिए भने सोही वर्ष १९४१३ जनाको क्यान्सरका कारण मृत्यु भएको थियो। थपिएका नयाँ बिरामीमध्ये पुरुषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी थियो (१६९३ जना), त्यसपछि आमासयको क्यान्सर (८९१ जना) थियो। महिलामा भने पाठेघरको क्यान्सर (२९४२ जना) सबैभन्दा बढी थियो। त्यसपछि फोक्सो (२१४३ जना) र स्तन क्यान्सर (२०६८ जना) थियो।
यति धेरै मानिसले बर्सेनी ज्यान गुमाइराखे पनि राज्यको ध्यान क्यान्सर उपचारप्रति गएको देखिँदैन। वर्तमानमा नेपालमा क्यान्सर रोग उपचार गर्ने अस्पतालहरु न्यून छन्। भएका अस्पतालमा आवश्यक सेवासुविधा उपलब्ध छैनन् भने जहाँ उपलब्ध छन्, त्यहाँ उपचार अत्यन्त महँगो छ। सरकारी स्तरबाट सञ्चालित अस्पतालमा बिरामीहरुको चाप थेगिनसक्नु हुन्छ। निजी स्तरबाट सञ्चालित क्यान्सर अस्पताल अत्यन्त महँगा छन्। सर्वसाधारणले त्यहाँ उपचार गराउन सक्दैनन्।
सरकारी तथा निजी स्तरबाट सञ्चालित क्यान्सर अस्पतालहरु केन्द्रीकृत छन्। देशको पश्चिमी तथा पूर्वी भागमा क्यान्सर उपचार गराउनको लागि अस्पताल छैनन्। हाल सरकारी तवरबाट सञ्चालित अस्पतालहरुमा वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरिअल क्यान्सर अस्पताल चितवन रहेका छन्। यी अस्पातालमा बिरामीको उच्च चाप रहन्छ। राज्यले यी अस्पतालमा विशेषज्ञ जनसक्ति पुर्याउन सकिरहेको छैन। भएको ठाउँमा उचित व्यवस्थापन हुन् सकिराखेको छैन।
क्यान्सर उपचारका पद्धतिमध्ये सबैभन्दा बढी बिरामीका लागि अपनाइने पद्धति केमोथेरापी हो। त्यस्तै सर्जरी, रेडियोथेरापी, हर्मोनल थेरापी, टारगेटेड थेरापी र सिंथेटिकलेथालिटी पद्धति हुन्। क्यान्सरका बिरामीमध्ये ५० प्रतिशत बिरामीले रेडियोथेरापी उपचार लिइरहेका हुन्छन्। नेपालमा रेडियोथेरापी केन्द्रहरु निकै कम छन्। रेडियोथेरापी सेन्टर स्थापना गर्न ठूलो धनराशि आवश्यक पर्छ तर राज्यस्तरबाट यो काम गर्न त्यति गाह्रो पर्दैन।
नेपालमा रेडियोथेरापीलाई क्यान्सरको प्राथमिक उपचार पद्धतिको रुपमा लिइएको पाइँदैन। यो उपचार पद्धति अरु उपचार पद्धतिभन्दा किफायती र प्रभावकारी मानिन्छ। तर हामीकहाँ रेडियोथेरापीलाई पालिएटिभ केअरको लागि बढी प्रयोग भएको पाइन्छ। क्युरेटिभ केअरमा पनि रेडियोथेरापीको प्रतिक्रिया राम्रो हुन्छ।
रेडियोथेरापी उपचारमा उपलब्ध पद्धतिमध्ये वल्यूमेट्रिक मोडुलेटेड आर्कथेरापी, इन्टेन्सिटी मोडुलेटेड रेडियोथेरापी, थ्रिडी र टुडी, प्रमुख पद्धति हुन्। यीमध्ये हामीकहाँ बढी प्रयोग हुने थ्रिडी र टुडी हुन्। यी उपचार पद्धतिबाट उपचार गराउँदा बिरामीको नर्मल टिस्युले उल्लेख्य डोज पाउँछ। तर वल्युमेट्रिक मोडुलेटेड आर्कथेरापी, इन्टेन्सिटी मोडुलेटेड रेडियोथेरापी उपचार गराउँदा नर्मल टिस्युलाई कमभन्दा कम डोज दिई चाहेको डोज ट्यूमर/क्यान्सरलाई पुर्याउन सकिन्छ। यी पद्धति बढी प्रभावकारी मानिन्छन्।
विकसित देशहरुमा टुडी रेडियोथेरापी र कोबाल्ट-६० पूर्ण रुपमा बन्द भइसके पनि हामीकहाँ यसबाट उपचार भइराखेको छ। थ्रिडी रेडियोथेरापी पनि खास केस उपचारमा मात्र प्रभावकारी मानिन्छ। जस्तो नोड सम्मिलित स्तन क्यान्सर उपचारमा यो प्रभावकारी हुन्छ। स्टिरियोटेक्टिक रेडियो सर्जरीबाट बिना सर्जरी ट्युमर उपचार गर्न सकिन्छ। यो पद्धतिमा एकै पटक ठूलो मात्रामा डोज (२४ गेरे) दिइन्छ। यो पद्धति टाउकाको क्यान्सर उपचारमा प्रभावकारी मानिन्छ।
त्यस्तै स्टिरियोटेक्टिक बडी रेडियोथेरापी फोक्सो, प्रोस्टेट आदि क्यान्सर उपचारमा प्रभावकारी मानिन्छ। यी पद्धति अत्याधुनिक उपचार पद्धति हुन्। नेपालमा स्टिरियोटेक्टिक रेडियो सर्जरी र स्टिरियोटेक्टिक बडी रेडियोथेरापी सेवा सुरु भएको छैन। निकट भविश्यमा यी पद्धतिबाट सेवा सुरु हुने अपेक्षा गर्न सकिन्छ।
नेपालमा बिरामीको उपचार कुन पद्धतिबाट गर्ने भन्ने कुरा बिरामीको आर्थिक अवस्थामा भर पर्छ। जुन दुखद पक्ष हो। अत्याधुनिक उपचार पद्धति महँगो पर्छ भने बिरामी प्रयास: न्यून आर्थिक अवस्थाका हुन्छन्। त्यस्तो अवस्थामा उनीहरुलाई आवश्यक हुँदा पनि उच्च प्रविधिबाट उपचार गर्न नपाउँदा मन खिन्न हुन्छ। अर्को समस्या भनेको बिरामी लेट फेजमा रेडियोथेरापी गर्न आउनु हो। लेट फेजमा रेडियोथेरापी गर्न आएको बिरामीलाई उच्च प्रविधि प्रयोग गर्दा त्यति उपलब्धिमूलक नहुने भएकाले त्यस्तो अवस्थामा थ्रिडी नै उपयुक्त हुन्छ।
महत्वपूर्ण कुरा केहो भने हरेक क्यान्सर अस्पतालमा विशेषज्ञ सम्मिलित ट्युमर बोर्ड हुन अत्यावश्यक हुन्छ। जसबाट बिरामीको खास अवस्था छिटो छिनोफानो गरी कुन उपचार गर्ने भन्ने कुरा निर्क्योल गर्न सहज हुन्छ। जुन हामीकहाँ छैन वा प्रभावकारी छैन। विशेषज्ञहरुको त्यसतर्फ ध्यान जान जरुरी छ। बिरामीका आफन्तले ढिलो अस्पताल पुर्याउनु वा बिरामी ढिलो पहिचान हुनु समस्या हुन् प्रभावकारी क्यान्सर उपचारका।
कतिपय बिरामीका आफन्तले त छिमेकीले कुरा काट्लान् कि भनेर अन्तिममा उपचार गर्न ल्याउने गरेको पाइन्छ। अर्को कुरा क्यान्सर बिरामीले भएको जति पैसा केमो र सर्जरीमा सकिसकेको हुन्छ र अब ऊसँग भएको न्यून पैसाले रेडियोथेरापी सुरु गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ बिरामीलाई पैसाकै कारण दिनुपर्ने डोजभन्दा कम डोज दिएर उपचार गर्नुपर्ने हुन्छ, जुन रेडियोबायोलोजिकल्ली प्रभावकारी हुँदैन। त्यस्तो अवस्थामा क्यान्सर पुनरावृत्तिको सम्भावना अधिक हुन्छ।
क्यान्सर भन्ने बित्तिकै नेपाली जनमानसमा निको नहुने रोग भन्ने छाप छ। तर क्यान्सर समयमै पत्ता लागेमा निको हुन्छ। जनस्तरमा क्यान्सर रोगको निदान सम्भव छ भन्ने जागरण गर्न आवश्यक देखिन्छ। केही चिकित्सकीय कमजोरीको कारणले पनि आम मानिसमा यो रोग निको हुनेप्रति शंका ब्याप्त छ।
केही समय पहिला रीना (नाम परिवर्तन) सिस्टको समस्या निदान गर्न राजधानीको नाम चलेको सरकारी अस्पतालबाट क्यान्सरको आशंका गरी निजी क्यान्सर अस्पतालमा रिफर भएकी थिइन्। जहाँ उनलाई क्यान्सर भएको ठहर गरी केमोथेरापी सुरु गरिएकोमा दोस्रो केमोमै बिरामी बेहोस भई ढलेपछि उनलाई भारत लागिएको थियो, जहाँ क्यान्सर नभएको घोषणा गरिएको थियो।
मुना (नाम परिवर्तन) को स्तन क्यान्सर भएको थियो र उनको क्यान्सर संक्रमित स्तन सर्जरी गरिएको थियो। तर त्यसलाई समयमै स्टेरिलाइज नहुँदा क्यान्सर बल्झी उनले लाखौ पैसा खर्च गरी भारतमा उपचार गराउनु परेको थियो।
त्यस्तै मनिष (नाम परिवर्तन) को खुट्टाको हड्डी सम्बन्धी क्यान्सर थियो। सर्जरी गरी उनको क्यान्सर फलिएको थियो तर समयमै सही निर्णय नगर्दा उनको क्यान्सर बल्झी निको नहुने अवस्थामा पुगेको थियो।
यी त प्रतिनिधि घटना मात्र हुन्। यस्ता कैयौं केसहरु छन् जहाँ चिकित्सकीय कमजोरीको कारण बिरामीले दुख भोग्नुपरेका छन्। यी घटनाहरु विशेषज्ञको कमी भएर भन्दा पनि उपचारमा लापरबाहीको परिणाम थिए। विशेषज्ञ जनशक्ति, टेक्निक र टेक्नोलोजी हुँदाहुँदै पनि यस्ता घटना हुनु नेपाली चिकित्सकीय क्षेत्रका लागि दुर्भाग्य हो।
नेपालमा चिकित्सकीय कमजोरीको कारण हुने घटनाले पैसा हुने नेपालीको रोजाइ विदेश हुन्छ। तर यहाँ ख्याल गर्नुपर्ने कुरा के हो भने विदेशमा ठूला रिसर्च सेन्टरहरुमा उपचार गराउन जाँदा लो इनकम भएका देशका बिरामीहरु अनुसन्धान परीक्षणमा पर्छन्। ती संस्थाहरुमा कुनै न कुनै रिसर्च भइराखेको हुन्छ र रिसर्चरहरु उपपुक्त बिरामी भएमा त्यस्तो परीक्षण गर्छन्। यसरी उनीहरुको परीक्षण सफल भएमा फाइदा हुन पुग्छ भने असफल भएमा बिरामीको ज्यानै जान सक्छ। बिरामीले ठूलो धनराशि खर्च गर्छन् भने उपलब्धि खासै हुँदैन। तसर्थ नेपालमै उपचार गराउनु फाइदाजनक हुन्छ।
नेपालीको नेपालमै स्तरीय उपचारको व्यवस्था गराउनु राज्यको दाइत्व हो। क्यान्सरका बिरामीलाई उचित उपचार सेवा राज्यले दिनुपर्छ। हुन त सरकारले हरेक क्यान्सरका बिरामीलाई जनही एक लाख रुपैयाँ उपलबध गराउँछ तर क्यान्सर बिरामीका लागि त्यो पैसा हात्तिको मुखमा जिरा जस्तै हो। सरकारले यसरी पैसा बाँड्दा उपलब्धिमूलक हुँदैन र ठूलो मात्रामा पैसा बाँडिन्छ।
सन् २०१८ को डाटालाई हेर्ने हो भने सरकारले २६१८४ जना क्यान्सर बिरामीलाई एक लाखका दरले दुइ अर्ब ६१ करोड बढी रकम वितरण भएको देखिन्छ। यति पैसाले दुई अत्याधुनिक क्यान्सर केन्द्र स्थापना गर्न सकिन्थ्यो। सरकार र सरोकारवालाको यसतर्फ ध्यान दिन जरुरी छ। बरु सरकारले स्वास्थ्य बिमामार्फत व्यहोर्नेगरी सम्पूर्ण क्यान्सर उपचार नि:शुल्क गर्नुपर्छ। यसले आम नागरिकमा समानताको बोध पनि हुन्छ।
वर्तमानमा नेपालमा भएका क्यान्सर अस्पताल अपर्याप्त छन्। सरकारले हरेक प्रदेशमा एउटा क्यान्सर अस्पताल सञ्चालनमा ल्याउनुपर्छ। हाललाई अलग्गै क्यान्सर अस्पताल बनाउन समय लाग्ने भएकाले सरकार र सरोकारवालाले हरेक प्रदेशमा रहेका प्रादेशिक अस्पतालमा क्यान्सरको उपचार सुरु गर्नुपर्छ। देशमा जनशक्ति भएर पनि उनीहरुलाई काममा लगाउन नसक्नु राज्यको कमजोरी हो। तसर्थ भएका क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको चापलाई घटाई गुणस्तरीय उपचार राज्यले ग्यारेन्टी गर्नुपर्छ।
(अधिकारी अन्तर्राष्ट्रिय मान्यताप्राप्त रेडिएसन ओङ्कोलोजी फिजिसिस्ट हुन्।)