विचार/ब्लग

शिक्षामन्त्रीलाई एचए अध्ययनरत विद्यार्थीको पत्र - हाम्रो मन दुखेको छ

सुवास गिरी

माननीय शिक्षा मन्त्रीज्यू, नमस्कार 

म कुशल छु कसरी भनुँ तर तपाईंको कुशलताको कामना गर्दछु। आज म तपाईंलाई सम्बोधन गर्दै केही लेख्न अनुमति चाहन्छु। तपाईंलाई मेरा शब्दहरु तिता लाग्न सक्छन्। क्षमा माग्दै विषयवस्तुतर्फ प्रवेश गर्न चाहन्छु।

मन्त्रीज्यू, म एक सिटिइभिटी अन्तर्गतको एक कलेजमा एचए प्रथम वर्ष अध्ययनरत विद्यार्थी हुँ। यो पत्र म जस्ता सिटिइभिटी अन्तर्गत प्राविधिक शिक्षा पढ्ने लाखौंको संख्यामा रहेका विद्यार्थीको प्रतिनिधि पत्र हो। 

विगत ४ महिनादेखि कोभिड-१९ को कारण भएको बन्दाबन्दीले गर्दा अवरुद्ध हाम्रो पढाईंको विषयमा तपाईंले खासै केही बोल्नुभएको समाचारमा आएको छैन। तपाईंको नजर एसइई दिने र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुमा मात्र परेको देखियो। के कोभिड-१९ को जोखिम उनीहरुलाई मात्र हो र?  प्राविधिक शिक्षा पढ्ने लाखौं विद्यार्थीतर्फ तपाईंको नजर नपरेको देख्दा हाम्रो मन दुखेको छ। यतिबेला हामी सबै विद्यार्थी मानसिक तनावमा छौं।

देशको दूरदराज र सहरका केही भागबाट सबै जात, धर्म, वर्ग, समुदाय, पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी भर्ना र पठनपाठन गरिँदै आएको र छोटो समयमा प्राविधिक जनशक्ति उत्पादन गरी देशको समग्र स्थितिमा टेवा पुग्ने उद्देश्यले लामो समयदेखि सञ्चालन हुँदै आएका सिटिइभिटीका कक्षाहरु ४ महिनादेखि ठप्प छन्। समयमै केही ठोस निर्णय लिन नसक्नु र दीर्घकालीन योजनामा चुक्नु जस्ता कारणले गर्दा लाखौं विद्यार्थीको भविष्य खतरामा छ।

पछिल्लो समयमा आएर अनलाइन पढाउनु भनी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको तपाईंको निर्णयले प्रश्नचिह्न खडा भएको छ। देशका दुर्गम क्षेत्रबाट ऋणधन गरी सदरमुकाम वा सहरसम्म पढ्नको लागि आएका विद्यार्थीहरु यतिबेला सबै आ-आफ्नो घर फर्किएका छन्।

दुर्गममा मोबाइलको नेटवर्कको लागि रुख चड्नुपर्ने हाम्रो देशमा अनलाइन कक्षा कसरी प्रभावकारी होला? डाटा किन्ने, वाइफाई जोड्नेका त कुरै छोडौं, त्यसैमाथि यतिबेला हावाहुरी र वर्षाको कारण समय समयमा हुने विद्युत कटानको समस्याले थप चुनौती दिएको छ। सतप्रतिशत विद्यार्थीको उपस्थिति बिना सहरका सीमित विद्यार्थी केन्द्रित अनलाइन कक्षा सञ्चालन के न्यायोचित होला? 

अघिल्लो वर्ष सञ्चालन गरिएका धेरै परीक्षाहरुको नतिजा करिब एक वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन। यस विषयमा पनि तपाईं र सिटिइभिटीका पदाधिकारीहरु समेत कानमा तेल हालेर बसेका छन्। कोभिड-१९ को समस्यालाई प्रमुख कारण बनाएर तपाईंहरु जिम्मेवारीबाट उम्कन पाउनुहुन्न। हरेक समस्याको समाधान खोज्न सकिन्छ।   

मन्त्रीज्यू, मैले देखेको र आम विद्यार्थीको तर्फबाट केही समाधानका उपायहरू  म तपाईंलाई बताउँछु। 

बन्दाबन्दी पूर्ण रुपले खुलेपछि सेमेस्टर प्रणालीका कक्षाहरुलाई आन्तरिक मूल्यांकन गरी उपल्लो सेमेस्टरमा लाने र वार्षिक परीक्षागत प्रणालीका कक्षाहरुलाई पनि आन्तरिक मूल्यांकन गरी उपल्लो कक्षामा लान सकिन्छ र अन्तिम वर्ष वा सेमेस्टर अध्ययन गर्नेहरुलाई पनि आन्तरिक मूल्यांकन गरी लिखित परीक्षामा उत्तीर्ण गराउन सकिन्छ तर प्रयोगात्मक परीक्षालाई मुख्य मानेर हरेक सेमेस्टर र वर्षका प्रयोगात्मक परीक्षा अनिवार्य उत्तीर्ण गराउनुपर्छ।

आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई पनि पुनः एक पटक प्रयोगात्मक परीक्षा लिई मूल्यांकन गर्न सकिन्छ। प्राविधिक अध्ययन पूर्णत: प्रयोगात्मक अभ्यासमा आधारित हुने हुँदा यही समयमा सामाजिक दूरी कायम गर्दै आआफ्नै स्थानीय तहमा प्रयोगात्मक अभ्यास गराउने व्यवस्था मिलाउन  सकिन्छ र सोही आधारमा प्रयोगात्मक परीक्षा लिई चालु शैक्षिक सत्रलाई टुङ्गोमा पुर्‍याउन सकिन्छ। आगामी शैक्षिक सत्रलाई केही समय ढिला सुरु गर्न सकिन्छ। यसो गर्दा शैक्षिक तालिका नबिग्रने र आम विद्यार्थीमा परीक्षाबारे मानसिक बोझ हट्ने हुनसक्छ। 

मन्त्रीज्यू, अन्त्यमा हालसम्म सिटिइभिटीका पदाधिकारीहरुबाट पनि कुनै समस्या समाधानको कुरा, छलफल, बहसका कुरा सुन्नमा आएका छैनन्। त्यसैले मन्त्रीज्यू र सिटिइभिटी पदाधिकारीबीच छिटो छलफल होस र लाखौं विद्यार्थीको भविष्यको बारेमा छिटोभन्दा छिटो सकारात्मक निर्णय होस, यही आशा व्यक्त गर्दछु र हरेक समस्याको समाधानलाई आन्दोलन रोज्नुपर्ने स्थिति नबनाउनु हुन म र म जस्ता लाखौं विद्यार्थीको तर्फबाट विनम्र अनुरोध गर्दै बिदा चाहन्छु।

धन्यवाद। 
                    
(गिरी देवदह मेडिकल कलेजमा प्रथम वर्ष अध्ययनरत छन्।)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने