काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणमा सरकारले काम गरिरहेको दाबी गरेका छन्। उनले सरकारको काम नदेख्नेहरुलाई मोतियाबिन्दु लागेको छ कि भन्ने अनुभूति भएको बताए।
वीर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले आफूहरुले गरेको काम विदेशीले देखेको दाबी गरे।
'शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीति प्रति त्यहाँका जनता र राष्ट्रप्रतिको जवाफदेहिता र सीमित साध स्रोत भएको हाम्रोजस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका बस्ने विदेशीहरूले देखेका छन्। तर विदेश र स्वदेशमा रहेका नेपालीहरूले यसलाई देख्न सक्दैनन्', उनले भने, 'मलाई लाग्छ, यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतिबिन्दु लागेको छ कि भन्ने अनुभूति मैले गर्ने गरेको छु।'
उनले विदेशबाट आएकालाई टर्च बालेर खोजिएको बताए। 'साधन स्रोतको सिमितताका बाबजुद नेपाल सरकारको तर्फबाट हामीले बाहिरबाट आएका कसैले पनि यो किटाणु लिएर आएर समाजमा संक्रमित गर्ला कि भनेर दिन रात नभनी डाक्टर र नर्सहरुको नेतृत्वमा यो लडाइँमा हामीले टर्च बालेर, कहीँ पोजेटिभ छ कि भनेर खोजेर, पत्ता लाग्ने बित्तिकै अस्पतालमा ल्याएर त्यसको उपचारको व्यवस्था गरेका छौं', उनले भने।