डा उज्वल न्यौपाने
हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर विश्व हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ। यो दिनमा गरिने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरुले विश्वभर हेपाटाइटिसको भार कम गर्न प्रमुख भूमिका निर्वाह गरेको हुनसक्छ।
विश्व स्वास्थ संगठनको मूल्यांकन अनुसार विश्वभर ३२ करोडभन्दा बढी मानिस हेपाटाइटिस बी र सीबाट संक्रमित छन्। विश्वभर हेपाटाइटिस बीका कारण उत्पन्न हुने जटिल स्वास्थ समस्याले गर्दा वार्षिक ९ लाख मानिसको मृत्यु हुने गरेको छ भने विश्वभर ९० प्रतिशत संक्रमितलाई आफू संक्रमित भएको ज्ञान हुने गरेको छैन।
विश्वका अधिकांश मुलुकका सरकारहरुले सन् २०३० सम्म आफ्नो देशलाई हेपाटाइटिस मुक्त गराइसक्ने लक्ष्य लिएका छन्। ४ वर्षअघि थालिएको यो अभियान सफल पार्न हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन सक्छौं। यसका निम्ति हेपाटाइटिस र यसको रोकथामका बारेमा जानकारी राख्ने, अरुलाई पनि सिकाउने गर्नुपर्छ। हाम्रो सरकारले यस सम्बन्धी केकस्तो रणनीति अवलम्बन गरिहेको छ भन्ने बुझेर त्यसलाई सफल कार्यान्वयन गर्ने अनि सरकारको ध्यानाकर्षण गराउनु हामी सबैको दायित्व हुन जान्छ।
कलेजो अथवा कलेजोको भाग सुन्निनुलाई हेपाटाइटिस भनिन्छ। यो अवस्था आफैं सीमित भएर जानसक्छ भने कतिपय अवस्थामा बढ्दै गएर कलेजोमा दाग लाग्ने (फाइब्रोसिस), सिरोसिस हुने वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ। हेपाटाइटिस गराउने मुख्य कारण हेपाटाइटिस भाइरसहरु हुन् भने अन्य तत्वहरुमा अल्कोहल, केही औषधिहरु (जस्तैः बाथमा प्रयोग गरिने एल्लोप्युरिनेल, मुटुको अस्थिर चाल सच्याउन प्रयोग गरिने एमियोडारोन, केही एन्टिबायोटिक जस्तैः एमोक्सिसिलिन–क्ल्याभुलानेट, छारेरोगको औषधि कार्बामाजेपाइन आदि) तथा विभिन्न अटोइम्युन पर्दछन्।
के हो हेपाटाइटिस भाइरस?
हेपाटाइटिस गराउने हेपाटोट्रोफिक भाइरसहरु पाँच प्रकारका छन् जसलाई क्रमशः ए, बी, सी, डी र ई नाम दिइएको छ। यीमध्ये ए, बी र डी खोपमार्फत रोकथाम हुन सक्छन्। ए र ई ले दूषित खाना वा पानीको मार्फत संक्रमिण गर्दछन्। बी, सी र डी भने मानव शरीरका तरल पदार्थहरुमार्फत सर्छन्। सर्ने माध्यमहरुमा संक्रमित रगत प्राप्त गर्दा, चिकित्सा उपचारमा प्रयोग हुने औजारका माध्यमबाट, संक्रमित सुइहरुको असुरक्षित प्रयोगबाट, गर्भवती आमाबाट बच्चामा तथा यौन सम्पर्कको माध्यमबाट समेत सर्न सक्छन्। डी भाइरसले भने बी भाइरसको संक्रमितमा मात्र संक्रमण गर्ने गर्छ। बी र डी को दुईतर्फी संक्रमण भएका बिरामीमा भने जटिल रोग लाग्ने र खराब परिणाम आउने गर्छ। हेपाटाइटिस ए र ईले समान किसिमको व्यवहार गर्छन्।
विकाशशील देशहरुमा मुख्यतयाः देखिने यी भाइरसले स्वयं सीमित परिणाम दिन्छन् र पुरानो रोग पनि गराउँदैनन्। ६ महिनाभन्दा बढी लाग्ने रोगलाई पुरानो अथवा क्रोनिक हेपाटाइटिस भनिन्छ भने त्यो भन्दा कम लाग्ने रोगलाई तीव्र अथवा एक्युट हेपाटाइटिस भनिन्छ। तीव्र रोग पछि गएर पुरोनो रोगमा परिणत हुन सक्छन् ,जसमा जटिलता देखिने सम्भावना हुन्छ। त्यसैले ए र ईको संक्रमणका कारण जटिल समस्या देखिँदैनन्।
हेपाटाइटिस बी र सी तीव्र वा पुरानो रोगको रुपमा देखा पर्न सक्छन्। प्रायः स्वयं सीमित रहने हेपाटाइटिस बी वयस्कमा ५ प्रतिशतमध्ये २०–३० प्रतिशतमा सिरोसिस वा क्यान्सर देखिन सक्छ। सीले गराउने रोग भने अधिकांश पुरानोमा परिणत भइसकेको हुन्छ। बालबच्चामा भने भने पुरानो रोग देखापर्ने खतरा धेरै हुन्छ। हेपाटाइटिस बी, सी र डी चुम्बन गर्दा, अंकमाल गर्दा तथा स्तनपान गर्दा नसर्ने भए पनि शरीरबाट निस्कने तरल पदार्थ, खुला घाउ तथा काटेको घाउको माध्यमबाट भने सर्न सक्छ र संक्रमित हुने सम्भावना बढी हुन्छ।
कसरी हुन्छ?
भाइरसले कलेजोका कोषहरुमा संक्रमण गरेपछि शरीरको इम्युनिटी (रोगसँग लड्ने शक्ति) क्षमतालाई सक्रिय गराएर कोषको क्षति गर्ने गर्छ। संक्रमणपश्चात् भइरस सकिएर निको हुन पनि सक्छ (जसलाई तीव्र रोग भनिन्छ) अथवा रहिरह्यो भने कोषहरु सुन्निने, घाइते हुने र ठिक हुने प्रक्रियाहरु दोहोरिरहन्छ र कलेजोमा दागहरु बसेर अन्त्यमा क्यान्सरमा परिणत हुने गर्छ।
कस्ता खालका लक्षण देखिन्छन्?
तीव्र रोगको सुरुवाती क्षणमा प्रायः लक्षणहरु देखिँदैनन्। पहिले देखिने लक्षणहरुमा शारीरिक थकान, वाकवाक, लाग्ने, खानाको रुचि कम हुने, हल्का ज्वरो आउने, पेट दुख्ने आदि हुन्छ। पछि कलेजोमा क्षति हुँदै गएपछि छाला र आँखा पहेलो हुने (जन्डिस), पिसाब गाडा रङको हुने जस्ता लक्षण देखिन्छन्। तीव्र रोगको अन्त्यतिर रोग निको हँुदै जान्छ र यो अवधिमा कलेजोका इन्जाइमहरु बढी भइरहने, कलेजो सुन्निने आदि हुने गर्छ। ए र ईको संक्रमणमा १–२ महिनामा रोग ठिक भएर जान्छ भने बीको संक्रमणमा पूर्ण रुपमा ठिक हुन ३–४ महिनासम्म लाग्न सक्छ।
पुरानो रोगको सुरुवाती क्षणहरुमा लक्षणहरु देखिँदैन। जाँचमार्फत मात्र रोग फेला पर्न सक्छ। कलेजो सुन्निदै जाँदा तीव्र रोगमा देखिने लक्षणहरु देखिन थाल्छ। पछि गएर जन्डिस देखिने हुनसक्छ। पुरानो (क्रोनिक) रोगले हर्मोन असन्तुलित गर्नसक्छ जसले गर्दा डन्डीफोर आउने, शरीरका विभिन्न भागमा रौं पलाउने र महिलामा महिनावारी रोकिने वा नहुने पनि हुनसक्छ। कलेजोमा धेरै क्षति भएपछि सिरोसिस हुन्छ, जसले गर्दा जन्डिस, तौल घट्ने, पेटमा पानी जम्मा हुने र खुट्टा सुन्निने हुन्छ। सिरोसिस भएपछि यसले कलेजोमा थप जटिल रोगहरु उत्पन्न गराउन सक्छ।
हेपाटाइटिस बी, सी र डीको तीव्र रोग अवधिमा हुनसक्ने एउटा घातक जटिलता हो फल्मिनान्ट हेपाटाइटिस। यो जटिलता बी र डी लागेका बिरामीमा २–२० प्रतिशतमा देखिन सक्छ र हेपाटाइटिस ई लागेका गर्भवतीमा १५–२० प्रतिशतमा देखिन सक्छ। यसमा देखिने अन्य लक्षणमा सजिलै निलडाम बस्ने, चोट लाग्दा रगत बग्न नरोकिने, मानसिक भ्रम उत्पन्न हुने, अन्योलपूर्ण अवस्थाबाट गुज्रिने, निद्रा लागिरहने आदि हुनसक्छ। यो अवस्थामा शरीरको अन्य भागमा समस्या आएर मृत्यु समेत हुने गर्छ।
जाँच पड्ताल कसरी गरिन्छ?
हेपाटाइटिस यकिन गर्न कलेजोको विभिन्न इन्जाइम मापन गरिन्छ। त्यस्तै रगतको जाँच गरेर भाइरसविरुद्ध शरीरले उत्पादन गर्ने एन्टिबडीहरुको मापनबाट पनि रोग पत्ता लाग्छ। भिन्न एन्टिबडीको मापनबाट रोगको अवस्था पनि आकलन गर्न सकिन्छ। त्यस्तै विभिन्न इन्जाइमको मापबाट पनि रोगको अवस्था र कारण समेत पत्ता लगाउन सहयोग हुन्छ। सिरोसिस भएको अवस्थामा भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआईबाट जाँच गर्न सकिन्छ।
उपचार विधि तथा पद्धति
हेपाटाइटिस ए लागेको बिरामीलाई प्रशस्त आराम गराउने, पोषण मिलाएर प्रशस्त तरल पदार्थ खुवाउने गर्नुपर्छ। अस्पताल भर्ना हुनुपर्ने नै त हुँदैन तर नशामार्फत तरल पदार्थ पूर्ति भने गर्नुपर्ने हुनसक्छ। हेपाटाइटिस बी लागेको बिरामी पनि ९५–९९ प्रतिशतसम्म पूरै निको हुन्छन् र एन्टिभाइरल प्रयोग गर्नुपर्ने हुँदैन। पुरानो रोग तथा सिरोसिसको लक्षण देखिएमा भने अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा भाइरसको प्रजनन रोक्न औषधिहरु प्रयोग गर्न सकिन्छ। जस्तैः एन्टरिफ रोन अल्फा, पेग इन्टरफिरोन, लामिभुडिन, इन्टेकाभिर, टेनोफोभिर आदि। तर यी औषधि चिकित्सकको सल्लाह बेगर आफूखुसी प्रयोग गर्नु हुँदैन। सिरोसिस भएर कलेजो धेरै क्षति भएको छ भने प्रत्यारोपणको उपाय पनि अपनाउनुपर्ने हुन्छ। हेपाटाइटिस सीको उपचार गर्न प्रायः एन्टिभाइरल जस्तैः पेग इन्टरफिरोन, राइबाभाइरिनको प्रयोग गरिन्छ। क्रोनिक हेपाटाइटिस सीको उपचार कलेजोको क्यान्सरको रोकथाम गर्न समेत जरुरी देखिन्छ। हेपाटाइटिस डीको उपचार कठिन हुन्छ र इन्टरफिरोन अल्फाले उपचार सम्भावना देखाएको छ। ईलाई पनि सी जस्तै लक्षण अनुसार उपचार गरिन्छ। जटिलता देखिएमा अथवा गर्भवतीलाई भने अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ।
रोकथामका उपाय
हेपाटाइटिस ए र बीको रोकथामका लागि खोप उपलब्ध छ। मांसपेसीमा लगाइने यी खोपको अवधि र मात्रा मिलाएर सानै उमेर (१२–१४ महिना) मा लगाउनुपर्छ। एको लागि २ पटक खोप लगाउनुपर्ने हुनसक्छ। ए र ई दूषित पानी र खानाबाट सर्ने हुनाले सरसफाइमा ध्यान दिने, सफा पानी पिउने तथा फोहोरको उचित व्यवस्थापन गर्नु अत्यावश्यक छ। बी र सीको निमित्त रगत चलाउनुअघि राम्ररी परीक्षण गर्नुपर्छ। त्यस्तै सुई तथा धारिला सामानहरु प्रयोग नगर्ने तथा असुरक्षित यौन सम्पर्क नराख्ने आदि महत्वपूर्ण छन्। भाइरसपछि अल्कोहल सेवन हेपाटाइटिसको प्रमुख कारण भएकोले मदिरा त्याग्न सके कलेजोमा धेरै सुधार आउन सक्छ।
बेलैमा सचेत रहन सकेमा हेपाटाइटिस मामुली रोग हो, जसको रोकथाम आमसर्वसाधारण आफैंले गर्न सक्छन्। सानो उमेरमा खोप लगाएर तथा सफासुग्घर गर्ने बानी बसाल्न सके यो रोग नियन्त्रण गर्न सकिन्छ। साथै रोग लागिहालेमा पनि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी उचित परामर्श तथा उपचारको बाटो अपनाउन सकिन्छ।
तसर्थ, यस वर्षको विश्व स्वास्थ संगठनको विषयवस्तु ‘हेपाटाइटिक–मुक्त भविष्य’ भन्ने नारालाई सफल पार्न हामी आजैदेखि आफू भित्रैबाट सुरुवात गरौं। सम्पूर्ण विश्व मानव जातिमा विश्व हेपाटाइटिस दिवसको सन्दर्भमा यस रोगबाट मुक्त रहनको लागि हार्दिक सुभेच्क्षा।
(न्यौपाने केएमसीमा इन्टर्न गर्दैछन्।)