पंकज खतिवडा
नेपालको स्वास्थ्य सेवा क्षेत्रको करिब ७० प्रतिशत हिस्सा निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले ओगटेको छ। अतः कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा उपचारको सवालमा संसार एक भइरहँदा नेपालको स्वस्थ्य क्षेत्रसँग सम्बन्धित सम्पूर्ण प्राविधिक जनशक्ति, स्वास्थ्य संस्था तथा अस्पताल अग्रणी भागमा उभिएको अवस्था सबैलाई अवगत छ।
यो अवस्था स्वस्थ्य क्षेत्रसँग सम्बन्धित सम्पूर्ण प्राविधिक तथा अन्य जनशक्तिका लागि दायित्व मात्र नभएर बाध्यात्मक अवस्था पनि हो। साथै, मानव सभ्यतामा नै दरार आउने अवस्थामा त्यसको रोकथामको कवचको रुपमा उभिन जरुरी थियो। यस संक्रमणको रोकथाम, नियन्त्रण र हुनसक्ने भवितव्यप्रति पूर्व सचेत भई नेपाल सरकारद्वारा लकडाउनको घोषणा गरी यस रोगका बारेमा सचेतना, प्रचारप्रसार र संक्रमित बिरामीको उपचारार्थ सम्बन्धित क्षेत्रबाट भइरहेको कार्य प्रशंसनीय छ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा गठित समितिबाट तोकिएका निजी अस्पतालहरु संक्रमित बिरामीको उपचारार्थ आइसियु, फिबर क्लिनिक र आइसोलेसन कक्षाको व्यवस्थापन गरी पूर्ण तयारी अवस्थामा रहेका छन्। महामारीको विषम परिस्थिति र लकडाउनको अवस्थामा समेत नियमित एवं अन्य बिरामीको उपचारार्थ निजी अस्पतालहरुले पूर्ण रुपमा स्वस्थ्य सेवा दिइरहेको समेत सबैलाई अवगत नै छ।
देशका निजी क्षेत्रमा ३६५ वटा संस्था सहित सेवा प्रदान गरेको यस क्षेत्रले करिब १०० अर्बको लगानी गरी ४०० वटा भेन्टिलेटर सहित १२०० आइसियु शय्या, १५ हजार चिकित्सक, ३५ हजार जना नर्स तथा पारामेडिक्स, ५० हजार अन्य कर्मचारी सहित १६ हजार शय्या सञ्चालन गरी राज्यलाई वार्षिक ६ अर्बभन्दा बढी राजस्व दाखिला गर्दै कुल गार्हस्थ उत्पादनमा २ प्रतिशत योगदान समेत रहेको छ।
यस क्षेत्रले प्रदान गर्ने सेवा ‘आवश्यक सेवा सञ्चालन ऐन २०१४’ बमोजिम पर्ने हुँदा यस्तो विषम परिस्थितिमा पनि सेवा प्रदान गर्न बाध्य भएको र यस अवस्थामा सेवा गर्दा करिब ८० प्रतिशत आम्दानी घट्नुका साथै २० प्रतिशत खर्च समेत थप भएको छ। यस्तो प्रतिकुल अवस्थामा समेत स्थानीय स्तरमा सुरक्षा सामग्रीहरुको अभाव भई प्लास्टिकका पिपिई प्रयोग गर्दै र नेपाल सरकारका विभिन्न नियमको पालना काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई विभिन्न दोषारोपण गरेर मनोबल खस्काउने काम समेत हुँदै आए। हेल्प डेक्स, फिवर क्लिनिक, हात धुने व्यवस्था, स्यानिटाइजरको व्यवस्था र सामाजिक दूरी कायम गर्दै सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीमाथि केही व्यक्तिहरुका कारणले अमानवीय व्यवहार समेत हुने गरेका केही उदाहरणहरु सुनियो। तर, ती निन्दनीय कार्यहरु संस्थाबाट नभई केही व्यक्तिबाट भएको हुँदा समग्र निजी क्षेत्रलाई दोषारोपण लगाउन भने उचित हुँदैन।
यस्तो विषम परिस्थितिमा पनि हाम्रो अभिभावककोे रुपमा रहेको सरकारसँग केही अपेक्षा गर्नु स्वभाविक नै हो। तर स्थानीय बजारमा अभाव रहेका स्वास्थ्य सुरक्षा सामग्रीहरु अन्य मुलुकबाट आयात गर्दा हुने प्रक्रियागत ढिलाइ र अव्यावहारिक नियमका कारण सुरुवाती दिनमा मानसिक रुपमा बिछिप्त हँुदै सेवा दिन बाध्य भइयो। तत्कालीन अवस्थालाई मध्यनजर गर्दै सरकारसँग यस क्षेत्रले समेत विभिन्न सहयोगका लागि अनुरोध गरेकोमा विद्युत महसुल, सहुलीयत ऋण, कर छुट तथा पुनकर्जाका लागि गरिएको अनुरोध हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन। ऐनले आवश्यक सेवा भनेर भनिसकेको अवस्थामा समेत यस क्षेत्रले सरकारबाट आवश्यक सहयोग नपाउनु दुःखदायी अवस्था हो।
जस्तोसुकै अवस्था आइपरे पनि हाम्रा संस्थाहरुले नेपाल सरकारको नियमको दायरामा रही आफ्नो क्षमताले भ्याएसम्म सेवा प्रदान गरिरहेका छन्। हाम्रा संस्थाहरुले प्रदान गर्ने नियमित सेवाका अतिरिक्त आइसोलेसन, फिबर क्लिनिक, आइसियु भेन्टिलेटर, आरडिटी र पिसिआर परीक्षण जस्ता कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण कार्य निजी क्षेत्रबाट समेत भइरहेको छ।
यस्तो अवस्थामा जनचेतना बढाउनु र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनु एवं सचेत नागरिक भई सरकारको निर्देशन पालना गर्नु नै आजको यस महामारीको लागि सम्पूर्ण नागरिकको कर्तव्य हो। साथसाथै आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र खटिने सम्पूर्ण स्वस्थ्यकर्मी, चिकित्सक, नर्स, पारामेडिक्स, प्रशासनिक कर्मचारी तथा सुरक्षाकर्मी लगायत यस महान कार्यमा संलग्न हुने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद नदिइरहन सकिँदैन।
कोरोना भाइरस (कोभिड–१९) को कारणले विश्वभर शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा ल्याएको समस्यालाई न्यूनीकरण गर्दै सर्वहित वा सम्पूर्ण पक्षको उठान, विकास तथा विस्तारमा हाम्रो पनि उत्तरदायित्व छ। त्यसैले आफ्नो नियमित प्रणाली सञ्चालन गर्न निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरु आफ्नो स्रोतसाधनको उपयोग गरी अहोरात स्वास्थ्य सेवा दिन तथा यो महामारीलाई परास्त गर्न लागिपरिरहेको अवगत गराउँदै नीतिगत ढंगबाट यस क्षेत्रको व्यवस्थापन, प्रवर्धन तथा संरक्षणको लागि सबैमा हाम्रो अनुरोध रहने छ।
निजी अस्पताल र स्वास्थ्य संस्थाहरुको कामको उचित सम्मान नहुने हो भने समाज, घरपरिवार र आफ्नो जीवनको पर्वाह नगरी युद्घस्तरमा सेवा प्रदान गरिरहेका लाखौं निजी क्षेत्रसँग सम्बन्धित स्वास्थ्यकर्मी, चिकित्सक, नर्स तथा पारामेडिक्सको भावनामा चोट पुग्नेछ। साथै लगानी सुनिश्चित नरहने अवस्था भएमा ठूलो मात्रामा लगानी अन्य क्षेत्रमा स्थानान्तरण हुनेछ, जसले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित थुप्रै उधोगधन्दा बन्द हुने अवस्था आउन सक्छ। अर्कोतर्फ, निजी स्तरबाट नयाँ–नयाँ स्वास्थ्य प्रविधि भित्रिने र नेपाली जनताले निर्वाध स्वास्थ्य सेवा उपभोग गर्ने अवस्था पनि विस्तारै नरहने र उपचारको लागि ठूलो धनराशि विदेशिन सक्छ।
अतः यो विषम समयको बीचबाट पनि हामीले नौलो तथा उपलब्धिमुलक ढंगबाट सोच्नु जरुरी छ। सम्बन्धित निकाय आफ्नो उत्तरदायित्व वहन गर्न तयार हुनु पर्छ। साथै, हामी निजी अस्पताल तथा संस्थाहरुले पनि आफ्नो पाटोबाट समयले सिकाएको कुराको आत्मबोध गर्दै अगाडि बढ्नु पर्छ।
(विजयपुर हस्पिटल प्रालि, धरानका अध्यक्ष खतिवडा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपालका सचिव हुन्।)