काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको छ।सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको हो। उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाउन थालेको छ।
यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ। प्रहरीले बुधबार पैदल हिँडेर प्रवेश गर्न खोज्ने बिना पासका यात्रुहरु सबैलाई फर्काएको छ।
उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारबाही गरेको जनाएको छ। पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ।
उपत्यका छिर्ने नाका साँगा हुँदै काठमाडौं छिर्ने पास विनाका गाडीहरुलाई फिर्ता गरिएको हो भने, मास्क नलगाई यात्रा गर्ने यात्रु र पैदल यात्रुहरु प्रहरी कारबाही समेत गरिरहेको छ।
हाल नागढंगा नाका हुँदै दैनिक ४ देखि ६ सयसम्म सवारीहरु भित्रिने गरेका छन्।
उपत्यका बाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाई गरेको हो । मंगलबारमात्रै उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए। नागढुंगा, साँगा र फर्पिङ हुँदै हजारौँ नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्षसहित सरकारले प्रवेशमा कडाई गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। नाकाहरुमा गरीएका १० हजार ८ सय ५३ वटा नमुना परीक्षणमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो।