अन्तर्वार्ता

कर्मचारीको साथले संक्रमितको उपचार र अन्य सेवालाई व्यवस्थापन गर्न सहज भएको छ : डा विष्णुप्रसाद शर्मा (अन्तर्वार्ता)

लकडाउन खुलेपछि पाटन अस्पतालका सेवाहरु के–कसरी सञ्चालन भइरहेका छन्?

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिर्ने गेटैमा दुई जना सुरक्षा गार्ड बस्छन्। उनीहरुको अहिलेको काम भनेको अस्पताल छिर्ने सबै जनाको ज्वरो नाप्नु हो। तर उनीहरुले सबैको ज्वरो नापेको भने देखिँदैन। केही मानिस आफ्नै तालमा अस्पतालभित्र छिर्न हतारमा देखिन्छन् भने कोही आफैं ज्वरो नाप्न जान्छन्।  

मुल गेटपछि ओपिडी छिर्ने ढोकामा पनि अस्पतालले ज्वरो नाप्ने गर्छ। त्यहाँ भने सबैले ज्वरो नापेर स्यानिटाइजरले हात सफा गरेपछि मात्र भित्र छिर्न पाउँछन्। कोरोना भाइरसकोे संक्रमणबाट बच्ने उपायमध्ये सामाजिक दूरी कायम गर्नु पनि एक हो। तर उपचारका लागि अस्पताल पुगेका अधिकांश बिरामीले त्यो लागू गरेको देखिएन। 

लकडाउनको अन्त्यसँगै पाटन अस्पतालमा सेवा लिन जाने बिरामीको संख्या पनि विस्तारै बाक्लिँदै छ। लकडाउन हुनुअघि पाटन अस्पतालमा दैनिक सेवा लिन जाने बिरामीको संख्या थियो, करिब १५ सय। 

यो संख्या लकडाउनको बेलामा करिब १२ सयले घट्दै करिब ३ सयमा झर्‍यो। हाल लकडाउन खुलेपछि पाटन अस्पतालमा दैनिक करिब ५ सयको संख्यामा बिरामीहरु सेवा लिन पुग्छन्। यो संख्या बिस्तारै बढ्दै गरेको अस्पतालले जनाएको छ। 

पाटन अस्पतालमा अन्य सेवासँगै कोरोना संक्रमितको उपचार पनि हुने गर्छ। लकडाउनको अन्त्य भएपनि नेपालमा कोरोनाको जोखिम भने बढ्दै गएको छ। महामारीको यो समयमा पाटन अस्पतालले के–कसरी सेवा सञ्चालन गरिरहेको छ? कोरोना संक्रमितको उपचार र अन्य सेवाको कसरी व्यवस्थापन हुँदैछ? लगायतका विषयमा अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्मासँग कुराकानी गरेका छौं। निर्देशक शर्मासँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीः 

लकडाउन खुलेपछि पाटन अस्पतालका सेवाहरु के–कसरी सञ्चालन भइरहेका छन्?
लकडाउन हुँदा पनि बिरामीहरु यहाँ सेवा लिन आउनु भएकै हो। सेवा सञ्चालनका लागि विभिन्न सावधानी अपनाएका थियौं। गाइडलाइन पनि बनाएका छौं। 

कोरोनाको महामारी फैलिरहँदा नै हामीले ओपिडीमा बिरामी र डाक्टरबीच सामाजिक दूरी कायम गरेका थियौं र त्यो अहिले पनि छ। बिरामीलाई अनिवार्य रुपमा मास्क लगाउन भनेका छौं। हामीले चार ठाउँमा स्क्रिनिङ गर्छौं, फिभर क्लिनिक, मातृत्व सेवा, इमरजेन्सी र ओपिडीमा।

हिजोका दिनमा डाक्टरहरु राउन्ड सकेर ओपिडीमा बस्नुहुन्थ्यो भने अहिले समूह–समूह छुट्याएका छौं। यसपछि ओपिडी बिहान ८ बजेदेखि नै सुरु भयो। बिहान आउने बिरामीलाई बिहानै सेवा दिँदा भीड पनि कम हुने भयो। दिउँसोको सेवा त निरन्तर हुने नै भयो। टिकेटिङ सिस्टम भने बिहान ७ बजेपछि नै खुला गरेका छौं। 

पहिले १०÷१२ जना डाक्टर एउटै हलमा बस्नुहुन्थ्यो भने अहिले बिरामी र डाक्टरबीच सामाजिक दूरी कायम गर्न एउटा हलमा ५÷६ जना डाक्टर मात्र बस्नुहुन्छ। हामी संक्रमण हुन नदिन निकै सावधानीपूर्वक सेवाहरु सञ्चालन गरिरहेका छौं।  

लकडाउनको समयमा यहाँ कुनकुन सेवा बन्द र कुनकुन सेवा खुला थिए?
लकडाउनको समयमा हामीले कुनै पनि सेवा पूर्ण बन्द गरेनौं। त्यो बेला बिरामीको सेवा नै कम हुने र बिरामी नै नआउने भएकाले नचाहिने सेवा दिएनौं। 

लकडाउन हुने बित्तिकै ओपिडीमा इएनटी, डेन्टल र आँखाको सेवा केही दिनको लागि मात्र बन्द गरेका थियौं। इमरजेन्सी सेवा दिइरहेका थियौं। तर बिरामीहरु आउन सुरु गरेपछि भने ओपिडी सेवा हामीले सुचारु रुपमा सञ्चालन गर्‍यौं। हामीले लकडाउनको समयमा पनि कुनै सेवा बन्द नगरेको भएकाले सेवाहरु इथावत नै चलिरहेको छ। 

लकडाउन हुनुअघि कति बिरामी आउँथे, लकडाउनमा कति आए र अहिले कति आउँछन्?
अहिलेको समय भनेको धेरै बिरामी आउने सिजन हो। १५ सयदेखि लिएर करिब २२ सयसम्म बिरामी आउने अहिलेको समय हो। तर अहिले परिस्थिति फरक छ। 

लकडाउन हुनुअघि करिब १५ सय बिरामी आउँथे। तर लकडाउनको बेलामा १ सय देखि ३ सयको संख्यामा बिरामी आए। तर अहिले लकडाउन खुलेपछि केही संख्यामा बिरामीहरु बढेका छन्। अहिले करिब ५ सय संख्यामा बिरामी सेवा लिन आउँछन्। 

पाटन अस्पतालमा कोरोना संक्रमितको पनि उपचार हुँदै आएको छ। संक्रमितको उपचारलाई के–कसरी व्यवस्थापन गर्नु भएको छ?
हामीले कोरोना संक्रमितको उपचारका लागि विभिन्न टिम बनाएका छौं। त्यही टिमको रोटेसन हुन्छ। हामीले कोरोना संक्रमितको हड्डीको शल्यक्रिया गरेका छौं, अन्य सेवा पनि दिएका छौं। त्यसैले कोरोनाकै लागि विशेषभन्दा पनि सबै टिम नै यसमा सहभागी छन्। तर केही स्वास्थ्यकर्मीहरु भने २४सै घन्टा ड्युटी त्यहाँ नै हुन्छ। हामीले ठाउँहरु चाहिँ छुट्याएका छौं। 

आइसियुमा कुनै चिकित्सकले कोभिडका बिरामीलाई हेरे भने ननकोभिड बिरामीलाई नहेर्ने भन्ने छैन। किनभने विशेषज्ञहरु हामीले त्यही प्रयोग गर्नुपर्‍यो। तर उहाँहरुले सावधानी अपनाउनु हुन्छ। यो चुनौतीपूर्ण काम अवश्य हो। तर हामीले पहिले नै पूर्वतयारी गरेको हुँदा कोरोना संक्रमितसँगै अन्य सेवा पनि सञ्चालन र व्यवस्थापन गरिरहेका छौं।

कोरोना संक्रमितको उपचार र अन्य सेवालाई व्यवस्थित गर्न कतिको चुनौतीपूर्ण हुँदो रहेछ?
यो चुनौतीपूर्ण कार्य नै हो। तर म हाम्रा कर्मचारीप्रति गर्व नै गर्छु। किनभने उहाँहरुको समर्थन र समन्वयले गर्दा नै यी सबैलाई व्यवस्थापन गर्न मलाई सहज भएको छ। यहाँका सबै कर्मचारीहरु हामीले गर्नैपर्छ भन्ने भावले लाग्नु भएको छ। यसले गर्दा पनि व्यवस्थापन गर्न सहज भएको हो। 

हामी अघिदेखि नै पूर्वतयारीमा पनि जुटेका थियौं। हामीले विभिन्न अभ्यासहरु पनि गरेका थियौं। हामी व्यवस्थापनमा भएका व्यक्तिहरु पनि उपचारमा खटिएका स्वास्थ्यकर्मीसँग अन्तक्र्रिया गर्छौं, कुरा गर्छौं। त्यसले पनि हुन सक्छ, उहाँहरुको मनोबल घटेको छैन। यो कार्य चुनौतीपूर्ण नै भएपछि सबैको साथले गर्दा गाह्रो भने भएको छैन। 

कोरोना संक्रमितको उपचार पनि यस अस्पतालमा हुन्छ। अन्य सेवा पनि सञ्चालन भइरहेको छ। तपाईंहरुका समस्या केके छन्?
मैले हिजोको दिनमा पनि भन्दै आएको थिएँ, हामीलाई मुख्य गरी ठाउँको समस्या हो। ठाउँ सानो छ। आजको दिनमा समस्या भन्नुपर्दा, आर्थिक समस्या हो। किनभने अहिले पनि हामीले यहाँका सबै कर्मचारीलाई पूरा तलब दिइरहेका छौं। 

हामी आफैं कमाएर निर्वाह गर्नुपर्छ। हामीसँग बिरामी नहुँदा सबै कर्मचारीलाई पूरा तलब दिएर राख्नुपर्दा कतिको समस्या हुन्छ, त्यो सबैले बुझ्नुपर्छ। १५ सय, २ हजार बढी बिरामी हेर्ने ठाउँ २/३ सय बिरामी हेरेर १५ सय कर्मचारीलाई पाल्न निकै समस्या हुन्छ। त्यसैले आर्थिक पक्ष निकै अप्ठ्यारो विषय हो। 

हामीले यो बेलामा कर्मचारीलाई आर्थिक सहयोग गर्न पाएको भए प्रेरणा अझै बढ्थ्यो होला। तर हामीले दिन नसक्दा पनि उहाँहरुले उच्च मनोबलका साथ काम गरिरहनु भएको छ। त्यसैले आर्थिक पक्ष अहिलेको सबैभन्दा ठूलो समस्या हो।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने