अविशेष न्यौपाने
नेपालमा कोरोना भाइरस प्रवेशको प्रारम्भिक चरणमै लकडाउन गरियो र चार महिनापछि अन्त्य पनि। संक्रमणका एक/दुई केस देखिनेवित्तिकै हठात् गरिएको लकडाउनको चार महिनाको अवधिमा न कुनै ठोस राहतका प्याकेज ल्याइयो न त नियन्त्रणको तयारी नै। लकडाउनका बेला देखिएको क्वारेन्टाइनको अस्तव्यस्तताले कोरोनालाई निम्तो दिएजस्तो मात्र देखियो।
लकडाउनका कारण गाउँगाउँबाट सहर आएका मान्छे टाढाटाढासम्म हिँडेर घर जान बाध्य भए, कतिको व्यवसाय धरापमा पर्यो, आत्महत्या गर्नेको संख्या दोब्बर-तेब्बरले वृद्धि भयो, मान्छेमा छुट्टै किसिमको त्रास पैदा भयो।
वीरगञ्ज-विराटनगरमा भेन्टिलेटर, आइसियुको अभावले मान्छे मरिरहेका छन्। काठमाडौंलाई मात्र देश देख्छ सरकार। ठूलो महामारी भनेर घोषणा भइसक्दा पनि सरकारबाट कुनै तयारीको छाटकाँट देखिँदैन। बरु ठूलाठूला भ्रष्टाचारका काण्ड गर्छ अनि लुकाउँछ।
भुसको आगो जसरी फैलिएको कोरोना भाइरस रोकथामका लागि पिसिआर परीक्षण बढाइँदैन। दैनिक पाँच सयको हाराहारीमा संक्रमित देखिन थालेका छन्। तर पनि न भरपर्दो कन्ट्याक ट्रेसिङ छ, न त पर्याप्त परीक्षण नै। गफाडी बनेको छ सरकार।
सरकार भन्छ, ९ बजेपछि घरबाहिर ननिस्क, हामी पौने ९ सम्म घुमिरहन्छौं। सरकार भन्छ, मास्क लगाऊ, हामी हात, चिउँडो अनि खल्तीमै सीमित राख्छौं। यस्तो लाग्छ, अब कोरोना सकियो अनि लकडाउन खुलेको भोलिपल्ट पिँजडाबाट निस्केको चरा जसरी हिँडडुल गर्छौं, साथीभाइ भेट्छौ। मानौं, लकडाउनको अन्त्यसँगै कोरोना पनि सकियो।
संसदमा पिसिआरको दायरा बढाउने संकल्प प्रस्तावहरु विफल हुन्छन्। सरकार आफ्नै किचलोमा व्यस्त छ, जनता आफ्नै शैलीमा मस्त छन्। हेर्दा लाग्छ, कोरोना सरकार र जनताको यो शैलीमा किचिएर मर्छ। विपदको बेलामा खर्च गर्ने पैसा छ तर उचित प्रयोग गरिँदैन। अब जनता-सरकार दुवै मुकदर्शक बनेको भान हुन्छ।
काठमाडौंको ढलको कोरोना परीक्षण हुन्छ तर मान्छेको हुँदैन। मान्छे नमरिन्जेल हामीमा अलौकिक शक्ति भएको प्रचार गरिन्छ तर दैनिक तीन/चार जनाको मृत्यु हुँदा हस्पिटलमा बेड नहुँदा कसैलाई वास्ता छैन।
कोरोनाको सवालमा स्वास्थमन्त्री गुमनाम जस्तै छन्। यहाँ काठमाडौंलाई मात्र केन्द्रित नीति बन्छ। दूरदराजका जनताको अवस्था बुझ्ने फुर्सद कसैलाई हुँदैन। भिआइपीको कोरोना परीक्षणको रिपोर्ट ६ घण्टामा आउँछ। जनता मरेपछि मात्र कोरोना भएको प्रमाणित हुन्छन्।
कोरोना सम्बन्धी समाजिक जागरणको अभियान चलाउन सरकारलाई कुन कुरोले रोक्यो पत्तो छैन। सरकार लकडाउन र सर्टडाउन बाहेक केही गर्दैन। पछिल्लो समय परीक्षण केही बढे पनि त्यो कुनै हालतमा पर्याप्त छैन, भुसको आगो जसरी फैलिएको कोरोनालाई।
सरकार कछुवाको गतिमा छ, कोरोना खरायोको। त्यसैले भन्नैपर्छ, यहाँ कोरोना अघिअघि, सरकार पछिपछि छ।