डा दिपेन्द्रकुमार यादव
खाद्य सुरक्षा भन्नाले सबै नागरिकका लागि, सबै समयमा भौतिक, सामाजिक र आर्थिक हिसाबले पर्याप्त, सुरक्षित र स्वस्थकर खाद्यान्नको उपलब्धता हुने अवस्थालाई बुझाउँछ।
कोभिड–१९ महामारी खाद्य सुरक्षा र पोषणका लागि गम्भीर खतराको विषय बनेको छ। मानिसको घट्दो आम्दानी तथा बन्दाबन्दीले गर्दा पौष्टिक खानाहरुको पहुँचमा कमी भएको छ। विशेषगरी गरिबको लागि विभिन्न परिस्थितिले गर्दा असहज आपूर्ती, वितरण तथा बजारको वातावरणले गर्दा धेरै स्थानहरुमा खाना उपलब्धमा कमी आउन सक्छ। यसले गर्दा कुपोषणको दर बढ्न सक्छ।
कोभिड–१९ महामारीले गर्दा प्रभाव परेका विभिन्न क्षेत्र र यसलाई नियन्त्रण गर्ने उपायः
१. बेरोजगारी तथा आर्थिक समस्याः कोभिड–१९ को फैलावट रोक्नका निमित्त विश्वभरिका सरकारहरुले आफ्नो अर्थव्यवस्थाको ठूलो अंश बन्द गरेका छन्। बन्दाबन्दीले गर्दा धेरै मानिसले रोजगारी गुमाएका छन्। यी अवरोधजन्य परिस्थितिले गर्दा अक्सर महिला, बच्चा, अशक्त तथा गरिबहरुको लागि खाद्य सुरक्षामा कमी आएको छ। कोभिड–१९ महामारीले गर्दा नेपालमा १६ देखि २० लाख मानिसको रोजगारी आंशिक वा पूरै प्रभावित हुनसक्छ (आइएलओ रिपोर्ट)। बढ्दो गरिबीले गर्दा तत्कालै धेरै मानिसलाई खाद्य असुरक्षामा धकेल्ने छ। पछि गएर यसका असरहरुमा मानिसले कम मूल्यमा आफ्नो सम्पत्ति बेच्नेछन्, परिवारमा पौष्टिक खानाको अभाव हुनेछ। प्रायः गरेर बच्चाको महत्वपूर्ण विकास चरणहरुमा यसले असर पार्ने छ।
यस क्षेत्रका समस्या समाधानका लागि तीनै तहका सरकारहरुले सबल सामाजिक सुरक्षाको प्राभावकारी उपायहरु लागू गर्नेपर्ने देखिन्छ। जस्तैः रोजगारीको सुविधा, नगद राहत वितरण, खाद्यान्नको प्रबन्ध, मजदूरको ग्यारेन्टी र भरपर्दो उपचारको व्यवस्था।
२. खाद्य आपूर्तीमा समस्याः बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय सीमा बन्दले गर्दा खाद्यान्नको मूल्य बढ्नुका साथै उत्पादनको लागि आवश्यक पर्ने सामग्रीको अभाव छ। जस्तैः बीउ, मल, उपकरण। यसले गर्दा खाद्य पदार्थको भण्डारण, प्रशोकन र ढुवानीसम्ममा असर गर्छ र पौष्टिक खाद्य जस्तैः दूध, फलफूल, तरकारी, माछा र मासुको आपूर्तीमा असर गर्न सक्छ। यस क्षेत्रमा खाद्यान्न आपूर्र्ति सुनिश्चित गर्न नियमित रुपमा अनुगमन र विभिन्न तहमा समन्वय आवश्यक पर्छ।
३. स्वास्थ्य सम्बन्धी समस्याः संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार संसारभरिका लगभग ३६ करोड बच्चा स्कुलको भोजनबाट टाढा छन्। यसैगरी अति विशिष्ट पोषण सेवा तथा पौष्टिक खाना पाउनुपर्ने विभिन्न लक्षित जनसंख्या जस्तैः महिला, बच्चा, अशक्त तथा बिरामीहरु प्रभावित भएका छन्। गरिब वर्ग एकातिर सन्तुलित खाना तथा खाद्य सुरक्षा नपाएर कुपोषणको सिकार भइरहेको छ भन्ने अर्कोतिर सम्पन्न परिवारमा धेरै खाएर मोटोपनको समस्या बढ्दै गइरहेको छ।
केही सुझाव
– रोग फैलावटलाई नियन्त्रण गर्नु
– नियमित खाद्यान्न आपूर्ति कायम गर्नु
– आर्थिक प्रोत्साहन सहितको समाजिक सुरक्षाको विस्तार
– सबैको लागि खाद्य सुरक्षा सुनिश्चित गर्नु
– समस्या समाधान गर्न सरकारी, निजी तथा गैरसरकारी संस्थाहरुबीच समन्वय गरेर काम गर्नु।
(डा यादव पोखरा विश्वविद्यालयका सहप्राध्यापक हुन्।)