डा प्रकाश बुढाथोकी
कोभिड–१९ सर्ने माध्यम नाक, आँखा र मुखबाट निस्कने स–साना पानीका फोका, भाइरस रहेका सामानसँगको सम्पर्क र केही मिनेटभित्र बन्द कोठामा रहेको हावा हो। नजिकै सम्पर्कमा रही उपचार गर्नुपर्ने, उपचार पद्धतिमा एराजोल निस्कने, बन्द कोठामा उपचार हुने, बिरामीले मास्क नलगाउने तथा पानीका फोकाहरु सरसामान र वातावरणमा रहने कारणले उच्च जोखिममा डेन्टल उपचार रहेको छ।
¥याल ग्रन्थी कोरोना भाइरसको भन्डारण हो। र्याल ग्रन्थीमा सुशुप्त अवस्थामा रहेका कोरोना भाइरसको संक्रमण फैलन नदिन दक्ष जनशक्तिबाट बेलैमा दाँत तथा मुखका रोगहरुको निदान र उपचार आवश्यक रहन्छ। हालै मात्र स्वाद र गन्ध हराउने लक्षण थपिनु र खोक्दा ३ हजार र हाच्छ्युँ गर्दा १० हजार पानीका फोका निस्कने तथ्यले झनै दन्त क्लिनिक र अस्पताल नै संक्रमणको स्रोत बन्ने हो कि भन्ने त्रास बढेको छ।
मुखको उपचारमा नियमित हावाबाट चल्ने सामान र उपकरणको प्रयोग गरिरहनुपर्ने भएकाले हावाका फोकाहरु निरन्तर उत्पादन हुन्छन्। त्यसैले युरोप, अमेरिका तथा अफ्रिकामा नियमित दन्तसेवा लामो समय बन्द नै रहे। रिओपन अमेरिका/डेन्टिस्ट्री भन्ने मुल मुद्दा सहित विभिन्न निर्देशिका बनाइरहेका छन्। नेपालले पनि नेपाल डेन्टल एसोसिएसनमार्फत विश्व स्वास्थ्य संगठन, सिडिसी, एफडिए, प्रमाण, खोज तथा विभिन्न देशका प्रोटोकल, निर्देशिकालाई आत्मसात गर्दै देशको स्रोत साधन, उपलब्धता, समाजको प्रकारलाई मध्यनजर गरी निर्देशिका तयार पारेको छ।
नेपाल मेडिकल काउन्सिलबाट २०७७ जेठ २० मा अनुमोदन भए पनि २०७७ असार २४ मा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा, स्वास्थ्य सेवा विभागमा प्राप्त भएपछि २ दिनमा विभागबाट स्वीकृत भएको हो। थप माथिल्लो निकायबाट स्वीकृत गराऔं भन्दै साउन ४ गते मन्त्रालयमा पेस निर्देशिका २०७७ साउन ९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रीको तहबाट स्वीकृत भई अन्तरिम निर्देशिका कार्यान्वयनमा छ।
दन्त उपचार विधि चिकित्सक, सहयोगी र बिरामी एकदमै नजिकै रहेर गरिने उपचार हो जहाँ न २ मिटरको दूरी, न बिरामीले मास्कको प्रयोग सम्भव छ। उपचार क्रममा उत्पन्न श्वासप्रश्वासजन्य निष्काशन, उपचारका क्रममा उत्पन्न एरोसोल अर्थात् पानीका ससाना फोकाहरु उपचार कक्षमै धेरै रहन्छन्। जुन जोकसैलाई सर्नसक्छ।
स्वास्थ्यकर्मी, सहयोगी र बिरामीलाई पिपिईको एक त व्यवस्था गर्न गाह्रो छ, अर्काे यो ज्यादै महँगो पर्न जान्छ। ज्यान रहे सबै पछि गरांैला भन्दै ‘पर्ख र हेर’ को सिद्धान्तमा यो पेसा विश्व स्वास्थ्य संगठनले माघ १६ मा जनस्वास्थ्य संकटकाल लगाएको केही हप्तादेखि लगभग साढे ५ महिना बन्द नै रह्यो।
निर्देशिकामा सेवालाई वर्गीकरण गर्दै आकस्मिक सेवालाई तत्काल सेवा दिन, कम जटिलतालाई एप्वाइन्टमेन्टमार्फत र सामान्यलाई टेलिकन्सल्टेसन गर्ने उल्लेख छ। यसमा घरबाट निस्कदा साथी लग्ने–नलग्ने, सुरक्षा सावधानी केके अपनाउने, रिसेप्सन, पर्खने कोठा, उपचार कक्षमा केके सुरक्षा सावधानी अपनाउनेदेखि पिपिई– प्रकार, डनिङ डफिङ, हात धुने तरिका, समय, वातावरण तथा सामानको शुद्धीकरण र निर्मलीकरण, मेडिकल फोहर व्यवस्थापन र थप अध्ययन सामग्रीहरुको लिंक र नाम राखिएको छ।
सुरक्षा सावधानीका मापदण्डहरु भनिएअनुसार भए–नभएको अनुगमन गर्न अनुगमन समिति गठन छ। उक्त समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ जना प्रतिनिधि, स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाका १ जना प्रतिनिधि र नेपाल मेडिकल काउन्सिलका १ जना प्रतिनिधि रहने छन्। आवश्यकता अनुसार समितिले विज्ञहरुलाई आमन्त्रण गर्न सक्नेछ। अनुगमनको समय तालिका प्रत्येक चौमासिकमा कम्तीमा १ पटक छ र समितिले अनुगमन प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आवश्यकता अनुसार अन्य निकायमा समेत पेस गर्नुपर्नेछ।
आकस्मिक अवस्था
१. निन्द्रा नलाग्ने गरी दाँत दुखेमा– दुखाइ कम गर्ने औषधि खाँदा पनि
२. अत्यधिक मात्रामा रक्तश्राव भएमा वा नरोकिएमा
३. दुर्घटना वा अन्य कारणले हड्डी वा दाँत भाँचिएर स्थान परिवर्तन भएमा
४. अनुहार, घाँटी वा मुखमा सुजन भएमा
५. मुख खोल्न वा निल्न गाह्रो भएमा
६. विशेषज्ञ मेडिकल चिकित्सकबाट जीवन बचाउन रिफर भएका
७. ३ साता बढीसम्म घाउ, खटिरा रहिरहेमा
आकस्मिक बाहेकका अन्य समस्याको लागि अहिलेको समयमा अस्पताल जान जरुरी छैन। किनभने अस्पताल जानु भनेको रोगको नजिकै जानु जस्तै हो। सामान्य उपचारका निम्ति फोन र सामाजिक सञ्जालमार्फत सल्लाह लिन सकिन्छ। अस्पताल तथा क्लिनिकले पनि सबै बिरामी कोरोना संक्रमित हुनसक्ने सम्झी सबै पिपिई लगाएर मात्र उपचार गर्न जरुरी छ। किनभने अझै पनि अत्यधिक लक्षणविहीन र होम आइसोलेसनमा छन्।
स्पष्ट बिरामी प्राथमिकता, संक्रमण नियन्त्रण, रोग सर्ने माध्यमको न्यूनीकरण र सेवाप्रदायक तथा सेवाग्राहीको सुरक्षा तथा क्रस संक्रमणको बन्देज आजको आवश्यक्ता भएकाले त्यसैमा रहेर निर्देशिका तयार भएको छ।
सावधानी
१. फोन वा अन्य माध्यमबाट अस्पताल आउनुपर्ने वा नपर्नेबारे सम्पर्क गर्ने।
२. अस्पताल जानपर्ने भए उपचारका लागि निश्चित समय वा एप्वाइन्टमेन्ट लिने।
३. घर बाहिर निस्कदा मास्क लगाउने र साबुनपानीले हात धुने, स्यानिटाइजर बोक्ने।
४. सम्भव भए संक्रमणको जोखिम न्यूनीकरण गर्न साथीहरु नलगी अस्पताल जाने।
५. अस्पतालमा साबुनपानीले हात धुने र जथाभावी छुने, थुक्ने, बोल्ने नगरी २ मिटरको फरकमा बसी पालो कुर्ने तथा लक्षण तथा इतिहास दिनेमा झन्झट नमान्ने र सहयोगीको अनुमतिमा मात्र निर्देशनअनुसारका सावधानी अपनाई उपचारका लागि भित्र छिर्ने।
६. उपचार कुर्सीमा बस्नु पहिले साबुनपानीले हात धुने, हेड र बुट कभर लाउने, ०.२ प्रतिशत सिएचएक्स, पोभिडिन आयोडिन वा १ प्रतिशत हाइड्रोजन पेरोअक्साइडले मुख कुल्ला गर्ने।
७. पैसा तिर्न अनलाइन तथा डिजिटल माध्यमको प्रयोग गर्ने।
८. उपचार कक्षमा अक्सिजन उपलब्ध गराउने।
९. जटिलता आइहाले प्राथमिक उपचार गर्नसक्ने व्यक्तिको पहिचान गर्ने।
१०. सम्पर्कमा चिकित्सक, संस्था र एम्बुलेन्स राखी आवश्यक पर्दा समन्वय गर्ने।
११. अप्वाइन्टमेन्ट १५ मिनेट कम र २ बिरामीबीच ५ मिनेट खाली राख्ने।
कोरोना भाइरस महामारीका सन्दर्भमा सबैभन्दा जोखिमयुक्त पेसा दन्तसेवा हो। त्यसो हुँदाहँुदै पनि दैनिक तथा नियमित दन्तसेवाहरु लामो समय बन्द गरिँदा भोलिका दिनमा दाँतका समस्याले माइल्डबाट मोडरेट, मोडरेटबाट सेभेयर र थप जटिलता निम्त्याइरहेका छन् र अंगभगंको सभावना रहन्छ। कोरोनाको महामारी पनि छिट्टै सकिने संकेत नदेखिएकाले कोरोनासँगसँगै आफ्नो जीवन तथा व्यवसायलाई चलायमान बनाउन जरुरी भएकाले यो निर्देशिका जारी भएको छ।
निर्देशिका निर्माणमा सहयोग गर्नुहुने विज्ञहरु, नेपाल डेँटल एसोसिएसन, इन्डोर्स गर्नुहुने नेपाल मेडिकल काउन्सिल र संसोधनसहित स्वीकृत गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न स्वास्थ्य सेवा विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबैमा हार्दिक आभार व्यक्त गर्दछु। निर्देशिका गतिशील दस्तावेज भएकाले समयानुसार परिमार्जन सम्भव छ।
अन्त्यमा, सम्पर्क समय १५ मिनेट कम, एप्वाइन्टमेन्ट, बिलिङ, रिपोर्ट इलेक्ट्रोनिक अर्थात् डिजिटल गर्दै संक्रमणका स्रोतहरुबाट वैकल्पिक उपाय अपनाउनु जरुरी छ। अन्तरव्यक्ति दूरी २ मिटर, युनिभर्सल वेयरिङ अफ मास्क र घरमा जेष्ठ नागरिक, १२ वर्षमुनिका बालबालिका र दीर्घरोगी भएकाले घरभित्र पनि साबुनपानी नभए स्यानिटाइजरको प्रयोग एसएमएस अपनाउनैपर्छ।