एलिना खड्का
म एक सामान्य नेपाली, पेसाले नर्स। हाल पाटन स्वास्थ्य विज्ञान अन्तर्गत पाटन हस्पिटलमा कोभिड इमर्जेन्सीमा कार्यरत छु। २०७७/०५/०४ गते दर खाने दिन मेरो नाइट ड्युटी परेको थियो। हामीलाई केको चाडपर्व केको खुसियाली? झन् यसपालि त कोरोना कहरले डर, त्रास र नरमाइलोपन थपिदिएको थियो।
तीजको रमझममा सबै आ-आफ्नो परिवारसँग हुनुहुन्थ्यो तर हामी स्वास्थ्यकर्मी भने निरन्तर रात दिन नभनी सेवामा खटिइरहेका थियौं।
म करिब ७ बजेतिर हस्पिटलको गेट आगाडि थिएँ। दु;ख, पीडा, डर, त्रास सबै छोडेर बिमारीको सेवामा खटिनुपर्छ भन्दै म कोभिड इमर्जेन्सीतर्फ लागें। हस्पिटल पुग्ने बित्तिकै हामीलाई ह्यान्डओभर हुन्थ्यो, कतिजना कोभिडका पोजेटिभ बिरामी आउनुभयो? कतिजनाको मृत्यु भयो अनि ट्रान्स इन, ट्रान्स आउट को सबै कुरा कोभिडसँग सम्बन्धित नै हुन्थ्यो।
सदा जस्तै आज पनि ह्यान्डओभरमा बिरामीहरु कोभिड वार्ड, आइसोलेसन वार्ड, कोभिड आइसियु गएको र केके घटनाहरु भए सबै कुराहरु हस्तान्तरण भयो।
आज अब्जरभेसनमा ३ जना बिरामी हुनुहुन्थ्यो २ जना बिरामी आफूखुसी घर जाँदै हुनुहुन्थ्यो भने १ जना बिरामी भर्ना हुन लाग्नुभएको थियो।
करिब ११ बजेको कुरा हो। सर्लाहीबाट एक जना बिरामी आउनुभयो ज्वरो, खोकी र श्वासप्रश्वासको हिस्ट्री लिएर। उहाँ अन्दाजी ६५ वर्ष जतिको देखिनुहुन्थ्यो। हामी (डाक्टर र नर्स) ले बिरामीलाई एम्बुलेन्समै हेरेपछि आइसियु चाहिन्छ जस्तो लाग्यो। हाम्रो हस्पिटलमा आइसियु बेड खाली थिएन, त्यसैले हामीले आइसियु बेड खाली भएको भएको हस्पिटल खोज्ऩ आग्रह गर्यौं। त्यसपछि उहाँहरु एम्बुलेन्स घुमाएर अर्को हस्पिटलतिर जानुभयो।
करिब १२ बजे फेरि अर्को एम्बुलेन्स आइपुग्यो। हामी बाहिर नै थियौं। एम्बुलेन्सबाट करिब १७/१८ वर्षकी बहिनीले एकदमै अत्तालिँदै भन्नुभयो, 'हामी धेरै हस्पिटल गयौं, कहीँ पनि हामीलाई लिन मान्नुभएन।' उहाँहरु अघिकै बिरामी हुनुहुन्थ्यो, जसलाई आइसियु आवश्यक थियो। हामीले हतारहतार बिरामीलाई भित्र लग्यौं। भित्र जाँच गरेर हेर्दा SPO2 २६ प्रतिशत मात्र थियो। बुबा एकदमै बिरामी देखिनुहुन्थ्यो।
भित्र पिपिई लगाएर बस्नुभएका डाक्टर, नर्सले जाँच गरेर औषधि दिँदैहुनुहुन्थ्यो। बिरामीलाई Hydrocort , MDI asthaline , दिएर Reservoir Mask मा O2 full liter मा दिँदा जम्मा 70-72% मा मेन्टेन भइरहेको थियो। बिरामीलाई जुनसुकै बेला भेन्टिलेटर सपोर्ट चाहिन सक्थ्यो। हामीले बारम्बार बिरामीका आफन्तलाई अर्को हस्पिटल खोज्न आग्रह गरिरहेका थियौ। साथसाथै डाक्टर र मैले पनि अर्को हस्पिटल खोजिरहेका थियौं। कहीँ कतै खाली थिएन।
उहाँहरुलाई किन अरु हस्पिटलले लिन मानेनन् भनेर मलाई एकदम नराम्रो लागिरहेको थियो। ज्वरो, खोकी र श्वासप्रश्वास को समस्या त्यसमा पनि हटस्पट सर्लाहि भनेपछि किन कुनै हस्पिटलले लिन मान्दैन? किन कुनैकुनै निजी हस्पिटलहरु यसरी सेवामा चुकिरहेका छन्? जम्मा नाम मात्रको आइसोलेसन बेड छुट्याउँछन्। शंकास्पद बिरामीको लागि आइसियु बेड जम्मा २ वटा मात्र हुन्छ। नाम चलेको 400-500 Bedded Super Speciality Hospital मा किन नाम मात्रको बेड छुट्याएको होला? कति लाजमर्दो कुरा हो यो अहिलेको परिस्थितिमा? यी सब प्रश्न मनमा खेलिरहेका थिए।
बिरामीलाई झनझन गाह्रो भइरहेको थियो। हामीसँग पनि आइसियु बेड खाली थिएन। पहिले नै १६ जना बिरामी हुनुहुन्थ्यो। कसरी व्यवस्थापन गर्ने एकदम गाह्रो भइरहेको थियो। बिरामीका आफन्त, डाक्टरहरु र हामी नर्स आत्तिइरहेका थियौं। सबै हस्पिटलमा कल गरेर सोध्दा आइसियु बेड खाली छैन भनुहुन्थ्यो।
आफ्नो आँखा अगाडि छटपटाइरहनुभएका बुबालाई देखेर म भगवानसँग प्रार्थना गरिरहेको थिएँ, यो कस्तो बिडम्बना! आज चाडपर्वको दिन, सबैको घरमा यतिबेला दर खाँदै हुनुहुन्थ्यो होला तर यहाँ भने एउटा मुस्किल घडी आइरहेको थियो। आँखै अगाडि बिरामीले आइसियु नपाएर छटपटाइरहेको अनि मृत्युसँग लडिरहेको देखिरहँदा म स्तब्ध थिएँ।
आजकल आइसियु पाउन धेरै गाह्रो भइरहेको छ। अब कुन समयमा संकट आउँछ भन्न सकिँदैन। दिनदिनै बिरामीको चाप बढेको बढ्यै छ। हामीलाई एक दमै गाह्रो भयो आइसियु पाउन। डाक्टरले बाहिरबाट प्रयास गरिरहनु भएको थियो।
करिब २ घन्टापछि एउटा हस्पिटलमा बेड खाली भएको जानकारी आयो। हतारहतार बिरामी पठाउनतिर लाग्यौं। लगभग बिहान साढे २ बजेतिर बिरामीलाई पठाइयो। त्यसपछि पनि इमर्जेन्सीमा बिरामीको चाप नै थियो। हामी रातभर निरन्तर सेवामा खटिइरह्यौं।
बिहान ७ बजेतिर साथीहरु सिफ्ट चेन्ज गर्न आउनुभयो सम्पूर्ण कुराहरु हस्तान्तरणमा भन्यौं अनि भित्रका सबै बिरामीको ह्यान्डओभरपछि म होस्टेल फर्किएँ।
सडक सुनसान थियो। निषेधाज्ञा सबैले पालना गरिरहनु भएको थियो। हरितालिका तीजको दिन सम्पूर्ण नारीले आफ्ना पतिको लागि निराहार ब्रत बसिरह्नुभएको थियो तर म सरासर, होस्टेल आएँ अनि नुहाइसकेपछि पूजा कोठामा गएर बत्ति बालेर भगवानसँग यही प्रार्थना गरें, बस् कोरोनाको महामारीलाई हटाइदिनुहोस। अनि सम्पूर्ण नेपाली लगायत देशविदेशमा सुख र शान्ति ल्याइदिनुहोस।