श्रीधर आचार्य
आजकाल मेरो परिचय फेरिएको छ। मेरो नाम र इज्जत दुवै हराएको छ। म यो सामाज अनि देशको संक्रमणकारी भनेर चिनिएको छु। लाग्दै छ, कोरोना पोजेटिभ भएर मैले ठूलै अपराध गरें। मलाई यस्तो भान भएको छ कि, मेरो शरीरमा आत्मघाती बम नै छ र यो बम जति बेला पनि पड्केर समाजलाई सखापै पार्न सक्छ।
हिजोसम्म सबै मिलेर बसेको समाजमा आज एकाएक संक्रमणपछि एउटा अछुत र फेरि कहिल्यै यो समाजमा काम नलाग्ने व्यक्तिको रुपमा प्रचारित हुँदैछु। अर्कोतर्फ आफैंलाई उपचार गर्ने डाक्टर, नर्स लागायतका स्वास्थ्यकर्मीलाई गरिरहेको व्यवहार हेर्छु अनि भक्कानो फुट्छ, म त झन् को नै हो र?
सम्पूर्ण स्वास्थ्यकर्मीप्रति नमन प्रकट गर्दछु र आफूलाई संक्रमणले कहिल्यै भेट्दैन झैं गर्ने मानवरुपी जंगलीहरुको मति पनि सुध्रियोस् भन्ने कामना गर्छु।
सबैभन्दा पहिलो कुरा, हामी आफू रोगसँग लड्नसक्ने क्षमताको विकास अनि अपनाउनुपर्ने सावधानी सबै बिर्सेर यो संक्रमणलाई अनावश्यक अतिरन्जित बनाउन तल्लिन छौं। मानौं, ठूलै युद्ध हुँदैछ, अनि अर्कोतर्फ एक पटक नेगेटिभ रेपोर्ट आयो भन्दैमा अब कहिल्यै लाग्दैन जसरी हिँडेका छौ। के यही हो हाम्रो चेतना?
तपाईं जहिले पनि तयारी मानसिकतामा बस्नु, मलाई जहिले पनि संक्रमण हुनसक्छ भनेर। भ्रममा कहिले पनि नपर्नु किनकी हस्पिटलबाट फर्किँदा पनि पोजेटिभ हुनसक्छ। म एउटा संक्रमित भएर के भन्छु भने मलाई यो संक्रमण देखिएको अर्थात् टेस्ट गराएको एघारौं दिन पूरा भयो तर लागेको कति दिन भयो भन्न सक्दिनँ। यसले ममा खासै त्यस्तो अप्ठ्यारो पार्ने कुनै लक्षण समेत देखिएको छैन। लक्षण नै नभएका कति यस्ता व्यक्ति होलान्? म त कुनै लक्षण बिना नै कार्यलयबाट सबै जनाको टेस्ट गर्दा मेरो लगायत अरुको पनि देखियो। टेस्ट नै नगरी पनि कति व्यक्तिहरु निको नै भइसकेको पनि होलान्।
मेरो अनुभवले के भन्दैछ भने आम मान्छेले केके नै हो जस्तो गरेर हल्ला गरेको जस्तो कुनै किसिमको असर ममा छैन। आत्मबल, आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता, तातो पानी, कागती पानी, सुपहरु, प्रोटिनयुक्त झोल तथा ठोस कुराहरु, बाफ लिने र शारीरिक व्यायामबाट यो रोगलाई सजिलै जित्न सकिन्छ। तर कुनै दीर्घरोगको औषधि खाइरहनुभएको छ भने अलि धेरै संयमित अनि हस्पिटलसम्मको साहारा लिनुपर्न सक्छ। होइन भने यो संक्रमणलाई घरमै बसेर सजिलै जित्न सकिन्छ। त्यसैले लागिहाल्यो भन्दैमा आत्तिनु जरुरी छैन।
आजसम्म हुँदै आएको अत्यधिक प्रचारले तपाईंहरु सबै जनाको मानसिक स्थिति एकदम कमजोर बनाएको छ। एकरत्ति पनि चिन्ता लिनु पर्दैन, सोचेको भन्दा धेरै सजिलै कोरोनालाई जित्न सकिन्छ। जित्ने आफैंले हो, केयर पनि आफैं गर्ने हो। अरु कसैलाई अनि सरकारलाई मात्र दोष दिएर केही हुँदैन। साथै सम्पूर्णमा मेरो के अनुरोध छ भने, सामाजिक दूरी, मास्क, साबुनपानी, स्यानिटाइजर अनि घरको सरसफाइमा अत्यधिक ध्यान दिनु जरुरी छ। कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीबाट अन्य धेरै रोगबाट पनि बच्न अत्यधिक मद्दत मिल्छ।
हामीले यो कोरोनाभन्दा कैयौं कडा खालका भाइरस जितिसकेका छौं। हामीलाइ यो रोग नौलो भएर मात्र भयावह लागेको हो। सबै निश्चिन्त हौं, प्रचारप्रसार गरिएजस्तो एकदमै डरलाग्दो यो संक्रमण होइन तर यो छिटो संक्रमण हुने र संख्या भने पक्कै बढी हो।
नेपालमा मृत्यु भएका प्रायः सबै मानिस हेर्दा दीर्घ रोग भएकाहरु मात्र हुनुहुन्छ र आफैंले केयर कम गरेर अन्तिम अवस्थामा मात्र थाहा भएका व्यक्तिहरु हुनुहुन्छ। आत्मविश्वास र मानसिक स्थितिलाई बालियो बानाउनुहोस। अरुको कुरा धेरै नसुन्नुहोस, कोरोनालाई सजिलै जित्नुहुनेछ।
लुकेर होइन, डटेर नै कोरोनालाई जित्न सकिन्छ भन्ने मानसिकता सबैले राख्ने हो भने यो भाइरसलाई अवश्य परास्त गर्न सकिन्छ।
- हाल बालकोट, भक्तपुर