रेजिना चुडाल प्रसाईं
लकडाउनपछि नेपालमा कोरोना संक्रमण र संक्रमणका कारण मृत्यु हुनेको संख्या ह्वातै बढ्यो। कुनै समय कोरोना जहाज चढेर आउँथ्यो। भारतमा रेल–बस खुला भएपछि रेल–बस र साना सवारी चढेर नेपाल प्रवेश गरेपछि यो संक्रमण दिन दुई गुना रात चौगुना बढेर गयो। नेपालमा लकडाउन भएका कारण नेपाल–भारत सीमामा रहेका मानिसलाई नाकाहरुबाट क्वारेन्टाइनमा रहनेगरी स्वागत गरियो। त्यहाँ आएका अधिकांश मानिस प्रस्थान बिन्दुबाट, बाटाबाट वा नाकाबाट संक्रमित भएरै नेपाल भित्रिए।
नियमानुसार क्वारेन्टाइनमा जाँच र निश्चित समयपछि घर पठाइयो। नाकाबाट सूचीसहित आएकाहरुमध्ये कतिपय त्यहाँ कर्यरत प्रहरी, स्वास्थ्यकर्मी वा प्रशासनिक कर्मचारीहरुको साथ, सहयोग वा आँखा छलेर रातमा घरगाउँ पुगे। तर घरका सदस्यले कोरोना बोकेर ल्याएको थाहा पाएनन्। लकडाउन खुलेपछि विभिन्न साधनबाट देशका प्रायस् सबै भागमा पुग्यो कोरोना।
भारतसँग सीमा जोडिएका प्रदेश १, २, ५, ६, ७ का नाकाका जिल्लामा बढेको संक्रमण हेर्दा भारतबाट आयतित भएको पुष्टि हुन्छ। अब भारतमा कम नभएसम्म नेपालमा कम हुँदैन। किनभने नेपाल/भारतको सम्बन्ध छ 'रोटी-बेटी'को। नेपालमा स्वास्थ्य मन्त्रालय, कोरोना नियन्त्रण गर्ने उच्चस्तरीय संयन्त्र, प्रदेश सरकार, स्थानीय सरकारले सकेसम्मको प्रयत्न गरिनै रहेका छन्। यसको व्यवस्थापनको क्षेत्र वा तरिका तीनवटा छन्।
क) रोग फैलिन नदिन घेराबन्दी गर्ने।
ख) संक्रमितहरुसँग घुलमिल भएका परिवारका सदस्य तथा समुदायका मानिसहरुको पिसिआर गर्ने काम।
ग) संक्रमितलाई क्वारेन्टाइनमा राखेर गरिने उपचार।
यी माथि उल्लेख गरिएका व्यवस्थापनमा मेडिसिन र एनेस्थेसियोलोजिस्टको काम बिरामी अस्पतालमा भर्ना भएपछि बिरामीको अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था बाहेक आइसोलेसन, क्वारेन्टाइनमा बसेकाहरुको नियमित तापक्रम जाँच, प्रेसर, पल्सरेट श्वासप्रश्वासको दर लगायतका भाइटल साइन हेर्न नर्सिङ केयर गर्ने भए पुग्छ।
ल्याब टेस्ट गर्ने, स्वाब कलेक्सेन गर्ने, कलेक्सन गरिएको स्वाबलाई सुरक्षित विधि एवं प्रक्रिया अनुसार जाँच गर्ने काममा भने निकै ठूलो जोखिम र संयमता चाहिन्छ। यो काम नै 'डायग्नोसिस' को मुख्य भाग हो। ल्याबका विज्ञ, प्राविधिक र नर्सिङ स्टाफको मुख्य र जटिल अवस्थाका सीमित (४-२ प्रतिशत) लाई मात्र फिजिसियन, रेडियोलोजिस्टर एनेस्थेसियोलोजिसिस्ट चाहिन्छ। कोरोना भाइरसको एलोपेथिक औषधि छैन। प्रिभेन्सनका लागि अर्बौं रकम खर्च गरेर खोप सम्बन्धी अनुसन्धान र उत्पादनको सुरसार हुँदै छ।
कोभिड-१९ भाइरल संक्रमण हो। यसको व्यवस्थापन गर्न जनस्वास्थ्य विज्ञहरुलाई जिम्मा दिने, रोकथामका उपायहरूको बारेमा कार्यक्रम तयार गर्दै समुदायलाई परिचालन र रोग नियन्त्रणका कार्यक्रमहरुको बारेमा जनचेतना, शिक्षा र परामर्शका कार्यक्रम लागू गर्ने कामको योजना जसको विषय र क्षेत्र हो त्यहीँबाट हुनुपर्छ। सम्पूर्ण कोभिडको व्यवस्थापन जनस्वास्थ्यको क्षेत्र हो। यहाँ आन्द्राको अपरेसन महिला रोगका सर्जनले गरे जस्तो भएको छ।
असाध्य धेरै धन खर्च गर्दागर्दै, सकेसम्मको प्रयास गर्दागर्दै पनि संक्रमितको संख्या किन बढ्दै छ? मृत्यु संख्या किन बढ्दै छ?
रोगी पत्ता लगाउन गरिने उपायहरुमा निजी क्षेत्रसँग सहकार्य गरेर जानुपर्नेमा निजी क्षेत्रलाई सौतेनी व्यवहार गर्ने सरकार अनि मौकामा चौका हान्न दाउ हेरेर बस्ने निजी क्षेत्रको समन्वय नै हुन सकेन। बागमती प्रदेशमा सरकारी स्वास्थ्य संस्था ९३४ का छन् भने निजी क्षेत्रका अस्पताल १३८६ का रहेका छन्। यी १३८६ वटा स्वास्थ्य संस्थामध्ये ५९ वटा ग्रामीण सहरमा र जिल्लाका महत्वपूर्ण बजारमा र १३२७ वटा सहरकेन्द्रित छन्।
स्वास्थ्य मन्त्रालयले जाँच गर्ने पिसिआर वा अन्य डायग्नोसिस गर्ने जाँचहरुको दर रेट तोकेर गर्न दिने हो भने प्राइभेट स्वास्थ्य संस्थाहरु पनि रोकथामको अभियानमा सामेल हुनसक्ने थिए। आइसियु अभाव केही समयलाई हल हुने थियो।
माथि भनिएका ३ वटा अवस्थामध्ये एकान्तबास वा क्वारेन्टाइनको बसाइको व्यवस्थापन सबैभन्दा कमजोर रहेको छ। राज्यले खर्च गर्यो क्वारेन्टाइनको भौतिक पूर्वाधार तयार गर्न, त्यहाँ रहनेहरुको खाना, अन्य आवश्यक सामग्रीहरु खरिद गर्न। एउटा कोठामा लहरै मानिस सुत्ने खाट,ओढ्ने-ओछ्याउने, खाना-खाजाको व्यवस्था त भयो। दैनिक उनीहरुको भाइटल साइन जाँच गरेर रेकर्ड राख्ने, समयसमयमा पिसिआर जाँच गराउने र सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिने। तर मानिस क्वारेन्टाइनमा बस्न किन इच्छा गर्दैनन्? त्यहाँबाट किन भाग्छन्? आइसोलेसनमा बसेका मानिस भाग्नाले घरपरिवार, समाजमा रोग सार्न, रोग फैलिन कुनै समय लाग्दैन। आइसोलेसनमा राखेको एउटा व्यक्ति त्यहीं रहनु घरपरिवार समाज र यो रोग नियन्त्रण गर्ने मन्त्रालयका जिम्मेवार व्यक्ति, संघसंस्था सबैको सरोकार र सहयोग हो। साथै एउटा व्यक्ति संक्रमित भएपछि स्वयं व्यक्ति, परिवार व्यक्ति र आफन्त बेचैन मनस्थितिका बीच त्यहाँ बस्नु परेको छ।
संक्रमितले गल्ती वा अपराध गरेर उसलाई आइसोलेसनमा राखिएको होइन। उसलाई निको पार्न, रोग फैलिन नदिन एकान्तबासको व्यवस्था गरिएको हो। त्यहाँ कोरोना विरुद्ध कुनै उपचार हुँदैन। त्यहाँ लक्षण अनुसारको उपचार हुने हो, जस्तै: टाउको दुख्यो, ज्वरो आयो, जिउ दुख्यो भने पारासिटामोल दिने। स्थिति जटिल बन्दै गए हाई केयर युनिट (एचसिभी), आइसियु भएको ठाउँमा पठाउने। त्यहाँ त बिरामी मैत्री वातावरण चाहिन्छ। मायाममता सहितको हेरचाह गर्ने वातावरण चाहिन्छ। आइसोलेसन र क्वारेन्टाइनमा बसेर आफ्नो रोग प्रतिरोध शक्तिद्वारा रोगलाई जित्नुपर्ने हुन्छ। त्यहाँ खानपान आहार-विहार र सकारात्मक सोच व्यवहारले र उपयुक्त खानपान, योग, ध्यान, प्राणायमद्वारा रोगबाट मुक्त हुन सकिने तथ्यलाई पूर्ण उपेक्षा गरियो।
आइसोलेसन र क्वारेन्टाइनमा जनस्वास्थ्यका विज्ञ, खाद्य तथा पोषणका विज्ञ, मनोचिकित्सक,आयुर्वेदिक तथा प्राकृतिक उपचारका विज्ञ, योग, ध्यान, प्राणायाम गुरुहरुले नेतृत्व गर्नुपर्थ्यो। तर त्यस्तो भएको छैन।
त्यसकारण यसको व्यवस्थापन गर्ने निकायले माथि उल्लेख गरिएका क्रिटिकल केयर मेनेजमेन्टका विज्ञ चिकित्सक, एनेस्थेसियोलोजिस्ट, फिजिसियन, रेडियोलोजिस्ट, आयुर्वेद तथा प्राकृतिक चिकित्साका विज्ञ, जनस्वास्थ्यका विज्ञहरु, खाद्य तथा पोषणका विज्ञ, योग, ध्यान र प्रणायामका गुरुहरु, ल्याबका विज्ञ एवं प्राविधिक र नर्सिङ केयरका व्यक्तिहरुको समूह तयार गरेर काममा जुटे सफलता पाउन सहज हुनेछ।
(चुडाल जनस्वास्थ्यकर्मी हुन्।)