डा पार्शल भण्डारी
म पाकिस्तानको लाहोर जनरल हस्पिटलमा एनेस्थेसिया एन्ड इन्टेन्सिव केयर (आइसियु) मा विशेषज्ञता हासिल गर्दै गरेको डाक्टर हुँ। विगत ६ महिनादेखि सोही अस्पतालको आइसियुमा रहेका कोभिड-१९ संक्रमित बिरामीको सेवा गर्दै आएको छु। यस क्रममा मैले जे देखें, भोगें र अनुभव गरें, त्यही आधारमा आम मानिसको सचेतनाका लागि यो सामग्री प्रस्तुत गरेको छु।
१. कोभिड-१९ कस्तो रोग हो?
यो एक प्रकारको भाइरसको संक्रमणबाट लाग्ने रोग हो। मुलत: यस रोगमा श्वासप्रश्वासमा समस्या हुने भए तापनि नयाँ गरिएका अनुसन्धानबाट शरीरका सबै प्रणालीहरूमा असर गर्ने देखिएको छ।
२. के कोभिड-१९ रोगबाट डराउनुपर्ने अवस्था छ?
कोभिड-१९ बाट मात्र नभई मानव जातिमा लाग्ने सबै प्रकारका रोगबाट डराउनुपर्छ र त्यसलाई लाग्न नदिन सबै प्रकारका उपाय अपनाउनुपर्छ। नेपालको सन्दर्भमा अहिले यो रोग समुदायमा फैलिसकेको छ र उच्च सतर्कता अपनाउन जरुरी छ।
३. के कोभिड-१९ रोग लाग्नेबित्तिकै मरिन्छ भन्ने धारणा ठिक हो?
बिल्कुल होइन। यो रोगको कारणबाट हुने मृत्युदर एकदम कम छ। जहाँ म काम गर्दै छु, त्यहाँ मृत्युदर २.५ देखि ३ प्रतिशतको हाराहारीमा छ। माइल्ड टु मोडरेट केसको मृत्युदर न्यून छ भने सिभियर र क्रिटिकल केसको मृत्युदर धेरै रहेको छ। यसमा मुख्य कुरो के छ भने कोभिड-१९ मा ८०-८५ प्रतिशतसम्म माइल्ड टु मोडरेट स्टेजमा नै रहन्छन्, जसले गर्दा मृत्युदर कम छ।
४. अनि यो सिभियर र क्रिटिकल स्टेजमा चाहिँ के हुन्छ?
सिभियर स्टेजमा लगभग १२-१४ प्रतिशत बिरामी जान्छन् र क्रिटिकल स्टेजमा २-४ प्रतिशत बिरामीहरू। क्रिटिकल स्टेजका बिरामीमा उच्च मृत्युदर रहेको छ।
५. कस्ता मानिस क्रिटिकल स्टेजमा पुग्छन् त?
७० वर्षभन्दा माथि उमेर भएका, धेरै मोटोपन, उच्च रक्तचाप, दम, सुगर, मुटु, कलेजो, मिर्गौलाको दीर्घरोगी मानिस क्रिटिकल स्टेजमा पुग्ने सम्भावना धेरै छ। त्यस्ता बिरामीको उच्च मृत्युदर रहेको छ। तर यस्तो भन्दैमा, म त जवान छु केही हुँदैन भनेर सतर्कता नअपनाउन चाहिँ मिल्दैन। भनिन्छ नि रोगले यो त्यो केही भन्दैन, जे पनि हुनसक्छ।
६. यो त भयो लागिसकेपछिका कुरा, लाग्न नदिन के गर्ने त?
सबैभन्दा पहिला नेपाल सरकार र डब्लुएचओको स्वास्थ्य मापदण्डमा उल्लेख भए बमोजिमको सावधानी अपनाउने। अति आवश्यक काम बाहेक घरबाहिर नजाने। बाहिर जाँदा अनिवार्य मास्क लगाएर जाने। कम्तीमा २ मिटरको दूरी कायम राख्ने, पटकपटक साबुनपानीले मिचिमिची हात धुने। अहिलेको अवस्थामा आफू अगाडिको मान्छेलाई साँच्चिकै कोरोना छ भन्ने सोच राखेर सोही अनुसारको सावधानी अपनाउन जरुरी छ।
७. कस्ता लक्षण देखिन्छन्।
यो रोग लाग्दा कसैकसैलाई लक्षण नै नदेखिन पनि सक्छ। तर मुख्य लक्षणमा ज्वरो आउने, घाँटी दुख्ने, सुख्खा खोकी लाग्ने, थकावट हुने, श्वास फेर्न गाह्रो हुने, शरीरका मांसपेसीहरु दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखा पर्छन्।
८. यस रोगबाट बच्न आ-आफ्नो घरमा केके गर्न सकिन्छ?
पहिलो चरण भनेको त सावधानी अपनाउनु हो। त्यसपछि अहिलेको समयमा रोगसँग लड्न सक्ने क्षमता विकास गर्नुपर्छ। पौष्टिक आहार, भिटामिन सी भएका खानेकुरा (जस्तै: कागती), तातो पानी, मासु, माछा आदि पर्याप्त खाने। हलुका व्यायामका साथै राम्रो निद्रा पनि अत्यावश्यक छ। यसमा म के भन्न चाहन्छु भने आफ्नो घरमा सकिन्छ भने एउटा थर्मोमिटर र पल्स अक्सिमिटर पनि राख्नुपर्छ। थर्मोमिटरले ज्वरो मापन गर्छ भने पल्स अक्सिमिटरले शरीरमा अक्सिजनको मात्रा मापन गर्न सकिन्छ।
९. कति बेला अस्पताल जाने?
कोरोना हुने वित्तिकै अस्पताल जानुपर्छ भन्ने छैन। आफ्नै घरमा सुरक्षित तरिकाले क्वारेन्टाइनका नियम पालना गरेर बस्दा हुन्छ। घरमा क्वारेन्टाइनमा बस्दा नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेर बस्नुपर्छ र सो अवस्थामा उच्च ज्वरो (१०० डिग्रीभन्दा बढी) लगातार आइरहेमा र शरीरमा अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम भएमा तुरुन्त अस्पताल जानुपर्छ।
१०. म पनि कोरोना लगेर निको भएको व्यक्ति हुँ।
म एक एमडी गर्दै गरेको डाक्टर हुँ। कोरोनाबाट संक्रमित क्रिटिकल स्टेजका बिरामी हेर्ने मेरो काम हो। म दिनहुँ अस्पतालको आइसियुमा ड्युटी गर्दथें। मैले उच्च सतर्कता अपनाउँदाअपनाउँदै पनि कतिबेला, कसरी कोरोना संक्रमण भयो पत्तै भएन। जब मलाई ज्वरो आउने, घाँटी दुख्ने र शरीरमा अत्यधिक दुखाइ भयो, तब परीक्षण गर्दा कोरोना भएको पुष्टि भयो। त्यसपछि म घरमै क्वारेन्टाइनमा बसेर बिताएँ। मलाई श्वासप्रश्वासको समस्या चाहिँ भएन।
११. अब सरकारले के गर्नुपर्छ।
अब सरकारले चाँडोभन्दा चाँडो कोरोनाका बिरामी मात्र राख्ने अस्पताल देशका धेरै ठाउँमा खोल्नुपर्छ। जसमा साधारण आइसोलेसन वार्ड होस्, हाई डिपेन्डेन्सी युनिट (एचडियु) होस। अक्सिजन डिपेन्डेड बिरामी राखियोस् र आइसियु होस। जसमा भेन्टिलेटर डिपेन्डेड बिरामी राखियोस्। अरू साधारण अस्पतालमा कोरोनाका बिरामी राख्नु भनेको संक्रमण फैलाउन मद्दत गर्नु हो। सरकारले हरेक अस्पतालमा विशेषज्ञ टोली पनि खटाउनु जरुरी छ।