आदरणीय प्राध्यापकज्यू,
मिठा सम्झना अनि तीता गुनासाहरू।
म यहाँ जसोतसो आफ्नो सेतो कोट जोगाउँदै छु। जबर्जस्ती छ्यापिने कलंकका काला धब्बा नपोतियोस् भनेर समाजबाट आफैंलाई लुकाउदैँ छु। आशा छ, हजुरको घाँटीमा झुण्डिएको स्टेथेस्कोप समाजका गालीगलोज सुन्न नसकेर बाहिरिएको छैन।
भोको पेट घन्टौं लामो शल्यक्रिया गर्नुहुन्छ रे? प्रार्थना छ, त्यो पेटको अल्सर हजुरको, गहिरिएको छैन।
प्राध्यापकज्यू, मनमा थूप्रै गुनासा छन्, तिनै पोख्न यो चिठी लेख्दै छु।
आधा दशकभन्दा बढी समय लिएर, हजुरले मलाई यो “समाज” कसरी जोगाउने भन्ने प्रशिक्षण दिनुभयो तर, “आफैलाई” यो समाजको आक्रोसबाट कसरी जोगाउने भन्ने अभ्यास किन गराउनुभएन?
यति धेरै किताबका खात र हजारौं पाठ पढाउँदा समेत, समाजको घिनलाग्दो वास्तविकतासँग परिचितसम्म पनि किन गराउनु भएन?
‘हरेक दिन अस्पताल छिर्नु भनेको अचानोमा आफूलाई पस्कनु समान हुन्छ है’ भनेर तयार गरिदिएको भए, यतिका वर्ष आफ्नो शारीरिक स्वास्थ्य व्यवास्ता गरी मानसिक विकासलाई मात्र जोड दिने थिइनँ कि?
मानसम्मान र प्रतिष्ठाको जलपले पोतिएको यो “डाक्टर” शब्द सित, समाज यति रूष्ट छ भन्ने पत्तो पाएका भए, म आफ्नो यौवनका सुनौला क्षण बेचेर, मानवसेवाको बिँडो थाम्न यति उत्सुक हुने थिइन किँ।
शल्यक्रिया गर्न सिकाउने हजुरले, शल्यक्रिया कक्षबाट बाहिर निस्केपछि, अनपढ विशेषज्ञहरूको भीडले मलाई घेर्छ, मेरो सिप र नैतिकता, आफ्नै अर्घबुद्धिको तराजुमा जोख्छ अनि त्यहाँ पनि मैले आफ्नो आत्मसम्मानको दाहसंस्कार गर्नुपर्छ भनेर हजुरले मलाई ज्ञात गराउनु पर्ने हैन?
बिरामी जाँच्न ओपिडीमा बस्दा मैले मेरो आचरणको सक्कल प्रमाणपत्र घाँटीमा झुन्ड्याइराख्नुपर्छ भनेर जानकार गराउनुपर्ने हैन?
हजुरले लिएका ती कठिनभन्दा कठिन मौखिक परीक्षामा निर्धक्क जवाफ दिँदा संसार जितेको अनुभव हुन्थ्यो। मलाई त्यति बेला रत्तिभर पनि थिएन, हरेक क्षण म समाजको अदालतमा नैतिकताको कठघराभित्र उभ्याइन्छु भनेर।
आज मेरो चरित्र र शैक्षिक योग्यतामा उठेका ती प्रश्नवाचक चिह्नहरूको कुनै उत्तर छैन मसँग।
त्यसैले त गुनासो छ मलाई, यस्ता प्रश्नहरूको ‘नोट’ बनाई मलाई रट्न किन दिनु भएन?
बिरामीप्रतिको दायित्व सिके, तर संकीर्ण सोच र विचारसँगको ड्युटीमा उति बेलादेखि नै मलाई खट्न किन दिनु भएन?
आज म लाचार छु। अनविज्ञ छु। मलाई माफ गरिदिनुस् सर, यो समाजको मानसिकतासँग भिड्न न मसँग साहस छ, न क्षमता नै।
यी परिस्थति विल्कुलै पाठ्यक्रम बाहिरका परे। ‘आउट अफ सेलेबस टपिक’
तर मानव सेवाका निम्ति हजुरले खुवाएको सपथ कण्ठस्थ छन्। त्यसैले त मेरो चरित्रहत्यामा फुकिएका मलामीका शंखहरू नसुनेझैं गरी आज पनि हजुरले देखाएको सेवाकै बाटोमा हिँड्दै छु। हिँडिरहने छु।
बाँकी अर्को चिठीमा।
त्यति बेलासम्म मैले प्रतिकार र आत्मरक्षाको कोर्ष लिइसक्ने विश्वास गरेकी छु।
हजुरकी विद्यार्थी
डा अस्मिता
(डा अर्याल नर्भिक इन्टरनेसनल हस्पिटलकी मेडिकल अफिसर हुन्।)