डा अजय अग्रवाल
केही दशकयता संसारभरि नै ल्याप्रोस्कोपिक विधिबाट पेटको तथा पाठेघरको शल्यक्रिया वा अपरेसनको लोकप्रियता बढ्दै गएको छ। यसको प्रमुख कारण यसबाट बिरामीलाई हुने फाइदाहरु नै हुन्। जसले गर्दा पछिल्लो समय यो विधिबाट शल्यक्रिया गर्न चाहने बिरामीको संख्या बढेको छ। परम्परागत रूपमा पेटमा ठाडो वा तेर्सो लामो चिरा पारेर गरिने अपरेसनको साटो पेटमा ससाना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने तथा उपचार गर्ने प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो।
यो सर्जरी गर्दा पेटमा एक सेन्टिमिटरसम्मको प्वाल पारेर त्यहाँबाट क्यामेरा पठाएर उच्च प्रकाश र क्यामेराको सहायताले पेटको शल्यक्रिया गरिन्छ। पेटको कुन भागको शल्यक्रिया गर्ने हो, त्यसअनुसार पेटमा अन्य दुई वा तीन ०.५ सेन्टिमिटरसम्मको वटा प्वाल पारेर औजारको माध्यमले जुन अंगमा रोग छ, त्यस अंगको रोग पत्ता लगाउन तथा उपचार गर्न यो प्रविधिको उपयोग गरिन्छ।
दूरबिन विधिबाट गरिने अपरेसनको माग तथा लोकप्रियता नेपालमा कस्तो अवस्थामा छ?
यो विधिको सुरुवात विश्वमा २० वर्षभन्दा अघि सुरु भएको हो। तथापि नेपालमा यसको ढिलो तथा ठूलो स्तरमा प्रक्षेपण नभएको देखिन्छ। बिरामी वा उपभोक्तामाझ यो विधिको ज्ञान, यसको फाइदाको जानकारी निकै न्यून मात्रामा पाइन्छ। नेपालमा दूरबिन विधिले गरिने पेटको तथा पाठेघरको अपरेसन केही ठूला अस्पतालमा गरिए तापनि धेरै चिकित्सक नै यसमा प्रशिक्षित नहुँदा, ठूला सहरका केही बिरामी बाहेक, विस्तृत विज्ञापनको कमीले उपभोक्तामाझ यो विधि अझै लोकप्रिय बनको छैन। तर आधुनिक सामाजिक सञ्जालको युगमा निकट भविष्यमा ल्याप्रोस्कोपी विधिको माग असाधारण रुपमा बढ्नेमा कुनै शंका छैन।
यस विधिबाट गरिने अपरेसनका फाइदाहरु के छन् त?
पेट चिरेर गरिने शल्यक्रियाको तुलनामा यो प्रविधि बढी सुरक्षित मानिन्छ। यस प्रविधिबाट शल्यक्रियापश्चात् बिरामीले कम समय अस्पतालमा बसे पुग्ने, छिटो दैनिक काममा फर्किन सक्ने, सानो घाउ हुनाले दुखाइ खासै नहुने तथा औषधि पनि खासै प्रयोग गर्नपर्न हुँदैन। साथै यो विधिबाट उपचार गरेका बिरामी छिटो तंग्रिन सक्ने र भविष्यमा समेत पेट चिरेरका बिरामीले जस्तो समस्या भोग्नु पर्दैन।
पेट चिरेर गरको अपरेसनपश्चात् भएको पेटको ठूलो घाउ पाक्ने सम्भावाना बढी हुन्छ जुन खतरा यस विधिमा हुँदैन। यी सबै फाइदाहरु दूरबिनबाट अपरेसन गर्दा हुने परिशुद्धता, म्याग्निफिकेसन तथा अपरेसनको भिडियो अभिलेख कारक हुन्।
त्यस्तैगरी लामो समय आराम गर्न नपर्दा खुट्टामा रगत जम्नसक्ने खतराबाट पनि बचाउन सकिन्छ। साथै अपरेसन गर्दा रगत कम बग्नाले रगत पनि चढाउन पर्दैन। अपरेसनपछि कब्जियत नहुने, पिसाब लगायत अरु संक्रमण नहुने, सबै साधारण खाना चाँडै खान मिल्ने, सानासाना घाउको दाग छालामा खासै नदेखिने यस विधिका अन्य फाइदाहरु हुन्।
अर्को महत्वपूर्ण कुरा, पेट चिर्दा रोग बाहेकको अंग जस्तै आन्द्रामा पनि असर पर्नाले भविष्यमा फेरि अपरेसन गर्दा झन् खतरापूर्ण हुन्छ। यी आदि समस्याबाट पनि बच्न सकिन्छ।
केकस्तो र कुनकुन अंगको उपचारमा ल्याप्रोस्कोपी प्रविधि प्रयोग गर्न सकिन्छ?
बिरामीको पेटमा, पाठेघर तथा अण्डासयमा तथा अन्य अंगमा भएको रोगको निदानदेखि उपचारमा यसको प्रयोग हुन्छ। ल्याप्रोस्कोपिकको प्रयोग पेटको रोग पत्ता नलागे, महिलामा पेट दुख्ने समस्या भइरहेमा, बाझोपनको कारण पत्ता नलागेमा, महिनावारीको समयमा पेट धेरै दुखेमा, एक्स-रे, भिडियो एक्स-रे तथा एमआरआईले समेत रोग पत्ता लगाउन नसकेको अवस्थामा दूरबिनबाट त्यो अंगलाई हेरेर कुन भागमा समस्या भएको हो त्यो हेरेर रोग पत्ता लगाउन सकिन्छ।
महिला रोग बाहेक ल्याप्रोस्कोपिल प्रविधिबाट पित्त थैली, अपेंडिक्स, मुत्रनली, आन्द्रा आदि अंगको पनि अपरेसन गरिन्छ। लेप्रोस्कोपीको मद्दबाट कुनै पनि प्रकारको अण्डासयको सिस्ट्स, ट्युमर, संक्रमण वा फ़िब्रोइद्सको बारेमा पत्ता लगाउन सकिन्छ। किनकि साना घाउबाट दूरबिन पठाएको हुनाले पेटको सम्पूर्ण भित्री भागको सर्वेक्षण गरी रोग पत्ता लगाइन्छ, जुन कुरा पेट चिरेर सम्भव छैन। यसरी पत्ता लागेअनुसार पेट, पाठेघर तथा अण्डासयमा भएको ट्युमर निकाल्नेदेखि कुनै रोग भएको अंग पूर्ण रुपमा अपरेसन गरेर निकाल्न सकिन्छ। वास्तवमा पाठेघरबाट बच्चा निकाल्ने अपरेसन बाहेक अन्य सम्पूर्ण अपरेसन दूरबिन विधिबाट सुरक्षित रुपमा सम्भव छ।
के यो ल्याप्रोस्कोपी विधिबाट अपरेसन गर्दा खर्च बढी हुन्छ?
खर्चको हिसाबले पनि यो त्यति महँगो पर्दैन। सुरुको अपरेसन शुल्क अलिक बढी भए तापनि यसका फाइदाहरुसँग तुलना गर्दा यो विधि महँगो पर्दैन किनभने तपाइँको अस्पताल बसाइ कम हुन्छ, संक्रमणको जोखिम न्यून हुन्छ, औषधि कम खानुपर्छ र छिटो काममा फर्किन सकिन्छ।
यस विधिबाट अपरेसन गर्नुपूर्व अरु कुनै जाँच गर्न आवश्यक छ?
नियमित गरिने रगत, पिसाबको परीक्षण साथै छातीको एक्स-रे तथा मुटुको इलेक्ट्रोकार्डियोग्राम, पेटको अल्ट्रासाउन्ड, लेप्रोस्कोपी अपरेसनपूर्व गराउन पर्नसक्छ। तपाइँको चिकित्सकद्वारा पहिलेको परीक्षणहरुको परिणामको आधारमा यसको विवरण दिइने छ।
अपरेसनको लागि कस्तो तयारी आवश्यक पर्छ?
तपाईंलाई आफ्नो चिकित्सकसँग रोग वा उपचारको सम्भावित खतरा तथा अपरेसनको फाइदाबारे जानकारीपछि अपरेसनको लागि लिखित सहमति दिन आवश्यकता पर्छ।
• धेरैजसो नैदानिक लेप्रोस्कोपी प्रक्रिया आउट पेसेन्टको रूपमा गरिन्छ; जस अनुसार तपाईं एक दिनमा प्रक्रियापछि घर जान सक्नुहुन्छ।
• तपाइँले प्रक्रियाको एक निश्चित समयभन्दा पहिले केही खान वा पिउन हुँदैन, जुन कुरा तपाइँको सर्जन वा एनेस्थेसियोलोजिस्टद्वारा निर्धारित गरिन्छ।
• तपाइँको उमेर तथा अन्य शारीरिक स्थिति अनुसार, अपरेटिभ प्रक्रिया पूर्व रगत, पिसाब या एक्स-रे परीक्षण गराइन्छ।
• आउट पेसेन्ट बाहेक अपरेसनपूर्व तपाईंलाई वार्डमा एक दिन पहिला भर्ना गरिन्छ। अस्पतालमा सही समयमा पुग्नुहोला।
• अपरेसनपूर्व पहिलो रात वा बिहान नुहाउन स्वीकार्य हुन्छ।
• यदि दैनिक कुनै औषधिको सेवन गर्नुहुन्छ भने सर्जरीभन्दा पहिले आफ्ना सर्जनसँग यस बारेमा जानकारी दिनुहोला, किनकि सर्जरीको दिनमा पानीको एक घुट्कोसँग कुनै वा सबै औषधि लिनपर्ने वा बन्द गर्नपर्ने आवश्यकता हुनसक्छ।
• यस बाहेक तपाईंले आफ्नो सर्जन वा उनको कार्यालयका सहायक कर्मचारीसँग आफ्नो सर्जरीको कुनै विशेष तयारी बारेमा सोध्नु पर्नेछ।
ल्याप्रोस्कोपी अपरेसनपश्चात् कस्तो अनुभव हुन्छ?
ल्याप्रोस्कोपी अपरेसनपश्चात् तपाइँलाई अपरेसन कक्षको रिकवरी रूममा लगिन्छ, जहाँ सबै नशालु तथा बेहोस पर्दा प्रयोग भएको औषधिको प्रभाव नगएसम्म, जुन केही घन्टासम्म हुनसक्छ, राखिने छ। तपाइँलाई राम्ररी होस आएपछि वार्डमा लगिन्छ। तपाईं राम्ररी हिँड्नसक्ने तथा अरुको सहायताबिना नै आफ्नो ओछ्यानबाट निक्लन सक्षम भएपछि छुट्टी दिन सकिन्छ।
पेटको ससानो चिरावाला क्षेत्रको नजिक अलिअलि दुखाइ महसुस हुनसक्छ; जुन सामान्य कुरा हो। तपाईंलाई हरेक दिन दुखाइमा सुधार हुँदै जानेछ, तब पनि एउटा दुखाइ कम गर्ने औषधि चाहिन सक्छ। धेरैजसो बिरामी अपरेसनको एक दिनपश्चात् नै नुहाउन सक्छन् तथा एक सप्ताहभित्र आफ्नो सामान्य गतिविधि सुरू गर्नमा सक्षम हुन सक्छन्। रोग तथा उपचार अनुसार अन्य कुनै विशिष्ट प्रतिबन्धको विषयमा चिकित्सकद्वारा सुझाव दिइने छ। धेरैजसो ल्याप्रोस्कोपीपश्चात् पेटको घाउमा टाका आफैं निको हुने किसिमको हुनाले टाका काट्न पनि पर्दैन।
ल्याप्रोस्कोपी अपरेसनमा कुनै प्रकारको जटिलता हुनसक्छ?
कुनै पनि प्रकारको प्रक्रियामा जटिलता हुन सक्छन्। कुनै पनि अपरेसनमा सबैभन्दा सामान्य जटिलता रक्तश्राव र संक्रमण नै हुन्। यसबाहेकका जटिलतामा, पेटका अन्य अंग, आन्द्रा, मूत्रासय या रक्त नलीमा चोट पर्नु हुन्। ल्याप्रोस्कोपी अपरेसनमा यी जटिलता पेट चिरेको अपरेसनभन्दा कम हुन्छ।
केही बिरामीहरुमा लेप्रोस्कोपिक विधिबाट अपरेसन गर्न नसकिने पनि हुनसक्छ। पेट चिरेर वा खुला प्रक्रियाबाट अपरेसन गर्ने निर्णय तपाइँको सर्जनद्वारा या त वास्तविक अपरेसनभन्दा पहिले लिइन्छ वा लेप्रोस्कोपिक अपरेसन गर्दैगर्दा पनि लिनुपर्ने हुन्छ। यो प्रक्रियामा परिवर्तन गर्नु एक किसिमको जटिलता नभएर बिरामीको सुरक्षाको लागि गरिने सर्जिकल निर्णय हो।
(डा अग्रवाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्।)