शंकर पौडेल
मानव इतिहास सुरु भएयता मानव समुदायले थुप्रै महामारीको सामना गर्दै आएको छ। मानव समुदायको अस्तित्व नै संकटमा पर्नेगरी विमा देखिएका केही महामारी र त्यस महामारीले सिकाएको पाठको बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ। पछिल्ला ४०० वर्षको मात्र इतिहास हेर्ने हो भने प्रत्येक १०० वर्षको अन्तरालमा त्यस्ता महामारी देखिएका छन्।
१. प्लेग (१७२०)
मानव इतिहासमा बिफरपछि सबैभन्दा धेरै मानिसको मृत्यु यस रोगबाट भएको थियो। यो रोग Yersinia pestis नामको ब्याक्टेरिया बाट हुन्छ। यो रोग काला मुसाहरुको शरीरमा बस्ने Fleas को टोकाइबाट मानिसमा सर्छ। यो रोग ३ प्रकारको (Bubonic, Pnumonic र Septicemic) हुन्छ। यो रोगले छालाको रङ कालो बनाउने हुँदा BLACK DEATH पनि भनिन्छ। यो रोग छैठौं शताब्दी (Plague of Justinian. ५४१-५४२ AD) देखि नै अस्तित्वमा रहेको देखिन्छ र यस रोगको सुरुवाती माहामारी इजिप्टमा देखिएको थियो। त्यसपछिको दोस्रो ठूलो महामारी (१३४७-१३५१) चौधौं शताब्दीमा युरोपीय महादीपमा देखिएको थियो। यस रोगबाट युरोपीय महादीपभित्र पर्ने कुनै देशमा कुल जनसंख्याको दुई तिहाइदेखि तीन चौथाइ जनसंख्यासम्मको मृत्युभएको थियो भने कुल युरोप महादीपमा मात्र कुल जनसंख्याको ५० प्रतिशत अर्थात् सात करोड ५० लाखदेखि २० करोड मानिसको मृत्यु भएको अनुमान गरिन्छ। त्यस बेला यो रोग मध्य एसियामा सुरुवात भई पूर्वी एसियाबाट सिल्क रोडको बाटो हुँदै युरोपको क्रिमिया भन्ने देश र पछि पूरै युरोपभरि फैलिएको थियो।
यस रोगको तेस्रो महामारी सन् १७२० मा फ्रान्सको मार्सले भन्ने सहरबाट देखिन सुरु भएको थियो र यसले फ्रान्समा लाखौंको ज्यान लिएको थियो। यसलाई Plague of Marseille भनिन्छ। यो रोग १९९० मा सुरु भई २००२ सम्म इन्डियामा देखिएको थियो। यो रोगले इन्डियाको बम्बई, बंगाल, सिमला गुजरात, महरास्ट्र हुँदै अन्य प्रदेशमा फैलिएको थियो र इन्डियामा मात्र १ करोड मानिसको मृत्यु भएको थियो।
यो रोग विश्वभरि फैलिएको थियो। यो रोग फैलिनुको मुख्य कारण भनेको अन्तर्राष्ट्रिय व्यापारसँगै मानिसको हिँडडुल र ग्रामीण फैलिएका बस्तीहरु विस्थापित हुँदै एकीकृत बस्तीमा रुपान्तरण भई बढ्दो सहरीकरणको सुरुवात र सोसँगै सहरमा फोहोर व्यवस्थापन राम्रो नभएको हुँदा सो स्थानमा मुसाको वृद्धि विकास हुनगई रोग फैलिएको र व्यक्तिगत सरसफाइमा कमी आदिलाई मुख्य कारणको रुपमा लिइएको छ। यो रोगबाट हुने कुल मृत्युदर ६६-९३ प्रतिशतसम्म हुनसक्छ। यदि एन्टिबायोटिक्सको प्रयोग समयमै भए १६ प्रतिशत मात्र मृत्युदर हुन्छ तर त्यसबेला एन्टिबायोटिक्सको अविष्कार भएको थिएन।
२. हैजा (१८२०)
यो रोग Vibro cholera नामको ब्याक्टेरियाको संक्रमणबाट हुन्छ। यो रोग फोहोर पिउने पानी वा असुरक्षित खानेकुराको माध्यमबाट हुन्छ। यस रोगबाट संक्रमित मानिसमा पातलो चौलानी पानी जस्तो देखिने पखाला तारन्तार हुन्छ, साथसाथै कसैकसैमा बन्ता पनि हुन्छ। यो रोग लागेका मानिसमध्ये ५ प्रतिशतमा लक्षणहरु यति खतरनाक हुन्छन् कि बिरामीको शरीरबाट २४ घन्टाको अवधिमा १० देखि २० लिटर जला बियोजन हुनसक्छ। यस कारण बिरामीलाई तुरुन्त अस्पताल लगेर सलाइन पानी दिइएन भने यस्ता जटिल लक्षण देखिएका ६०-७० प्रतिशत मानिसको मृत्यु Kidney Failure हुन गई हुन्छ। शीघ्र जलाबियोजन गराउने यस रोगका लक्षण २४-४८ घण्टाभित्र देखिन्छ र उपचार नगरिएमा बिरामीको तुरुन्त मृत्यु हुन्छ। परापूर्व कालमा यस रोगका बिरामीलाई पानी दिनुहुन्न भन्ने चलन थियो जसको कारण पनि धेरै मानिसको मृत्यु भएको अनुमान गरिन्छ।
हैजा १६औं शताब्दीमा भारतबाट सुरुवात भएको अनुमान गरिन्छ। यसको सुरुवाती महामारी कुम्भ मेलाको समयमा गंगा नदीको किनारबाट भएको अनुमान गरिएको छ। यस रोगको किटाणु Bay of बंगालको तातो र नुनिलो पानीमा पर्याप्त मात्रामा पाइन्छ। हैजाको पहिलो ठूलो महामारी सन् १८१७ मा देखिएको थियो र विश्वको चारै दिशामा अन्तर्राष्ट्रिय व्यापार मार्ग हुँदै फैलिएको भन्ने विश्वास गरिन्छ।
यो रोग सन् १८३२ मा बेलायतको लण्डनमा तीव्र औद्योगिकीकरणको मध्य समयमा भएको थियो। यसबाट बेलायतमा ७००० मानिसको मृत्यु भएको थियो। यो रोग त्यहाँबाट अमेरिकाको न्युयोर्कमा फैलिँदा दैनिक १०० जनाको मृत्यु भएको थियो। यस रोगको अनुसन्धान हुँदै जाँदा सन् १८४९ मा डा जोन स्नोले फोहोर पानीको कारणले हुन्छ भन्ने पत्ता लगाएको हुनाले गर्दा उनलाई फादर अफ पब्लिक हेल्थ भनिन्छ। हैजाले यस रोगले हालसम्म सात ठूला महामारी गराएको छ र माहामारीहरु क्रमश: इन्डिया, रसिया, बेलायत, अमेरिका, अफ्रिका हुँदै सातौ महामारी सन् १९६१ मा इन्डोनयसियामा देखिएको थियो। त्यसपछि पनि १९७१ मा अफ्रिका, १९९१ मा अमेरिका र सन् २०१० मा अफ्रिकन देश हैटीमा देखिएको थियो र यस रोग सर्नुको कारण नेपालको शान्ति सेनामाथि लगाइएको थियो यद्यपि यो प्रमाणित हुन सकेन।
नेपालमा पनि हैजा परापूर्वकालदेखि नै ठूलो स्वास्थ्य समस्याको रुपमा थियो भन्ने कुरामा विश्वास गर्न सकिन्छ किनभने काठमाडौं उपत्यकामा यस रोगलाई लक्षित गर्दै हालको टेकु अस्पताललाई झाडापखाला रोग अस्पताल भनेर त्यस समयमा नामकरण गरिएको थियो। इतिहास हेर्ने हो भने यो रोगका कारण दसौं लाख मानिसको मृत्यु भएको छ। यस रोगका कारण हाल पनि प्रत्येक वर्ष ३० देखि ५० लाख मानिस बिरामी पर्ने गरेको र त्यसमध्ये १ देखि २ लाख मानिसको मृत्यु हुने गरेको छ। यो रोग फोहोर पानीका कारण हुने हुँदा असुरक्षित पानीको प्रयोग हुने गरिब विकास उन्मुख राष्ट्रहरुमा जोखिम कायम छ। यो रोग विरुद्ध हाल खोप र जलबियोजन नियन्त्रणका लागि जीवनजलको प्रयोग र उपलब्धता साथै सचेतना र सफा सुरक्षित पानीको प्रयोगले गर्दा वर्षेनी यस रोगबाट हुने महामारी घट्दो क्रममा छ।
३. स्पानिस फ्लु (१९२०)
यस रोगलाई इन्फ्लुएन्जा महामारी पनि भनिन्छ। यो रोग एनवानएनवान इन्फ्लुएन्जा भाइरसले गर्दा हुन्छ। यो रोग जनवरी सन् १९१८ देखि डिसेम्बेर १९२० सम्म देखापरेको थियो। यो रोगबाट विश्वको कुल जनसंख्याको एक तिहाई जनसंख्या संक्रमित भएको थियो र ५ करोडदेखि १० करोड जनसंख्याको मृत्यु भएको अनुमान गरिएको छ। यसको कुल मृत्युदर १० प्रतिशत छ। यो रोग पहिलो विश्वयुद्धको उत्तरार्धतिर सुरु भएको थियो। विश्वयुद्धको क्रममा सेनाहरु बंकर भित्र नै बस्नेखाने र युद्ध गर्नुपर्ने हुन्थ्यो। त्यस स्थानको सर-सफाइ राम्रो हुँदैनथ्यो र ताजा हावा हुँदैनथ्यो। त्यस क्रममा कसैलाई श्वासप्रश्वासजन्य रोगको संक्रमण भए सजिलै अन्य सेनामा सर्दथ्यो।
स्पानिस फ्लु तीन चरणमा देखिएको थियो र सुरुमा वृद्ध उमेर समूहमा संक्रमण देखिए तापनि पछि वयस्क उमेर समूहमा देखियो। यसको संक्रमण हुँदासम्म एन्टिबायोटिक्स पत्ता नलागेकोले पनि धेरै जनाको अन्तिममा निमोनियाको कारण मृत्यु भएको थियो। प्रथम विश्वयुद्धमा भाग लिने अमेरिकी सेनाहरूमा यो रोग पहिला देखिएको थियो र क्रमश: फ्रान्सेली सेना र अन्य युरोपेली देशका सेनामा पनि देखिएको थियो तर सबै देशमा सञ्चार माध्यममाथि सेन्सरसिप कायम भएकोले गर्दा कुनै राष्ट्रले पनि यस रोगबारे बोल्दा युद्ध प्रभावित हुने देखेर बोलेनन्। यसरि रोग फैलिँदै जाँदा स्पेनका राजामा पनि देखिएको थियो। त्यसबेला स्पेनले विश्वयुद्मा भाग नलिएको हुँदा त्यहाँ मिडियामाथि कुनै सेन्सरसिप थिएन। त्यसैले यो रोगबारे जानकारी स्पेनबाट आएकोले यसको नाम स्पेनिस प्लु राखिएको थियो।
प्रथम विश्वयुद्ध समाप्तिपश्चात् इन्डिया फर्कने क्रममा बम्बई पोर्ट हुँदै सैनिक देश भित्रिएका थिए। पछि इन्डियन रेलमार्ग हुँदै घर जाँदा यो रोग पूरै इन्डियाभर देखिएको थियो र इन्डियामा मात्र १०-२० मिलियन भारतीयको मृत्यु भएको थियो, यो त्यसबेलाको कुल जनासंख्याको ६ प्रतिशत मृत्यु थियो। यस रोगलाई इन्डियामा बम्बे फिभर पनि भनिन्छ। यस रोगले अमेरिकामा मात्र ६ लाख ७५ हजार जनाको मृत्यु भएको थियो। जसको कारण त्यस देशको औसत आयु १२ वर्ष घटेको थियो, ५१ वर्ष बाट ३९ वर्ष।
४. कोभिड-१९ (२०२०)
कोरोना भाइरस त्यस्ता भाइरस अन्तर्गतको समूह हो जसले विशेषगरी जनावर र चराचुरुंगीमा रोग लगाउँछ। यसले मानिसमा सामान्य रुघाखोकीदेखि लिएर खतरनाक रोग Severe Acute Respiratory Symptoms (SARS),२००२, Middle East Respiratory Symptoms (MERS), २०१२ र COVID-19 वा कोरोना, २०१९ जस्ता खतरनाक रोग लगाउन सक्छ। यस शताब्दीमा यो भाइरसका कारण करोडौं मानिस संक्रमित र लाखौंको मृत्यु भएको छ। यसले हालसम्म तीन वटा महामारी सिर्जना गरेको छ।
पहिलो महामारी SARS रोग सन् २००२ मा चीनको गवान्दोंग प्रान्तबाट सुरु भएको थियो। यस रोगबाट ८४३९ जना बिरामी प्रमाणित भएका थिए भने कुल ८१२ जनाको मृत्यु भएको थियो। यो रोगको कुल मृत्यु दर ९.६ प्रतिशत थियो। यो रोग चमेरोबाट सिबेट र मानिसमा सरेको अनुमान गरिन्छ। यो रोग हालसम्म पनि स्वास्थ्य समस्याका रुपमा विश्वभर छ।
दोस्रो माहामारी मर्स रोग सन् २०१२ मा साउदी अरेबियाको ६० वर्षका पुरुषको खकार जाँचको क्रममा उनको निधन भएको ३ महिनापछि यो भाइरसबाट लाग्ने रोग पत्ता लागेको थियो। यस रोगका कारण जम्मा २५२१ बिरामी प्रमाणित भएका थिए भने कुल ८६६ जनाको मृत्यु भएको थियो। यसरि यो रोगको कुल मृत्युदर ३४.३ प्रतिशत थियो। यो रोग चमेरोबाट उँट र मानिसमा सरेको अनुमान गरिन्छ।
तेस्रो र ठूलो महामारी कोभिड-१९ सन् २०१९ को डिसेम्बरमा चीनको वुहान सहरबाट सुरु भएको थियो। यो रोग क्रमश: त्यहाँबाट अमेरिका, युरोप, अफ्रिका हुँदै पूर्ण एसियाली देशहरुमा फैलिएको छ। यो रोग पनि चमेरोबाट पन्गोलियन हुँदै मानिसमा सरेको अनुमान गरिएको छ। यस रोगले हालसम्म २.५ करोड मानिसमा संक्रमण गरेको छ भने ८.५ लाख मानिसको मृत्यु भएको छ। यो रोग अन्य सार्स भाइरसको तुलनामा बढी समुदायमा फैलिनसक्ने देखिएको छ भने कुल मृत्युदर २ प्रतिशत हाराहारी छ।
कोभिड-१९ को मुख्य लक्षण भनेको उच्च ज्वरो आउने, थकावट महसुस हुने, सुख्खा खोकी लाग्ने, मांसपेसी दुख्ने, श्वास फेर्न गाह्रो हुनु हो अन्य थप लक्षणमा टाउको दुख्ने, खानामा अरुचि हुने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने आदि हुन्। यो रोग लागेका ८० प्रतिशत मानिसमा अति सामान्य लक्षण र १५ प्रतिशतमा केही मध्यम लक्षण तथा ५ प्रतिशतमा जटिल प्रकारका लक्षण देखिन्छ। यो रोगबाट बच्न सामाजिक दूरी कायम गर्ने, साबुनपानी वा स्यानिटाइजरले हात सफा राख्ने, मास्कको प्रयोग गर्ने आदि कार्य गर्नु उपयुक्त मानिन्छ। बन्दा-बन्दी यो रोगबाट बच्ने उपाय नभए तापनि समुदायमा यस रोगको फैलावटलाई रोक्न र जटिल अवस्थाका बिरामीलाई स्वास्थ्य सेवा दिएर जीवन बचाउन भने राम्रो मानिन्छ। यद्यपि, यसले देसको आर्थिक अवस्थालाई ठूलो हानिनोक्सानी हुन्छ। आउँदा दिनमा खोपको उपलब्धता र स्वास्थ्य जटिलता व्यवस्थापनले यो रोगको सर्ने दर र कुल मृत्युदर अझै घट्ने र विश्व पुरानो लयमै फर्कने अनुमान गरिएको छ।
जुनसुकै महामारीजन्य रोग देखिनुको मुख्य कारण भनेको प्राकृतिक प्रकोपबाट सिर्जित संकटपूर्ण अवस्थाको व्यवस्थापन समुचित ढंगले समयमै हुन नसक्नु हो भने अर्को मुख्य कारण मानवीय, बढ्दो सहरीकरण, अन्तर्राष्ट्रिय व्यापार, जलवायु परिवर्तन, अखाद्य वस्तुको प्रयोग, खानपान, मानिस- जनावरबीचको सामिप्यता आदि हुन्। सबै रोगको सुरुवात यिनै कारणबाट हुने हुँदा खानपान, आहार–बिहार, बासस्थान, योगाभ्याससहित हालको जीवन पद्धतिमा आमुल परिवर्तन ल्याउने हो भने यस्ता महामारीजन्य रोगबाट मुक्ति सम्भव देखिन्छ।
(मेडिकल माइक्रोबायोलोजिस्ट पौडेल मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान) का प्रदेश-३ अध्यक्ष हुन्।)