श्रीधर आचार्य
विगत १९ दिन अगाडि मलाई कोभिड संक्रमण भएको पुष्टि भयो। यी १९ दिन मेरा लागि आपराधिक कार्यमा संलग्न भएजस्तै भयो। नेपाल सरकारका सबै मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेँ। आफ्नै घरको एउटा कोठामा नजरबन्दमा पर्दाको अनुभव थियो यो मेरा लागि। आफ्नो घरमा सिल लगाइएर म मात्र होइन, मेरो सम्पूर्ण परिवारसमेत नजरबन्दमा पर्यो। मेरो परिवार भएको मेरो घरलाई एउटा आपराधिक केन्द्रका रुपमा प्रचारप्रसार गरियो। यो एउटा दुखद् अनुभव थियो।
कोभिड-१९ पोजेटिभ भएको १९ दिनपछि फेरि मेरो पिसिआर टेस्टको रिजल्ट नेगेटिभ आएको छ। यो मेरा लागि उत्कृष्ट नतिजा थियो। तर समाजका लागि भने अदालतबाट सफाइ भएको अभियुक्तजस्तो। कता कता तुष बाँकी नै रहेजस्तो। म फेरि एकाएक यो समाजको सामान्य व्यक्ति भएको महसुस मलाइ भइरहेको थियो। तर समाजका लागि अझ पनि पहिलाको जस्तो सामान्य व्यक्ति भइसकेको छैन। एउटा सामान्य व्यक्ति वा सोसरह बाँच्न पाउने फैसला गरिदिने यहाँ चाँहि अदालत थिएन, कोभिडको ल्याब थियो। आफू निर्दोष भएको दाबी गर्दै पहिलाजस्तै सामान्य व्यवहारको अपेक्षामा छु। दिनदिनै सामान्य हुने क्रम विस्तार हुँदै जाला भन्ने अपेक्षा गरेको छु।
सरकारले जारी गरेका सबै मापदण्ड पूर्ण पालना गर्दै आगामी दिनमा पूर्ण सचेत रहने र अरूलाई पनि सचेत गराउने वाचासहित १९ दिनपछि आफ्नै घरबाट थुनामुक्त भएको छु। परिवारका कुनै पनि सदस्य, कार्यालय अनि आफ्नो टोलमा संक्रमण नफैलाउन म सचेत थिएँ। सकेसम्म प्रयास गरेको छु। अझ पनि यो क्रम जारी नै रहनेछ।
आफू मात्र संक्रमित भई निको पनि भइसकेकाले म नियमित काममा फर्कनुपर्ने बाध्यतामा छु। सायद यस्तो बाध्यता सबैलाई हुन्छ पनि होला। पारिवारिक जिम्मेवारी पनि छ। यसलाई कति पनि विचलित नभइकन पूरा गर्नुपर्ने छ। यस्तो सबैलाई हुन्छ। पारिवारिक जिम्मेवारी पूरा गर्नु अरुको भन्दा असाधारण काम होइन। तर म काममा फर्कने भएकोमा अझै पनि कसैलाई मप्रति आपत्ति छ भने सरकारको नियमअनुसार सजाय भोग्न वा मापदण्डमा बस्न अझै पनि तयार नै छु।
आफू संक्रमित भएकाले संक्रमितले के अपेक्षा गर्नेरहेछन् भन्ने कुरा मलाई थोरबहुत अनुभव छ। उनीहरूलाई प्राप्त हुने सान्त्वनाको ठूलो महत्व हुने रहेछ। म कोरोना संक्रमितहरुलाई चाहिने सहयोग गर्न सक्दो प्रयासमा थिएँ र छु पनि। अबका दिनमा अझ बढी केन्द्रित हुन्छु।
प्लाज्माथेरापीबाट उपचार गर्दा गम्भीर अवस्थाका संक्रमितलाई पनि निको बनाउन प्रभावकारी हुन्छ भन्ने प्रमाणित भइसकेको छ। प्लाज्माथेरापीबाट संक्रमितहरुको उपचार गर्नुपरेको अवस्थामा म आफू पनि रगत दान गर्न इच्छुक छु। आफ्नो रगतबाट कसैको ज्यान बच्छ भने किन प्लाज्मा दान नगर्ने? यदि आफूले दान गरेको प्लाज्माबाट कसैको ज्यान बच्यो भने यो भन्दा ठूलो सन्तुष्टि केमा होला? त्यही भएर पनि म त प्लाज्मा दानका लागि तयार नै छु। तर सरकारले अझै पनि यसमा जनचेतना फैलाउँदै सबै संक्रमितको विवरण राखेर समस्यामा परेका संक्रमितलाई छिटो उपचार गर्न व्यवस्थापन गर्नुपर्ने धेरै काम छ जस्तो लागेको छ। अब सरकारी ध्यान यता पनि केन्द्रित हुन आवश्यक छ।
समाजमा संक्रमितहरूप्रति दुर्व्यवहार हुन नदिन समाजका सबैको दायित्व उतिकै महत्वपूर्ण हुन्छ। संक्रमितलाई गरिने हाम्रो व्यवहार परिवर्तन हुन आवश्यक छ। समाजमा कोरोना फैलने जोखिम दिन प्रतिदिन उच्च हुँदै गएको छ। रोकथामको लागि सरकारले प्रयास जारी राख्दा पनि सफल नदेखिएको अवस्था छ। सरकारले अरु सबै छोडेर हस्पिटल थप गर्न र आवश्यक स्वास्थ्य उपकरण, आइसियु, भेन्टिलेटरको जोहो गर्न अब ढिलो गर्नु हुँदैन। सरकारले तत्परता देखाएन भने भोलि जनताले अर्कै सरकार खोज्न पर्ने स्थिती नआउला भन्न सकिन्न।
जनताले आफै सचेत हुने मात्र नभएर अब संक्रमण भइहालेको खण्डमा उपचार पनि आफैले गर्नु पर्ने स्थिति आइसकेको देखिन्छ। कोरोनालाई आफैंले जितेर निको पार्नु पर्ने भएको छ। आफ्नै खर्च गर्नुपर्ने अवस्था छ। जो पनि संक्रमित हुन सक्ने रहेछ। स्वास्थ्य सुरक्षाका उपाय अपनाउन हेलचक्र्याँई नगर्न सबैमा अनुरोध गर्छु। उच्च संयमता र मापदण्ड अपनाई आफ्नो दैनिकी चलाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
बन्दाबन्दीले अझै कति दिन आफ्नो रोजिरोटी बन्द गरी बस्नुपर्ने हो कुनै निश्चित छैन। बन्दाबन्दी र निषेधाज्ञालाई पनि अब जीवनशैलीकै अभिन्न अंगका रूपमा स्वीकार गर्ने बेला आएको छ। सावधानीपूर्वक सबैको संयुक्त प्रयासमा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न सकिन्छ। हामी सबैको साझा प्रयास आवश्यक छ।
अन्त्यमा, मेरो सुस्वास्थ्यको कामना गर्ने मेरो परिवार, आफन्त, छिमेकी, साथीभाइलगायत सम्पूर्ण महानुभावले प्रकट गर्नु भएको स्नेह, प्रेम, आशिर्वाद, कामना र प्रार्थना गर्नुहुने सम्पूर्णमा हृदयदेखि आभार प्रकट गर्दछु। यहाँहरूको हौसलाले नै म १९ दिनमा कोरोना संक्रमण मुक्त हुन सफल भएको छु। केही मानिसले सामाजिक रूपमा दुर्व्यवहार गरेपनि मप्रति धेरैले दर्शाएको सहानुभुति प्रति नतमस्तक छु।
हाम्रो समुदायमा कोरोना भाइरस फैलिइसकेको छ। अब हामी जो कोही पनि संक्रमित हुन सक्छौं। हामी सबै संभावित संक्रमित भइसकेका छौं। संक्रमितप्रति दुर्व्यवहार गर्ने नै पनि संक्रमित हुन सक्छ। तसर्थ गम्भीर भएर सोच्न सबैलाई अनुरोध गर्छु कि, आज दुर्व्यवहारमा उद्यत तपाईंलाई भोलि संक्रमण भयो भने अरूबाट तपाईंले गरेत्यस्तै दुर्व्यवहारको अपेक्षा गर्नुहुन्छ?
अर्कोतर्फ यदि कसैलाई संक्रमण भइहालेमा पट्क्कै नआत्तिन म अनुरोध गर्छु। उच्च मनोबल राखेर यसलाई सामान्य रुपमा लिए निको हुन सकिन्छ। सबै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु। मृतकप्रति श्रद्धाञ्जली। साथै यहाँहरु सम्पूर्णमा नमन।