फिचर

सुदूर पहाडका एक्ला सर्जन

सापटी गरेरै पनि दुर्गमका दीनदु:खीको उपचार गर्दै

पूर्णबहादुर खड्का

अछाम- सन् २००९ मा काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस पूरा गरी २०१५ मा फिलिपिन्सबाट रेसिडेन्सी सकेका अर्थोपेडिक सर्जन हुन् डा मन्दीप पाठक। सुदूर पहाडका अछामसहित बाजुरा, डोटी, बझाङ, बैतडी तथा कर्णालीका दैलेख, कालिकोट, हुम्ला र मुगुसम्मका जिल्लाका जनतालाई बयालपटामा सेवा दिइरहेका डा पाठकले २०१७ मा मलेसियाबाट अर्थोपेडिक अन्कोलोजीमा फेलोसिप समेत गरेका छन्।

सुदूर पहाडका धेरै जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी बढी नै रिक्त रहेका बेला विशेषज्ञ डाक्टर सधैं बसिरहने कुरा त धेरै टाढाको विषय हो। धेरैजसोले बस्न नरुचाएका बेला उनी एक्ला सर्जन हुन्। न्याय हेल्थ नेपालँंग आवद्ध डा पाठक विगत ५ वर्षदेखि अनवरत रुपमा दुर्गममा बिरामीको सेवामा क्रियाशील छन् उनी।

डा पाठक अछाममा मात्रै बिरामीको उपचार गर्दैनन्, दोलखाका बिरामीको पनि उपचार गर्न भ्याउँछन्। ६-६ महिना अछाम र दोलखा बसेर हार्डजोर्नीको सेवा दिने गरेका डा पाठक दुर्गम भएकै कारण अछाममा बढी समय बसेर सेवा दिने गरेका छन्। उनले यो अवधिमा थुप्रै बिरामीको निःशुल्क सफल हाडजोर्नीको शल्यक्रिया गरेका छन्।

बोलीवचनमा पनि मिजासिला डा पाठक बिरामीलाई निको बनाएर मात्र घर पठाउनुपर्छ भन्ने ठान्छन्। उसो त न्याय हेल्थ नेपालद्वारा सञ्चालित स्वास्थ्य संस्थामा सबै प्रकारका सेवा निःशुल्क छन् तर पनि हाडजोर्नीका लागि आवश्यक पर्ने छुट्टै उपकरणको सहज उपलब्धता छैन। डाक्टर पाठक आफैं विदेशी दातृ निकायसँग समन्वय गरेर भए पनि उपकरणको बन्दोबस्त गरी बिरामीलाई निःशुल्क सेवा दिन्छन्।

कहिलेकाहीं त गरिब-दुःखी बिरामीलाई बाहिर जान नसक्ने परिस्थितिमा डा पाठकले उपलब्ध उपकरण नहुँदा सापटी मागेर भए पनि उपचार गरेर बिरामीको मन जित्न सफल भएका छन्। बिरामी उपचार पाएर निको हुँदै घर फर्केपछि अर्को जीवन पाएको अनुभूति गर्छन् उनी। एक सय बढीलाई उनले दोस्रो जीवन दिएजत्तिकै उपचार गर्न सफल भएका छन्।

काठमाडौंमा बसेका डाक्टर पाठकलाई दुर्गमका व्यावहारिक असुविधाले खासै फरक पारेन तर दुर्गममा बिरामीले सेवा नपाएको हेक्का भने मनमा सधैँ भइरहयो। बेलाबेला सेवा नपाएर फर्किएका बिरामीलाई सम्झेर उनको मन च्वास्स हुन्छ। नेपालमा शल्यक्रिया गर्ने डाक्टरको संख्या कम भएर पनि होला छिटपुट बाहेक सबै सर्जन सहर केन्द्रित हुन्छन्। डा पाठक भने सुदूरपश्चिमका बिरामीलाई सेवा दिँदै आएका छन्। उनी कर्णालीका केही जिल्ला तथा सुदूर पहाडका बिरामीलाई हार्डजोनीको सेवा लामो समयसम्म दिने एक मात्र सर्जन हुन्।

‘काठमाडौं जस्ता ठूलाठूला सहरहरुमा बिरामीका लागि विकल्प धेरै छन्,’ उनी भन्छन्, ‘मैले रेसिडेन्सी प्रशिक्षण पूरा गरिसकेपछि म त्यस्तो ठाउँमा काम गर्न चाहन्थें जहाँ आफ्नो सिपको प्रयोग गर्न सकुँ र अझ राम्रो प्रभाव बिरामीसामु छोड्न सकुँ।’ नेपालका अर्थोपेडिक सर्जन डा भास्करसँग सम्पर्कमा रहेकाले आफूलाई बयलपाटा अस्पताल र यसले नेपालको ग्रामीण ठाउँमा गरेको स्वास्थ्य सेवा लगायत राम्रो कामको जान्ने अवसर मिलेसँगै संयोगवश यसै संस्थासँग आबद्ध हुने अवसर मिल्यो।

‘यति बिरामीको शल्यक्रिया गरें भन्ने एकिन संख्या त छैन,’ उनी भन्छन्, ‘राम्रो सेवा दिनको लागि यथाशक्य प्रयास गरिरहेको छु।’ अछाममा दोलखाभन्दा शल्यक्रियाको संख्या बढी छ। यहाँ हरेक महिना करिब ८० देखि १२० ठूला शल्यक्रिया हुन्छन् भने दोलखामा २० देखि ३० शल्यक्रिया हुन्छन्। डा पाठक भन्छन्, ‘हाम्रो दुवै अस्पतालमा ट्रमा सर्जरीको ठूलो आवश्यकता छ तर अछाम नजिक कुनै ठूलो अस्पताल छैन। यहाँ बिरामी संख्या बढी नै छ, त्यसकारण अछामका लागि हाडजोर्नीको सेवा अपरिहार्य जस्तै छ।’

उनलाई सम्झना छ, सुरुवातकै दिनमा एक महिलाको मिलमा चामल पिस्दा हात नराम्रोसँग खुला फ्याक्चर भएको थियो। जसको आपतकालीन शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। जब उनी शल्यक्रियाको लागि गए, ती महिला १ वर्षको बच्चालाई दूध खुवाइरहेकी थिइन्। आफ्नो पीडामा पनि उनले बच्चाप्रति देखाएको माया देखेर डाक्टर पाठकको मन छोयो। ‘अछाम जस्तो ठाँउमा मानिसले (अझ महिलाले) सामना गरिरहेका कठिनाइहरू महसुस गरें,’ उनी भन्छन्, ‘यदि हामी नभएको भए उनले अर्को अर्थोपेडिक सर्जनलाई भेट्न मात्र १० देखि १२ घन्टासम्म यात्रा गर्नुपर्ने हुन्थ्यो र लाखाँै खर्च गर्नु पथ्र्यो।

‘मेरुदण्डको समस्या लिएर आएका बिरामीलाई साधनस्रोत भएको भए सजिलै उपचार गर्न सकिन्थ्यो होला तर सेवा दिन नसकी बाहिर पठाउन बाध्य हुँदा दुःख महसुस हुन्छ,’ डा पाठक भन्छन्, ‘यस्ता खालका बिरामीको उपचारका लागि स्थानीयदेखि प्रदेश सरकारले आर्थोपेडिक सर्जरीलाई बढावा दिनुपर्छ। भौगोलिक आधारमा रणनीतिक कार्ययोजना बनाई अस्पतालहरुको पहिचान गरी ट्रमाको सेवा दिने खालको वातावरण तयार पार्नुपर्छ।

सहरमा निजी अस्पताल त छन् तर आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सरकारी वा सार्वजनिक अस्पताल तथा सुदूरपश्चिम प्रदेशमा दीर्घकालीन रुपमा ट्रमाका अस्पताल आवश्यक रहेको उनको बुझाइ छ। बयालपाटा अस्पतलालाई यस प्रदेशको भरपर्दो ट्रमा तथा अर्थोपेडिकको केन्द्रका रुपमा स्थापित गर्ने चाहना उनको छ। डा पाठक भन्छन्, ‘गेटा वा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ष्ठिानसँग समन्वय गरेर २४सै घटा अर्थोपेडिक सेवा बनाउने मन छ।’

यस क्षेत्रका जनता, समाजसेवी, राजनीतिक दल तथा सरकारहरुको सहयोग रहे बयलपाटामा अर्थोपेडिकसँगै स्पाइन सर्जरी, स्पोर्ट सर्जरी तथा बालशल्यक्रिया पनि सञ्चालन गर्न सकिने उनी बताउँछन्। शल्यक्रियाको सेवा सुलभ, उत्तरदायी, भरपर्दो र प्रभावकारी तथा दीर्घकालीन बनाउन अन्तर्राष्ट्रिय संघसंस्थासँग मिलेर भए पनि बयलपाटालाई ट्रमाको अनुसन्धान केन्द्रका रुपमा विकसित गर्नुपर्छ भन्ने डा पाठकको धारणा छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने