विमला तिमिल्सिना महरा
सुरुवाती दिनको त्यो त्रास
२०७६ माघमा १ जनामा कोरोना संक्रमण देखिएर निको भइसक्दा समेत कसैलाई खासै चासो थिएन। जब चैत्त १० र ११ गत्ते काठमाडौंकी एक युवती, धादिङका एक युवा र बाग्लुङकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भयो तब हामी स्वास्थ्यकर्मी र आम जनताको होस नै उडायो।
न कुनै तालिम, न कुनै व्यक्तिगत सुरक्षा उपकरण। एकातिर डर र अर्कातिर जिम्मेवारी आइसकेपछि एक स्वास्थ्यकर्मीको हैसियतले न कुनै डर मानेर छुट थियो न त्रासले बिदा नै पाइन्थ्यो। जतिजति संक्रमणको दर बढ्दै गयो त्यतित्यति हामी स्वास्थ्यकर्मी पनि निरन्तर स्वास्थ्य उपचारमा खटियौँ। कहिल्यै संक्रमणको डर र त्रासले उपचार गर्नबाट पछि हटेनौँ। जनतालाई स्वास्थ्य सेवा दिइरह्यौं र दिइरहेका छौं।
सेवा प्रभावित हुन नदिन वैकल्पिक व्यवस्था
जनताले पाउने आधारभूत स्वास्थ्य सेवादेखि अस्पतालले दिनसक्ने विशेषज्ञ सेवाबाट जनतालाई कहिल्यै वञ्चित गरेनौँ। कोभिड-१९ संक्रमणको पहिलो दिनदेखि आजसम्म अत्यावश्यक सेवा २४सै घण्टा खुला नै रह्यो। ओपिडी सेवा भने अस्पतालका ७ जना स्वास्थ्यकर्मीलाई आरडिटी पोजेटिभ देखिएपछि ६ महिनामा जम्मा एक साताका लागि बन्द भएको थियो।
स्वास्थ्यकर्मीहरुलाई आरडिटी पोजेटिभ देखिएपछि गत जेठ ७ गतेपछि एक साताका लागि बन्द ओपिडी हुनपुग्यो। त्यसपछि केही दिन दैनिक १२ घण्टा ड्युटी गर्दै कम एक्सपोज भई सेवा प्रदान गरिएको थियो भने त्यसयता ट्राभल हिष्ट्री सहित शङ्कास्पद बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा राख्दै अन्य स्वास्थ्यकर्मीद्वारा ओपिडी लगायत सबै सेवा निरन्तर दिइँदै आएको छ।
अहिले बिरामीको धेरै भीडभाड हुने काठमाडौंस्थित देशकै सबैभन्दा ठूलो वीर अस्पतालदेखि भरतपुर अस्पताल, विराटनगरस्थित कोशी अस्पताल, धनगढीको सेती प्रादेशिक अस्पताल लगायत देशभरिका धेरैजसो प्राइभेट अस्पतालहरु मात्रै नभएर बिरामीको चाप अति न्यून भएका हिमाली जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरुका कार्यरत स्वास्थ्यकर्मीसमेत ठूलो संख्यामा कोभिड-१९ संक्रमित भइरहँदा बागमती प्रदेशस्थित धादिङ अस्पताल भने आफ्ना स्वास्थ्यकर्मीहरुलाई कोभिड-१९ संक्रमण हुनबाट जोगाउँदै अस्पतालका आकस्मिक एवं नियमित सेवाका साथै कोभिड-१९ संक्रमणका बिरामीको उपचार समेत गर्दै आएको छ।
देशभर यति ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भइरहँदा धादिङ अस्पतालले आफ्ना स्वास्थ्यकर्मी तथा अस्पतालमा उपचाररत बिरामीहरुमा संक्रमण फैलिन नदिई कोभिड र ननकोभिड बिरामीलाई निरन्तर दिँदै आएको सेवालाई सबैले सकारात्मक रुपमा लिएका छौं।
संक्रमण फैलिन नदिन उच्च सतर्कता
देशभर यति धेरै स्वास्थ्यकर्मीहरु संक्रमित भइरहँदा धादिङ अस्पतालले स्वास्थ्यकर्मी र अस्पतालभित्र संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको छ। अस्पतालमा नियमित रुपमा फिभर क्लिनिक सञ्चालनमा छ। फिभर क्लिनिकले शंकास्पद तथा लक्षणयुक्त व्यक्तिहरुलाई अस्पतालकै आइसोलेसनमा राख्ने र लक्षण नभएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने गरेको छ। स्वास्थ्यकर्मी, बिरामी, बिरामी कुरुवा तथा अस्पतालभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्कको प्रयोग गर्दै र गराउँदै आएको छ। अस्पतालको फेसबुक पेजबाट नियमितजसो कोभिड-१९ सम्बन्धी सूचनाहरु राख्दै आएको छ।
कोभिड बिरामीको उपचारमा छुट्टै मापदण्ड
धादिङ जिल्लामा संक्रमित भेटिएसँगै शंकास्पद बिरामी र कोभिड-१९ पोजेटिभहरुका लागि छुट्टै आइसोलेसन बनाइएको छ। धादिङ अस्पताल अन्तर्गत आइसोलेसनका लागि ४ जना छुट्टै स्टाफ नर्स र अन्य डाक्टरहरु २४सै घण्टा खटिएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोभिड-१९ को उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीहरु १४ दिनको ड्युटीपश्चात् एक हप्ता क्वारेन्टाइन बसी कोभिड-१९ परीक्षणपछि मात्रै पुन: उपचारमा खटिने गरेका छन्।
आइसोलेसनमा कोभिड-१९ का बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले अनिवार्य उच्च गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र सेनिटाइजरको प्रयोग गर्दै आउनुभएको छ। संक्रमित एवं शंकास्पद बिरामीको आइसोलेसन अस्पतालभन्दा छुट्टै हुनुले पनि अस्पतालले अन्य बिरामीको उपचार नियमित गर्न सकेको छ। यसको अर्को फाइदा भनेको अन्य अस्पतालहरुमा झैं धादिङ अस्पतालका स्वास्थ्यकर्मी र अस्पतालमा उपचाररत अन्य बिरामीमा कोभिड संक्रमण फैलिनबाट रोकिएको हामी स्वास्थ्यकर्मीहरुले महशुस गरेका छौं।
नियमित अभिमुखीकरण र स्वास्थ्यकर्मीको परीक्षण
समय–समयमा अस्पतालले कन्टिनियस मेडिकल एजुकेसन कक्षाहरु राख्दै आएको छ। इन्फेक्सन प्रिभेन्सन ट्रेनिङमार्फत कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा अपनाउनुपर्ने आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी अभिमुखीकरण गरिँदै आएको छ। समय–समयमा अस्पतालले आफ्ना सबै कर्मचारीहरुको कोभिड-१९ परीक्षण गराउँदै आएको छ। कोभिड-१९ को प्रत्यक्ष उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीहरुको हरेक १४ दिनमा र नेपाल सरकारले पछिल्लो समय सबै स्वास्थ्यकर्मीको कोभिड-१९ परीक्षणपछि मात्रै उपचारमा खटाउनु भन्ने निर्देशनबमोजिम समयसमयमा परीक्षण गरिँदै आएको छ। पछिल्लो पटक भदौ २ गते अस्पतालका ३९ जना स्वास्थ्यकर्मीको कोभिड-१९ को नतिजा नेगेटिभ आएको थियो।
बिरामी रेफर गर्नु नपरोस् भन्ने अस्पतालको नीति
अस्पतालले सकेसम्म बिरामी रेफर गर्नु नपरोस् भन्ने नीति लिएको छ। अस्पतालको जनशक्ति, स्रोत-साधन र उपकरणले भ्याएसम्म अस्पतालमा आएका बिरामीहरुले निराश हुँदै फर्केर जानुपरेको छैन। अस्पतालका सबै बेड अहिले पनि बिरामीले भरिभराउ छन्। अस्पतालबाट सकेसम्म बिरामीलाई अन्यत्र रेफर गर्नु नपरोस् भन्नेमा अस्पताल विकास समिति र सिंगो अस्पतालको टिम एकमत रहेको छ। आइसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने अति सिकिस्त बिरामीबाहेक अन्य बिरामीलाई अस्पतालले रेफर गर्ने गरेको छैन। प्राथमिक स्वास्थ्य केन्द्र र ग्रामीण स्तरका स्वास्थ्य चौकीहरुबाट काठमाडौं रिफर गरिएका बिरामीहरुको समेत धादिङ अस्पतालमा उपचार एवं शल्यक्रियापश्चात् घर फर्किनुले सकेसम्म धादिङ अस्पतालमा आएका बिरामीले काठमाडौं वा अन्यत्र जानु नपरोस् भन्ने अस्पतालको नीति रहेको पुष्टि गर्छ।
एमएनएच इमेर्जेन्सी हेल्प लाइनमार्फत विशेषज्ञ सेवा
अस्पतालले महामारी र लकडाउनलाई केन्द्रित गर्दै एमएनएच इमेर्जेन्सी हेल्प लाइनमार्फत विशेषज्ञ सेवा सुरु गरेको छ। लकडाउनले सवारीसाधन नचलेको समयमा यस अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवनचन्द्र झाले एमएनएच इमेर्जेन्सी हेल्प लाइनको माध्यमद्धारा विशेषज्ञ परामर्श सेवा प्रदान गर्नुभएको थियो। त्यसरी विशेषज्ञ सेवा प्रदान गर्ने क्रममा धादिङ सेर्तुङ स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी महिलालाई प्रसव पीडा जटिल बन्दै जाँदा सुविधासम्पन्न अस्पतालमा पुर्याउन तत्काल सम्भव नभएपछि इमेर्जेन्सी हेल्प लाइनको माध्यमद्धारा विशेषज्ञ परामर्श सेवाबाट सफलतापूर्वक सुत्केरी गराउन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु सफल भएका थिए।
गेटमै स्क्रिनिङ र कुरुवालाई पासको व्यवस्था
बिरामी, उनीहरुका आफन्त र अन्य कुरुवामार्फत नै अस्पतालहरुमा कोभिड-१९ संक्रमण फैलिइरहेको परिस्थितिलाई मध्यनजर गर्दै पछिल्लो समय अस्पतालको गेटबाटै स्क्रिनिङको सुरुवात गरेको छ भने एउटै बिरामीका आधा दर्जनभन्दा बढी कुरुवा निरन्तर आउने क्रम नरोकिएपछि एक जना बिरामीका लागि बढीमा दुई जना कुरुवालाई मात्रै पासको व्यवस्था गरिएको छ।
भेन्टिलेटरसहितको आइसियु सुविधा थप्ने तयारी
अस्पतालमा सामान्य बिरामीदेखि गर्भवतीहरुको अपरेसन, हाडजोर्नीको अपरेसन निरन्तर भइरहेको छ भने कोभिड-१९ महामारीलाई ध्यानमा राखी भेन्टिलेटरसहितको आइसियु सुविधा थप्ने तयारी भइरहेको छ। कोभिड-१९ का बिरामीहरु सिकिस्त भएको अवस्थामा आइसियु सुविधा पाउने छन्। हाललाई आइसियु कोभिडका बिरामीलक्षित भए पनि महामारी नियन्त्रणपश्चात् अन्य बिरामीले समेत आइसियु सुविधा पाउने छन्। फलस्वरुप आइसियु नभएकै कारण बिरामीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। यो हामी स्वास्थ्यकर्मीका लागि मात्रै नभई आम धादिङबासीका लागि खुसीको खबर हो।
निष्कर्ष
देशभर अहिले कोभिड-१९ संक्रमणभन्दा पनि अस्पतालमा उपचार नपाएर अस्पताल चहार्दाचहार्दै बिरामीले ज्यान गुमाउनु परेको छ जुन अत्यन्त दुःखद हो। धादिङ अस्पतालले अत्यावश्यक सेवा, ओपिडी सर्जरी सेवा सँगसँगै कोभिड र ननकोभिडका बिरामीहरुलाई समेत निरन्तर उपचार सेवा दिँदै स्वास्थ्यकर्मी र अन्य बिरामीलाई कोभिड संक्रमणबाट जोगाउन अपनाएको सजगता सकारात्मक रुपमा लिन सकिन्छ।
त्यसैले, बिरामी, अस्पतालमा आउने बिरामी कुरुवा लगायत सबैले अनिवार्य मास्क लगाऔं, नियमित हात धोऔं, सामाजिक दूरी कायम गरौं, उपलब्ध भएसम्म सेनिटाइजर प्रयोग गरौं, स्वास्थ्यकर्मीले पनि सजग होऔं, आफू सुरक्षित हुँदै उपचार गरौं, जनतालाई आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नगरौं।
(महरा धादिङ अस्पतालकी स्टाफ नर्स हुन्।)