- पूर्णबहादुर खड्का
अछाम– २०४० सालमा मुस्ताङको लेतेमा जन्मेका विकास गौचन सुदूर पहाडको अछाम आएको एक दशक पूरा भएको छ। २०५६ सालमा सरकारी स्कुलबाट एसएलसीसम्मको शिक्षा पूरा गरी आइएससी अध्ययन गर्न काठमाडौं छिरेका गौचनलाई एमबिबिएस पढाइका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकर्षित गर्यो। २०६४ सालमा एमबिबिएस सिध्याएर मेडिकल अधिकृतको रुपमा अछाम प्रवेश गरेका गौचन अहिले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशकको भूमिकामा कार्यरत छन्।
दुर्गम क्षेत्रमै हुर्केका डा गौचनलाई स्वास्थ्यमा दुर्गमका जनताको पहुँचको जटिलता, सेवा पाउनुका कठिनाइ देखेका कारण दुर्गममा बसेर जनताको सेवा गर्नुपर्छ भन्ने चाहना मनमा थियो। पढाइकै सिलसिलामा एक वर्ष दुर्गम क्षेत्रमा काम गर्नुपथ्र्यो। त्यहाँका मानिसको आधारभूत स्वास्थ्य सेवामा पनि एकदमै कम पहुँच भएको तितो अनुभवका कारण अछाम आउन असहज लागेन उनलाई।
आफूसँग पढेका डाक्टरदेखि अस्पतालहरु पनि सहरकेन्द्रित भएको बेला दुर्गम ठाउँको स्वास्थ्यमा काम गर्नुपर्छ, सबैको पहुँच राम्रो बनाउनुपर्छ भन्ने इच्छाले आफू अछाम आएको सुनाउँछन्। एउटा चिकित्सक भएको नाताले दुर्गमको अनुभव सँगाल्नुपर्छ भन्ने कुरा मनमा थियो। त्यही अनुसार अछाम आएर न्याय हेल्थ नेपालसँग जोडिन पाउँदा आफू निकै खुसी भएको उनी सुनाउँछन्।
पहुँच र आर्थिक अवस्था राम्रो भएकाहरुलाई सहरकेन्द्रित अस्पतालहरुले नै तानिरहेको बेला आफू एक चिकित्सकको नाताले दुर्गम क्षेत्रको बारेमा बुझ्न पाउने दुर्लभ सौभाग्य मिलेकोमा उनी आफूलाई भाग्यशाली ठान्छन्। स्वास्थ्य सेवा लिन टाढाटाढा जानुपर्ने बाध्यताको प्रत्यक्षदर्शी बनेका उनी दुर्गम पहाडमा हार्डजोर्नीका ठूलाठूला शल्यक्रिया, जटिल प्रकृतिका प्रसूतिका श्ल्यक्रिया जस्ता सेवा जनताले पाउँदा खुसी व्यक्त गर्छन्। १० वर्ष पहिले अछाम प्रवेश गर्दा आफू एक्लो चिकित्सक भएको उनलाई सम्झना छ। अकालमा हुने मृत्यु, असुरक्षित गर्भपतनको कारणले हुने मातृ मृत्यु जोगाउन गरेको प्रयास उनलाई चिकित्सकको नाताले खास लाग्छन्।
‘बाजुराको दुर्गम ठाउँ छताराबाट ३ दिनदेखि सुत्केरी हुन नसकेर पेटमै बच्चाको मृत्यु भएकी तथा पाठेघर फुटेर रगत पेटभरि फैलिएको महिलाको ज्यान जोगाउनु कम चुनौतीपूर्ण थिएन, ‘उनी भन्छन्, ‘आइसियु भएको ठाउँमा राखेर उपचार गर्नुपर्ने खालको बिरामी हुनुहुन्थ्यो, हामीले उहाँलाई यहीँ सफल शल्यक्रिया गरेर बचाउँदा खुसीको सीमा नै रहेन।’ दुर्गममा यस्ता जटिल खालका शल्यक्रिया गरेर कसैलाई दोस्रो जीवन नै दिएको अनुभूति हुन्छ उनलाई।
तर, कहिलेकाहीँ आवश्यक उपकरण, साधनस्रोत नहुँदा अस्पतालमा ज्यान जोगाउन नसक्दा तथा अन्यत्र रिफर गर्नुपर्दा एकदमै पीडा महसुस हुने गरेको उनी सुनाउँछन्। डा गौचनलाई अछामदेखि ठूला अस्तालमा बिरामी पठाउनुपर्दा बाटोको जटिलताले एकदमै पिरोल्छ। उनी भन्छन्, ‘आकस्मिक बिरामीलाई तत्काल रिफर गरी आइसियु, भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ तर उनीहरु अस्पताल नै पुग्न नपाई बाटोमा मृत्यु भएको खबर सुन्दा पीडाबोध हुन्छ।’
यस्ता प्रकारका मृत्यु रोक्नका लागि पहिलो कुरा त स्वास्थ्य प्रणाली एकदम बलियो बनाउन आवश्यक छ। कुनै एउटा संस्था बलियो हुँदैमा समग्र समाजको स्वास्थ्य राम्रो हुन्छ भन्ने हुँदैन। तसर्थ समग्र प्रणालीमा सुधार हुन आवश्यक छ। प्रणाली बलियो भयो हामी सबै कुरा सही समयमा व्यवस्थापन गर्न सक्छौँ भन्ने उनलाई लाग्छ।
दुर्गममा दीर्घकालीन तथा गुणस्तरीय सेवाका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुका साथै हरेक नागरिक, स्वास्थ्य क्षेत्र, जनप्रतिनिधि, ३ तहकै सरकारले जिम्मेवारी बोध गरे नेपालकोे स्वास्थ्यमा आमुल परिवर्तन हुने उनको बुझाइ छ।
डा गौचनको अबको योजना बयलपाटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरुलाई दिगो बनाउनमै केन्द्रित गर्ने रहेको छ। त्यसकै लागि आफू स्वास्थ्यका प्रमुख, स्थानीय तहका प्रमुख, प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयहरुसँग मिलेर काम गरिरहेको उनले सुनाए।
बयलपाटा अस्पतालबाट प्रदान गर्ने सेवाहरु थप्दै, गुणस्तर वृद्धि गर्दै अझै लामो बाटोको यात्रामा अगाडि बढिरहेका डा गौचनले सुनाए। आजभन्दा १० वर्ष अगाडि हालको साँफेबगर नगरपालिकाका ३ वडाबाट सुरु गरिएको सामुदायिक स्वास्थ्य कार्यक्रम जिल्लाका १० स्थानीय तहमध्ये ६ वटा तहमा पुर्याउन सफल हुँदा उनी निकै खुसी छन्।
‘निःशुल्क स्वास्थ्य सेवाको साथसाथै कागजरहित स्वास्थ्य प्रणालीको विकास गर्न विद्युतीय तथ्यांक रेकर्ड प्रणाली लागू गरेका छौँ,’ डा गौचनले भने, ‘नेपालको लागि एकीकृत स्वास्थ्य प्रणालीको नवीनतम र गुणस्तरीय सेवा दिन सकिने मोडेलका रुपमा स्थापित भएको छ।’
विगत ५ वर्षदेखि दोलखाको चरिकोट तथा गएको २ वर्षदेखि हामीले चौरपाटी गाउँपालिकाको चौरमाडौं प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि निःशुल्क रुपमा स्वास्थ्य सेवा दिनु नै यसको उदाहरण भएको उनले बताए। सामुदायिक स्वास्थ्य कार्यक्रम, डिजिटल प्रविधि तथा सेवाको स्तरलाई हेर्ने हो भने यो देशको लागि अध्ययन गर्न मिल्ले खुला किताब भएको उनको बुझाई छ। मुलुकको समग्र स्वास्थ्य प्रणालीमा आमुल पविरर्तन गरी जनताको स्वास्थ्यमा पहुँच बढाउन यसले मद्दत पुग्ने विश्वास उनीमा छ।
एक दशकमा न्याय हेल्थ नेपालले १० लाखभन्दा बढी मानिसलाई निशुल्क स्वास्थ्य सेवा तथा ३ लाख ५० हजार भन्दा बढी मानिसलाई समुदायमा आधारित सामुदायिक स्वास्थ्य सेवा दिन सफल भएको उनले सुनाए।