तस्वीर साैजन्य : नेपाल न्युज बैंक
डा. ओजस्वी शेरचन्द शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति निर्वाचित भएकी छन्। राजनीतिमा उनले सुरुवातकै चरणमा 'ओजनदार उपस्थिति' जनाएकी छिन्। स्वास्थ्य, शिक्षा र अनुसन्धान क्षेत्र (जहाँ उनले जीवन बिताइन्, अब त्यही क्षेत्र)को नीतिगत नेतृत्व गर्ने अवसर उनलाई प्राप्त भएको छ।
सानैदेखि अग्रपंक्तिमा उभिन रुचाउने उनी चिकित्सा क्षेत्र रोजेर अघि बढिन्। एमबीबीएसपछि बायोकेमेस्ट्रीमा एमडी हासिल गर्दै उनले शैक्षिक र अनुसन्धानको क्षेत्रमा बलियो पहिचान बनाइन्। बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि नेपाल मेडिकल कलेजसम्मको उनको व्यावसायिक यात्रा केवल पदोन्नतिको श्रृंखला थिएन, त्यो क्षमता, निरन्तरता र नेतृत्वको अभ्यास थियो। एसोसिएट प्रोफेसरसम्म आइपुग्दा उनले अध्यापन, अनुसन्धान र शैक्षिक व्यवस्थापनमा आफूलाई स्थापित गरिसकेकी थिइन्।
उनको अनुसन्धान क्षेत्र व्यापक छ, भिटामिन डीको कमीदेखि मानसिक स्वास्थ्य, बालबालिकामा रक्त सीसा स्तर, मधुमेह र मुटुरोगसम्म। अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित उनका अध्ययनहरूले नेपालका स्वास्थ्य समस्याको वैज्ञानिक आधारमा व्याख्या गरेका छन्। सन् २०१५ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट प्राप्त ‘मिड-क्यारियर साइन्टिस्ट अवार्ड’ले उनको अनुसन्धान क्षमताको औपचारिक मान्यता दियो। त्यस्तै, ‘मिसेस नेपाल कल्चर २०२३’ उपाधिले उनको सामाजिक उपस्थिति र सांस्कृतिक संलग्नता पनि देखायो।

तर उनको सोच केवल प्रयोगशाला वा कक्षाकोठामा सीमित थिएन। नेपालको स्वास्थ्य प्रणालीप्रति चिन्ता, सुधारको चाहना र घरमै हुने छलफल (जहाँ उनका श्रीमान् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा पनि ‘अव्यवस्था विरोधी’ छविका साथ सक्रिय थिए) । यी सबैले उनलाई ‘केही गर्नैपर्छ’ भन्ने बोधतर्फ धकेल्दै लगे।
यही पृष्ठभूमिमा उनी सामाजिक रूपमा सक्रिय भइन्। काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा वालेन्द्र शाहलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्नु उनका लागि निर्णायक मोड बन्यो। निर्वाचनपछिका स्वास्थ्यसम्बन्धी छलफलहरूमा उनको निरन्तर उपस्थिति र नीतिगत सोचले उनलाई केवल समर्थक होइन, सम्भावित नीति-निर्माताको रूपमा चिनायो।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक समीकरण (जहाँ नयाँ सोच र वैकल्पिक राजनीति अगाडि आउँदै थियो) त्यसले उनलाई प्रत्यक्ष राजनीतिमा ल्यायो। प्रस्ताव आयो, र उनले स्वीकारिन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशसँगै उनी समानुपातिक सूचीबाट प्रतिनिधि सभा सदस्य बनिन्।

संसदमा प्रवेश गरेपछि पनि उनको शैली फरक रह्यो, हचुवाको होइन, अध्ययनको। अनुसन्धानमा जस्तै, उनले हरेक विषयलाई गहिराइमा बुझ्ने र त्यसपछि धारणा बनाउने अभ्यासलाई राजनीति पनि लिएर गइन्। त्यसैले छोटो समयमै उनले आफूलाई प्रभावशाली सांसदको रूपमा स्थापित गरिन्। कार्य व्यवस्था परामर्श समिति, प्रतिनिधि सभा नियमावली संशोधन मस्यौदा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उनको सक्रिय भूमिका देखियो।
अन्ततः, यही निरन्तरता र क्षमताले उनलाई अर्को जिम्मेवारीतर्फ पुर्यायो- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति। यो पद केवल राजनीतिक उपलब्धि होइन, उनको सम्पूर्ण पृष्ठभूमिको स्वाभाविक विस्तार जस्तै देखिन्छ।
डा. ओजस्वी शेरचन्दको राजनीतिमा प्रवेश ‘अनपेक्षित’ जस्तो देखिए पनि, उनको जीवनयात्रालाई नजिकबाट हेर्दा यो एकदमै स्वाभाविक विकासक्रम हो। विज्ञानबाट नीति निर्माणतर्फको यात्रा सहज त पक्कै छैन तर यति स्पष्ट छ, जहाँ उनी उभिन्छिन्, त्यहाँ प्रभाव छोड्ने उनको स्वभावले राजनीतिमा पनि सफलता दिलाउनेछ।