बाबुकाजी कार्की
कोरोना महाव्याधिको चपेटाले मानव जीवनलाई अक्रान्त बनाइराखेको छ। कोरोना कहरमा देवी–देवता समेत निरीह बनेको बेला स्वास्थ्यकर्मी कोरोना संक्रमितका लागि बोल्ने देवता हुन्। संक्रमितलाई आफन्त, नातागोता, साथीभाइ समेत छुन डराउनुपर्ने अवस्थामा स्वास्थ्यकर्मीले मात्रै नजिकबाट स्वास्थ्य परीक्षण र उपचार गरिरहेका छन्।
संक्रमितको प्रत्यक्ष स्वास्थ्योपचारमा खटिएका विश्वका सात हजारभन्दा बढी चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकले ज्यान गुमाएका छन्। चीनको वुहानमा सर्वप्रथम कोरोना भाइरस पहिचान गर्ने चिकित्सककै संक्रमणका कारण मृत्यु भइसकेको छ।
हाम्रा लागि आफ्नो ज्यान नै दाउमा राखेर स्वास्थ्योपचारमा अहोरात्र खटिइराखेका निर्दोष स्वास्थ्यकर्मीमाथि अपमान र आक्रमण गरिनु अक्षम्य अपराध हो। यस्ता अमानवीय तथा असभ्य कार्यमा संलग्न जोकोहीलाई निर्मम कारबाहीको दायरामा ल्याउन विलम्ब गरिनुहुन्न। अन्यथा स्वास्थ्यकर्मीले आफ्नो काम छोडेर आन्दोलनमा उत्रिँदाको परिणाम कोरोना महामारीमा भयावह नहोलाभन्न सकिँदैन।
नेपालमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइकर्मीलाई कोरोना पोजेटिभ देखिइसकेको छ। स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा संक्रमण हुने दर तीव्र गतिमा बढ्दो छ। सौभाग्यवस सबैको स्वास्थ्य अवस्था सामान्य भएको र निश्चित समयको उपचारपछि पेसागत जीवनमा फर्किसकेका छन्। जनसमुदायमा संक्रमितको संख्या बढ्ने गतिसँगै यिनीहरुमा संक्रमण पनि बढ्ने जोखिम उत्तिकै छ।
कोरोना विरुद्धको लडाइँमा अग्रपङ्तिमा रहेका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि आक्रमणका निन्दनीय घटना पनि भएका छन्। केही दिनअघि बाँकेको नरैनापुरमा स्वास्थ्य र सुरक्षाकर्मीमाथि हमला भएको थियो। भरखरै डोटी स्वास्थ्योपचारका लागि आवश्यक सामग्री लिएर स्वास्थ्य केन्द्र हिँडेका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको छ। त्यस्तै कोरोना सर्छ भन्ने आशंका र आरोपमा स्वास्थ्यकर्मीको आफ्नो घर जाने बाटो नै बन्द गरिदिएको घटना सार्वजनिक भएको थियो। कोरोना विरुद्धको लडाइँमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि मानसिक, शारीरिक तथा सामाजिक किसिमले, आक्रमण, दुव्र्यवहार र अपमान हुनु अक्षम्य अपराध हो।
पछिल्लो समय चितवन र काठमाडौंमा नै यस्तो लज्जास्पद घटना घट्नु निन्दनीय दुष्कर्म हो। यस्ता अमानवीय दुष्कर्म कतिपय ठाउँमा जनप्रतिनिधिको अगुवाइमा नै हुनु लज्जास्पद हो। संक्रमितको उपचारमा नजिकबाट खटिएका स्वास्थ्यकर्मीरुपी देवदूतलाई हातपात, दुव्र्यवहार गरेको समाचार सार्वजनिक हुनु दुखद हो। अज्ञानता, भ्रम तथा कतिपय अवस्थामा नियतवस पनि यस्ता अप्रिय घटनाहरु हुने गरेका छन्। यस्ता अमानवीय घटनाप्रति जिम्मेवार जोकोहीलाई पनि निर्मम कारबाही गरी पेसाकर्मीको मनोबल उच्च राख्न हिच्किचाउनु गम्भीर भुल हुन जान्छ।
अमानवीय र आत्मघाती कदम गर्ने विविध कारण हुन सक्छन्। कोरोना कहरमा स्वास्थ्यकर्मीको महत्व थाहा नपाएर वा अरुको लहैलहैमा लागेर, जे गरे पनि हुन्छ भन्दै हेपेर, स्वास्थ्यकर्मीमा कोरोना संक्रमणका कारण आफूलाई सर्ला कि भन्दै आत्तिएर तथा अराजक झुण्डहरुले वितण्डा मच्चाउने उच्छृंखल तत्वहरुको सक्रियतामा यस्ता असामाजिक दुव्र्यवहारहरु हुने गर्छन्। यस्ता नकारात्मक प्रबृत्तिहरुलाई निरुत्साहित र नियमन गर्न जनचेतनामुलक कार्य तथा सख्त कानुनी कारबाही गर्न सरकार, समुदाय लगायतका हरेक नागरिकले तदारुकता देखाउन विलम्ब गर्नुहुँदैन। स्वास्थ्यकर्मीले आफ्नो दायित्वबाट पन्छिँदा आउने भयावह स्थितिको आकलन गरेर बेलैमा कडा कारबाहीको नीति लिन तीनै तहका सरकारले तदारुकता देखाउनु दूरदर्शीता ठहर्छ।
उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरुले आफ्नो बालबच्चा र घरपरिवारलाई नभेटेको कैयौं दिन भइसकेको छ। उता परिवारजन पनि आफन्तलाई केही होला कि भन्ने आशंका र चिन्ताले पिरोलिइराखेका हुन्छन्। अन्य पेसाकर्मीहरु आफ्नो परिवारजनसँग रमाइरहेका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र सञ्चारकर्मी देश र जनताका लागि निरन्तर खटिइरहनु सम्मानयोग्य काम हो। तर उनीहरुले सरकार, सरोकार र जनसमुदायबाट पर्याप्त प्रशंसा, प्रोत्साहन र सम्मान नपाएको गुनासो जायज छ।
केही समयअघि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबबाट पनि कट्टी गरी कोरोना राहत कोषमा रकम जम्मा गर्ने निर्णय भएको हल्ला चलेको थियो। जसको विपक्षमा व्यापक सार्वजनिक आलोचनापछि कटौती नहुने सरकारले जानकारी गराएको थियो। उनीहरुलाई आकर्षक जीवन बिमा लगायत अन्य आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक रुपमा उच्च मनोबलयुक्त बनाउन सके मात्र कोरोना विरुद्धको लडाइँ सहज रुपमा जितिनेतर्फ नागरिक समाज र सरकारले हेक्का राख्नु जरुरी छ।
स्वास्थ्यकर्मीको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभाव, राज्यको चौथो अंगको रुपमा स्वीकारिएका सञ्चारकर्मीको लागि सामान्य सुविधा पनि आफैंले जोहो गर्नुपर्ने, सरसफाइकर्मीका लागि फोहोरमैलाको संक्रमणबाट बच्ने पिपिई, स्यानिटाइजर लगायतका सामग्रीमा पहुँच नहुनु, त्यस्तै अहोरात्र सडक र समुदायमा खटिने सुरक्षाकर्मीका लागि समेत पर्याप्त स्वास्थ्य सामग्रीको अभाव रहेको गुनासो समयमै सम्बोधनमा ध्यान जानुपर्छ। उनीहरुलाई आफ्नो पेसाप्रति अझ दत्तचित्त भएर लाग्न प्रोत्साहित वातावरण र सुविधा प्रदान गर्न कन्जुस्याईं गरिनुहुन्न।
कोरोना महाव्याधी उपचारको अहिलेसम्म निश्चित औषधि पत्ता लागिसकेको छैन। उपचारभन्दा पनि रोकथामका उपायहरु नै कोरोनाबाट बच्ने उत्तम उपाय ठहरिएको छ। सुरुमा चमेरोबाट मानवमा सरेको कोरोना भाइरस अहिले मानव बीचको संसर्गबाट सर्दै छ। मानव संसर्गलाई निरुत्साहित गर्न सामाजिक दूरी बढाउन विभिन्न उपायहरु हुन सक्छन्।
अहिले रोकथामका लागि विश्वभर लकडाउन लोकप्रिय उपाय बनेको छ। त्यस्तै कोरोना संक्रमित पहिचान र उपचारका लागि ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्टलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बाध्यता भएको छ। कोरोनालाई परास्त गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ बानीव्यहोरा तथा सन्तुलित पौष्टिक आहार अर्को विकल्प हो। रोगप्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक व्यायाम तथा सकारात्मक सोच पनि प्रभावकारी हुने विज्ञहरुको दावी छ।
कतिपय व्यक्तिहरु स्वास्थ्यसम्बन्धी मापदण्डको बेवास्ता गर्दै अनावश्यक रुपमा घरबाहिर निस्केर रोग सल्किने जोखिमलाई निम्त्याएका घटना सार्वजनिक हुने गरेका छन्। स्वास्थ्यकर्मीहरु आफ्नो रोजीरोटीका लागि मात्रै नभएर मानव सेवा जस्तो पवित्र काममा जीवन नै दाउमा राखेर दिलोज्यानले लागेका छन्। उनीहरुको हौसला र मनोबल बढाउन सर्वसाधारणदेखि सरकारसम्मले मुक्तकण्ठले प्रशंसा, प्रोत्साहन तथा सम्मान गर्नु जरुरी छ।
(कार्की शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन्)