डा सन्देश दाहाल
मानिस सधैँ सत्य कुरामा विश्वास गर्दैन। कति मानिसले सत्य कुरा थाहा नभएर भ्रममा विश्वास गर्छन् भने कतिले सत्य कुराको जानकारी भएर पनि विभिन्न कारणले भ्रममा विश्वास गरिरहेका हुन्छन्।
विशेषगरी आममानिस महामारी, युद्ध, ठूलो सामाजिक आपराधिक घटना जस्ता संकटका बेला भ्रम फिँजाउने र भ्रममा विश्वास गर्ने कुरा व्यापक हुनजान्छ। आजकल सोसियल मिडिया आममानिसको हातहातमा भएको बेला यस्तो कुरा फिँजाउन झन् सजिलो भएको छ।
के हो त षडयन्त्र सिद्दान्त (कन्स्पिरेसी थ्योरी)?
कुनै घटनाको सम्भावित कारणको जानकारी र यथेष्ट प्रमाण हुँदाहुँदै पनि उक्त घटना कुनै अन्जान ठूलो वा शक्तिशाली समूहले विशेषत: राजनीतिक उद्देश्यका कारण षडयन्त्रपूर्वक गरायो होला भनेर ब्याख्या गरिने सिद्धान्त नै षडयन्त्र सिद्धान्त हो।
उदाहरणका लागि सडकमा दुर्घटना भएर एक युवाको मृत्यु भयो। अब त्यो मृत्यु भएको युवाले दुर्घटनाको बेला रक्सी सेवन गरेको पनि देखियो र ज्यादा स्पिडमा सवारी गलत साइडमा हाँकेको पनि थाहा लाग्यो। तर ऊ चाहिँ सम्बन्धित ठाउँको ठूलो मानिसको छोरा रहेछ भने, अब उसको मृत्युको कारण बुझ्दाबुझ्दै पनि यो चाहिँ दुर्घटना नभएर कसैले उसलाई मारेको हो भनेर विश्वास गरिने सिद्धान्त नै षडयन्त्र सिद्धान्त हो।
तथ्यांक हेर्ने हो भने अमेरिकामा नै करिब ५० प्रतिशतको हाराहारीमा मानिसहरु एक वा अर्को कन्सपिरेसी थेउरीमा विश्वास गरेर बसिरहेका हुन्छन्। अमेरिकामा भएका गोलीकाण्ड सरकारले नै गराएको हो बनेर दृढ विश्वास गर्ने आममानिस पनि धेरै देखिएका छन्।
समाजमा कुन बेला यस्तो सिद्धान्तले महत्व पाउँछ त?
धेरै मानिसलाई असर गरेको वा गर्ने घटना, जसमा सानोतिनो कारण अपर्याप्त जस्तो देखिन्छ। यस्तो परिस्थिति जसमा मानिसलाई अनिश्चितताको पीडाले जलाइरहेको र तर्साइरहेको हुन्छ।
यसका कारण के हुन सक्छन्?
कारण केलाउने मनोवृत्ति- मानिस जन्मजात नै चेतनशील प्राणी हो, उसले सधैँ आफ्नो वरिपरि के भइरहेको छ भन्ने कुरा नियालिरहेको हुन्छ र त्यो किन भइरहेको होला भनेर कारण पनि खोजिरहेको हुन्छ। उसले कारण के विश्लेषण गर्छ भन्ने कुरा उसको शिक्षा, ज्ञान र अनुभवले निर्धारण गर्छ। कुनै कुराको प्रष्ट कारण थाहा भएन वा कारण खोज्न पर्याप्त समय वा मिहिनेत दिन सकिएन भने मानिसले “कोही शक्तिशालीले स्वार्थ पूरा गर्न गरायो होला।" भन्ने निष्कर्ष निकाल्न सजिलो ठान्छ। विज्ञानको कम ज्ञान, कम तर्क क्षमता र परिवर्तनको तनाव झेल्न गाह्रो हुने व्यक्तित्व भएका मानिसहरुको हकमा यस्तो सिद्धान्त बनाउने र विश्वास गर्ने सम्भावना ज्यादा हुन्छ।
तर्क क्षमता कम हुने मानिसले यस्तो षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने अर्को कारण भनेको, निर्णयमा पुग्न गर्ने अध्ययनगत त्रुटि पनि हो। मानिसहरु अक्सर यस्तो कुरामात्र पढ्छन् वा खोज्छन् जसले उनीहरुको हालको विश्वासमा मद्दत गरोस्। यस्तो बानीले त्यो गलत कुरामा विश्वास मात्र बढाइरहेको हुन्छ।
अस्तित्वको आकांक्षा
मानिसलाई सुरक्षित रहने चाहना हुन्छ। सुरक्षित रहने तरिका भनेको खतरा चिन्ने नै हो। जसले षड्यन्त्र सिद्धान्तमा विश्वास गर्छन्, उनीहरुलाई आफ्नो मनमा लाग्छ कि उनीहरु सत्रु चिन्छन् र अब जोगिन सजिलो छ। यो सोचाइले उनीहरुलाई मनमनै निश्चिन्तताको भावना त देला, तर उनीहरु गलत कुरामा विश्वास गरिरहेकोले खास खतराको अझ नजिक हुन्छन्।
सामाजिक मनोवैज्ञानिक कारण
मानिसहरु सामाजिक कारणले पनि यस्तो भ्रममा विश्वास गरिरहेका हुन्छन्। कारण खोज्न नसक्ने वा समय नदिने कति मानिस भन्छन्, "सबैले मानेका छन्, त्यसैले कुरा सही होला।"
मानिसमा यो पनि भावना हुन्छ कि फरक वा आम धारणाको विरोधी विचारले आफू वा आफ्नो समूहलाई समाजमा नयाँ परिचय दिन्छ वा स्थापित गर्छ। यही मनोविज्ञानका कारण मानिस वा समूहले षड्यन्त्र सिद्धान्तलाई बढावा दिइरहेको हुन्छ। राजनीतिमा पनि चुनाव आफूले हारेमा आफ्नो जनपकड वा एजेन्डा कम छ भनेर स्वीकार गर्नुको सट्टा अर्को पार्टीले बुथ कब्जा गर्यो वा इन्टरनेट ह्याक गर्यो भन्न सजिलो छ।
मूलधारमा ओझेलमा परेका अस्तित्व गुमाएर मनोवैज्ञानिक कुण्ठामा बसेका मानिसहरुको लागि आफूलाई समाजमा स्थापित गराउने मौका नै बन्छ यस्तो भ्रम, विशेषगरी समाज नै कुनै समस्यामा छ भने।
गलत मनसाय
समाजमा संकट भइरहेको बेलामा मानिसलाई जीवनयापनमा सकस परिरहेको हुन्छ। कुनै रोग समाजमा व्याप्त छ र त्यसको भरपर्दो औषधि बनिसकेको छैन भने केही मानिस यही षडयन्त्र सिद्धान्तको हल्ला समाजमा व्याप्त पारेर आफ्नो भ्रम बेचेर त्रसित मानिसबाट फाइदा लिइरहेका हुन्छन्। उनीहरु कुर्लिएर आफ्नो वकालत गर्छन् किनभने समग्र मुलधारसँग समेत त्यस्ता प्रश्नको सही उत्तर हुँदैन।
संकटमा झुठ फैलाएर मानिसलाई जानाजान विपत्तिमा पार्ने र उनीहरु विपत्तिमा परेको हेरेर मनोरञ्जन लिने विकृत मानसिकता भएका मानिसहरुले पनि यस्तो भ्रम फिँजाउने गरेको केही अध्ययनहरुले देखाएका छन्।
अहिले यो कुरा किन केलाउन आवश्यक छ त?
कोरोना महामारीमा विश्व पिल्सिरहेको र सबैतिर अन्योल भएको बेला नेपालमा कहिले नाम नसुनिएका, कहीँ नपढेका, कुनै काउन्सिलमा दर्ता नभएका, सपनामा भगवानले मलाई चिकित्साशास्त्र पढाएको भन्नेसम्मको लोभीपापी र हुनसक्छ मानसिक रुपमा विक्षिप्त मानिसहरुबाट आफूलाई डाक्टर, वैज्ञानिक भनेर सोसल मिडियामा छाएका छन्। वास्तविक कुरामा विचारै नगरी उनीहरुलाई मसिहा ठान्ने आम मानिसहरु मात्र होइन, पत्रकार, शिक्षक आदि जस्ता पढेलेखेका मानिसहरु पनि छन्।
उनीहरुले बोलेका कुरा सतप्रतिशत झुठा हुन् भन्ने जान्न गुगल हेरे पुग्छ। तर पढेका मानिससमेत त्यति गर्ने मिहिनेत गर्दैनन्। केही उदाहरण दिन चाहन्छु,
१. कोरोना भाइरस छैन- वैज्ञानिकले पुष्टि गरेको र आनुवांशिकी समेत जानकारी भइसकेको भाइरस।
२. कोरोनाले कोही मर्दैन- कोरोनाले २०-३० वर्षको केही रोग नभएको मानिस पनि मरेका छन्। मुटुरोगी र ६० कटेका कोरोनाको बिरामी मर्नु प्राकृतिक हो भनेर कुतर्क गर्ने हो भने त ठिकै हो, नत्र धेरै संक्रमितको मृत्यु भएको छ।
३. पिसिआर भ्रम हो- पिसिआर जिवाणु थाहा पाउनेमध्येको सबैभन्दा भरपर्दो उपायमध्ये एक हो। क्षयरोग पनि पिसिआरबाट जाँचिन्छ।
४. कोरोनाको मृत्यु भनेर मानव अंग तस्करी हुन्छ- मानव अंग जिउबाट निकालेको १-२ घन्टाभित्र अर्को मानिसको जिउमा प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ, दुवै मानिसको एकै पटक अपरेसन गर्नुपर्छ। अंग कुनै चाउचाउ जस्तो होइन, प्याकेटमा राख्ने र भोक लागेको बेला प्याकेट फोडेर खाने। यस्तो कुरा गर्ने फटाहालाई सिधै लगेर आजीवन थुनिदिए हुन्छ।
५. बिल गेट्सले भ्याक्सिन भनेर चिप्स फिट गर्दैछ- नेपालीको तथ्यांक संसारमा कसैलाई चाहिँदा पनि चाहिँदैन, विकसित विश्वको लागि हामी किरा समान पनि होइन होला। तथ्यांक चाहिएमा मन्त्रालयबाट सजिलै उपलब्ध छ। घुलनशील चिप्स संसारमै बनेको छैन। मुटुको पेसमेकरको ब्याट्री २ वर्षमा फेर्नुपर्छ भने जीवनभर चल्ने माइक्रोचीप हुन्छ भनेर विश्वास गर्नु भनेको आफ्नो पागलपनको परिचय दिनुभन्दा बाहेक केही होइन।
६. जडिबुटीबाट भ्याक्सिन बनाएको रे- जसले जडिबुटी मिसाएर भ्याक्सिन बनाएँ भन्छ, उसलाई भ्याक्सिनको अर्थ नै थाहा छैन। बुझे हुन्छ, त्यो मानिस सतप्रतिशत कि त ठग हो कि त मानसिक सन्तुलन गुमाएको मानिस हो।
७. यस्ता फ्याक्टचेकहरु धेरै छन- यी त उदाहरण मात्र हुन्। युट्युबमा आफूलाई डाक्टर बताउने यस्ता भ्रमका ब्यापारीहरुको कुरा र उनीहरुको परिचय यसरी नै फ्याक्ट चेक गर्न मिल्छ। यिनीहरुको कुरा गम्भीर भएर सुन्नुभयो भने षडयन्त्र सिद्धान्त दिनुपर्ने माथिका कारणहरुमध्ये कुन हो तपाइँले थाहा पाउन सक्नुहुनेछ। उनीहरुको परिचय पनि सोधौँ, को हुन् उनीहरु।
देसमा मात्र होइन, संसारमा नै संकट छ। सरकार अकर्मण्य होला, मानिसलाई जीवन-यापन गर्न धौधौ होला, खान नपाएर पीडा भएको होला। थप लकडाउन गर्ने/नगर्ने, आर्थिक/सामाजिक कुरा कसरी अगाडि बढाउने, अस्पतालको सेवा कसरी सुचारु गर्ने, मानिसलाई सामाजिक-आर्थिक रुपमा कसरी टेवा दिने, समाजमा एकले अर्काको मद्दत कसरी गर्ने आदि जस्ता बहस गर्नु जरुरी छ। यी रचनात्मक बहस हुन्। यसले सबैलाई फाइदा गर्छ।
तर, यसको सट्टा युट्युबमा रातारात भाइरल देखिएका शिक्षा-दीक्षा नभएका, सामाजिक आधार उत्तरदायित्व र परिचय केही नभएका आकासबाट अकस्मात फलेका सडकछाप वैज्ञानिक र स्व-घोषित झारपात डाक्टरको कुरा सेयर गर्ने र यसको आधारमा आमधारणा तय गर्दै जाने हो भने आत्महत्या गरेको सरह हुने निश्चित छ।
(डा दाहाल न्युरोसर्जरीमा पिएचडी गर्दैछन्।)