डा तेज्सु सिंह मल्ल
आँखाको समस्या आएमा तपाईं जाँचको लागि अस्पताल, क्लिनिक, स्वस्थ्यचौकी, चस्मा पसल इत्यादि ठाउँमा जानुहुन्छ। जाँच हुन्छ, तर धेरैलाई थाहै हुँदैन, जाँच गर्ने को हुन् र उनको विज्ञता के हो। डाक्टर नै नभई केहीले त डाक्टर हुँ भनेर बिरामीलाई भ्रममा पारेका उदाहरण पनि प्रशस्त पाइन्छन्। कहिलेकाहीँ बिरामी आफैंले जाँच्ने मान्छे डाक्टर नै हो भनेर अनुमान गरेको पनि पाइन्छ। नेपालमा आँखा डाक्टर धेरै कम छन् र धेरैजसो समयको अभावमा सबै ठाउँमा पाउन सम्भव पनि छैन।
नेपालमा आँखा सम्बन्धित सेवा दिनेहरुमा अप्थाल्मोलोजिष्ट, अप्टोमेट्रिस्ट, अप्थल्मिक असिस्टेन्ट, ओप्पटिसियन, ओकुलरिस्ट, अप्थल्मिक नर्स, आँखा स्वास्थ्यकर्मी पर्ने गर्छन्। सबैले आँखाको छेत्रमा उल्लेख्य योगदान पुर्याएका छन्।
को हुन् अप्थाल्मोलोजिष्ट (आँखा डाक्टर/आँखा चिकित्सक वा नेत्र विशेषज्ञ)?
अप्थाल्मोलोजिष्ट अर्थात् आँखा डाक्टरलाई आँखा चिकित्सक वा नेत्र विशेषज्ञ पनि भन्ने गरिन्छ। यो बन्नको लागि ५ वर्ष एमबिबिएस र १ वर्ष इन्टर्नसिप गरी डाक्टर भएपछि आँखा सम्बन्धित थप ३ वर्ष अध्ययन गर्नुपर्छ। त्यसपछि पनि आँखाकै केही विशेष भाग लिई अझै थप अध्ययन गर्न सकिन्छ, जसमा ६ महिनादेखि २ वर्षसम्मको थप अध्ययन हुन्छ र सुपर स्पेसलिस्ट भनिन्छ। जस्तै: ग्लुकोमा (जलबिन्दु), रेटिना (आँखाको पर्दा) , कोरनिया (आँखाको नानी), बाल नेत्र रोग, अकुलोप्लास्टी।
नेत्र विशेषज्ञले आँखाको सम्पूर्ण जाँच, डाइगोनोसी तथा उपचार औषधि गर्छ। शल्यक्रिया गर्नेदेखि दृष्टि कमजोर भएमा आँखाको पावर जाँच गरी उपयुक्त चश्मा पनि दिने गर्छन्। दृष्टिको जाँच कि आफैं गर्छन् कि अप्टोमेस्ट्री (दृष्टि विशेषज्ञ) वा अप्थल्मिक असिस्टेन्ट (नेत्र सहायक) कहाँ पठाइन्छ।
एउटा नेत्र विशेषज्ञ हुनको लागि १० कक्षापछि कम्तीमा पनि ११ वर्ष अध्ययन गर्नुपर्छ र नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा दर्ता भएको हुनुपर्छ। एनएमसी दर्ता चिकित्सक हो कि होइन भनेर सजिलैसँग www.nmc.org.np मा हेर्न सक्नुहुन्छ।
सन् १९८१ सम्म संसारमा नेत्र विशेषज्ञ जम्मा ७ जना थिए। २००१ मा ७६ जना र २०११ मा १४७ जना थिए। हाल नेपालमै मेडिकल काउन्सिलमा जम्मा ३७१ जना नेत्र विशेषज्ञहरुको दर्ता भएका छन्। जसमध्ये नेपाल अपथाल्मिक सोसाइटीमा ३४५ जनाले सदस्यता लिएका छन्। प्रत्येक वर्ष ४५ जनाको हाराहारीमा नेपालमै नेत्र विशेषज्ञहरुको उत्पादन हुन्छ भने केही विदेशी मुलकबाट अध्ययन गरी आउने गर्छन्।
को हुन् अप्टोमेस्ट्रिक (दृष्टि विशेषज्ञ)?
अप्टोमेस्ट्रीलाई दृष्टि विशेषज्ञ पनि भन्ने गरिन्छ। उनीहरुले दृष्टि सम्बन्धी आएका समस्याहरुको जाँच गर्छन्, चश्मा चाहेमा चश्मा प्रेसक्राइब गर्छन्, लेन्स पनि दिने गर्छन् तर आँखाको शल्यक्रिया वा लेजर गर्ने अनुमति पाएको हुँदैन।
एउटा अप्टोमेस्ट्री (दृष्टि विशेषज्ञ) हुनका लागि १० कक्षापछि कम्तिमा पनि ६-७ वर्ष अध्ययन गर्नुपर्छ र नेपाल ह्येल्थ फ्रोफ़ेसिओनल काउन्सिल (एनएचपिसी) मा दर्ता भएको हुनुपर्छ जुन डाक्टर/ चिकित्सक र नर्स बाहेक सबै स्वास्थ्यकर्मी हेर्ने निकाय हो।
नेपालमा सन् १९८१ मा दृष्टि विशेषज्ञ नै थिएनन्। २००१ मा ५ जना र २०११ मा ५६ जना थिए। प्रत्येक वर्ष ५० जनाको हाराहारीमा नेपालमै दृष्टि विशेषज्ञहरुको उत्पादन हुन्छ भने केही विदेशी मुलकबाट अध्ययन गरी आहुने गर्छन्।
को हुन् अप्थल्मिक असिस्टेन्ट (नेत्र सहायक)?
सीमित आँखा डाक्टर/आँखा चिकित्सक/नेत्र विशेषज्ञको कारण आँखा सम्बन्धी उपचार ठाउँ-ठाउँमा पुर्याउन सम्भव नभएको कारण १९८१ मा दक्ष जनशक्तिको निम्ति अप्थल्मिक असिस्टेन्ट (नेत्र सहायक) को तालिम सुरु भयो।
अप्थल्मिक असिस्टेन्टले नेत्र विशेषज्ञको सहयोगी भई आँखा सम्बन्धी जाँच र उपचार गर्छन्, दृष्टि ठिक छ कि छैन भन्ने जाँच पनि गर्ने गर्छन् र आँखाको शल्यक्रियामा नेत्र विशेषज्ञलाई सहयोगीका रुपमा मद्दत गर्छन्।
अप्थल्मिक असिस्टेन्ट/नेत्र सहायक हुनको लागि १० कक्षापछि ३ वर्ष सर्टिफिकेट/डिप्लोमा अध्ययन गरे पुग्छ र अध्ययनपछि नेपाल हेल्थ फ्रोफ़ेसिओनल काउन्सिल (एनएचपिसी) मा दर्ता भएको हुनुपर्छ। अप्टोमेस्ट्री (दृष्टि विशेषज्ञ) वा अप्थाल्मोलोजिष्ट (आँखा डाक्टर/आँखा चिकित्सक/ नेत्र विशेषज्ञझैँ ११/१२ कक्षा पढ्नु पर्दैन जसको कारण यो विषय धेरैको रोजाइमा पर्ने गरेको छ।
सन् १९८१ मा अप्थल्मिक असिस्टेन्ट/नेत्र सहायकहरु थिएनन्। २००१ मा १६१ जना र २०११ मा २७५ जना थिए। प्रत्येक वर्ष ३०० जनाको हाराहारीमा नेपालमा अप्थल्मिक असिस्टेन्ट/नेत्र सहायकको उत्पादन हुन्छ।
(डा मल्ल नेत्र विशेषज्ञ हुन्)