डा निदेश सापकोटा
सन् १९९४ बाट नै २१ सेप्टेम्बरलाई विश्व अल्जाइमर्स दिवसका रुपमा मनाउने गरिएको भए पनि सन् २०१२ देखि प्रत्येक सेप्टेम्बरमा विश्व अल्जाइमर्स महिनाका रुपमा मनाउन थालियो। यो महिना र विशेषगरी २१ सेप्टेम्बरको दिन डिमेन्सिया ( स्मरण शक्तिमा क्रमिक ह्रास हुन गई स्मरण शक्ति नै नहुनु) सम्बन्धी जागरूकता र डिमेन्सिया वरिपरि रहेको कलंकलाई चुनौती दिन अन्तर्राष्ट्रिय अभियानको रुपमा परिचित छ।
अलजाइमर्स डिजिज इन्टरनेसनल (एडिआई) ले विश्वव्यापी रूपमा गरेको एक अध्ययन अनुसार प्रत्येक ३ जना व्यक्तिमध्ये २ जनाले यो विश्वास गर्छन् कि, उनीहरूको देशमा डिमेन्सियाको बारेमा थोरै व्यक्ति वा केहीले मात्र बुझ्न सकेका छन्। झन् नेपाल जस्तो मुलुकको अवस्था यही अनुरुप अनुमान गर्न सकिन्छ।
डिमेन्सियामा मस्तिष्कमा भएका कोषिकाहरुमा एक प्रकारको खराब प्रोटिन जम्मा हुन्छ, जसले गर्दा हाम्रो स्मरण शक्तिमा क्रमिक ह्रास हुँदै जान्छ र अन्ततोगत्वा स्नायु प्रणालीले पूरै काम गर्न छाड्छ। यो रोगमा स्मरण शक्तिका अलावा व्यक्तिको सोच, व्यवहार र भावनालाई असर गर्छ। यो गहन समस्या हो।
प्रत्येक व्यक्तिले डिमेन्सियाको अनुभव आफ्नै तरिकाले गर्छन्। अन्तत: प्रभावित व्यक्तिहरू आफैंको हेरचाह गर्न असमर्थ हुन्छन् र दैनिक जीवनमा जीवनोपार्जन गर्न परिवार वा अरु कसैको मद्दतको आवश्यकता पर्छ।
यो चित्रमा देखाएजस्तो खराब प्रोटिन जम्मा हुन्छ
डिमेन्सियाका १०० भन्दा बढी प्रकार छन्। डिमेन्सियाको सबभन्दा प्रमुख रूप भनेको अल्जाइमर रोग हो। डिमेन्सियाका अन्य लक्षणहरु यस प्रकार छन्।
• स्मरण शक्ति गुमाउनु
• सही शब्दहरू फेला पार्न वा अरु व्यक्तिले के भनिरहेका छन् बुझ्नमा कठिनाइ हुनु
• पहिले आफूले गर्दै आएका नियमित कार्यहरू गर्न कठिनाइ हुनु
• व्यक्तित्व र मुड विना कारण परिवर्तन हुनु
(डा सापकोटा मनोचिकित्सक हुन्।)