डा ज्ञानेन्द्र लामिछाने
के हो आँखामा हुने स्ट्रोक?
धेरैजसोले स्ट्रोक (ब्रेन या टाउकोमा रगत जमेको/रगतको नली थुनिएर मृत्यु भएको वा प्यारालाइसिस भएको) का बारेमा त सुनेकै हुन्छ। त्यसैगरी हार्ट अट्याकको बारेमा पनि प्रत्येक दिन सुनिरहेकै हुन्छ। तर कतिपयलाई 'आँखाको स्ट्रोक' भन्ने शब्द नौलो लाग्न सक्छ।
आँखामा पनि एक प्रकारको स्ट्रोक वा भनौ हार्ट अट्याक जस्तै अवस्था आउन सक्छ। आँखाको रेटिना (दृस्टिपर्दा) मा हुने स-साना रगतका नशा थुनिएर वा रगतको नशा फुटेर यस्तो अवस्था आउन सक्छ।
आँखामा हुने स्ट्रोक जस्तो अवस्था कति प्रकारका हुन्छन्?
दिमागमा हुने Haemorrhagic र Ischemic stroke जस्तै आँखामा पनि यो 2 प्रकारको हुन्छ। रगतको नशा फुटेर आउने अवस्था लाई Central Retinal Vein Occlusion (CRVO) अथवा Branch Retinal Vein Occlusion (BRVO) भनिन्छ, जसलाई दिमागमा हुने haemorragic stroke सँग तुलना गर्न सकिन्छ।
त्यस्तै आँखाको रेटिनामा हुने रगतको नली बन्द हुने अवस्था लाई Central Retinal Artery Occlusion (CRAO) वा Branch Retinal Artery Occlusion (BRAO) भनिन्छ, जसलाई ब्रेनमा हुने Ischemic Stroke सँग तुलना गर्न सकिन्छ। कहिलेकाहीँ यी artery र vein occlusion एकै पटक एउटै आँखामा (combined occlusion) पनि हुनसक्छ।
यो समस्या प्राय: कसलाई हुनसक्छ त?
यस्तो अवस्था प्राय:जस्तो ५० वर्ष उमेर पुगेको व्यक्तिमा देखिन्छ। विशेषगरी मधुमेह, ब्लड प्रेसर हुने वा रगतमा कोलेस्टेरोल बढी हुने व्यक्ति यसको उच्च जोखिम समूहमा पर्छन्। कहिलेकाहीँ ५० वर्षभन्दा कम उमेरको व्यक्तिलाई पनि यस्तो हुनसक्छ। ती उमेर समूहमा रगतको बिकार ( Hypercoaguable Conditions) वा शरीरको रोग (Auto-Immune) हुनसक्ने हुँदा सो सम्बन्धी परीक्षण पनि नेत्र विशेषज्ञले गराउन सक्छन्।
यसका लक्षण के-कस्ता हुन्छ्न्?
पर्दामा हुने रगतको नली (artery वा vein) कुन थुनिएको हो, त्यो अनुसार लक्षण सहित वा बिना लक्षण दुवै प्रकारको हुनसक्छ। प्राय दुवैमा हुने साझा लक्षण भनेको एक्कासि दृष्टि धमिलो हुने हो। हार्ड अट्याक वा ब्रेन स्ट्रोकमा जस्तो यसमा ज्यान त जाँदैन तर दृष्टि सधैंको लागि आंशिक वा पूर्ण रुपले जान सक्छ। यति मात्र नभई यस्तो अवस्था हुने व्यक्तिलाई भविष्यमा ब्रेन स्ट्रोक वा हार्ट अट्याकको जोखिम पनि अरुलाई भन्दा बढी रहन्छ।
यो रोगको उपचार र बच्ने उपाय के छ त?
कुन प्रकारको आँखाको स्ट्रोक हो, त्यो अनुसार उपचार गरिन्छ। हामीले ओपिडीमा देखेअनुसार धेरैजसो Retinal Vein Occlusion भएर आँखाको पर्दा सुन्निनु (मेकुलर इडेमा), दृष्टि कम हुने मुख्य कारण हो। यस्तो भएमा आँखाभित्र एभास्टिन नामको सुई एकएक महिनामा लगाएर पर्दाको सुजन कम गर्ने कोसिस गरिन्छ। साथै अवस्था हेरेर आँखाभित्र लेजर पनि गर्न सकिन्छ।
यो रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो। जसका लागि उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई सधैं नियन्त्रणमा राख्नु अति जरुरी छ। साथै कम्तीमा पनि वर्षको एक पटक नियमित रुपले आँखा जाँच गराउने बानी गर्नु उचित हुनेछ।
(सह-प्राध्यापक डा लामिछाने रेटिना विशेषज्ञ हुन्।)