करुणा भट्टराई
'साबुन-पानीले मिचिमिची हात धुने, भीडभाडमा नजाने, यदि जानै परेमा सामाजिक/भौतिक दूरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्ने।'
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले हरेक दिन कोभिड-१९ सम्बन्धी अध्यावधिक विवरण प्रस्तुत गर्दा जनस्वास्थ्यसँग सम्बन्धित यी मापदण्ड अपनाउन र सुरक्षित रहन सबैलाई अनुरोध गर्छ।
तर, कोभिड-१९ संक्रमण रोकथाम तथा प्रतिकार्यका लागि सुरक्षाका उपाय अपनाउँदै सामाजिक विकास मन्त्रालयमा रहेर काम गर्ने क्रममा म आफैं कसरी कोरोना भाइरसबाट संक्रमित हुन पुगें पत्तै भएन।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको कोभिड-१९ फोकल पर्सन, केस इन्भेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङका लागि मन्त्रालयको प्रतिनिधित्व गर्दै विभिन्न क्रियाकलाप सञ्चालन गर्दा लाग्थ्यो, मलाई कोभिड-१९ संक्रमण रोकथामको क्षेत्रमा काम गर्दा धेरै कुराको अनुभव भइसकेको छ। मैले एकदमै राम्रोसँग सुरक्षा तथा सावधानीका उपायहरु अपनाएको छु, मलाई कोभिड-१९ संक्रमण हुँदैन, यदि भइहाल्यो भने पनि म सजिलै सन्चो हुनेछु भन्ने विश्वास थियो
तर, के थाहा लक्षण सहितकै संक्रमणको सिकार हुनुपर्छ भनेर। मसँग मास्क, स्यानिटाइजरको उपलब्धतता पनि थियो। साबुनपानीले मिलेसम्म हात धोइरहन्थें। सकेसम्म जनस्वास्थ्यका सबै मापदण्ड अपनाउँथें। बाटोमा हिँड्दा मास्क पनि नलागाई हिँडेका मानिसलाई देख्दा लाग्थ्यो, यिनीहरुलाई त कोभिड-१९ को संक्रमण अवश्य हुन्छ। यस्तो लापरबाह भएर हिँडेका छन्। तिनीहरुलाई कोभिड-१९ संक्रमण भयो/भएन थाहा भएन तर म भने यसको संक्रमणबाट बच्न सकिनँ।
जति कुरा सुने पनि, बुझे पनि जब आफूलाई पर्छ तब मात्र थाहा पाइने रहेछ त्यसको वास्तविकता। ज्वरो, खोकी, जिउ दुख्ने, टाउको दुख्ने, खानामा अरुचि, पखाला लगायतका लक्षण थिए मसँग। लक्षण अनुसारको उपचार सुरु गरें। एलोपेथी र आयुर्वेद दुवै उपचार विधि अपनाएँ। विभिन्न घरेलु जडिबुटी खानेदेखि लागे/पुगेसम्म सबै उपाय अपनाउँदै होम आइसोलेसनमा बसेर कोभिड-१९ सँग लडिरहेको छु।
सबै सुविधा हुँदाहुँदै पनि कोभिड-१९ बाट पर्न जाने मानसिक समस्याबाट बच्न साँच्चै नै गाह्रो रहेछ। सामाजिक दूरी कायम गर्नुपर्ने रोगमा झन् धेरै माया र केयरको आवश्यकता पर्ने रहेछ। मनोसमाजिक परामर्श प्रदान गर्ने विभिन्न संस्था तथा व्यक्तिहरुको नम्बर उपलब्ध थियो मसँग तर कसैसँग पनि बोल्न मन लाग्दैनथ्यो। यस्तो सुरक्षा तथा सावधानीका उपाय अपनाउँदाअपनाउँदै पनि म कसरी संक्रमित हुन पुगें, सम्झँदा एकदमै नराम्रो लाग्छ।
साँच्चै नै धेरै माया र केयर चाहिने यो रोगबाट बच्नका लागि एकदमै ठूलो भूमिका रहेको छ, मरो घरपरिवार, मैले काम गर्ने कार्यालयका आदरणीय सरहरु, जनस्वास्थ्य सेवा कार्यलय सुर्खेतका प्रमुखज्यू र मेरा साथीहरुको। टाढा भएर पनि दिदी-भिनाजु र दाइमार्फत सम्पूर्ण कुराहरुको उपलब्धता गराएर आफू टाढा भएको महसुस हुन दिनु भएन मेरा श्रीमानले
मेडिकल फिल्डको भएर पनि होला, श्रीमानले मेरा हरेक लक्षणका बारेमा चासो राख्नुभयो। कुन औषधि कतिबेला खाने, कति खाने, केके खाने जस्ता कुराहरुमा एकदम ख्याल गर्नुहुन्छ। जसले गर्दा मलाई आफ्नो केयर गर्न सहयोग पुग्यो।
अक्सिमिटरबाट अक्सिजन स्याचुरेसनको लेभल नाप्ने, ज्वरो नाप्ने, बाफ लिने, गार्गल गर्ने, औषधि तथा जडिबुटीहरु खाने, हल्का योगा गर्ने काममा दिनहरु बित्दै गए। विस्तारै अहिले लक्षणहरुले छोड्दै गएका छन्। आशा छ, अब छिट्टै कोभिड-१९ संक्रमणमुक्त भएर आफ्नो नियमित कार्यमा फर्कन सक्षम हुनेछु। कोभिड १९ का बिरामीलाई उपचारका लागि आवश्यक प्लाज्मा दान गरी सेवा गर्ने अवसर पाउने छु।
जसले कोभिड-१९ लाई सामान्य रुपमा हेर्नुहुन्छ, उहाँहरुलाई विनम्र अनुरोध छ- तपाइँहरुले सोचेजस्तो सामान्य रुघा खोकी मात्र होइन कोभिड। यसबाट बचेर सुरक्षित रहन एकदमै जरुरी छ। म एउटा जनस्वस्थ्यकर्मी जो कोभिड-१९ संक्रमण रोकथाम तथा प्रतिकार्यका लागि सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशमार्फत विभिन्न क्रियाकलापमा संलग्न मान्छेलाई त यो रोग लागिसकेपछि यसबाट पर्ने शारीरिक, सामाजिक तथा मानसिक समस्याबाट बच्न यति गाह्रो पर्ने रहेछ भने आममानिसलाई त झनै गाह्रो पर्छ।
तसर्थ, जबआफूलाई पर्छ तब मात्र चेत पाउनुभन्दा अरुका भोगाइहरुबाट सिकौं। यो मेरो आफ्नो मान्छे हो, यसबाट मलाई रोग सर्दैन भनी लापरबाही नगरौं, जोकोहीबाट पनि यो रोग सर्न सक्छ। जो जहाँ भए पनि एकदमै सावधानी तथा सुरक्षाका उपायहरु अपनाउन जरुरी छ।
कोभिड-१९ संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सुरक्षा मापदण्डहरु आफू पनि अपनाऔं र अरुलाई पनि अपनाउन प्रेरित गरौं। हाम्रा महान चाडपर्व पनि नजिक आउँदै छन्, यस्तो अवस्थामा झन् धेरै जोखिम बढ्न सक्छ। त्यसैले सुरक्षित रहौं, स्वस्थ भएर बाचौं।