जीवनशैली

कविता : दसा नबनोस् दसैं

रोजी थपलिया


घर आउँदिन त भने , खै कता कता मन एक्लिएको छ आमा
बद्लिएको घरको रङ्ग अनि गाउँको चहलपहलले उतै तानिरहेको छ बाबा
अनि सानो बाबुसङ्गै हुर्किएको बालापनले एकैछिनमा नराम्रो सङ्ग जिस्काएझैं भइरहेको छ दादा
 सप्तमीको फुलपाती, अस्टमीको बली अनि नवमीको दुर्गा पुजा पछिको मेलाको सम्झनाले मनमा नमिठो धुन बजाइ रहेछ भाउजु
दसैंका रङ्गमा नयाँ लुगा लगाई मामाघर जाने उमङ्गहरुले गिज्ज्याइ रहेछ बहिनी
विश्व महामारीको कुरुक्षेत्रमा लडिरहेको  बेला ,म कहाँ मैदान छोडेर भाग्न पाउँछु र?
देशमा दसा चलिरहेको बेला म कहाँ दसैं मनाउन पाउँछु र?
अहिले त मेरो परीक्षा चलिरहेको छ, मृत्युको मुखबाट मृत्यु खोसिकन
जन्म अनि सेवा धर्म सिद्ध गर्ने
निस्सादिएकालाई गुलाबी बनाउने
 निलकन्ठी बन्दै रोगीलाई अमृत पिलाउने
हो यसपाली म आउन सक्दिन हजुरआमा
मैले रातो टिका थाप्दा थाप्दै
कसैको घरको रातो खोसियो भने
मैले नुनिलो मिठो स्वादमा रमाउदा रमाउँदै कसैको घरमा १३ दिनलाई नुन बिरानो भयो भने
म यस्तो देख्न कहाँ सक्छु र?
म स्वार्थी बन्न कहाँ सक्छु र?
अरे यहाँ  त...
घर जाने भनेर झोला भरि उमङ्ग प्याक गरेका साथी भोली पल्ट पोजिटिब आइदिंदा
म मेरो चिनी रोगी मेरा बाबालाई समझन्छु
म मेरी उच्च रक्तस्राव भएकी आमालाई सम्झन्छु
स्वास फेर्न गार्हो भइ जिउँ सुन्निएर ओछ्यानमा ढलिरहने मेरी हजुरा'मालाई सम्झन्छु
एकै छिन घर फुत्त आउन किन सक्थिन र ?
 म भित्रै कोरोनाको जिवानु बिना संकेत राज गरिरहेको रहेछ भने
ती जिवाणु तपाईंलाई बिना कसुर सारेँ भने
आफु त कोरोनालाई जसो तसो जितौंला रे 
 मेरा आफ्नालाई केही भयो भने
म जहाँ छु ठिक छु अहिले, आफ्ना नै  रहेनन् भने
म  आफुले आफुलाई कसरी माफ गर्न सक्छु होला?
बिना कसुर आफ्नालाई कसरी पाप गर्न सक्छु होला?

चिन्ता नगर्नुस् ,
म यहाँ अस्पताल मै बिरामी अनि स्वास्थ्यकर्मी माझ मनाउँला दसैं 
यही छन् कोरोनाशुर दैत्य अनि  स्वाथ्यकर्मी स्वरुपी नवदुर्गाहरु पनि 
घरको टिका जमारा अनि मान्यजनले  त्यतिका वर्षभरी दिएका आशीर्वाद  अहिलेलाई त होनी
लाखौं हजुरामा अनि हजुरबुबाका आशिष "आयुद्रोण सुते.."लाई सिद्ध पार्न आफै जयन्ती मङ्गलाकाली भद्रकाली बनेर सबैलाई जीवनको टिका लगाइरहेकी छु
आफ्नै जीवन दाउमा राखी अर्को जीवन बचाइ रहेछु
यसको निधार यति सानो छ, कस्तो भाग्य हुने हो भन्नुहुन्थ्यो त  हजुरबुबा 
यति ठुलो  भाग्य , मेरो जस्तो सानो निधार भएकीको पनि हुने रै'छ त
मृत्यु सँङ्ग जीवन साट्ने घर मै नवदुर्गा जन्मेकी रै'छे त

त्यसैले मेरो सुर्ता नगरी, 
हजुरहरु त्यहाँ सुरक्षित भइ ,भिडभाड नगरी टिका मनाउनु होला
आफन्त बोलाउने , आफ्नत लाग्ने काम यस पटक नगरिदिए ठिक सम्झिनु  होला 
सामाजिक दुरी कायम गरी मास्क स्यानिटाइजरको पनि उचित प्रयोग गरिदिनु  होला
चाड बाड भन्ने आउँदै जादै गर्छ्न्, 
जाडो पछि गर्मी ,मौसम फेरिदैं गर्छ्न्
दसैं रोग नबोस् कसैको, एउटाले बिराए मेटिन सक्छ अस्तित्व सबैको
जहाँ हुनुहुन्छ ,त्यही बसी मनाऔं पर्व , नखाऔ  धेरै जाड  त्यसै
स्वथ्य खाऔं स्वस्थ्य रहौं
 दसा नबनोस् यसपाली चाड दसैं
दसा नबनोस् यसपाली चाड दसैं।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने