डा बिकेन श्रेष्ठ
मानिसको जीवनमा दुई पटक दाँत पलाउँछ। सानोमा आउने दाँतलाई दूधे दाँत भनिन्छ भने दूधे दाँत फेरिएपछि स्थायी दाँत पलाउँछ।
मानिसका दाँत फरकफरक बनावटका हुन्छन् र ती हरेक दाँतका कार्य पनि फरक-फरक हुन्छन्। अगाडिका दाँतलाई इन्साइजर भन्छिन्छ। कुनापट्टिकोलाई कनाइन अथवा कुकुर दाँत भनिन्छ। खाना चपाउने ठूलो दाँतलाई खाने दाँत अथवा ठूलो बंगारा भनिन्छ। कुकुर दाँत र ठूलो बंगाराको बीचमा सानो बंगारा अथवा प्रि-मोलार दाँत हुन्छन्। कुकुर दाँत अथवा कनाइन दाँत गालापट्टि पलाएर हाँस्दा ठूलो कुकुर दाँत देखिनुलाई सामान्य भाषामा दाह्रा आएको/पलाएको भनिन्छ।
किन दाह्रा आउँछ/पलाउछ?
स्थायी दाँतको पलाउने समय फरक-फरक हुन्छ। सुरुमा पहिलो ठूलो बङ्गारा पलाउँछ। त्यसपछि अगाडिको इन्साइजर पलाउँछ। सानो बङ्गारा पलाएपछि कुकुर दाँत सामान्यतः ढिलो पलाउँछ। कुकुर दाँत उम्रिन सुरू गर्दा यसको ठाउँ धेरै माथि हुन्छ र यो मुखमा पलाउने पनि लामो बाटो भएर निस्किनु पर्छ। यदि अरु दाँत पलाइसकेपछिसम्म कुकुर दाँतलाई ठाउँ नपुगेमा अथवा दाँत धेरै बाङ्गोटिङ्गो आएको छ भने पछि आउने कुकुर दाँतलाई स्थान अभाव भएमा सो दाँत दाह्रा भई पलाउने अथवा भित्र तालुपट्टि पलाउने अथवा आउँदै नआउने सम्भावना रहन्छ।
दूधे कुकुर दाँत समयमै नझरेमा/रहिरहेमा पनि पछि आउने स्थायी कुकुर दाँतलाई स्थान अभाव भई दाह्रा भई पलाउन सक्छ।
दाह्राको असर
दाह्रा पलाउँदा मुख्यतया: व्यक्तिको सुन्दरतामा असर पर्छ। खुलासँग हाँस्न र बोल्न पाइँदैन अथवा अप्ठेरो लाग्न सक्छ। त्यसैले मुख छोपेर हास्नु पर्ने हुन्छ। यसले गर्दा समग्रमा व्यक्तिलाई मानसिक असर पर्न जान्छ। मानसिक रूपमा पनि आफूलाई कमजोर छु भन्ने पर्न जान्छ।
दाह्राको उपचार तथा समाधान
आफ्नै वरपर तथा नाम चलेका कलाकारहरुमा पनि दाह्रा आएको देखिन्छ। कसैलाई दाह्रा भएको हाँसो पनि मन पर्ला। तर धेरैलाई दाह्राले गर्दा आफू नराम्रो छु भन्ने लाग्छ। नजानेर दन्त चिकित्सककहाँ दाह्रा निकाल्न जाने हुन्छन्। तर दाह्रा आएमा झिक्ने हैन बरु ब्रेसस लगाएर दाँत मिलाउन सकिन्छ, जसलाई ओर्थोडोन्टिक उपचार भनिन्छ।
ओर्थोडोन्टिक उपचार दन्त चिकित्साको एक स्पेसलाइज्ड विधा हो। साढे पाँच वर्षको पढाइपछि दन्त चिकित्सक बनिन्छ भने अरू तीन वर्षको अध्ययनपछि बाङ्गोटिङ्गो दाँतको उपचार गर्ने विशेषज्ञ ओर्थोडेन्टिस्ट तयार हुन्छन् जो ओर्थोडोन्टिक उपचार गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका हुन्छन्।
स्वस्थ र आकर्षक मुस्कानको लागि हाम्रो मुखमा अगाडिको इन्सेसोरको साथै कुकुर दाँतको पनि महत्वपूर्ण योगदान रहन्छ। कुकुर दाँत नहुँदा व्यक्तिको मुस्कान त्यति आकर्षक हुँदैन। अझ बुझ्नु पर्ने कुरा के छ भने कुकुर दाँत हाम्रो मुखमा भएका सबैभन्दा लामो जरा हुने दाँत हो। त्यसैले यो अति बलियो हुन्छ।
बुढेसकालमा सबै दाँत झर्दै जाँदा पनि कुकुर दाँत बाँकी रहन्छ जसको मद्दतले कृत्रिम दाँत लगाउन सहयोग पुग्छ। अतः कुकुर दाँतको महत्व बुझ्नु जरुरी छ र दाह्रा पलाएमा ओर्थोडोन्टिस्टकहाँ गई दाँत मिलाउने उपचार गराउनु वाञ्छनीय हुन्छ।
(डा श्रेष्ठ वीर अस्पतालका कन्सल्ट्यान्ट ओर्थोडेन्टिस्ट हुन्।)