शिक्षण अस्पताल महाराजगन्जको हातामा चिटिक्कको बगैँचा छ। बगैँचामा सानो साइनबोर्ड छ। जहाँ लेखिएको छ, भीष्म उद्यान।
अब अस्पतालका संस्थापक निर्देशक प्राध्यापक डा भीष्मराज प्रसाईंलाई त्यही उद्यानले जिवित राख्नेछ। उनको भौतिक शरीर भने अब रहेन।
डा प्रसाईंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भयो। ८९ वर्षीय डा प्रसाईंको मुटुमा समस्या आएपछि कात्तिक २८ गतेदेखि उपचाररत थिए।
शिक्षण अस्पताल मात्र नभएर त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) स्थापनामा सक्रिय एक हस्ती हुन् डा प्रसाईं। आइओएमबाटै उनको करिअरको गर्विलो ग्राफ सुरु हुन्छ।
२०२८ सालतिर मुलुकमा नयाँ शैक्षिक व्यवस्था भित्रियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र, इन्जिनियरिङ, कृषि र वनविज्ञानमा बेग्लाबेग्लै अध्ययन संस्थान बन्ने भयो। तर, स्थायी डाक्टर छाडेर आइओएममा अस्थायी मास्टर हुन कोही तयार भएनन्।
एक त आइओएममा संरचना बनेका थिएनन्, अर्को अस्पताल पनि थिएन। हेल्थ असिस्टेन्टको पढाइ हुने महाराजगन्ज क्याम्पसमै थियो अस्पतालको मुख्य कार्यालय। वरिपरि खेतमात्र थियो, त्यो पनि सैनिक अस्पताल बनाउनका लागि सरकारले छुट्याएको। यस्तो अवस्थामा वीर अस्पतालको जागिर अनि प्राइभेट प्राक्टिस गरेर टन्न कमाइरहेका डाक्टरहरु ‘नाममात्र’को शिक्षण अस्पतालमा ‘जुवा’ खेल्न तयार भएनन्। भन्थे रे, ‘अस्पताल छैन। खेतमा गएर धान रोप्ने हो र ?’
हुन पनि इन्जिनियरलाई घर बनाउन किला र मार्तोल त जेटिएलाई खेत भए पुग्थ्यो। तर, डाक्टरलाई त अस्पताल नै चाहिन्थ्यो। सरकारले बल्लबल्ल वीर अस्पतालका सर्जन डा मोहिन शाहलाई आइओएमको डिन नियुक्त गर्यो। त्यो पनि काजमा। उनका सामु तल्लो तहदेखि माथिल्लो तहसम्म खडा गरी मेडिकल डिग्री दिने जिम्मेवारी थियो।
त्यतिबेला वीर अस्पतालको प्याथोलोजी विभाग प्रमुख थिए, डा प्रसाईं। आठ वर्ष विभागीय नेतृत्व गरेका ‘योङ प्रोफेसनल’ थिए उनी। ललितपुरको कुपन्डोलमा घर बनाउँदै थिए। कलिला छोराछोरी स्कुल पढ्दै थिए। यसै क्रममा स्वास्थ्य मन्त्रालयले पूर्वाञ्चल क्षेत्रीय अस्पताल, विराटनगर सरुवा गर्न लागेको सुइँको पाए उनले। यस्तो अवस्थामा राजधानी बाहिर जानुभन्दा राजीनामा दिनु ठीक लाग्यो उनलाई।
यो कुरा कता–कताबाट थाहा पाएछन् आइओएमका डिन डा शाहले। नेपाल सरकारको सेवामा १५ वर्ष बिताइसकेका आफ्ना समवयी डाक्टरलाई उनले सोधे, ‘किन छाड्ने जागिर ?’ डा प्रसाईंले भने, ‘मैले सरुवा नगर भन्दा पनि मानेनन्। अब प्राइभेट प्राक्टिस गर्छु।’
डा शाहलाई त ‘ढुंगा खोज्दा देउता मिलेजस्तो’ भयो। ‘त्यसो भए आइओएमलाई सिनियर योग्यता भएको र नेतृत्व क्षमता भएको डाक्टर चाहिएको छ,’ शाहले भने, ‘तपाईंलाई प्राध्यापकको तलब दिन्छु। पद चाहिँ अहिलेलाई सह–प्राध्यापक मात्र।’
डा प्रसाईंलाई पनि खोजेजस्तै भयो। उनले स्वास्थ्य मन्त्रालयमा राजीनामा ठेलिदिए। तर, मन्त्रालयका अधिकारीहरुले त्यसलाई धम्कीका रुपमा मात्र लिएछन्। आखिर छँदाखाँदाको जागिर कसले छाड्छ र ? त्यसमाथि त्यतिबेला अहिलेको जस्तो निजी अभ्यासमा धेरै अवसर थिएन। यद्यपि उनले छाड्ने निधो गरिसकेका थिए।
२०३३ सालमा विश्वविद्यालयले सह–प्राध्यापकका लागि विज्ञापन गर्यो। अन्तर्वार्ताका लागि लखनउबाट प्राध्यापक आएका थिए। अन्ततः उनी नै छानिए। भरखर खोलिएको र अध्ययन–अनुसन्धान नभएकाले प्राध्यापकमा नियुक्ति दिन सकिने स्थिति थिएन।
त्यतिबेला त्रिभुवन विश्वविद्यालयको हेल्थ सेन्टरमा मेडिकल अफिसर त थिए। तर, त्रिविको पहिलो डाक्टर–क्याडर उनै भए। उनले नियुक्ति लिएपछि अरु डाक्टर झस्किए। अस्पताल नभएको ठाउँमा डा प्रसाईं किन गए ? उनले अब अरु डाक्टरलाई तान्नु थियो। त्यसैले भवन बनाउने, अस्पताल खोल्ने आदि अनेक प्रोपगान्डा गरे।
त्यसपछि हेमाङ्गमणि दीक्षित, गोपाल आचार्य, दामोदर उपाध्यायलगायत चार/पाँच जना युवा डाक्टर सह–प्राध्यापकका रुपमा नियुक्त भए। तर, अस्पताल नभएकाले कतिपयले अभ्यासका लागि भने साविककै अस्पतालमा काजमा जान चाहे। बाहिर कुनै पनि अस्पतालमा आवद्ध नभएका डा प्रसाईं मात्र खाली भए त्यतिबेला। उनको अर्जुनदृष्टिमा यत्तिमात्र घुम्न थाल्यो– के पढाउने ? कति पढाउने ? कसरी पढाउने ?
आइओएमको कार्यालयमै बसेर विश्व स्वास्थ्य संगठनले दिएका मेडिकल शिक्षासम्बन्धी पुस्तक पढ्नु उनको दैनिकी बन्न पुग्यो। यसैबीचमा उनी विभिन्न देश घुमे पनि। त्यहाँका पाठ्यक्रम अध्ययन गरे। करिब डेढ वर्ष लगाएर डा प्रसाईंको टोलीले पाठ्यक्रम तयार गर्यो। ‘त्यतिखेर दरबारको चाहना भारतको भन्दा पृथक मेडिकल शिक्षा होस् भन्ने थियो,’ डा प्रसाईं भन्थे, ‘त्यसैले इन्टायर्ली नयाँ पद्धति बसाल्यौँ।’
त्यतिबेलासम्म नेपालको चिकित्सा शिक्षामा प्रमाणपत्र तहमात्र थियो। इन्जिनियरिङ र कृषिमा भने स्नातक तहको पढाइ सुरु भइसकेको थियो। अन्ततः २०३४ को अन्तिमतिर ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) नभएर चार वर्षे डिप्लोमा इन मेडिसिन (डिएम) अध्यापन गराउन सुरु गरियो। दरबारको इच्छाअनुसार यो तहमा आइएससी उतीर्णहरुले सोझै भर्ना पाएनन्। हेल्थ असिस्टेन्ट पढेकाले मात्र पढ्न पाउने व्यवस्था भयो।
अनि टीकाटिप्पणी सुरु भइहाल्यो, नेपाली मास्टरले पढाएर कस्तो डाक्टर बन्छन् ? हेल्थ असिस्टेन्ट लिएर के कार्यक्रम बनाएको ? आलोचनाका बीच पहिलो ब्याचमा २२ विद्यार्थी भर्ना भए।
अध्यापनका लागि केही शिक्षक देश बाहिरका पनि थिए। भारत, दरभंगाका रिटायर्ड प्रोफेसरले एनाटोमी पढाए भने शान्त भवनका अंग्रेज डाक्टरले फिजियोलोजी। पहिलो डेड बडी (शव) भारतबाट ल्याइएको डा प्रसाईंलाई अझै हेक्का छ।
०००
दुई कार्यकाल अर्थात् ६ वर्ष बिताएर डिन डा मोहिन शाह स्वास्थ्य मन्त्रालयमा नै काजमा फिर्ता भए। दोस्रो डिनका रुपमा आए डा हेमाङ्गमणि दीक्षित। त्यसपछि क्रमशः डा गोपाल आचार्य र डा मदन उपाध्यायले पनि यो पद सम्हाले।
उसो त वरिष्ठता र पुराना कर्मचारी भएकाले दोस्रो डिनमा डा प्रसाईं निर्विकल्प थिए। तर, उनले पदमा कहिल्यै आशक्ति देखाएनन्। डा प्रसाईंले कर्तव्यमा कहिल्यै सम्झौता गरेनन्। कहिल्यै मागेर र खोसेर लिएनन्। दिएको काम एकोहोरो गरिरहे मात्र।
नियमतः आइओएमका डिन त्रिविका उपकुलपतिले नियुक्त गर्ने पद भए पनि यसमा दरबार हावी हुन्थ्यो। डिन भएका बालरोग विशेषज्ञ डा दीक्षित राजा वीरेन्द्रका छोराछोरीको उपचार गर्थे भने फिजिसियन डा आचार्य राजाकै नाडी छाम्थे। राजाका नजिकका व्यक्तिहरु सकिएपछि २०४५ सालमा आइओएमका पाँचौँ डिन बन्न पुगे डा प्रसाईं।
आफ्नो नियुक्तिमा पनि दरबारकै हात रहेको उनी लुकाउँदैनन्। ‘अरु कसैको नाम आउँदा दरबारले हस्तक्षेप गरेछ,’ उनी भन्छन्, ‘त्रिवि शिक्षण अस्पतालमा त्यति राम्रो गरेका डा प्रसाईंलाई पठाउनू भनिएको थाहा पाएँ।’
उसो त त्रिवि शिक्षण अस्पतालको सुरुवाती नेतृत्व सम्हाल्न गएकाले पनि डा प्रसाईं अलि ढिलो डिन हुन पुगेका हुन्।
०००
२०४० सालमा जापानी सहयोगमा तीन सय शैयाको त्रिवि शिक्षण अस्पताल तयार भयो। आइओएमका डिन डा गोपाल आचार्यले त्यसको जिम्मा लिने उपयुक्त पात्र डा प्रसाईंलाई देखे। उनलाई अस्पतालको जिम्मा दिइयो। अस्पतालमा मेसिनलगायत प्राविधिक सामाग्री केही थिएनन्।
बिस्तारै राम्रो व्यवस्था हुँदै गयो। जनबोलीमा ‘जापानी अस्पताल’ भनिने शिक्षण अस्पताल कति लोकप्रिय भयो भने एकदमै छिटो वीर अस्पतालको भरपर्दो विकल्पका रुपमा देखियो। पहिलो वर्ष दैनिक एक–दुई सय मात्र बिरामी आउँथे। तर, दोस्रो वर्ष भने बिरामीको चाप थेग्नै गाह्रो भयो। ‘म प्राक्टिसनर डाक्टर नभएकाले पनि टिचिङको यति धेरै विकास भएको हुनसक्छ,’ उनी सम्झिन्थे, ‘बिहान घरबाट हिँडेपछि राति अबेर मात्रै फर्कन्थेँ।’
दुई पदावधि अर्थात् चार वर्ष शिक्षण अस्पतालको निर्देशक भएपछि उनले आइओएमकै प्याथोलोजी डिपार्टमेन्ट प्रमुखको कार्यभार सम्हाले।
शिक्षाविद् र कुशल व्यवस्थापकका रुपमा चिनिएका डा प्रसाईं त्रिविको शिक्षाध्यक्ष पनि भए र २१ वर्षपछि अर्थात् २०५४ सालमा ‘गोल्डेन ह्यान्डसेक’ लिए।
०००
त्यसपछि नेपालगन्ज मेडिकल कलेजबाट सल्लाहकारको अफर आयो उनलाई। भारतीय नागरिक डिवाई पटेलसँग नेपाली डाक्टरहरुले तीन करोड रुपैयाँमा किनेको उक्त कलेजको तल्लो तहदेखि माथिसम्मको ‘प्लानिङ’ गरे उनले। १० वर्षसम्म त्यहाँ रहेर डा प्रसाईंले नेपालगन्ज मेडिकल कलेजलाई ‘देशकै एक उत्कृष्ट मेडिकल कलेज’का रुपमा स्थापित गरिदिए। त्यही सिको गरेर देशभर अन्य मेडिकल कलेज खुल्ने क्रम बढेको उनको बुझाइ छ।
नेपालगन्जपछि उनलाई नोबेल मेडिकल कलेज विराटनगरले भित्र्यायो। गाडी, घर, भान्छेसहित १ लाख रुपियाँ तलब दिने भयो। सल्लाहकारका रुपमा नोबेल गएका डा प्रसाईंले त्यहाँ तीन वर्ष प्राचार्यको समेत जिम्मेवारी सम्हाले।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सुरु भएको नोबेललाई उनले आफ्नै भवनमा स्थापित गरेर छाडिदिए।
०००
पछिल्लो केही समययता नेपालको चिकित्सा शिक्षा कपडा दोकानजस्तो पूरै व्यापारीको हातमा गएको उनको तीतो अनुभव थियो। ‘न टिचर चाहिन्छ, न ल्याबरोटरी,’ डा प्रसाईं चिन्ता व्यक्त गर्थे, ‘दुर्दशा कस्तो छ भने डाक्टर बनाउन एक करोडले पनि नभ्याउने भयो। नर्स पास गर्न १० लाख चाहियो। क्वालिटी बिनाको कमर्सिलाइजेसन घातक हुन्छ।’
०००
पूर्वी नेपालको ताप्लेजुङ, आठराई–निघुरादिनमा १९८९ सालको फूलपातीको दिन जन्मिएका हुन् डा प्रसाईं। उनका बाजे डिट्ठा थिए, काका लप्टन। पिता भने जमिनदार थिए। तीन आमाका दस भाइ छोरामध्ये डा प्रसाईं जन्तरे (छैटौँ) हुन्। उनका एक भाइ वेनुपराज प्रसाईं कुनै बेला प्रतिनिधिसभामा नेपाली कांग्रेसका सचेतक थिए।
सम्पन्न र शैक्षिक घरानामा जन्मिएका उनले घरबाट टाढा बसेर संस्कृत पढे। एबिसिडी पनि सन्जोगले पढ्न पाए, १३ वर्षको उमेरमा। जीवनमा उनका ‘आइडल’ भए साइँला बाबुका छोरा रामबाबु प्रसाईं (खनुपरुदे)। दौरासुरुवालमा ठाँटिएका, कल्कलाउँदो युवक रामबाबुलाई पहिलोपटक देख्दा उनी सम्मोहित भइहाले। रामबाबु भारतमा बिएस्सी एजी पढ्दै थिए। दाइलाई देख्दा अंग्रेजी पढे राम्रो लुगा लगाउन पाइन्छ भन्ने भान भयो डा प्रसाईंलाई। दाइको जस्तै भव्य व्यक्तित्व बनाउने भूत सवार भयो उनमा।
अनि अंग्रेजी पढ्न भनेर संस्कृत भाषा पाठशालाबाट भागे उनी। काठमाडौँ आउँदैगर्दा चिनेको मान्छे भेट भेटिए धरानमा। उसले काठमाडौँ गएको खबर बुवालाई दिन्छु भनेर तर्साएपछि उनले दिशा मोडे। काठमाडौंका लागि निस्किएका डा प्रसाईं वनारसतिर लागे। उनी हरहालतमा पण्डित भइने शिक्षा लिन चाहँदैनथे। उनले सुनेका थिए– वनारसमा अंग्रेजी पनि पढाइ हुन्छ।
तर, यत्तिकैमा वनारस पुग्ने उनको दौड पूरा हुनेवाला थिएन। फेरि एकजना आफन्तसँग भेट भयो बाटोमा। वनारस लगिदिन्छु भनेर उनलाई झापाको झुपडीमा लगेर बुझाइदिएछन्। तिनताका झापामा पिताजीको खेती थियो।
पिताजीले सोधे, ‘किन भागेको ?’
उनले प्रतिप्रश्न गरे, ‘मलाई अंग्रेजी किन पढाउनु भएन त ?’
‘पहिले किन नभनेको त ? म पढाइहाल्थेँ नि,’ पिताजीको यो भनाइले बल्ल उनलाई ढुक्क भयो। यद्यपि फेरि पनि उनलाई मलेरियाले धोका दियो।
एक वर्ष थला परेपछि बल्ल दार्जिलिङ जाने दिन जुर्यो। पिताजीले अंग्रेजीको ट्युसन सेन्टरमा हालिदिए। दुई वर्षसम्म ट्युटरले कति रटाए भने उनले रामकृष्ण शिक्षा परिषद्मा एकैचोटि कक्षा ८ मा भर्ना पाए। प्रिन्सिपलले उमेर पनि एकाध वर्ष घटाइदिएछन्। त्यहाँबाट म्याट्रिकुलेसन गरेपछि गभर्मेन्ट कलेजबाट आइएस्सीको प्रमाणपत्र लिँदा उनको उमेर २१ वर्ष थियो।
दार्जिलिङमा पढ्दा उनको डेरामा झापा र इलामका छिमेकी, नातागोता, आफन्त मलेरिया र टिबीको उपचारका लागि पुग्थे। उनी नजिकको बंगाली डाक्टरकहाँ लगिदिन्थे। यसरी जाँदाजाँदा उनको अंग्रेजी पढ्ने मोह डाक्टर बन्ने सपनामा बदलिइसकेको थियो। त्यसैले आइएस्सी गर्नासाथ एमबिबिएस छात्रवृत्तिका लागि काठमाडौँ जाने भनेर उनी पिताजीले ठेक्कामा लिएको इलामको सोक्तिम चिया बगान छिरे।
दुई वर्षपछि उनी काठमाडौँ आए। कोलम्बो प्लानका लागि ढिलो भइसकेछ। धन्न पाकिस्तानले दुईवटा छात्रवृत्ति पठाइदियो पहिलो पटक। मेडिसिन र इन्जिनियरिङमा। मेडिसिनमा उनी छनोट भइहाले। ढाका मेडिकल कलेज पुगे। त्यतिखेर ढाका पाकिस्तानमै थियो। ‘सन्जोग भनेको कस्तो हो भने जसलाई जे बनाउनुपर्छ, त्यो बनाउँदो रहेछ,’ उनी ठम्याइ थियो, ‘जे नहुनु पर्ने हो, त्यो कसैगरी पनि भइँदैन।’
पढेकै कलेजमा इन्टर्नसिप गरे उनले। एमबिबिएस डाक्टर बनेर नेपाल आएपछि उनी डोटी जिल्ला अस्पताल गए। त्यहाँ डाक्टर नभएकै तीन/चार वर्ष भइसकेको रहेछ। डोटी जानुअघि उनले सर्त राखेका थिए– फर्केपछि गाइनोकोलोजी पढ्न बेलायत पठाइदिनुपर्छ नि।
डोटीमा दुई वर्ष सेवा गरेपछि उनी काठमाडौँ फिर्ता भए। त्यसपछि उनको सरुवा भयो आफ्नै ससुराली थलो विराटनगर। यसबीचमा बेलायत जाने सर्त बिर्सेका थिएनन् डा प्रसाईंले। धन्न स्वास्थ्य विभागका महानिर्देशक दिनेशानन्द वैद्यले उनीसँग गरिएको प्रतिबद्धता पूरा गरे। तर, उनले भनेजस्तो भएन। गाइनोकोलोजी पढ्ने सोच पालेका डा प्रसाईंलाई सिट मिल्यो प्याथोलोजीमा। स्वास्थ्य मन्त्रालयमा उनका पहुँचका कोही थिएनन्। मेडिसिन, सर्जरी विषय त ठूलाबडाकै छोराछोराका लागि रिजर्भ हुन्थ्यो।
अन्ततः लन्डन युनिभर्सिटीबाट उनले तीन वर्ष लगाएर डिप्लोमा इन क्लिनिकल प्याथोलोजी (डिसिपी) पूरा गरे। लगत्तै वीर अस्पतालमा तानिए। पहिलोपटक हिस्टो प्याथोलोजी (क्यान्सरको इायग्नोसिस)को सुरुवात गरे। हेड अफ डिपार्टमेन्ट पनि भए। त्यसपछिको कथा आइओएम र शिक्षण अस्पतालकै हो।