विभिन्न स्वास्थ्य समस्या पत्ता लगाउन रगत परीक्षण गरिन्छ। रगत निकालेको ठाउँमा कसैकसैको निलडाम बस्ने, डल्लो निस्कने गर्छ। त्यस्तो किन हुन्छ? यस्तो हुन नदिन केके गर्न सकिन्छ?
सर्वप्रथम त रगत निकालेको ठाउँमा रातो हुन्छ। त्यसपछि निलो हुनसक्छ। त्यसपछि विस्तारै हरियो, पहेँलो हुँदै हराउँदै जान्छ।
किन निलो हुन्छ?
पहिलो त मानिसको नशा पातलो भएको या रगत तान्ने क्रममा नशा पत्ता लागेन र धेरै ठाउँमा घोच्नु पर्यो भने निलो हुने सम्भावना हुन्छ। अर्को कुरा रगत तान्ने क्रममा नशा ड्यामेज भयो भने हुनसक्छ।
रगत तानिसकेपछि त्यो ठाउँमा राम्रोसँग थिचिएन भने पनि निलो हुनसक्छ। त्यसबाहेक मिर्गौला, कलेजो हिमोफोलिया सम्बन्धी रोग छ वा रगत पातलो बनाउने औषधि खाइरहेको छ भने पनि निलो हुनसक्छ। रगत सम्बन्धी रोगहरु छ, जसमा रगत जम्न समस्या छ भने पनि निलो हुने सम्भावना हुन्छ।
यस्तो धेरैलाई हुन्छ। तपाईंमध्ये कसैलाई यस्तो भयो भने मलाई मात्र भयो कि भन्ने नसोच्नुहोला। हामी ल्याबमा काम गर्ने भएकाले यस्तो समस्या धेरैलाई हुने गरेको देखेका छौँ।
यस्तो हुन नदिन के गर्न सकिन्छ?
रगत तान्न जाँदा खुकुलो लुगा लगाएर जाने गर्नुपर्छ। रगत तान्ने बेला नशा पत्ता लागेन भने पछिल्लो पटक कहाँबाट तानिएको थियो त्यहीँबाट तान्दा धेरै ठाउँमा घोच्न पर्दैन।
रगत तानेपछि रगत नबगोस् भनेर एक, दुई मिनेट थिच्नुपर्छ। यदि रगत बग्ने समस्या छ भने ५ मिनेट जति नै थिच्नुपर्छ।
पहिलापहिला रगत तानिएपछि मुठ्ठी खोल्नूस् र हातलाई खुम्च्याउनूस् भनिन्थ्यो तर आजकल यो विधिलाई प्रोत्साहन गरिँदैन। आजकल रगत तानेर मुठ्ठी खोल्नूस् भनेपछि त्यो ठाउँमा थिचेर हात सिधा राख्नूस् भनिन्छ।
रगत निकालेको दिन सकेसम्म गह्रौं सामान नउचाल्नुहोला। र, त्यहाँ रातो हुन थाल्यो भने थिचेर हात माथि राख्नुहोला। धेरै नै रातो भयो भने आइस प्याकले १५ मिनेट जति सेक्नुहोला। यो दिनको २-३ पटक गर्न सकिन्छ।
कहिलेकाहीँ त्यो ठाउँमा डल्लो निस्कियो वा रातो फैलँदै गयो, हात सुन्नियो भने चिकित्सकलाई देखाइहाल्नुहोला।
(डा गौतम सम्यक डाइग्नोष्टिकका अध्यक्ष हुन्।)