द न्यूयोर्क टाइम्स - 'लेक टाहोमा' नामको सुन्दर ताल वरिपरि आफ्ना अभिभावकसँग घुम्दै गर्दा २ वर्षकी एलिस म्याकग्रो एक्कासी रोकिइन् र त्यहीँ नजिकै घुम्न आएको अर्को परिवारका सदस्यतर्फ औंला तेर्स्याउँदै उनले भनिन्‚ ‘ओहो! मान्छेहरू।’
सानैदेखि उनलाई सामाजिक दूरी कायम राखेमात्र संक्रमणबाट बच्न सकिन्छ भन्ने प्रभाव पर्योा। धेरै मान्छे भएको ठाउँमा जानुहुँदैन भन्ने कुरा सिकिन्‚ जसले उनी र उनीजस्ता बाल मस्तिष्कलाई नकारात्मक असर गरिरहेको छ। म्याकग्रो यस्तै अवस्थाबाट ग्रसित छिन्।
बालबालिका‚ जो कोरोना महामारीको चपेटामा परेका छन्। जो घरभित्रै बस्न बाध्य छन्, उनीहरुमा अहिले म्याकग्रोलाई जस्तै भएको छ।
बालबालिकाहरू आफ्नो इच्छाअनुरूप आफ्ना साथीसँग रमाउन पाइरहेका छैनन्। खेल्न पाइरहेका छैनन्। हर क्षण आमा बुबाको साथमा घरमै बसिरहँदा बाल मस्तिष्कमा कस्तो असर पर्ला? यो महामारीले अहिले हुर्किरहेका पुस्तालाई दीर्घकालीन रूपमा कस्तो असर पर्ला?
जाडोयाम सुरू भएसँगै आफ्ना बालबालिकाको सामाजिक जीवनमा धेरै नकारात्मक असर परिरहेको र त्यसले उनीहरूको भविष्यलाई समेत अन्धकारमा धकेल्ला कि भन्ने चिन्ता अभिभावकमा समेत देखिन थालेको छ। सानै उमेरमा सामाजिक संलग्नताबाट वञ्चित हुनुपरेकाले उनीहरूको त्यो किसिमको विकासमा समेत असर देखापर्न थालेपछि उनीहरुमा चिन्ता देखिन थालेको हो।
‘मानिसहरू अहिले आफ्ना बच्चालाई कोभिडको जोखिमबाट बचाउने कि गम्भीर सामाजिक संलग्नताबाट वञ्चित गराउने भन्नेजस्ता विषयका फाइदा र बेफाइदाका बारेमा सोच्न थालेका छन्‚’ १४ महिनाकी मिलाका बुबा सुजान्ने जेन्डलम्यानले भने। अहिले महामारीको समयमा म्याकग्रो सधैंजसो मिलाको साथमा हुन्छिन्।
‘महामारीमा मेरी छोरीले उनका साथीभन्दा धेरै चिडियाघरका जिराफ देखेकी छिन्’ मिलाकी आमाले भनिन्।
एककिसिमले हेर्दा यो ठिक पनि छ किनकी बालबालिकाका लागि सबैभन्दा धेरै अभिभावकको खाँचो हुनेबेला भनेकै यही बेला हो। यस्तो उमेर समूहका बालबालिकामा बा-आमाको र परिवारको एकदमै धेरै आवश्यक हुन्छ त्यो दृष्टिकोणबाट हेर्दा साना बालबालिकाका लागि भने यो राम्रो पनि हो।
महामारीमा बालमस्तिष्कमा परेको असरबारेमा गरिएका विभिन्न अध्ययनहरूले समेत बाल मस्तिष्कमा सामाजिक सक्रियताको महत्व धेरै हुने र त्यसको कमी हुनाले उनीहरूको मस्तिष्क विकास नै उचित रूपमा नहुने उल्लेख गरेका छन्।
उनीहरूमा भाषागत समस्या‚ शरीरिक रूपमा एकअर्कालाई सहयोग परेको बखतमा सहयोग गर्ने बानीको विकास‚ खेलसँग सम्बन्धित विषयदेखि भाषा सिकाइका विभिन्न चरणहरू‚ जस्तै: अरूले बोलेको नक्कल गर्ने‚ फ्रेजहरू बोल्नेजस्ता कुराहरुमा असर पर्ने ती अध्ययनले देखाएका छन्।
यस्ता किसिमका अन्तरक्रियाले उनीहरूको मस्तिष्कमा एकप्रकारको संरचना र बोधआदिको विकास गराउँछन्। टेम्पल युनिभर्सिटीस्थित इन्फ्यान्ट ल्यांग्वेज ल्याबोरेटरीकी निर्देशक तथा द ब्रुकिङ्स इन्स्टिच्युसनकी वरिष्ठ सदस्य क्याथ्रिन हिर्स-पासेकले भनिन्‚ ‘सामाजिक संलग्नता भनेको सिधा भाषामा भन्दा मस्तिष्कको आहारा हो।’
युनिभर्सिटी अफ मिसिगनका मनोविज्ञान विषयका प्रोफेसर जोन ह्यागन कोरोना महामारीको दीर्घकालीन असरलाई मध्यनजर गर्दै प्रश्न गर्छन्‚ ‘यदि यो महामारी महिना नभएर वर्षौंसम्म यत्तिकै चलिरह्यो भने? मलाई लाग्छ हामीले यस्ता खालका दीर्घकालीन विषय अहिलेसम्म भोगेकै छैनौं।'
डाक्टर हिर्स अहिले चलिरहेको महामारीलाई ‘सामाजिक आँधी’को संज्ञा दिँदै यसका दुई जोखिमहरूको बारेमा बताउँछिन्- बालबालिका र शिशुहरूले आफ्नै उमेरका एकअर्कासँग अन्तरक्रिया गर्न पाउँदैनन् र त्यही समयमा उनीहरूका अभिभावकबाट परिवारबाहेक अन्य मानिसहरूसँग भेट गर्नु अथवा घुलमिल हुनु खतरनाक र संक्रमणको अर्को कारण हो है भन्ने किसिमका सन्देश पाइरहेका हुन्छन्‚ जसबाट उनीहरूको दिमागले अरू मानिसहरूको प्रतिको दृष्टिकोण नै परिवर्तन गरिदिन्छ।
‘त्यसको मतलब सडकमा हिँडिरहेका अन्य बालबालिकाहरूलाई हेर्नै हुन्न भन्नु पनि होइन। कोरोनाको समयमा घुलमिल हुनु चाहीँ जोखिम हो भन्ने हो तर उनीहरूको बाल मस्तिष्कले यस्तो कुरा नबुझ्न सक्छ‚’ उनले भनिन्।
यस्तै प्रकारको समस्या भरखरै १४ महिना लागेका क्यासर ओकोनरलाई भयो‚ जसको परिवार भरखरैमात्र सान फ्रान्सिस्कोबाट पोर्टल्यान्डमा बसाइ सरेको थियो। केही महिनाअघि ओकोनरले उनको आमासँग हिँडिरहेको बेला बाटोमा एक शिशु देखे।
‘क्यासर ती २ वर्षीय बच्चाको नजिक गए। त्यो देख्नासाथ उक्त बच्चाको आमाले उसको पाखुरा तानिन् ताकि अझ नजिक नजाओस् भनेर‚’ क्यासरकी आमा एलियट ओकोनोरले भनिन्।
‘उनको डर र बाध्यता मैले पनि बुझेको छु‚’ उनले थपिन्‚ ‘तर मेरा लागि भने यो दृष्य भयानक थियो।’
पोर्टल्याण्ड सान फ्रान्सिस्को तुलनामा खुला क्षेत्र भएकाले त्यहाँ सान फ्रान्सिस्कोमा जस्तो बच्चालाई एक अर्काको अन्तरक्रियामा नै निषेध गरिएको थिएन।
‘आफ्नो बच्चानजिक बोल्न आउँदै गरेको अर्को बच्चालाई अभिभावकले त्यसरी डरलाग्दो नजरले घुरेर हेरेको दृष्यले मलाई एकदमै अचम्मित तुल्यायो‚’ उनले भनिन्‚ ‘आफ्ना बच्चा चौरमा एक्लै खेलिरहेको देख्दा नराम्रो त लाग्छ नै। हाम्रा बच्चाको जीवनमा यो के हुँदैछ?’
१५ महिनाका रिजका बुबा-आमा एरिन र क्राइग सेपार्ड सान्टा मोनिकामा बस्दै आएका छन्। उनीहरूसँग ८० वर्षीया आमा पनि बस्ने भएकाले कोभिडको विषयमा अलिक बढी सतर्क छन्। ‘यो महामारी सुरू भइकन अहिलेसम्म रिजले एकजनासँग पनि खेल्ने मौका पाएको छैन‚’ रिजकी आमाले भनिन्।
‘हामी कहिले काहीँ पार्कतिर जान्छौं। त्यहाँ जाँदा उसले अरू आफूजस्तै बच्चाका अभिभावकलाई औंलाले देखाउँदै रमाउछ‚’ उनले भनिन्‚ ‘तर उनीहरू एक अर्कासँग अन्तरक्रिया भने गर्दैनन्।’
बाल विकासका विषयका विज्ञका अनुसार यो विषयमा अहिलेको अवस्थामा आइसोलेसनबाट प्रभावित बालबालिकाको दैनन्दिनीय जीवनको बारेमा अध्ययन गरिनु महत्त्वपूर्ण हुन्छ। सन् १९७४ मा गएको महाभूकम्पको समयमा धेरैजसो बालबालिका डिप्रेसनको शिकार भएको रिपोर्ट सार्वजनिक भएको थियो।
युनिभर्सिटी अफ मिसिगनका मनोविज्ञान विषयकी प्रोफेसर र सामाजिक तथा भावनात्मक विकासकी विशेषज्ञ ब्रेन्डा भोलिङका अनुसार शिशु‚ बालबालिकाहरू‚ जो कोभिडको समयलाई सामना गरिरहेका छन्‚ उनीहरूलाई राम्रो स्याहार सुसार गर्ने‚ माया गर्ने गर्नुपर्दछ।
‘बालबालिकाहरूमा अझै पनि सामाजिक अन्तरक्रियाको अभाव भएको छैन‚’ उनी थप्छिन्‚ ‘उनीहरूले मुख्यतः आफ्ना अभिभावकको समय पाइरहेका छन्। जुन यो उमेर समूहका बालबालिकामा अत्यत्नै महत्त्वपूर्ण पनि हो।’
तर अर्को तर्फबाट हेर्दा भने आइसोलनले निम्त्याएको सामाजिक संलग्नता र अन्तरक्रियाको अभाव भने उनीहरूमा सधैं खट्किरहने बाल मनोवैज्ञानिकहरू बताउँछन्।
‘उनीहरू परिवार र आफ्नो कामलाई सँगसँगै एउटै वातावरणमा रहेर पूरा गरिरहेका छन्‚’ डा भोलिङ भन्छिन्‚ ‘समस्या त तब हुन्छ जब सबै काम एउटै वातावरणमा गरिरहाँदा अभिभावकहरू नै तनावग्रस्त हुन्छन् र आफ्ना सन्तानसँग प्रतिक्रिया गर्नुको सट्टा उल्टै रिसाउँछन् र झर्किन थाल्छन्।’
‘बाल मस्तिष्कमा साथीहरूसँग खेल्नुभन्दा पनि ज्यादा नकारात्मक असर यसले पैदा गरिरहेको हुन्छ’ उनले थपिन्।